अविश्रान्त समाजसेवी मैयादेवीकाे अवसान
आफ्नो पूर्ण जीवन समाज सेवा र राजनीतिमा बित्यो। साँचो अर्थमा मैयाँदेवी साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिएकी थिइन्। धन र मनकी धनी परोपकारी श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली।धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन। मन भएर पनि कतिपयसँग धन हुँदैन। धन र मन दुवै भयो भने मात्र परोपकारी र दानी बन्न सम्भव हुन्छ। चितवनकी मैयादेवी श्रेष्ठ एक यस्ती दयालु महिला हुन्, जोसँग धन र मन दुवै थियो। उनी बाँचुन्जेल अनवरत समाजसेवा, दान र धर्ममा लागिपरिन्। समाज उत्थानका लागि जीवन गुजारिन्। देश र समाजका लागि राजनीति गरिन्। धन खर्चेर भए पनि सामाजिक कार्य गर्ने उनको धोको थियो। त्यही धोको आफ्नो जीवनकालमा खुला दिलले हात फिँजाएर पूरा गरिन्। धनकी मात्र होइन, मनकी पनि धनी यी सहृदयीको आइतबार ९८ वर्षको उमेरमा निधन भएको छ।
शिक्षा, आध्यात्मिकता, समाजसेवामा उनी दिलोज्यानले लागि परिन्। समाजसेवामा निःस्वार्थ भावका साथ खुला दिलले सहयोग गरिन्। उनी २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको सदस्यका रुपमा प्रजातान्त्रिक हक र अधिकारका लागि लडेकी थिइन्। उनी २००७ सालको क्रान्तिमा सहभागी भइन्। २००८ सालमै उनले तनहुँको बन्दीपुरमा सामाजिक नारी संघ खोलेर महिलाको चेतना फैलाउन लागिपरेकी थिइन्। २०११ सालमा सुरु भएको तिरो आन्दोलन सफल बनाउन पनि उनले सक्रिय भूमिका खेलेकी थिइन्। २०१४ सालमा भद्र अवज्ञा आन्दोलनमा पनि श्रेष्ठको सक्रिय भूमिका रहेको थियो। २०१७ पुस १ गतको शाही ‘कु’पछि प्रजातन्त्रको पुनःस्थापनाका लागि जागरण ल्याउन उनी भूमिगत रूपमा लागि परिन्। २०३६ सालमा चितवन जिल्ला महिला संघको अध्यक्ष भएर जनमतसंग्रहमा भाग लिएकी थिइन् श्रेष्ठले। २०४२ सालमा सत्याग्रह सफल पार्न पनि उनको भूमिका स्मरणीय छ।
निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालको जनआन्दोलनमा श्रेष्ठले चितवनमा सक्रिय भूमिका खेलेकी थिइन्। २०४८ सालमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा गोरखा क्षेत्र नं. २ बाट निर्वाचनमा भाग लिई प्रतिनिधिसभाको सदस्यमा निर्वाचितसमेत भएकी थिइन्। २०५८ सालमा उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन्। २०६२÷६३ को जनआन्दोलनमा पनि मैयादेवीको सक्रिय भूमिका रहेको उनको इतिहासबाट थाहा हुन्छ। उनको जीवनका तीन आयाम छन्– राजनीति, अध्यात्म र समाजसेवा। मठमन्दिर, देवालय, संघसंस्था, स्कुल, बाटोघाटो निर्माण र भूमिदानमा करोडौं रुपैयाँ बराबरको सहयोग गर्ने परोपकारीका रूपमा श्रेष्ठको नाम अगाडि आउँछ।
यति मात्र होइन, चितवनमा बस्ती बसाउन पनि उनको योगदान अविस्मरणीय छ। नारायणगढस्थित बालकुमारी कन्या स्कुललाई दान गरेको १० कट्ठा जग्गा, कन्या कलेज चितवनलाई १२ कट्ठा जग्गा, भवन निर्माण, नेपाली कांग्रेस केन्द्रीय कार्यालय भवन निर्माण, पतञ्जली योग समिति, नेवा पुचः नारायणगढ, युनिभर्सल पिस फेडरेसन, देवघाटमा उनका नाममा खोलिएको ट्रस्टका लागि उपलब्ध जग्गा र भवनको व्यवस्था सानो दृष्टान्तका रूपमा लिन सकिन्छ। उनको जीवनकालमा गरेको यस्तो सहयोगको हिसाब लगाउँदा सयौंको चाङ बन्छ। वास्तवमा जीवनभर अरूका लागि दान गरेर उनी कहिल्यै थाकिनन्।
सामाजिक सुधार र सद्भावका लागि राजनीति भन्ने श्रेष्ठको अडान थियो। आफ्नो पूर्ण जीवन समाज सेवा र राजनीतिमा बित्यो। साँचो अर्थमा मैयाँदेवी साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिएकी थिइन्। धन र मनकी धनी परोपकारी श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली।