पत्रिका पढ्ने महिला र पूजाको थाली बोक्ने पुरुष !
केही प्रकाण्ड विद्वान् कहलिइसकेका पुरुष पनि महिलाहरू महिलावादी हुने होइन, स्त्रीत्व वा नारित्व भएको हुनुपर्छ भन्नेमा विश्वास राख्ने रहेछन् । तर, स्त्रीत्व वा नारित्वको कुनै मानक छैन, यो समाज हेरी फरक छ ।हामीजस्ता धेरै आम महिलालाई सामाजिक भूमिकाले दूरदर्शी, जिज्ञासु, जानकार हुनबाट रोकिराखेको त छैन ? यही प्रश्नलाई यहाँ केही उदाहरणमार्फत प्रस्ट्याउने जमर्को यस आलेखमा गर्दैछु ।
वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ प्रतिभाका धनी हुन् । उनको स्वर तथा शब्द र शक्ति वल्लभको संगीत रहेको ‘खोलावारि खोलापारि पिपलु र वर’ बोलको गीत मलाई असाध्यै मन पर्छ ।
पछिल्लो समय उनले राजनराज शिवाकोटीको शब्द र संगीत रहेको ‘फुलबुट्टे सारी’ बोलको गीतमा पनि स्वर दिएका छन्, जसलाई लेजेन्ड्री भर्सन भनिएको छ । यो गीतको शब्द, संगीत र स्वर मलाई खुबै मनपर्छ । बेला बेला गुनगुनाउँछु पनि । यस गीतको म्युजिक भिडियो हेर्दा मेरो मनमा केही कुरा खेल्न पुगे । दृश्यमा प्रौढ जोडीको प्रेमिल र सुखमय जीवन देखाइएको छ । अधिकांश दृश्यमा श्रीमानको सेवा–सुश्रुर्षामा श्रीमती प्रायः श्रीमानको वरपर देखिन्छिन् । श्रीमानको निकै ख्याल गर्छिन् ।
यस भिडियोमा दम्पती बीचको मायालाई प्रगाढ रुपमा देखाइएको छ । तर, यसमा देखाइएका दृश्यले पुरुषवादी सोच र पितृसत्तालाई प्रश्रय दिएको छ । पत्रिका पढ्ने, लेखपढ गर्ने, कार चलाएर घरबाट कार्यालय निस्कने जस्ता काम श्रीमानको भागमा छन् । पूजाको थाली बोक्ने, श्रीमानको ख्याल गर्ने, घामपानीले श्रीमानलाई असर गर्छ कि भनी चिन्ता गर्ने जिम्मा श्रीमतीको भागमा छन् ।
यो म्युजिक भिडियो हेर्दाहेर्दै मैले एक बौद्धिक महिलालाई सम्झन पुगेँ । ती महिलाले एकपटक मलाई आफ्नो अनुभव सुनाएकी थिइन् । करिब २५ वर्षअघि एक दिन उनी आफू बसेको घरको आँगनमा घाम ताप्दै पत्रिका पढ्दै थिइन् । त्यहीबेला उनलाई घरधनी महिलाले देखिछन् । ती घरधनी महिलाले उनलाई ‘महिला भएर पुरुषले जस्तै ठाँट पारी कुर्सीमा घाम तापेर पढ्ने, सोमत नभएकी, सामाजिक अनुशासन नबुझेकी’ भनेर कराइछन् । घरधनी महिलालाई लागेछ– डेरा गरी बस्ने ती बौद्धिक महिला सामाजिक मर्यादाको विपरीत छन् । ती घरधनी महिलाले समाजले सिकाए अनुसारकै धारणा व्यक्त गरेकी थिइन् ।
आज यस गीतको भिडियो हेर्दै गर्दा ती बौद्धिक दिदीको अनुहार मेरा सम्झनामा आयो । र, लाग्यो– यस समाजले पत्रिका पढ्ने, लेखपढ गर्ने, कार चलाउने, कार्यालय जाने पुरुष नै हो भनी स्थापित गरेको छ । यस भिडियोमा पत्रिका पढ्ने महिला र पूजाको थाली लिने पुरुष देखाएको भए ! के हाम्रो समाजलाई यस्तो पचाउँदैन ?
हालसालै एक व्यापारी महिलासँग मेरो भलाकुसारी भयो । उनी पढेलेखेकी महिला भएको पसलमा गएँ । ती महिलाले कस्टमरलाई विनम्र भावमा भन्दै थिइन्– आउनुस्, फलानो सामान लैजानुस् । उनी पढेलेखेकै महिला हुन् । सामान लिइसकेपछि मैले बिल मागेँ । उनले मलाई कुन अफिसमा काम गर्नुहुन्छ भनेर सोधिन् । मैले भनेँ– खासै केही गर्दिनँ, कहिलेकाहीँ यसो पत्रपत्रिका लेख्छु । पत्रपत्रिकामा लेख्ने कामलाई उनले ‘त्यो लेखापढी ?’ भनी सोधिन् ।
मलाई के लाग्यो भने, महिलाले पत्रपत्रिकामा लेख्छन् भन्ने उनलाई त्यति ख्याल छैन । अर्थात्, उनलाई मोटामोटी रुपमा लागेको रहेछ– पत्रिका पढ्ने, त्यसमा लेख्ने काम पुरुषको हो । त्यसो त, घरको कामधन्दा, अनेक झमेलाले गर्दा उनलाई आजसम्म पत्रपत्रिका हेर्ने फुर्सद नै मिलेनछ ।
केही प्रकाण्ड विद्वान् कहलिइसकेका पुरुष पनि महिलाहरू महिलावादी हुने होइन, स्त्रीत्व वा नारित्व भएको हुनुपर्छ भन्नेमा विश्वास राख्ने रहेछन् । तर, स्त्रीत्व वा नारित्वको कुनै मानक छैन, यो समाज हेरी फरक छ । हामीकहाँ भने पतिको सेवा गर्ने, छोराछोरी वा घरका अन्य सदस्यको हेरचाह गर्ने, घरायसी काममै सीमित हुने वा राजनीति, आन्दोलन र बहसमा नजाने आदिलाई नै नारित्वको रुपमा लिइएको पाइन्छ ।
कतिपय प्राकृतिक जैविक कारण महिलाका भूमिका वा जिम्मेवारी पुरुषका भन्दा भिन्न हुन्छन् । जस्तो ः बच्चा जन्माउने र दूध चुसाउने । यसो भन्दैमा, छोराछोरीको हेरचाह गर्ने जिम्मा पुरुष वा पिताको हुँदै होइन भन्ने होइन । महिला र पुरुष सहअस्तित्वका हुन् र बराबरी नै सहभागिता हरेक क्षेत्रमा हुनुपर्छ । महिलाका जिम्मेवारीमा पुरुषको पनि उत्तिकै साथ र सहयोग हुने अवस्था नभएसम्म महिलाको भूमिका फेरि उही दोस्रो दर्जाको नागरिक नै हो । अझै पनि हाम्रो समाजमा घरायसी काम महिलाको मात्रै हो भन्ने सोचिन्छ ।
यस्तो सोचमा परिवर्तन ल्याउन समाज वा राज्यले के गर्नुपर्ने हो ? यसमा पनि आज बहस आवश्यक छ । महिला र पुरुषको सहकार्यबाट बनेको समाज कम हिंसात्मक र न्यायिक हुन सक्छ । यसमै हामी सचेत हुनुपर्नेछ, ध्यान दिनुपर्नेछ । यसमा राज्यले समाजका मानिसलाई बुझाउँदै जानुपर्छ । सबै काम राज्यले मात्रै गर्नुपर्छ भन्ने होइन, केही न केही परिवर्तनकोे सुरुआत त आफूबाटै गर्नुपर्छ । उदाहरणका लागि, समाजका सचेत वर्गले भन्न सक्नुपर्छ– महिलालाई विभेद गर्दिनँ, जातपात मान्दिनँ, समाजमा विभेदमा परेका वर्गको पक्षमा बोल्छु । यस्ता प्रतिबद्धता व्यवहारमा लागू हुँदै गएमा पनि महिलालाई समाजमा अगाडि बढ्न सजिलो हुन्थ्यो ।