Kathmandu Press

देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्धमा सुनौलो फड्को  

देउवा कूटनीतिक चातुर्यता देखाउन सफल भएकै हुन् । साथसाथै भारतीय नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले एक कुशल कूटनीतिकको मौन सन्देश पनि प्रवाह गरे । सानो र विकसित हुँदै गरेको शक्ति भएकाले नेपाली सरकारका सबै नीतिमा आर्थिक विकासले प्राथमिकता पाउनु स्वाभाविक हो ।
देउवाको भारत भ्रमण : द्विपक्षीय सम्बन्धमा सुनौलो फड्को  

काठमाडौं, चैत २२ : प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किसकेका छन् । कोभिडका कारण लामो समयसम्म ‘ब्रेक’ भएको उच्चस्तरीय भ्रमणले भारतसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ । नेपाल–भारतबीचको सदियौंदेखिको छिमेकी र परम्परागत सम्बन्धमा अझै दरिलो र विश्वासयोग्य हुने आशा बढेको छ । ‘ऐतिहासिक सम्बन्ध’ र ‘रोटी–बेटी’ को आडभरोसालाई अझ बढाएको छ । 

उच्चस्तरीय भ्रमणले भावी दिनमा छिमेकी मुलुकसँगको बहुआयामिक सम्बन्ध अरु प्रगाढ बनाउने छ । साथै आपसी विश्वास अभिवृद्धि गर्न पनि मद्दत पुग्ने छ । दुईपक्षीय आर्थिक सहयोगका विषयमा छलफल हुनुले नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि दुवै मुलुकलाई सहज हुने छ । भारतले नेपालको आर्थिक, सामाजिक र राजनीतिकलगायत सबै क्षेत्रमा सद्भावपूर्ण सहयोग उपलब्ध गराउँदै आएको तथ्यलाई बिर्सन सकिँदैन । 

देउवा कूटनीतिक चातुर्यता देखाउन सफल भएकै हुन् । साथसाथै भारतीय नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले एक कुशल कूटनीतिकको मौन सन्देश पनि प्रवाह गरे । सानो र विकसित हुँदै गरेको शक्ति भएकाले नेपाली सरकारका सबै नीतिमा आर्थिक विकासले प्राथमिकता पाउनु स्वाभाविक हो । प्रधानमन्त्री देउवाले यसपालि नयाँ आशा र आत्मविश्वासको रक्तसञ्चार गराएर फर्किएका छन् । झन्डै दुईतिहाइ बहुमतबाट शक्तिमा आएको भनिएको केपी ओली नेतृत्वको सरकारले भारतसँगको असमझदारी हटाउन असमर्थ भएको थियो । देउवाको कार्यकालमा कूटनीतिले नयाँ फड्को मारेको छ । नेपालको महत्व स्थापित गर्न सफलता मिलेको छ । 

Hardik ivf

नेपाल भारतबीचको सम्बन्ध औपचारिक मात्र नभई सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक स्तरसम्म छ । देउवाको यस भ्रमणले राजनीतिक, कूटनीतिक, आर्थिक र धार्मिक स्तरमा थप बहुआयामिक बनाएको छ । देउवाको भारत भ्रमणका क्रममा अन्य त्यस्ता विवादास्पद कुनै सन्धि÷सम्झौता भएका छैनन् । अनावश्यक विवाद र झमेलाबाट जोगिनु अर्को सफलता रह्यो । भ्रमणका क्रममा भारतले दर्शाएको आतिथ्य र उत्सुकता उत्साहपूर्ण छ । 

नेपाल भारतबीचको सम्बन्ध औपचारिक मात्र नभई सामाजिक, सांस्कृतिक, धार्मिक र पारिवारिक स्तरसम्म छ । देउवाले भ्रमणलाई राजनीतिक, कूटनीतिक, आर्थिक र धार्मिक गतिविधिमा केन्द्रित गरेर बहुआयामिक बनाएका छन् । बाबा विश्वनाथको दर्शन र पूजा गर्नु सुखद संयोग नै भएको छ । काशी भ्रमणका क्रममा देउवाले नेपालका मन्दिरसँग सम्बद्ध वृद्धाश्रमलाई जीर्णोद्धारको लागि शिलान्यास समेत गरेका छन् । नेपालका लागि काशी परम तीर्थ स्थान हो । काशीको राजनीतिक महत्व पनि उत्तिकै छ । काशी भ्रमण र वृद्धाश्रमको शिलान्यास युगौंसम्म स्मृतिमा रहिरहने छ ।

भारतीय व्यापारिक समुदायसँगको अन्तरसंवादमा नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग प्रधानमन्त्री देउवाले आग्रह नै गरेका थिए । विद्युत्, यातायातलगायत क्षेत्रमा भएका दुई पक्षीय समझदारीका कारण नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने छ । जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र, पूर्वाधार र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा भारतीय लगानीको सम्भावना बढाएको छ । 

पछिल्ला वर्षमा कोभिड, राजनीतिक अस्थिरता, ऊर्जा संकटजस्ता समस्याबाट लगानीको वातावरण बन्न नसकेका अवस्थामा लगायतका विविध कारणले भारतीय लगानी घटिरहेको अवस्था छ । भारतीय लगानी बढाउन प्रधानमन्त्रीको यो भ्रमणले सहजीकरण गर्ने अपेक्षा छ । नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य हुनसक्छ । सूचना प्रविधिले अकल्पनीय फड्को मारेको अहिलेको नयाँ परिवेशमा छिमेकी मित्र राष्ट्रसँगको असल सम्बन्ध र सहकार्यविना विकास र समृद्धिको ढोका खोल्न सम्भव छैन । 

प्रधानमन्त्रीको यस भ्रमणबाट जलविद्युत् क्षेत्रमा त ‘ब्रेक थ्रू’ नै गरेको भनेर नेपालका जलविद्युत् विज्ञले नै बताइसकेका छन् । हामीले भारतबाट मात्रै विद्युत् खरिद गरिरहेको अवस्थामा अब भारतले पनि नेपालबाट विद्युत् खरिद गर्न उत्साह देखाएको छ । यस्ले ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावनाको आसा बढाएको छ । 

देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरे । यसअघि यसरी खुलस्त रुपमा कसैले समस्या राख्न सकेको थिएन । दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदी समक्ष स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न आग्रह गरेको जनकारीमा आएको छ । स्थापित दुईपक्षीय संयन्त्रहरूबाट सीमा समस्या हल गर्न अनुरोध गर्नुले समस्या समाधानमा कम्तिमा भारत अग्रसर हुने आधार तय भएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा अवाञ्छित गतिविधि रोक्नुपर्ने विषयमासमेत देउवाले खुलस्त कुरा राखेका छन् ।  दुई पक्षीय छलफलमा दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयसमेत उठ्यो । यो सानो उपलब्धी होइन ।

भारत हाम्रो ठूलो निर्यात गन्तव्य मुलुक रहेको सन्दर्भ स्मरणीय छ । नेपालले भारतमा निर्यात बढाउन खोजिरहेको छ । भारतसँग नेपालको बढ्दो व्यापार घाटा निकै चिन्ताको विषय हो । हाम्रो व्यापारको असन्तुलन घटाउन हाम्रा वस्तुको निर्यातका लागि भारतले सहयोग गर्नुपर्ने हुन्छ । यो मैत्रीपूर्ण र सद्भावपूर्ण भ्रमणबाट नेपालले भारततर्फ निर्यात बढाउने मात्र होइन, तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिने वातावरण पनि बनेको छ । नाकामा पूर्वाधार सुधार र गैरभन्सार अवरोध हटाउनुपर्ने तथा कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरी एक अर्काको देशमा मान्यता दिनुपर्ने बिषयमा भएका छलफललाई यसैको राम्रो शुरुवात मान्नुपर्छ । खासमा आर्थिक मुद्दा द्विपक्षीय वार्ताको केन्द्रमा रह्यो । जसले आगामी दिनमा सकारात्मक परिणाम निस्कने अपेक्षा गर्न सकिन्छ । वास्तवमा नेपाललाई आफ्नो महत्व स्थापित गर्ने अवसर प्राप्त भएको छ ।

आर्थिक साझेदारी, व्यापार तथा पारवहन कनेक्टिभिटी, ऊर्जा र जलस्रोतमा केन्द्रित रहेर प्रगतिको पनि गम्भीर समीक्षा भएको छ । पञ्चेश्वर परियोजना कार्यान्वयनप्रति भारतले दर्शाएको प्रतिबद्धता उत्साहप्रद छ । नेपालले भारतको समृद्धिबाट अब रचनात्मक फाइदा लिन सक्नुपर्छ । नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन भ्रमण फलदायी हुने विश्वास सबै क्षेत्रबाट गरिएको छ । यसरी प्रधानमन्त्रीको भारत भ्रमणले राजनीतिक सौहार्दता अभिवृद्धि मात्र गरेको छैन, नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई उत्साहितसमेत गरेको छ । 

हाम्रा कृषिजन्य वस्तुको निर्यातमा विश्वसनीयता र गुणस्तरीयता कायम गर्न पनि भारतले सहयोगको ढोका खोलेको छ । उच्चस्तरीय भ्रमणका अवसरमा भारतीय लगानीकर्ताले लगानीमा सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल–भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा चासो राखेका छन् । वास्तवमा भारतले गरिरहेको प्रगतिबाट नेपालले राम्रो लाभ लिन सक्ने गतिलो ‘स्पेश’ बनेको छ । 

भारतमा उपलब्ध आर्थिक र व्यापारिक अवसरलाई व्यापकरूपमा उपयोग गरी लाभान्वित हुन ढिलाई गरिनु हुँदैन । बरु आफ्नो उत्पादक क्षमता, पूर्वाधारको विकास, वैदेशिक लगानी वृद्धि एवं समस्यालाई सम्बोधन गर्न प्रभावकारी संस्थागत संयन्त्रको निर्माणमा दृष्टिगोचर हुनु जरुरी छ । ताकि मित्रवत सम्बन्धसँगै दुई देशको आर्थिक सम्बन्ध आगामी दिनमा अझै चौडा बन्दै जाओस् । 
 

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्