Kathmandu Press

मुलुकको दिशा र दसा : कांग्रेस, वामपन्थी र बालेन 

सत्य के हो भने बालेनले जिते पनि, हारे पनि, ‘नो भोट’ नै भए पनि या पार्टीहरूको विरोध, युवाहरूको ‘बगावत’ जेसुकै होस्, नेपालले भोगिरहेको समस्याको दबाईका रूपमा यसलाई लिन सकिन्न। 
मुलुकको दिशा र दसा : कांग्रेस, वामपन्थी र बालेन 

काठमाडौं, जेठ २५ : मैले हरेक समय परिवर्तनको कुरा उठाउँदै आएँ। मलाई लाग्थ्यो– हरेक मानिसले विवेकले काम गर्छ। उसले सत्य नदेखुन्जेल उल्टोपुल्टो काम गर्छ। तर जब विमर्शका माध्यमले सत्य प्रकट हुन्छ तब उसले कुरा बुझ्छ र आफ्नो सोचाइ बदल्छ। हाम्रो सन्दर्भमा भने यो यथार्थ लागु भएको देखिन्न। 

यसको कारण के होला भन्ने जिज्ञासा प्रकट भए पनि नेपालमा बृहत् प्रायोगिक अनुसन्धान गर्न मेरा लागि सम्भव थिएन। त्यसैले सांस्कृतिक सामीप्य पनि भएका एसियाली देशहरूको प्राचीनकालदेखिका इतिहास पढें।

के चीन, थाइल्यान्ड, कोरिया, जापान र श्रीलंकाले इतिहासमा नेपालकै जस्ता समस्या भोगेका थिए? यही जिज्ञासमा केन्द्रित रहँदा समस्याहरू निश्चित रूपमा रहेको देखिए। केही देशमा आजभन्दा सय वर्षपहिला समस्या थिए, केहीमा ५० वर्ष पहिला, केहीमा ३० वर्षपहिला। अझ केहीमा ५ सय वर्ष पहिला समस्या थिए। अर्थात्, नेपाल एसियाली अग्र विकासोन्मुख देशको तुलनामा २ सय वर्षपछाडि रहेको देखिन्छ। 

Hardik ivf

यसरी नेपाललाई पछाडि पार्ने के हुन् ती समस्या ? फेरि प्रश्न जन्मिन्छ । वास्तवमा काठमाडौं ‘स्युडो’हरूको सहर हो, बहुमतमा । सिकाइ र बोध तीन किसिमका हुन्छन्। जानकारी, ज्ञान र सत्बुद्धि। नेपालमा अधिकांश मानिस जानकारीका पछाडि दौडिने हुन्छन्। त्यो पनि आँखामा पट्टी बाँधेर। जस्तो कि अहिले बालेनका अन्धसमर्थक र अन्धविरोधी छन्।

सत्य के हो भने बालेनले जिते पनि, हारे पनि, ‘नो भोट’ नै भए पनि या पार्टीहरूको विरोध, युवाहरूको ‘बगावत’ जेसुकै होस्, नेपालले भोगिरहेको समस्याको दबाईका रूपमा यसलाई लिन सकिन्न। 

तथ्य के हो भने बालेनहरूको जितले देशले चाहेको परिवर्तन ल्याउन सम्भव छैन। यसले अहिलेको डेलिभर गर्न नसक्ने प्रशासनिक र परिवर्तनविरोधी प्रणालीलाई नै यथावत् राख्छ। यही प्रणालीलाई झन् दह्रो बनाउँछ। किनभने बालेनलाई चलाउने कुनै स्थापित लोकतान्त्रिक संस्था पनि छैन। उनलाई भोका र छट्टुपट्टु मानिसले प्रयोग गर्छन्।

हिजो बाबुआमाका हात समातेर ‘बालेनलाई भोट नहाले मर्छु’ भन्नेलाई अब फेरि राजनीतिमा चासो हुनेछैन। अर्को एउटा होली सकिएको मात्र हो। 

काठमाडौंको मास ज्ञान र बुद्धिले भन्दा ‘स्युडो’ ज्ञानमा दौडने गरेको छ। यही मासले पिएल गफलाई पत्यायो। स्थापितका गफलाई पत्यायो। नानीमैयाँका गफलाई पनि पत्यायो। केपी ‘बा’का गफलाई पत्यायो। प्रचण्डका गफलाई पत्यायो। तर उही मासले गणेशमानलाई पत्याएन। र, कृष्णप्रसाद भट्टराईलाई पत्याएन। 

कम्युनिस्ट सिद्धान्त सकिएपछि कोही कम्युनिस्ट हुँदैन। कम्युनिस्ट सिद्धान्त सकिएपछि केवल मूल्यहीन जमात मात्र हुन्छ। उनीहरूको जमात्मा आफ्नै काम्रेड सबैभन्दा डरलाग्दो शत्रु हुन्छ।

यो स्थानीय निर्वाचनमा कथित कम्युनिस्ट पार्टीहरूले हारे। हार त उनीहरूकै सिद्धान्त पतनका कारण भएको हो। तर अन्तिममा नेपालमा राम्रोसँग हुर्किएको वामपन्थी लोकतन्त्रले मार खायो। 

पार्टी हाँक्ने नेताहरूसँग नैतिक बल नै छैन। नत्र उनीहरूले राजीनामा दिन्थे। यही हो राजनीतिमा नैतिकताको पतन भनेको। कांग्रेसलाई लाग्न सक्छ, समाजवादी राजनीति सकिए उसलाई राम्रो हुन्छ। कांग्रेसले पनि के बुझेको छैन भने वामपन्थी लोकतान्त्रिक शक्ति सकिएपछि ऊ बाँचेको राजनीति व्यवस्थामाथि पनि आक्रमण हुन्छ। वामपन्थी सकिएपछि वास्तवमा कांग्रेस पनि रहँदैन। 

विडम्बना नै मान्नुपर्छ नेपालका कम्युनिस्टलाई सबैले मन पराए पनि मेरिटोक्रेसी र विज्ञलाई भने मन पराइँदैन। कांग्रेसलाई पनि सबैले मन पराउँछन् तर ‘पार्टीभित्र स्वतन्त्र विचार राख्ने’ र ‘समाजवाद मन पराउनेहरू’लाई मन पराइँदैन।

वामपन्थी, लोकतन्त्र र उदार लोकतन्त्र नेपालमा हुर्किन सक्ने राजनीतिक धार हुन्। तर अहिलेका राजनीतिक नेतृत्व र संगठनले यी राजनीतिक धारको प्रतिनिधित्व गर्न सक्दैनन्। 

यतिबेला देशको परराष्ट्र नीति गम्भीर संकटमा छ। राज्यसत्तामा पुगेका वामपन्थी शक्तिको विचारधारात्मक स्खलन लाजलाग्दो छ। देशभक्त मानिसले देशीविदेशीलाई जिम्मा लगाउनेका अगाडि लाचार बन्नुपर्ने अवस्था छ। विदेशीका पैसामा पत्रकारिता गर्ने पाखण्डीहरूका प्रोपोगन्डामा देशको मनोविज्ञान बनिरहेको छ। शिक्षा भन्ने वस्तु सुकेको झारझैं बनेको छ। ज्ञान र वैज्ञानिक चेतनाको चरम अभाव छ।

नेताहरू घिउका लागि लडाइँ गर्ने भेडागोठालाले जस्तै गर्छन् र भिड विभाजन गर्छन्। जब घिउको कुरा मिल्छ, तब उनीहरू फेरि भेडीगोठ जोड्छन्। बेथिति र अन्योलबीच जनता भेडाको दिशाहीन हुलजस्तै बन्न पुगेको अवस्था छ। विचारहीन सत्तामा पुग्न चाहने जमात उन्युँ उम्रिएजस्तै उम्रिएका छन्।

यसर्थ विज्ञताले अगुवाइ गरेको राजनीति नै अबको बाटो हो। आशा छ, त्यसले भविष्यमा आकार लिनेछ। युवाहरूको दबेको अन्तस्करणलाई प्रकट गर्ने अम्बेदकर र दासुईजस्ता विद्वान्हरू पर्दाबाहिर देखिन बाँकी छन्। अब वास्तविक रूपमा नेपाललाई माया गर्ने देशभक्त, समाजवादमा आस्था राख्ने अनुसन्धानकर्ता, प्राध्यापक, व्यावसायिक र अध्यताहरूले देशका समस्याका बारेमा छलफल गर्ने समय आयो।

युवाहरूलाई पथ प्रदर्शन गर्न ढिला गरिनुहुँदैन। सायद अब देशको अस्तित्वका लागि विज्ञहरूले बहस निर्माण गर्नु आवश्यक छ।
 

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, जेठ २६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्