Kathmandu Press

नयाँ बिहान बोकेर पृथ्वीमा ओर्लिएको एउटा बालकलाई हामी के सिकाउँदै छौँ ?

धार्मिक साहित्यमा कतिपय कुराहरू विज्ञानसम्मत नभएका, प्रमाण विरोधी र समाजलाई पलायनवादतर्फ उन्मुख गराउनेतर्फ इंगित गरिएका छन्। यसले मान्छेलाई स्वतन्त्र, स्वच्छ र उन्नतिशील ढङ्गमा केही सोच्न र केही गर्न अवरोध सिर्जना गरेको छ।
नयाँ बिहान बोकेर पृथ्वीमा ओर्लिएको एउटा बालकलाई हामी के सिकाउँदै छौँ ?

जीवन परिवर्तनशील छ। जगत् परिवर्तनशील छ। विगतका मान्यता, मूल्य र प्रणालीहरू वर्तमानमा धमाधम ढल्दैछन्। सुरुमा धर्म चेतनाको स्तरसँग गाँसियो, पछिपछि धर्मले संसारका मान्छेहरूलाई आपूm अनुकुल ढाल्न खोज्यो, अब धर्मको आवश्यकताका सम्बन्धमा अनेकौँ प्रश्नहरू उठ्न थालेका छन्।

संसारमा धर्मकै नाममा मान्छे मान्छेकै सामु लज्जित हुनुपर्ने, मृत्युवरण गर्नुपर्ने र असंख्य पीडाको भूँमरीमा फस्नुपर्ने परिस्थिति सिर्जना भएका कुराहरू साहित्यमा लेखिएका छन्। साहित्य सिर्जना नभएको भए संसारको सृष्टि, विकास, जीवनको उपस्थिति र विगत केही पनि थाहा हुन सक्तैनथ्यो। साहित्यले समय लेख्यो, मान्छेको उपस्थिति लेख्यो। त्यो मान्छेको लागि भावि जीवनमा अघि बढ्न अमूल्य स्रोत भइरहेछ।

धार्मिक साहित्यमा कतिपय कुराहरू विज्ञानसम्मत नभएका, प्रमाण विरोधी र समाजलाई पलायनवादतर्फ उन्मुख गराउनेतर्फ इंगित गरिएका छन्। यसले मान्छेलाई स्वतन्त्र, स्वच्छ र उन्नतिशील ढङ्गमा केही सोच्न र केही गर्न अवरोध सिर्जना गरेको छ।

Hardik ivf

धर्मलाई संसारबाट हटाइदिने हो भने मान्छे स्वतन्त्र ढङ्गबाट केही गर्न सक्तथ्यो र ‘मान्छे’, ‘मान्छे’ भएर बाँच्न सक्तथ्यो। धर्मका अनेकौ बेलापतेलाहरूमा जेलिएर ‘मान्छे’ ‘सग्लो मान्छे’ भएर केही गर्न नसक्ने स्थिति छ। वर्तमान साहित्य यसतर्फ केन्द्रित हुँदैछ अझ बढी केन्द्रित हुनुपर्ने स्थिति छ। 

समाजमा ऐन, कानुन, नियम चाहिन्छ, प्रणालीहरू बन्नुपर्छ तर, आपूm भने त्यस्ता सबै कुराहरूभन्दा माथि हुन पाउनु पर्छ भन्ने मानसिकताका मान्छेहरू समाजका ठालु कहलाइरहेछन्। धार्मिक क्षेत्रमा त्यो झन् भयावह रूपमा झाङ्गिइरहेछ। 
सर्वसाधारणले यी र यस्ता नियमहरू पालना गर्नुपर्छ भन्ने तर, आफैले त्यो सबै भङ्ग गर्ने प्रवृत्तिले समाजमा स्वच्छ, सफा र निर्मल वातावरण सिर्जना हुन सकेको छैन। वर्तमान साहित्य त्यसतर्फ केन्द्रित हुनुपर्ने अवस्था छ र त्यस्तो प्रवृत्तिलाई दुरुत्साहन गर्ने रचना रचिन जरुरी छ।

मान्छेको जात मान्छे नै हो अर्को कुनै जात छैन। मान्छेको धर्म मान्छेलाई स्वतन्त्र, समृद्ध, अनुशासित र नवीन सुनौलो संसार बनाउन उन्मुख हुनुपर्ने हो। धर्मका झिटिझ्याम्टा तेस्र्याएर मान्छेलाई मान्छेको उचाईबाट तल खसाल्ने र हातमा डाडु पन्यू हुनेहरू भने मान्छेभन्दा माथिल्लो श्रेणीमा बस्न खोज्ने परिपाटी समाज, संसार र समयलाई पछि धकेल्न खोज्नेहरूको चालवाजी मात्र हो।

संसार फेरिँदै छ, अवस्थाहरू फेरिँदै छन्। मान्छेका विचारहरूले नयाँ अवस्था ल्याउन सक्नुपर्छ र नयाँ अवस्थासँग अनुकूल हुन पनि सक्नुपर्छ। पुरानो संसार, पुरानो अवस्था ध्वस्त पार्नुमा मात्र मान्छेको कर्तव्य सीमित हुँदैन नयाँ संसार, नयाँ अवस्था सिर्जना गर्न पनि सक्नु पर्छ।

नयाँ अवस्थामा संसारका सबै मान्छेहरू र प्राणीहरू बिना भय, विना अवरोध र विना शोषणपूर्ण ढंगबाट ‘स्वतन्त्र मान्छे’ बनेर ‘मान्छे’ र ‘संसार’ लाई उज्यालो बनाउन अघि सर्ने अवस्था सिर्जना हुनुपर्छ। सबै मान्छेहरू ‘स्वतन्त्र मान्छे’ र ‘उज्यालो मान्छे’ बन्न सकेको क्षणमा मात्र निर्माण हुन सक्तछ— ‘उज्यालो संसार’।

साहित्यले वर्तमान तथ्यहरू र विगतका इतिहासलाई पनि विर्सन मिल्दैन। पुस्तकहरू पूजाका लागि लेखिनुको अर्थ छैन। रचनाहरू मान्छेको मूल्य, जीवन र संसार अझ सुगम, सम्वृद्ध र सुखमय बनाउने दिशामा उन्मुख हुनुपर्दछ। धर्मको नाममा संसारलाई जालो, मैलो र उवडखावडमा अल्झाउने साहित्यले अबको संसार थेग्न सक्तैन।

जीवन सञ्चालनको क्रममा रीतिहरू र थितिहरू चल्छन् चलिरहन्छन्। रीतिहरू स्थिर बनिदिए र रीतिले जीवनलई गतिशिल बनाउनुको सट्टा कुँजो, गतिहीन र गन्तव्यहीन बनायो भने रीति विकासको बाधक बन्न थाल्दछ। समय अनुसार चल्नु र मान्छेका क्रियाकलापहरू अनुशासित र व्यवस्थित बनाउन धर्मको जन्म हुनु पर्ने हो। तर, धर्मको नाममा स्वार्थी, जाली, ठगी र व्यभिचारीहरूको विगविगी चल्ने र त्यसमा काल्पनिक ईश्वर खडा गरेर ईश्वरको दुहाइ दिँदै शोषण गर्ने क्रम बढिरहेछ। 

आजको युग विज्ञानको युग हो। तथ्य, कारण र प्रमाण विनाका कुराहरू तेस्र्याएर धर्मको नाममा ठगी गर्नु बाली संरक्षणको लागि लगाइएको बारले नै बाली चपाउन थाल्नु जस्तै हो। धर्मका ठेकेदारहरू कल्पनाको रागलाई ईश्वर आदेशको भ्रम बाँडिरहेछन्। अज्ञानी, अशिक्षित र पीडित मान्छेहरूलाई ईश्वरको नाममा ललाईफकाई गर्दै आर्थिक र मानसिक पीडाले पेलिरहेछन्।

धर्मको आडमा अवतार धारण गरेको भ्रम पनि बाँडिन्छ बेला बेलामा। कोही हातको सफाइ गर्दै ईश्वरीय चमत्कार भन्दैछन्। धर्म र ईश्वरको जञ्जाल फैलाएर मान्छेलाई जन्मदेखि मृत्युसम्म अँध्यारो देखि उज्यालोसम्म ‘यसो गर्नुपर्छ यसो गर्नु हुँदैन’का झन्झट झमेलाहरूले पिस्ने, दल्ने र मानमर्दन गर्ने कार्य भइरहेछन्। मान्छे प्रकृतिको स्वतन्त्र अंश हो। उसलाई धर्मका चक्रव्यूहहरूबाट मुक्त गरेर सीर्जनशील कार्यको लागि मार्ग प्रशस्त हुन नदिएसम्म संसारभर काला कर्तुतहरूले छाड्ने छैनन्।

जीवनको सबै क्षेत्रमा विकास भइरहेछ। हजारौँ वर्ष पहिले लेखिएका र भनिएका धार्मिक मान्यताहरू भने जहिले पनि ढुङ्गाका अक्षर झैँ गाढा र भरपर्दो भइरहने कुरै होइन। यस हिसावले समयको परिवर्तनशिलतासँगै धर्म र त्यसका मूल्य मान्यताहरू पनि बदलिदै जानुपर्छ। मानव समाजको लागि धर्म हो, धर्मको लागि मानव समाज होइन। त्यसैले पनि मानव समाजको अधिक भन्दा अधिक भलाई जसरी हुन्छ धर्म पनि त्यतै मोडिन जरुरी छ। 

धर्मका ठेकेदारहरूले वैज्ञानिक आधार नभएको मनगढन्त कल्पना गरेर समाजलाई शोषण गरिरहेछन्। स्वर्ग, नर्क, मुक्ति, मोक्ष, आत्मा, परमात्मा, पाप, पुण्य जस्ता कल्पनाहरूको कारण जनमानस उठ्नै नसक्ने गरी आक्रान्त बनेको छ। धार्मिक ठेकेदारहरूको कल्पनामा एकरूपमा नहुनु एउटा पक्ष छ भने अरु भन्दा आफ्नो धर्म ठूलो भन्ने घमण्डले प्रत्येक धर्म ठेकेदारहरू बेहोस् बनेका छन्।

जैन र बुद्ध धर्म, हिन्दू वा ईसाई धर्म जत्तिकै महत्त्वपूर्ण छन् तर ती धर्महरू ईश्वरको सर्वोच्चतामा विश्वास गर्दैनन्। पुनर्जन्मलाई पनि कोही धर्म मान्छन् कोही मान्दैनन्। यो सब सोझा मान्छेहरूलाई गुमराहमा राख्ने खेल मात्र हो। अनेकौं छल, गुमराह र झुठा व्यहोराहरूको कारण मान्छे सम्पन्नतातिर भन्दा गुलामीतिर मोडिन बाध्य छ। 

धर्मको सबैभन्दा असल मित्र अन्धविश्वास हो। मनगढन्त घटनाहरूको राग फैलाउदा धर्म र धर्माधिकारीहरूका अनुहार उज्यालो हुन्छ। धर्मको सही र गलत पक्षको विश्लेषण गर्नेलाई नास्तिक, म्लेच्छ, काफिर, बर्बर जस्ता उपमा भिडाइन्छ। 

पुरातन र थोत्रा धर्मका खराब पक्षलाई सुधार्नुपर्छ भन्नेलाई समाजबाटै बहिस्कार गर्नुपर्छ भन्नुलाई के धर्म भन्नु ? सबै उपनिषद एकै ऋषिले एकैपटक रचेका होइनन् र सबैमा एकै विचार पनि छैन। त्यसकारण पनि कसैले धर्म इतर विचार प्रस्तुत गर्दछ भने उसलाई टेढो आँखाले हेर्नुको के औचित्य ? कट्टर धर्मान्धहरू धर्मको बारेमा स्वच्छ विचार राख्नेहरूलाई निमिट्यान्न पार्नुपर्छ भन्ने पक्षमा लागि पर्दछन्। यसले स्वच्छता, सम्वृद्धि र सकारात्मकता अभिवृद्धि हुनै सक्तैन।

विज्ञान प्रविधिको विकासको कारण आधुनिक युगमा नवीन चेतना खुलिरहेछ र जगत्लाई नियाल्ने एक नयाँ दृष्टिकोण स्थापित भइरहेछ। पहिला पहिला सावेच्ने र विचार गर्ने अधिकार केवल शासक वर्ग र पुरोहितहरूलाई मात्र थियो। 

आधुनिक युगमा विचार र तर्क गर्ने, शङ्का र आपत्ति उठाउने अधिकार सर्वसाधारणलाई पनि छ। प्रत्येक वस्तुको सत्यताको विषयमा शङ्का उठाउने प्रवृत्तिले अब धर्मलाई पनि छोएको छ। धर्मको नाममा अनेकौ लहरा र बेलाले ढाकेर ठगि खाने प्रवृत्तिले समाज सुन्दर बन्नै सक्तैन। ‘पाप’ र ‘पुण्य’ पनि अन्धविश्वासमा होइन नैतिकतामा आधारित हुनुपर्छ।

गीता, वेद, उपनिषद्, कुरआन, बाइबल जस्ता शास्त्रहरूमा लेखिएका कुराहरूले मात्र आजको समाजलाई डो¥याउन सक्तैन। तिनमा उल्लेखित सिद्धान्तहरू परिमार्जन नहुने हो भने समाज आदिम र अविकसित रेखाबाट बाहिर जान सक्तैन। समालोचना नभएको धर्म अब ‘धर्म’ होइन ‘अधर्म’ मात्र ठहरिन्छ। देश, काल, परिस्थिति र विश्व अवस्था अनुसार मान्छे चल्न पाउनु पर्दछ।

जीवनका मान्यताहरू बदलिदैछन्। दुवै हातमा अतित र पुराना धुलोमैलो बोकेर हिँडिरहदा सफा र सुन्दरता भेट्ने कहिले ? अतितका ठीक मूल्याङ्कन गरेर नवयुगलाई वैज्ञानिक, गतिशील र स्वतन्त्र बनाउन सक्यौं भने मात्र मान्छे सही मान्छे बन्न सक्तछ।

एउटा बालक नयाँ बिहान बोकेर नवीन सूर्यसाथ पृथ्वीमा ओर्लिएको छ। उसका बाटाहरू पाटाहरू र उसले सजाउने कृतिहरूलाई पूर्वाग्रही आदेश, निर्देश र डो¥याइको आवश्यकता छैन। हरेक मान्छे संसारमा खान मात्र जन्मिएको होइन।

प्रकृतिसँग साक्षात्कार गरेर नयाँ कृति बनाउने बुद्धि र अधिकार उसैसँग छ। कसैको बाटामा तगारो हाल्ने अधिकार कसैलाई छैन।

प्रकाशित मिति: १६:२२ बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्