मंसिर ४ : संविधान जोगाउन र मास्न खोज्नेबीचको प्रतिस्पर्धा
आम निर्वाचनमा लोकतन्त्रमाथि घात र अपराध गर्ने नेताहरू तिरस्कृत तथा जनताका साथी एवं समृद्धिका सारथीहरू पुरस्कृत हुने अपेक्षा गर्न सकिन्छ।मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले मुलुकभर उत्सवको माहोल बनेको छ। दसैं सकिएलगत्तै तिहार, नेपाल संवत्, छठजस्ता पर्व नजिकिए पनि चुनावी चटारो र राजनीतिक टीकाटिप्पणीको सरगर्मी हाबी भएको देखिन्छ।
उमेदवारहरू घरदैलो र भेटघाटमा व्यस्त देखिन्छन् भने मतदाताले नेताको नाडी छामिरहेका छन्। झुटा आश्वासन र तडकभडकमा रमाउनेभन्दा आफ्नै सुखदुःखको साथी बन्न सक्ने सक्षम, इमानदार तथा चरित्रवान् नेतालाई भोट हाल्न मतदाता मंसिर ४ को व्यग्र प्रतीक्षा गरिरहेका छन्।
१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभामा प्रत्यक्ष चुनिएर आउने जनप्रतिनिधिका लागि चयन भएका दलका उमेदवार र स्वतन्त्र ढंगले मैदानमा उत्रिएका उमेदवार सबैको सफलता मतदाताको मन जित्न सक्ने क्षमतामा निर्भर रहने प्रस्ट देखिन्छ। प्रतिनिधिसभामा २ हजार ४ सय १२ तथा प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३६ जना उमेदवार जनताबाट प्रत्यक्ष निर्वाचित बन्न प्रतिस्पर्धामा छन्।
स्थानीय चुनावमा काठमाडौं, धरानलगायत एकाध ठाउँमा बालेन्द्र साह (बालेन), हर्क साम्पाङको उदयबाट हौसिएकाहरू स्वतन्त्र उमेदवारी दिएर दलहरूलाई चुनौती खडा गर्न कस्सिएका छन्। तथापि आम निर्वाचनमा स्वतन्त्र उमेदवारले चुनाव जित्न सक्ने आधार कहीँकतै देखिँदैन।
समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सदस्यमा कुन दलले कस्ता अनुहार अगाडि बढाए भन्ने तथ्य निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीले प्रस्ट देखाइसकेको छ। समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि २ हजार ४ सय २ तथा प्रदेशसभाका लागि ५ हजार ५५ जनाको सूची दलहरूले आयोगमा पेस गरेका छन्। समानुपातिक प्रणालीमा दलहरूमध्ये सबैभन्दा बढी मत कुनले प्राप्त गर्ला भन्ने आकलन पनि सुरु भइसकेको छ। यसको फैसला भने झन्डै १ करोड ८० लाख मतदाताले मंसिर ४ मा गर्नेछन्।
आम निर्वाचन २०७९ को सन्दर्भलाई केलाएर हेर्ने हो भने मुख्यतः कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धन तथा एमाले नेतृत्वको बहुरंगी गठजोडबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। अझै स्पष्ट भन्ने हो भने दुई ध्रुवको प्रतिस्पर्धा।
खासगरी विभिन्न कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनको नेतृत्व गरेका कांग्रेस र माओवादी एवं लोकतान्त्रिक आन्दोलनका चर्चित अनुहारहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, महन्थ ठाकुर तथा चित्रबहादुर केसीसम्मका नेताहरूको एउटा ध्रुव खडा छ। अर्कोतर्फ झन्डै दुई तिहाइको आफ्नै सरकार जोगाउन नसक्ने, पटकपटक संसद् विघटनको प्रयास गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै भड्खालामा पुर्याउने केपी ओलीको नेतृत्वमा बनेको गठजोड।
एमालेको गठजोडमा हिजोसम्म ओलीलाई प्रतिगमनको मतियार भनेर संसददेखि सडकसम्म चर्को विरोध गरेका उपेन्द्र यादवदेखि परिवर्तन पटक्कै मन नपराउने पूर्वपञ्च कमल थापा र राजेन्द्र लिङ्देनसम्म समेटिएका छन्।
दुई ध्रुवबीचको यो प्रतिस्पर्धामा चुनावी प्रचारका लागि बनेका सामग्रीहरू मात्र हेर्ने हो भने पनि नेताहरूको फोटो अंकित सामाजिक सञ्जालका पोस्टरले धेरै कुरा निक्र्योल गरेको पाइन्छ। सूर्य चिह्नमा चुनाव लड्दै गरेका कमल थापा मात्रै होइनन्, राजेन्द्र लिङ्देनसँगै जोडिएका उपेन्द्र यादव तथा केपी ओलीका तस्बिरमा नेपालको भावी राजनीतिको कस्तो झल्को देखिन्छ? यता देउवा, प्रचण्ड, माधव, महन्थ र चित्रबहादुरको सहयात्राको तस्बिर कस्तो लाग्छ? मतदाताको मनोविज्ञान र चुनावी परिणामको लेखाजोखा पनि यसैभित्र निर्भर रहने देखिन्छ।
यति मात्र होइन, एकताबद्ध लोकतान्त्रिक वाम गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिन खोजिरहेको छिन्नभिन्न ओली गठजोड साँच्चै निरीह र कमजोर देखिन्छन्। टिकटसम्म नपाएर पार्टी परित्याग गरेका घनश्याम भुसालको आह्वानमा सयौं एमाले नेता तथा कार्यकर्ताले एमाले छाडिसकेका छन् ।
त्यस्तै ओलीमाथि दर्जनौं आरोप लगाएर एमालेभित्रै विद्रोह गरिरहेका भीम रावलका साथमा एमालेका हजारौं निष्ठावान् नेता–कार्यकर्ता गोलबद्ध भएको पाइन्छ। आफैंसँग महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएका रावलमाथि ओलीले गरेको अन्याय तथा अत्याचारविरुद्ध एमाले कार्यकर्ताहरूको अभिव्यक्ति साँच्चै कारुणिक देखिन्छ। यी सबै परिवेशमा एमालेकोे अवस्था पराजित मानसिकता बोकेर युद्ध मैदानमा उत्रिएको सैनिकको जस्तै छ।
यता सम्पूर्ण रुपमा एकताबद्ध कांग्रेस झन् बलियो बन्दैछ भने सहयात्रीहरू पनि बलवान् नै देखिन्छन्। गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खुला हृदयले सिट बाँडफाँटमा देखाएको लचकता एवं पार्टीको आन्तरिक प्रतिस्पर्धामा उत्रेका नेता डा. शेखर कोइराला समूहलाई समेटेर लैजान गरेको अथक प्रयास अतुलनीय छ।
आफू र पार्टी सभापति शेरबहादुर देउवा मिलिसकेकाले झगडा नगर्न कार्यकर्ताहरूलाई डा. शेखर कोइरालाले दिएको निर्देशन आफैंमा शक्तिशाली क्षेप्यास्त्र हो। कोइरालाले पार्टीको महाधिवेशन र स्थानीय निर्वाचनको सबै तुष त्यागेर एकताबद्ध हुन कांग्रेस कार्यकर्तालाई गरेको आह्वानले देशैभर कांग्रेसजनमा एकताको सन्देश प्रवाह गरेको त छँदैछ चुनावी माहोलमा होमिएका नेताकार्यकर्ता थप उत्साहित देखिएका छन्।
लोकतन्त्रमा राजनीतिक दलको विकल्प दलहरू नै हुन्। त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै लैजाने र जनताले रुचाएका नेताहरू नै पार्टीको शीर्ष स्थानमा पुग्ने अभ्यासलाई थप व्यवस्थित र परिमार्जित गर्दै लैजान पार्टी महाधिवेशन तथा आम चुनाव सहायक सिद्ध हुनैपर्छ। यसो हुन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत बन्छ।
लोकतन्त्र निर्वाचनको अभ्यास र त्यसको परिणामले मात्र होइन, दलहरूभित्र व्यवस्थापनको तौरतरिका तथा अवसरहरूको न्यायोचित बाँडफाँटको समयोगबाट मजबुत बन्दै जाने गर्छ। लोकतन्त्रको यो कसीमा कुन दलले आफूलाई कसरी अघि बढाएका छन् भन्ने मूल्यांकन आम मदतादाले मंसिर ४ गते गर्ने नै छन्। आम निर्वाचनमा लोकतन्त्रमाथि घात र अपराध गर्ने नेताहरू तिरस्कृत तथा जनताका साथी एवं समृद्धिका सारथीहरू पुरस्कृत हुने अपेक्षा गर्न सकिन्छ।