दाजुले भाउजू ल्याउने कुरा चलेपछि हाम्रो घरको छाउगोठ भत्काइयो
‘एकपटक हाम्रो घरमा कोही बिरामी पर्दा धामीलाई देखाएका थियौँ, छाउपडी नमान्दा बिरामी परेको भनी धामीले भने। त्यसपछि महिनावारी हुँदा भाउजू पिँढीमा सुत्न थाल्नुभयो। म पनि कहिलेकाहीँ पिँढीमा, कहिले छिमेकीको छाउगोठमा जाने गर्थें।’स्कुलको ड्रेस लगाउन लागेकी थिएँ, घर बस्दा लगाएको कुर्तामा रातो रगत देखियो। झसंग भएँ, कतै महिनावारी भएँ कि ! दिदीबाट सुनेकी थिएँ, महिनावारी हुँदा रगत बग्छ। मम्मी पहिलोपटक महिनावारी हुँदा २० वर्षकी हुनुहुन्थ्यो रे। दिदी १६ वर्षमा भएको मलाई थाहा थियो। म भर्खर १३ मा टेक्दै थिएँ, कक्षा ७ मा पढ्थेँ। के म महिनावारी भएँ ? आफू महिनावारी भएको आफैँलाई विश्वास लागिरहेको थिएन। तर लगातार रगत बग्न थाल्यो, अब भने म विश्वस्त भएँ— हो, म महिनावारी भएँ।
मलाई स्कुल पुग्न ढिला भएको थियो। दिदीको प्याड झिकेर लगाएँ, प्याडको बारेमा जानकारी मैले दिदीबाटै पाएकी थिएँ। महिनावारी हुँदा अरु छात्रा स्कुल जाने गर्थे। म पनि ड्रेस लगाएर स्कुल जानका लागि निस्केँ। त्यस दिन सधैँ हिँड्ने बाटो नहिँडी छाउपडी गोठको पछाडिबाट हिँडे। महिनावारी हुँदा दिदी र मम्मी त्यही बाटो हिँड्नुहुन्थ्यो। अरु बेला हिँड्ने बाटोमा गाईवस्तु बाँध्ने गर्थ्याैँ। गाईवस्तु छोइन्छ, छोइयो भने कुलदेवता रिसाएर गाईवस्तु बिरामी पार्छन् भन्ने मान्यतामा उहाँहरु त्यो बाटो हिँड्नुहुन्नथ्यो, मैले पनि त्यही नियम पछ्याएँ।
केही पर पुगेपछि मलाई स्कुल जान मन भएन। मनमा उदासी छाउन थाल्यो, सारा बालापनले एकैपटक छाडेर गएजस्तो आभास भएको थियो। छिमेकीको घरपछाडि उभिइरहेकी थिएँ, स्कुल जाने वा नजाने भन्ने कुनै निर्णय लिन सकेकी थिइनँ। वरपरबाट देख्नेले सोध्न थाले— के भयो, किन त्यहाँ त्यसरी बसेको ? मैले टाउको दुखेको बहाना बनाएँ।
केहीबेर त्यहाँ बसेर अन्ततः म घर फर्कें। दिदी क्याम्पसबाट आइसक्नुभएको रहेछ। मलाई देख्नेबित्तिकै दिदी हाँस्न थाल्नुभयो, म भक्कानिएर रोएँ। म छाउगोठको बाटो भएर हिँडेको छिमेकी भाउजूले देख्नुभएको रहेछ, यही आधारमा भाउजू र दिदीले म महिनावारी भएको अनुमान गर्नुभएछ, आखिर महिलाको अवस्था महिलाले नै बुझ्छन्।
म रोएको सुनेर वरपरबाट भाउजू, माइजु लगायत छिमेकी महिलाहरु आएर मलाई जिस्काउन थाले। महिनावारी हुनु पनि स्त्री हुनुको गुण हो। उहाँहरुलाई लागेको हुँदो हो, महिनावारी पनि महिलालाई परिपक्वतातिर लैजाने नियम हो, एउटा पर्व हो। सायद उहाँहरुले मलाई त्यही खुसीमा जिस्काउनुभएको थियो, म भने रोइरहेकी थिएँ। एकछिनपछि सबैले मलाई सम्झाइबुझाइ गर्न थाल्नुभयो। अब म १२ दिनसम्म छाउगोठमा बस्नुपर्छ, यही कुराले मलाई पिरोलिरहेको थियो।
मेरो परिवार अछामबाट ०५९ सालतिर कञ्चनपुरको कृष्णपुरमा बसाइँ सरी आएको हो। मानिस बसाइँ सरेर जहाँ पुगोस्, उसले आफूसँगै आफ्ना प्रथा वा कुप्रथा, परम्परा र संस्कृति पनि लिएर गएको हुन्छ। कृष्णपुरको हाम्रो घरअगाडि छाउपडी गोठ बनाइएको थियो, जसमा महिनावारी हुँदा मम्मी र दिदी बस्दै आउनुभएको थियो।
मलाई दिदीहरुले छाउपडी गोठमा लिएर गए। त्यो होँचो र साँगुरो गोठ, जहाँ दुईजना सुत्नसम्म मिल्थ्यो, पलेँटी मारेर बस्दा टाउकोले माथि छुन्थ्यो।
त्यसअघि म घरमा पनि एक्लै सुत्न डराउँथे, दिदी वा मम्मीसँग सुत्थेँ। छाउगोठमा कसरी एक्लै सुत्ने ? फागुनको महिना थियो, कञ्चनपुरमा करिबकरिब जाडो गइसकेको थियो। छाउपडी गोठमा बस्दा सर्प र आत्मसुरक्षाको डर त छँदै थियो, त्योभन्दा मलाई भूतको डर लाग्थ्यो। गाउँका ठूलापाकाबाट सुनेकी थिएँ, रातमा गीत गाउँदै भूत आउँछ। मेरो कलिलो मस्तिष्कमा भूतप्रतिको एक प्रकारको विश्वास पनि थियो।
म एक्लै सुत्न नसक्ने भएपछि मम्मीले मेरी साथी लक्ष्मीको परिवारसँग कुरा गर्नुुभयो। लक्ष्मी महिनावारी भएकी थिइनँ। ऊ महिनावारी हुँदा म कुर्न जाने सर्त राखियो र ऊ आई। रातभरि मसँग बसेर लक्ष्मी बिहानै नुहाइधुवाइ गरी गहुँत खाएर आफ्नो घर जान्थी। मैले पनि बिहानै नुहाउँथेँ। अनि, दिदी र मम्मीले ल्याइदिएको खाना खाएर स्कुल जान्थेँ। पहिलोपटक महिनावारी हुँदा मम्मीले पुरुषको मुहार नदेख्ने गरी लुक्नुभएको थियो रे। मेरी दिदी पनि एक दिन त्यसरी नै लुक्नुप¥यो। मेरो पालासम्म आइपुग्दा कम्तीमा यो नियम हटिसकेको थियो।
१२ दिनमा मलाई चोख्याइयो। त्यस दिन मम्मीले मलाई फलफूल, सेलरोटी र एकजोर नयाँ लुगा दिनुभएको थियो। फलफूल र सेलरोटी गाउँका मेरै उमेर समूहका केटी साथीलाई बाँड्न भनिएको थियो।
त्यसपछि हरेकपटक महिनावारी हुँदा मैले ६–७ दिन छाउगोठमा बस्नुपर्थ्याे। महिनावारी भएका बेला आँगनको डिलसम्म जान पाइँदैनथ्यो। चार दिनसम्म त छाउगोठमै बसेर खाना खानुपर्थ्याे, पाँचौँ दिनदेखि नुहाइधुवाइ गरी गहुँत खाएपछि आँगनमा टेक्नसम्म पाइन्थ्यो।
सुरुका केही महिना छाउगोठमा मलाई साथ दिन लक्ष्मी नै आई। म पहिलोपटक महिनावारी भएको पाँच महिनापछि ऊ पनि पहिलोपटक महिनावारी भई, अब कुर्ने पालो मेरो आयो। मैले उसलाई १२ दिनसम्म कुरेँ। त्यसपछिका केही महिना एकअर्कालाई कुर्ने क्रम चलिरह्यो। कुर्न जानेलाई पनि सहज थिएन। हरेक बिहान नुहाएर, गहुँत खाएर चोखो कपडा लुगापछि मात्र घरभित्र पस्न पाइन्थ्यो।
२०७० सालतिर मेरो दाजुको विवाहको कुरा चल्यो। भाउजूको माइतीतिर छाउपडी प्रथा मान्दैनथे। भाउजू शिक्षित हुनुहुन्थ्यो, उहाँको माइतीमा पनि छाउगोठ बस्ने चलन रहेनछ। भाउजू आउने भएपछि २०७० सालमा हाम्रो घरको छाउपडी गोठ भत्काइयो। यतिन्जेल दिदीको बिहे भइसकेको थियो, ममीको महिनावारी रोकिएको थियो, घरमा महिनावारी बार्नेमा म मात्रै थिएँ। घरको छाउगोठ भत्काएदेखि महिनावारी हुँदा म छिमेकीको छाउगोठमा जान थालेँ।
सुरुमा भाउजू महिनावारी हुँदा घरभित्रैको एउटा छुट्टै कोठामा बस्नुभएको थियो। यो कुरा छिमेकीले राम्रो मानेनन्। एकपटक हाम्रो घरमा कोही बिरामी पर्दा धामीलाई देखाएका थियौँ, छाउपडी नमान्दा बिरामी परेको भनी धामीले भने। त्यसपछि महिनावारी हुँदा भाउजू पिँढीमा सुत्न थाल्नुभयो। म पनि कहिलेकाहीँ पिँढीमा, कहिले छिमेकीको छाउगोठमा जाने गर्थें।
गाईले दूध नदिँदा
महिनावारी हुनुअघिसम्म म घरमा पवित्र थिएँ। हाम्रो घरमा गाईले कहिलेकाहीँ दूध दिँदैनथ्यो। मम्मीले मलार्ई बिहानै चोखो मुखमा नुहाउन लगाउनुहुन्थ्यो। मम्मीले सिकाए अनुसार, नुहाइसकेपछि मैले छिमेकका पाँच घरको धाराबाट पानी ल्याउँथे। त्यस पानीमा तिल, जौ र गाईको गहुँत मिसाएर गाईलाई नुहाइदिन्थेँ। गाईलाई नुहाइसकेपछि पाँच–दश रुपैयाँ गाईको शिरमा घुमाएर भन्नुपथ्र्यो– मैले जानिनँ, गल्ती भयो।
गाईको शिरमा घुमाएको पैसा मैले मम्मीलाई दिन्थेँ। मम्मीले कुल देउताको मन्दिरमा क्षमा माग्दै दण्डस्वरुप त्यो पैसा चढाउनुहुन्थ्यो। यो क्रम म पहिलोपटक महिनावारी नहुँदासम्म चलिरह्यो। मैले धेरैपटक मम्मीले भने अनुसार, गाई र भैँसीलाई यसरी नै नुहाइदिएँ। म महिनावारी भइसकेपछि भने मम्मीले महिनावारी नभएका गाउँका अरु कन्यालाई बोलाएर यो विधि गराउनुहुन्थ्यो।
धमेनीलाई छुँदा...
महिनावारी हुँदा गाईवस्तुसँगै बुढापाका मानिसलाई छुन हुँदैन भनिन्छ। मैले कक्षा १२ मा पढ्दाको कुरा हो। भदौको महिना थियो, हाम्रो गाउँमा गौरा पर्वको रौनक थियो। हामी केटीहरू देउडा खेल्दै थियौँ। त्यति बेला म महिनावारी भएकी थिएँ, हाम्रै गाउँकी धमेनी आमा मेरो हात समाएर देउडा खेल्न थाल्नुभयो। म डराएँ, अब धमेनी आमालाई के हुने हो भनेर। महिनावारी भएकाहरुले छुँदा गाउँका कतिपय पाका महिला तथा पुरुषहरु काम्न थाल्छन्, बान्ता समेत गर्छन्, सायद यो एक प्रकारको झूटो विश्वासको उपज होला।
त्यतिबेला मैले धमेनी आमालाई आफू महिनावारी भएको कुरा बताइन्, उनीदेखि छुट्टिएर अन्य साथीहरुसँग खेल्न थालेँ। त्यस दिन उहाँलाई केही भएन। मलाई अचम्म लाग्यो– महिनावारी भएको थाहा नदिई छँुँदा केही नहुँदो रहेछ। थाहा भए मात्रै समस्या हुने ! त्यसपछि म निश्चित भएँ– यो सब मानिसको विश्वासबाहेक केही होइन।
‘छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीति, ०७६’ आएसँगै अछाम, बझाङ, बाजुराका कतिपय छाउपडी गोठ प्रहरीको सहयोगमा भत्काउन थालियो। यसरी छाउगोठ भत्काइँदा महिलाले राहत पाउनुको साटो कोही गोरु गोठमा, कोही ओढारमा र कोही खेतको आलीमा समेत बस्नुपरेको छ।
०७८ को फागुनमा मैले अछामको साँफेबगर नगरपालिकाकी तत्कालीन उपप्रमुख बिर्मलादेवी बुड्थापासँग टेलिफोन वार्ता गरेकी थिएँ। आफूहरुले आर्थिक वर्ष ०७६/७७ को करिब ६ महिनाभित्रै छाउपडीमुक्त नगरपालिका घोषणा गर्ने उद्देश्य लिएको तर उद्देश्य पूरा गर्न नसकेको उनले बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘छाउपडी प्रथा उन्मूलन गर्ने सुरुवात छाउपडी गोठ भत्काएर गरेका थियौँ। घरघर गई यहाँका नौ सय ४२ छाउपडी गोठ भत्काइएको थियो तर परम्परादेखि जरो गाड्दै आएको छाउपडी प्रथालार्ई निर्मूल गर्न सकिएन।’
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा महिला रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख छ। यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
२०७४ को स्थानीय निर्वाचनपछि स्थानीय सरकारले छाउपडी प्रथा निर्मूलका लागि आ–आफ्नो क्षेत्रबाट केही न केही पहल गरेकै छन्। कानुनमा सजायकै व्यवस्था भए पनि समाजबाट अझै छाउपडी प्रथा हट्न सकेको छैन। उमेर र कक्षा बढ्दै जाँदा स्कुलमा पढेको ज्ञानका आधारमा दाजु, दिदी र मैले घरमा छाउगोठ बस्नेबारे विरोध नगरेका होइनौँ, तर समाज र कुलदेवताका डरका कारण हाम्रो कुरा घरमा लागू हुन सकेन। यसमा सरकारले नै जनचेतनाका कार्यक्रम ल्याउन जरुरी छ र शिक्षित तथा न्यायप्रेमी वर्गले आवाज उठाउन पनि आवश्यक छ।