...त्यसैले देउवाको विकल्प देउवा नै
आज पनि राष्ट्रिय सहमति निर्माणमा माउ भूमिका खेल्न सक्ने नेताका रूपमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई हेरिएको छ। उनमा अन्तरनिहित राजनीतिक संस्कारले राष्ट्रिय एकता कायम गर्न अभिप्रेरित गर्ने विश्वास गर्न सकिन्छ।सरकारले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेसँगै अनेक शंकाउपशंका मेटिएका छन्।
स्थानीय निर्वाचन र प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन कुशलतापूर्वक सम्पन्न गरी सरकार प्रमुख रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा गरेका छन्।
गत वैशाख ३० को स्थानीय चुनाव र यही मंसिर ४ को आम चुनावका लागि कांग्रेस सभापति देउवाकै बलबुतामा गठबन्धन बनेको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी संलग्न पाँच दलीय गठबन्धनको. नेतृत्व पनि देउवाले नै गरेको तथ्य पनि एकातिर छ।
चुनावमा गठबन्धन गरेर प्रतिस्पर्धामा गएका कारण परिणाम बहुमत आएको छ। निष्पक्षतापूर्वक भन्नुपर्दा देउवाकै नीति र नेतृत्वमा गठबन्धन बहुमतको अवस्थामा पुगेको हो। जसले गर्दा आज गठबन्धनमा सामेल सबै दलको उम्मेदवारको अनुपातका आधारमा बराबरी जितको अवस्था आएको छ।
प्रतितिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने संघारमा छ। जनताले नेपाली कांग्रेससहित पाँच दलीय सत्ता गठबन्धनलाई स्पष्ट बहुमतनजिक पुर्याएका छन्। मत परिणामले मौजुदा सत्ता समीकरणकै निरन्तरता चाहेको प्रस्ट हुन्छ।
फेरि पनि देउवा नै किन?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि मुलुकमा चरम राजनीतिक र सवैधानिक संकटको अवस्था आयो। एक हिसाबले अस्थिरता र अन्योलबीच प्रतिगमनकारी शक्तिले मुन्टो ठड्याउने खतरा थियो। एउटा दल र प्रतिपक्षी नेताको सीमित घेराबाट माथि उठेर भाँडिएको राजनीतिलाई पुनः सही ठाउँमा ल्याउने काम देउवाले नै गरेका थिए। देउवा सत्तामा पुग्दै गर्दा मुलुक कोभिड १९ को महामारीले आक्रान्त थियो। आर्थिक संकटको भुमरीमा फस्ने जोखिम थियो। ‘नेपाल श्रीलंका बन्छ’ भनेर एकाथरी तत्वले हल्ला फिँजाइरहेको अवस्था एकातिर थियो।
सरकारमा पुगेलगत्तै देउवाले कोरोनाविरुद्धको खोपलाई उच्च प्राथमिकता दिए र नागरिकलाई कोरोना व्याधिबाट बचाउन सफल बने। योसँगै कोरोनाले थला परेको आर्थिक क्षेत्रलाई उकास्न सुझबुझ अपनाए। नेपाली कांग्रेसलाई देशको सबैभन्दा ठुलो पार्टी बनाउने देउवाको उद्घोष थियो। त्यो अठोट आज पूरा भएको छ। पार्टीभित्रै गठबन्धन गर्नै हुँदैन भनेर एउटा खेमाले चर्को विरोध गरिरहेका बेला स्थानीय चुनाव र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउने श्रेय देउवाको भागमा जान्छ। यसअघि २३ सिट जितेको कांग्रेसले अहिले झन्डै ६० सिटको हाराहारीमा पुगेको छ। कांग्रेस पहिलो पार्टी हुँदा आम कांग्रेस कार्यकर्ताको शिर ठाडो भएको छ, गर्वले छाती चौडा बनेको छ।
गठबन्धनकै आधारमा हिजो प्रदेशहरूमा नयाँ सरकार बने। प्रदेश सरकारको नेतृत्वमा शून्य रहेको कांग्रेसले कर्णाली, वागमती र गण्डकीमा नेतृत्व गर्न सफल भयो। अन्य प्रदेशमा पनि कांग्रेस सत्तामै रह्यो। यसले पनि देउवाको नेतृत्वमा बिथोलिएको मुलुकको राजनीति ट्र्याकमा आएको स्पष्ट पार्छ। जुन देउवाको अनुभव, परिपक्वता र सन्तुलनकारी भूमिकाकै उपज थियो।
आवश्यकता पाको अनुभव, युवा ऊर्जा
देउवा नेतृत्वको सरकारले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै स्थिरता र स्थायित्व सुनिश्चित गरेको छ। आज मुलुकमा प्रतिगमनकारी शक्ति स्वतः निस्तेज बनेर गएको छ। मतपरिणामले पाँच दलीय गठबन्धनलाई स्वाभाविक रूपमा सरकार बनाउने जनादेश दिएको स्पष्ट छ। कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर जनादेशको सम्मान नै अहिलेको आवश्यकता हो। यस्तो अवस्थामा सबैलाई सन्तुलन मिलाएर लैजान सक्ने सर्वस्वीकार्य नेतृत्वको खाँचो छ।
केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले छाडेर गएको विकृति, विसंगति र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारी वहन गरी मुलुकलाई गुन लगाएको ऐतिहासिक सच्चाइलाई कसैगरी बिर्सन सकिँदैन। तोकिएको मितिमै दुवै तहको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न भएसँगै अब संवैधानिक र राजनीतिक संकट टरेको छ।
एउटा यथार्थ सत्य यो हो कि संघर्षपूर्ण इतिहासले भरिएको कांग्रेसजस्तो एउटा जीवन्त पार्टीमा रातारात नेता वा नेतृत्व जन्मेको होइन। त्यो हुन सम्भव पनि छैन। अनेक परीक्षणमा पास हुँदै आम कार्यकर्ताको विश्वास जितेर मात्रै कांग्रेसमा नेता बन्न सम्भव भएको हो। मुलुक र पार्टीको नेतृत्व गर्न पाको अनुभव प्राप्त व्यक्तिबाट मात्र सम्भव छ। काँचो नेतृत्वले मुलुक र कांग्रेसको सुदूर भविष्यप्रति आम कार्यकर्तालाई ढुक्क बनाउन सक्दैन।
मुलुकको रूपान्तरणका लागि परिपक्व अनुभव र नयाँ जोसको समिश्रण समयको माग हो। यति मात्र होइन, भविष्यको कांग्रेस बलियो देख्न सबैलाई समेटेर अघि बढ्नु जरुरी छ। देशको आर्थिक विकासका लागि नीति तथा योजना बनाउन बिपीको लोकतान्त्रिक समाजवादी आर्थिक नीति तथा सिद्धान्तलाई आधार मानी खरो ढंगले व्यवहारमा उतार्नु आवश्यक छ। जुन अघिल्लो पुस्ताको ज्ञान र अनुभव युवापुस्ताको ऊर्जाको सम्मिश्रणबाटै सम्भव छ।
सहमति, समन्वय र सन्तुलन
ओलीको बहिर्गमनपछि देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाका दुवै खेमा, राजमो मात्र नभएर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई एक ठाउँमा उभ्याउन सक्नु विश्वासकै प्रतिफल थियो। देउवाको नेतृत्वलाई सिंगो मुलुकले नै स्वीकार गरेको छ। बिनापूर्वाग्रह छातीमा हात राखेर भन्ने हो भने आजको दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा नेपाली राजनीतिका मियो हुन्। उनमा सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझ्न सक्ने विशेष खुबी छ। पटकपटक कठिन समयमा देशको नेतृत्व सम्हालेका देउवामा निहित लचकता पनि एउटा छुट्टै गुण बनेको छ।
परिवर्तित सन्दर्भमा कांग्रेसलाई एकढिक्का बनाएर मुलुकलाई गति दिन देउवाले नै समन्वयकारी खुबी देखाउन सक्छन्। केपी ओली नेतृत्वको दुई तिहाइको सरकार विघटनपछि विशेष परिस्थितिमा मुलुकको नेतृत्व सम्हाल्ने जिम्मेवारी लिएबाटै पनि यो स्पष्ट भएको छ। आज पनि राष्ट्रिय सहमति निर्माणमा माउ भूमिका खेल्न सक्ने नेताका रूपमा देउवालाई हेरिएको छ। देउवामा अन्तरनिहित राजनीतिक संस्कारले राष्ट्रिय एकता कायम गर्न अभिप्रेरित गर्ने विश्वास गर्न सकिन्छ। ‘गिभ एन्ड टेक’मा उदार रहेका कारण पनि अप्ठ्यारोमा विपक्षीको मन जित्न सहज हुने विश्वास गर्न सकिन्छ।
मुलुकलाई अप्ठ्यारोबाट बाहिर निकाल्न सक्ने फरक खुबी भएका नेताका रूपमा देउवा उत्तीर्ण भइसकेका छन्। यति मात्र होइन, उनले समन्वयकारी भूमिका खेल्न सक्छन् भन्ने विश्वास कांग्रेसभित्र मात्र नभई अन्य पार्टीमा समेत छ।
पार्टी सभापति नै प्रधानमन्त्री न्यायोचित
इतिहासतर्फ फर्केर हेर्दा कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक व्यक्ति भएका बेला पार्टी संकटमा पुगेको छ। अहिले पनि कांग्रेसका सभापति नै मुलुकको प्रधानमन्त्री रहेको स्थिति छ। मुलुकका प्रायः सबै प्रमुख पार्टी टुक्रिँदा पनि कांग्रेस आज एकढिक्का छ । पार्टीलाई एकगठ बनाउन सक्नु देउवाको ठुलो उपलब्धि हो । हिजोजस्तो अग्रजहरूले पार्टी नै छाड्नुपर्ने अवस्था आज छैन। सहमति र सहकार्यकै कारण कांग्रेस एकताबद्ध भएको हो।
आजका दिनमा पनि कांग्रेसका आम कार्यकर्ता मात्र होइन, अन्य राजनीतिक दलमा समेत देउवाप्रतिको विश्वास र भरोसामा कुनै मानेमा कमी आएको छैन। पार्टी सभापति र प्रधानमन्त्री भएका बेला भएको चुनावको यो परिणामले मुलुकको नेतृत्वका लागि जनताले अनुमोदन गरिसकेका छन् भन्ने पुष्टि हुन्छ।
जुनसुकै संकटलाई पनि लोकतान्त्रिक विधि र पद्धतिमार्फत बुद्धिमत्तापूर्ण तरिकाले समाधान दिने नेता आज मुलुकलाई चाहिएको छ। अनुभव र परिपक्वताको अभावमा मुलुक, राजनीति होस् या पार्टी, सही ढंगले सुसञ्चालन हुन सक्दैन। जीवनको उत्तरार्धमा आफ्नो निष्ठामा विचलित हुने ठाउँ छैन।
पार्टीभित्रै आन्तरिक संघर्ष गर्दै, अनेक प्रताडना खेप्दै देउवा आफैंले कांग्रेसमा फराकिलो मैदान बनाएका हुन्। कानुनी राज, विधिको शासन, मानवअधिकार र स्वतन्त्रताका लागि अनेक कष्ट बेहोर्दै उनी स्थापित भएका हुन्। यसकारण पनि उनीमाथि शंका गर्ने ठाउँ देखिँदैन। एकाध वर्षको कुरा मात्र होइन, २०४८ सालयता हरेक चुनावमा प्रत्यक्ष निर्वाचित भएर पटकपटक जनताको परीक्षामा पास भएका नेता हुन् देउवा।
कांग्रेस महाधिवेशनको परिणामबाट देउवा आफैंमा एक शक्तिशाली व्यक्तित्व रहेको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन। परिपक्व र अनुभवी नेतृत्वकै कारण अहिले पनि कांग्रेस नेतृत्वको सरकार बनेको हो भन्ने यथार्थता अर्कातिर छ। यसरी कांग्रेस नेतृत्वमाथि फेरि पनि गठबन्धन सरकारको नेतृत्व गर्ने बाध्यता र जिम्मेवारी छ।
अब दायाँबायाँ हुने ठाउँ छैन
जो नेतृत्वमा छ, जसको नीतिले कांग्रेस पहिलो पार्टी बनेको छ, पहिलो हकदार पनि उही नै रहने कुरामा विवाद हुन सक्दैन। मुलुकलाई सही ट्र्याकमा डोर्याएर अघि बढाउन खारिएको अनुभव, सन्तुलन, समन्वय र सुझबुझको आवश्यकता छ। उसैले मात्र राष्ट्रिय राजनीतिको मियोका रूपमा मार्गदर्शन गर्न सक्छ। आजको आवश्यकता पनि बलियो सरकार र एकताबद्ध कांग्रेसको हो, जुन लामो अनुभव प्राप्त नेताबाट मात्रै सम्भव छ।
आज सभापति देउवाबाट कांग्रेसलाई पुरानै हैसियतमा पुर्याउने अठोट पूरा भएको छ। कांग्रेसलाई अब युवादेखि पुरानो पुस्तासम्म समेट्ने र सबैको भावना छुने पार्टी नेतृत्वकै सरकारमा निरन्तरताको खाँचो छ। यस मानेमा अब बन्ने सरकारको नेतृत्वका लागि देउवाको स्वाभाविक हकदाबी लाग्छ। कथाले आज फेरि देउवा मागेको छ। समग्र घटना, परिघटना र परिवेशले नै फेरि यस्तो ठाउँमा पुर्याइदिएको छ। यसपछि चाहिएको छ– बलियो र दरिलो कांग्रेसका साथमा राजनीतिक स्थिरता, विकास र समृद्धि।