Kathmandu Press

कूटनीतिक शिष्टाचारदेखि सामाजिक शिष्टाचारसम्म

हामीकहाँ ‘कूटनीतिक आचारसंहिता-२०६८’ छ। यस संहिताले ‘सार्वजनिक पद धारण गरेका व्यक्ति’ले राज्यका कूटनीतिक कार्य तथा कूटनीतिक जिम्मेवारी बहन गर्नुपर्दा ध्यान दिनुपर्ने पोसाकदेखि भाषा र आचरणका कुरा सम्झाएको छ। 
कूटनीतिक शिष्टाचारदेखि सामाजिक शिष्टाचारसम्म

गौतम बुद्धको एउटा भनाइ छ, ‘तिमीले जति पवित्र शब्दहरू पढ, जति पवित्र बोल, त्यसले कुनै शुभ गर्दैन, जबसम्म तिमीले त्यसअनुरूपका व्यवहार वा कर्म गर्दैनौ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जयन्तीका अवसरमा सोमबार बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरू लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रअगाडि तयार पारिएको हेलिप्याडमै पुगेर मोदीको स्वागत गरेका थिए।

प्रधानमन्त्री देउवा र मोदीले मायादेवी मन्दिरमा एकै साथ शान्तिपूजा गरे। यसै सन्दर्भको एउटा भिडियो क्लिपले सामाजिक सञ्जालमा चर्चा पाएको छ। भिडियोमा प्रधानमन्त्री देउवा केही बेचयन जस्ता देखिन्छन् भने भारतीय प्रधानमन्त्री मोदी नमस्कार र शान्त मुद्रामा छन्। 

Hardik ivf

यसैलाई लिएर अधिकांशको टिप्पणी छ- प्रधानमन्त्री देउवाले कूटनीतिक आचार वा शिष्टाचार जानेनन्। कतिपयको रोष छ- धर्म मानेनन्। 

हामीकहाँ ‘कूटनीतिक आचारसंहिता-२०६८’ छ। यस संहिताले ‘सार्वजनिक पद धारण गरेका व्यक्ति’ले राज्यका कूटनीतिक कार्य तथा कूटनीतिक जिम्मेवारी बहन गर्नुपर्दा ध्यान दिनुपर्ने पोसाकदेखि भाषा र आचरणका कुरा सम्झाएको छ। 

एउटा सार्वजनिक पद धारण गरेको व्यक्ति मात्र होइन, जो–कोही मानिस बोली, व्यवहार र पहिरनमा सचेत हुनुपर्छ। उसको निजी जीवन पनि मर्यादित हुनुपर्छ। शासन र प्रशासनसँग सम्बन्धित व्यक्तिको बोली, व्यवहार र पहिरनले मान-मर्यादा पनि झल्काउँछ, त्यसैले यसमा सचेत हुनुपरेको हो। यसमा हामी जिम्मेवार हुनुपर्छ र यस विषयमा राष्ट्रियस्तरमै एक प्रकारको शिक्षा वा तालिम पनि चलाइनुपर्छ। 

स्पष्ट भाषामा भन्ने हो भने, मानव अनौपचारिक सम्बन्ध र व्यवहारमा रमाउन चाहन्छ, औपचारिकता त केहीबेरको अभिनय हो। सामाजिक सञ्जालमा अर्ती दिन सहज छ, तर सचेत र सम्यक् औपचारिक व्यवहार हामी धेरैको वशको कुरा होइन।   
हरेक व्यक्ति सधैँ सचेत नहुन सक्छ। कहिलेकाहीँ उसका व्यवहार उसकै अवचेतन मन, अन्यको अवचेतन मन र तत्कालीन वातावरण वा परिस्थितिबाट प्रभावित हुन सक्छ। 

एउटा विधि वा संहितामा बस्न सहज हुँदैन। यस्तो अवस्थामा हामीलाई दुःख दिने हाम्रै मनले हो। बुद्धका अधिकांश वचन तन र मनको स्वास्थ्य वा पवित्रतासँग सम्बन्धित पाइन्छन्। 

अरुलाई अर्ती दिने हामी 

आज विज्ञान, प्रविधि र प्रज्ञामा आएको विकासले नागरिकलाई प्रश्न गर्ने, आवाज उठाउने अधिकार र मञ्च दिएको छ। 
राज्यको विधि, व्यवस्थादेखि समाजमा विद्यमान विसंगति, व्याभिचारमाथि प्रश्न गर्न नागरिकका लागि अनेक मञ्च र माध्यम छन्। तर्कसंगत वा न्यायसंगत आवाजको आयाम र आयतन बढ्दै गएको पनि पाइन्छ। अर्कोतिर, अचेल अरुलाई अर्ती–उपदेश दिन सहज छ— केही शब्द आफैँ सोचेर, अरुको लिएर वा तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट गरिदिए भयो। 

उपरोक्त बुद्धका वचनझैँ पवित्र शब्दहरू बोलेर मात्रै केही हुँदैन, त्यो व्यवहार र कर्ममा लागू हुनुपर्छ। 

हामी अरुबाट सम्मानजनक बोली व्यवहारको अपेक्षा गर्छौं, तर आफूले प्रयोग गर्ने सस्ता शब्द र नीच व्यवहारतर्फ सचेत हुँदैनौँ। जात छोएर, कुनै धर्म, समुदाय वा पार्टीको पक्षधर भएर गाली गर्न हामीलाई बडो आनन्द आउँछ। 

हो, प्रधानमन्त्री देउवाले शिष्ट र सौम्य व्यवहार जान्नुपर्छ, सिक्नुपर्छ। देशका कार्यकारी प्रधानमन्त्री भनेका नागरिकका अभिभावक हुन्, उनीबाट जनताले सिक्नुपर्ने हो, सिकाउनुपर्ने अवस्था सिर्जना हुनु हामी सबैका लागि राम्रो होइन। यो एउटा सन्दर्भ हो, कूटनीतिक शिष्टाचारको। के हामी नागरिकले सिक्नुपर्ने शिष्टाचार छैनन्? 

समाजमा भनेको सुनिन्छ- यत्रो पढेको मान्छे बोल्ने यही हो ? समाजले हाम्रो शब्दलाई मात्रै होइन, शैलीलाई पनि ध्यान दिन्छ। हामीकहाँ विशेषतः ठूलालाई आदर गर्न सिकाइन्छ। हामीकहाँ ठूलोको अर्थमा उमेर, अनुभव, पद, प्रतिष्ठा, शिक्षादेखि जात, वर्ग, लिंग र समुदायसम्म पर्छन्।  

मान्छेले पाठ्यपुस्तक, बाह्यपुस्तक, पत्रपत्रिका, चलचित्रदेखि आ–आफ्नो परिवार, समाज, समुदाय, संस्कृति र विश्व परिवेशबाट पनि सिक्छ। तर, के सिक्छ ? सामाजिक शिष्टाचारको व्यवहार कति सिक्छ ? यी प्रश्न गम्भीर छन्।   
‘बाबु वा नानी ! ठुल्बुवा, ठूलीआमा वा अन्य कोही ठूलोलाई नमस्ते गर।’ हामीकहाँ एउटा बच्चालाई यही सिकाइन्छ। आफूले सानैदेखि नमस्ते गरेको व्यक्तिलाई जब उसले पछि गएर खराब चरित्र वा सोचको पाउँछ, तब उसलाई भ्रम सिर्जना हुन थाल्छ। 

हामीलाई समाजले सबैभन्दा पहिले केही क्षणका लागि औपचारिक बन्ने अभिनय गर्न सिकाएको हुन्छ। एउटै विद्यालयमा पढ्ने दुई विद्यार्थी, एउटा भोको छ, फाटेको लुगा लगाएको छ, अर्को अघाएको छ र नयाँ लुगा लगाएको छ। अब यहाँ भोकोले अघाएको अभिनय गर्नुपर्ने भयो भने धेरैबेर गर्न सक्दैन।

फाटेको लुगा लगाएको मानिसले त्यसैमा सन्तुष्ट रहेको अभिनय गर्नुपर्ने हुन्छ। त्यसैले समाजमा आधारभूत आवश्यकताहरूको पूर्ति महत्वपूर्ण हुन्छ। त्यसपछि मात्र हामीले व्यक्तिलाई आध्यात्मिक सन्तुष्टिका कुरा सिकाउन सक्छौँ। हाम्रा केही सामाजिक दायरा छन्, प्रियजनको मृत्युको खबर सुन्दासुन्दै हामी ध्यान गरेर बस्न सक्दैनौँ। तर, त्यसमा सम्यक् व्यवहार गर्न सक्छौँ। 

वास्तवमा मानिसलाई सामाजिक शिष्टाचार सिकाइनुपर्ने हो, जो सामाजिक न्यायमा आधारित होस्। राजनीतिक विचारधारा, सिद्धान्त, धार्मिक चिन्तन आदिको सामान्य ज्ञानका आधारमा मानिसलाई सामाजिक न्याय बुझाउन सकिन्छ। तर हामीले औपचारिकताको अभिनय र बकव्रत सिकिरहेका वा सिकाइरहेका छौँ। 

मनुस्मृतिमा बकव्रत (देखावटी व्रत) का सम्बन्धमा श्लोक छ- धर्मको मर्म जान्ने व्यक्तिले बिरालोजस्ता, बकुल्लो जस्ता (बकव्रती) ब्राह्मणलाई पानी पनि दान गर्नुहुँदैन। 

बकव्रत एउटा ढोंग हो, अभिनय हो। देखावटी व्यवहारबाट यथार्थमा आउन हामीलाई मनसँगै तनको सुख चाहिन्छ। तन र मन स्वच्छ राख्न आधारभूत भौतिक आवश्यकता पूरा हुनुपर्छ। सबैले सम्मानको वातावरणमा जिउन पाउनुपर्छ।  
 

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्