होलीमा नेवारले गुरुमापालाई भोज खुवाउने कथा
काठमाडौंमा ठड्याएको चीर ढालेर टुँडिखेलमा जलाउने गरिन्छ । त्यस्तै, पाटनको कृष्ण मन्दिर अगाडि ठड्याएको चीर वागमतीको किनारमा लगी जलाउने गरिन्छ । चीर उभ्याउँदा वा ढाल्दा साइत हेर्ने परम्परा छ ।काठमाडाैं, चैत ३ : होली सम्बन्धमा एउटा धार्मिक अवधारणा छ– हिरण्यकश्यपु नामक एक दैत्य थिए । उनले आफूलाई देवताभन्दा बलिया ठान्दै थिए । देवताहरू उनका शत्रु थिए । तर उनका पुत्र प्रल्हाद भने भगवान् विष्णुका अनन्त उपासक थिए । यिनलाई बाबु हिरण्यकश्यपुले विष्णु भगवान् हाम्रा शत्रु हुन्, उनको नाउँ नलिनू भनी अनेक सम्झाए, तर प्रल्हादले उनको कुरै सुनेनन् ।
हिरण्यकश्यपुले आफ्ना पुत्रलाई मार्ने विचार गरे । हिरण्यकश्यपुकी बहिनी होलिकाको विशेष गुण भनेको आगोले उनलाई छुन नसक्नु थियो । आगोले छुन नसक्ने बैनीको काखमा प्रल्हादलाई राखिदिएर हिरण्यकश्युपुले वरिपरि आगो लगाइदिए । आगो बीचमा भएर पनि प्रल्हादले भगवान् विष्णुको नाम लिन छाडेनन् । आगोले प्रल्हादलाई नछोई होलिकालाई खरानी बनाइदियो ।
तिनै होलिकाको नामबाट होली भनी नामाकरण भएको हो । यहाँ होलिकालाई असत्य, पाप नराम्रा कुराको प्रतीकका रूपमा लिइन्छ, त्यसकारण होली भनेपछि शत्रुको अन्त भई पापको माथि धर्मको विजय भएको अवसरको खुसियाली मनाउनु हो । अबिर छरी सिन्दुुर जात्रा गर्नु पापी माथिको विजयको खुसियालीको अभिव्यक्ति हो । त्यसैले लिंगो ढाली निश्चित ठाउँमा लगी कपडा झुुन्ड्याएको रूखको मुुठालाई आगो लगाई खरानी बनाउने चलन छ ।
होलिकालाई जलाएर खरानी पारेकै प्रतीकका रूपमा चीर बालेर खरानी पारिने हो । एक दिन महादेव तपस्यामा लीन हुँदा तपस्या भंग गर्न कामदेवले विभिन्न लीला गरी जिस्क्याइरहे । पौराणिक कथा अनुसार यो देखी महादेव रिसाई आफ्नो तेस्रो आँखा खोली कामदेवलाई भष्म पारिदिए । त्यसरी नै चीर भष्म गरेझैँ रतिक्रीडालाई भष्म गरे अनुसार चीरदाह गर्नु हो ।
लिंगो ठड्याउने
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म आठ दिनलाई होली भनी नामाकरण गरिएको छ । चल्लाथ्व अष्टमी अर्थात् फागुन शुक्ल अष्टमीदेखि ठाउँठाउँमा चीर ठड्याई सुरु हुने होली चिल्लाथ्व पुन्ही अर्थात् फागुन शुक्ल पूर्णिमाको दिन चीर ढालेर चीरदहन गरिसकेपछि मात्र समाप्त हुन्छ । होली पर्वलाई राष्ट्रिय पर्वका रूपमा सरकारले एक दिन राष्ट्रिय छुट्टी दिँदै आएको छ । होली सुरु हुने दिन चीर ठड्याइने भएकाले त्यस दिनलाई चीर अष्टमी नै भनिन्छ भने होली समाप्त हुने दिनलाई होली पूर्णिमा भनिन्छ ।
वसन्तपुरको बाटो बीचमा हनुमानढोका अगाडि र पाटनको कृष्ण मन्दिर अगाडि आदि ठाउँठाउँमा चीर ठड्याउने भनी तीन तहको गोलो छत्रमा रंगीविरंगी कपडाका टुक्रा झुन्ड्याएर लिंगो ठड्याइन्छ । हेर्दा तीन तह भएको छत्रझैँ देखिन्छ । पाटनको कृष्ण मन्दिर अगाडि रूखमा रंगीविरंगी कपडा झुन्ड्याएर चीर ठड्याइन्छ । चीरको अर्थ कपडा हो ।
विशेष गरेर आइमाईहरूले लगाउने कपडा हो । वास्तवमा रंगीचंगी कपडा टुक्राटुक्रा पारेर छत्र बनाउनुभन्दा रूखमा फर्फराएको कपडा चीरसँग मिल्दोजुल्दो हुन्छ । यसरी चीर उठाउनु भनेको कृष्णाको समयमा अर्थात् वैदिक कालमा गोकुलमा कृष्णले देखाएका विभिन्न लीलामध्ये एउटा रास लीलासँग सम्बन्ध भएको हो । गोकुलका गोपिनी एक दिन यमुना नदीमा नुहाउन आफ्ना लुगा नदी किनारमा फुकाली पानीमा खेल्दै थिए । त्यसै वेला कृष्ण पनि गोपिनीहरू नुहाइरहेको यमुना नदीमा आइपुगे ।
गोपिनीहरू सबैले लुगा फुकाली नुहाइरहेको देखेर कृष्णाले ती सबै लुगा रुखमा झुन्ड्याइदिएर उनीहरूलाई जिस्क्याउन थाले । कृष्णलाई खुसी पारेपछि सबैले आफ्नो आफ्नो लुगा लगाए । कृष्णले गोपिनीहरूको लुगा रूखमा झुन्ड्याएको नै चीर उढाइ कपडा झुन्ड्याएको हो भन्नेहरू पनि छन् । श्री कृष्णले गोपिनीसित रसरंग गरेका हुनाले नै होलीमा विशेष गरी लोग्ने मान्छेहरूले आइमाईलाई र आइमाईले लोग्नेमान्छेलाई अबिर, रंग छरेर लोला, बेलुन हानेर खेल्ने चलन भएको हो । महिला र पुरुषबीच मात्र नभई महिला–महिला र पुरुष–पुरुषबीच पनि अबिर दलेर रंग फ्याँकेर, पिचकारीबाट रंग हानेर, लोला बेलुनमा रंग भरेर हान्ने गरी होली खेल्ने चलन छ ।
गुरुमापालाई भात खुवाउने
होलीलाई विशेष रूपले मनाउने चलन नभए पनि नेवारले इटुम्बहालका केशचन्द्रका मामा गुरुमापालाई भोज खुवाउने चलन भने छ । इटुम्वहालका मान्छेले केशचन्द्रलाई आजु भनी सम्बोधन गर्ने चलन छ । केशचन्द्र धनी मान्छेका छोरा हुन् । उनको एउटा साह्रै नराम्रो बानी थियो, जुवा खेल्ने । जुवा खेल्दा–खेल्दा उनले आफ्नो घर खेत सबै सके । आफूकहाँ केही बाँकी नरहेपछि उनी चकंद्यःलाई बिहे गरिदिएकी आफ्नी दिदीकहाँ भात खान जान थाले । चकंद्यः साह्रै धनी भएकाले भाइलाई भात खुवाउँदा दिदीले सुनको थालमा पस्की भात खान दिन्थिन् । सुनको थाल भने केशचन्द्रले जुवा खेल्दै सक्याएछन् । यसरी सुनको थाल सकिँदै गएपछि पित्तल र काँसको थालमा खुवाउन थालिन् ।
त्यो पनि सकेपछि पातमा भात पस्किदिन थालिन् । दिदीले आफूलाई यसरी हेपेको देखी केशचन्द्र भात नखाई दिनदिनै भात जम्मा गर्न थाले । एक दिन आफूले यसरी जम्मा गरेको भात सुकाई बिक्री गर्नुप¥यो, भात सुकाएर आफू पालो बस्न थाले । त्यसरी बसिरहँदा उनलाई त्यहीँ झपक्क निद्रा लागेछ । पछि निद्रा खुलेर सुकाइराखेको भात उठाउनुप¥यो भनी हेर्दा त भातको एक सिता पनि नरहने गरी जम्मै परेवाले खाइसकेको रहेछ । यो देखेर केशचन्द्र चित्त दुखाई रुन थाले।
केशचन्द्र रोएको देखी भात खाइदिने सबै परेवा आएर भातको सट्टामा सुनको बिस्टा गरिदिए । त्यही सुन बटुलिरहकै बेला केशचन्द्रलाई खान गुरुमापा नामको एउटा राक्षस त्यहाँ आइपुगे । तर, केशचन्द्रले गुरुमापालाई मामा भनी सम्बोधन गरी मामासँग भलाकुसारी गरे । आफूलाई मामा भनेकोले केशचन्द्रलाई भान्जा नै ठानी उनलाई खाएनन् । बरु केशचन्द्रले परेवाहरूले दिशा गरिदिएको सुन उनै मामालाई बोकाई इटुम्बहालमा ल्याए । गुरुमापालाई पनि आफूसँगै राखे । राक्षस गुरुमापाले भने केशचन्द्रलाई थाहै नहुने गरी टोलका केटाकेटी चोरेर खान थाले । यो देखी टोलवासीले गुरुमापाको कर्तूत केशचन्द्रलाई बताइदिए । केशचन्द्रले गुरुमापालाई एकान्तमा लगी टुँडिखेलमा राखे ।
त्यहाँ गुरुमापालाई टुँडिखेलमा तीनवटा इँटा एकै ठाउँ परेछ भनी छुट्ट्याउने काम दिए । त्यसबापत गुरुमापालाई सधैँ मासुभात पु¥याइदिने वाचा गरे । त्यसकारण आजभोलि पनि वर्षको एकपल्ट एउटा सिँगो राँगोको मासु, बाह्र पाथी चामलको भात र त्यसलाई सुहाउँदो अन्य परिकार बनाई होली पूर्णिमाको राति लगिदिने चलन छ । यसरी गुरुमापालाई राति भात लगिँदिदा सानो एउटा खाल्डेबत्ती बालेर ६ पाथी खानेकुरा बोकेर इटुम्बहालका गुठियार टँुडिखेल जाने गर्दछन् । त्यहाँ पुगेपछि गुरुमापालाई भाग छुट्ट्याइदिई बचेको खानेकुरा प्रसादका रूपमा खाई फर्कने गर्छन् । केशचन्द्रलाई सुनको दिशा गरी धनी बनाइदिने परेवाहरूलाई गुँला (भाद्र) महिनाभरि दिनदिनै धान खुवाउने चलन आजसम्म कायम छ । गुरुमापालाई भात खुवाउने दिन जहिले पनि चीरदाह गर्ने राति नै सम्पन्न गर्ने चलन छ । यो काम ज्याठाको पंमाःहरूले गर्ने भए पनि पछि गएर किलागलका ज्यापूलाई जिम्मा लगाइएको छ ।
चीरदाह गर्नु
फागुन शुक्ल पूर्णिमाको दिन ठाउँ–ठाउँमा ठड्याएको चीर ढालेर निश्चित ठाउँमा जलाउने गरिन्छ । काठमाडौंमा ठड्याएको चीर ढालेर टुँडिखेलमा जलाउने गरिन्छ । त्यस्तै, पाटनको कृष्ण मन्दिर अगाडि ठड्याएको चीर वागमतीको किनारमा लगी जलाउने गरिन्छ । चीर उभ्याउँदा वा ढाल्दा साइत हेर्ने परम्परा छ । चीर उभ्याएपछि होली खेल्न सुरु हुने भए पनि पूर्णिमाको दिन सरकारले समेत सार्वजनिक छुट्टी दिने भएकाले धेरैजसो मानिस यस दिन होली खेल्ने गर्दछन् । समूूहमा मिली टोल–टोलमा खेल्ने गर्दछन् । यससँगै एक ठाउँबाट अर्काे ठाउँमा गई बाटो–बाटोमै पनि होली खेल्ने गर्दछन् ।
होली नारी–पुरुषबीच हाँसखेल गरी मनाइने उत्सव
नेवारहरूको निमित्त श्रीपञ्चमीको दिन सरस्वतीपूजा गर्दै होली खेल्ने सुरु भइसकेको हुन्छ । यस दिनदेखि होली पूर्णिमासम्म होली खेल्ने गरिन्छ । तर, होली पूर्णिमामा झैँ बाटो–बाटोमा निस्की होली खेल्दैनन् । बाटो हिँड्ने मानिसलाई हाँसखेल गरी वा अनुरोध गरी अबिर लगाइदिने गर्दछन् । विशेष गरी प्रेम गर्ने स्त्रीपुरुषबीच एक अर्कासँग होली खेली आफ्नो प्रेम भावनालाई अभिव्यक्ति दिने गर्दछन् । फागुमा प्रेम अभिव्यक्त गरिएका गीतका केही अंश यहाँ उल्लेख गर्न चाहन्छु ।
झ्यालमा भएको तोरी तरकारी
त्यही तरुणी चाहिन्छ मलाई
नत्रभने भातै खान्नँ म त ।
यी लहर एकजना प्रेमी पुरुषको अभिव्यक्ति हो । यसरी नै प्रेमिकाले आफ्नो प्रेमीसँग भेट गर्ने कुरा अभिव्यक्ति भएको लोकोक्ति छ ।
डालोभरि चिउरा भर्छु
हाँसको दुईटा अण्डा तारिराख्छु
ज्वाइँ आउँदा खापाबाट ठिचीदिन्छु ।
होली काठमाडौंवासी वा पहाडतिर बस्ने नेपालीभन्दा तराई मधेसतिर बस्ने नेपाली ठूलो चाडका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । जहाँसुकै पनि साथीबीच वा स्त्री–पुरुष आफ्ना प्रेमीलाई अबिर हालेर आफ्नो प्रेम जाहेर गर्दछन् । तराईमा कसै–कसैले विधवालाई अबिर वा रंग हालिदिएर सधुवा बनाइदिएर अपनाउने चलन पनि छ । होली पूर्णिमा बौद्धधर्म अनुसार पनि एउटा पर्व हो । राजकुमार सिद्धार्थले आफ्नो गृहस्थ जीवन छोडी बुद्धत्व प्राप्त गरिसकेपछि सबैभन्दा पहिले कपिलवस्तु क्षेत्रमा भिक्षाटन गर्न जानु भएको दिन पनि यही नै हो ।
चकंद्यः जात्रा (सिंहसार्थबाहुको जात्रा) चकंद्यःको जात्रा गरिने पूर्णिमालाई चकं पुन्ही भनी नामाकरण गरिएको छ । फाल्गुन शुक्ल पूर्णिमाको दिन बर्सेनी ठमेलस्थित भगवान बहालबाट रक्तवर्णका चकंद्यःको जात्रा गरी अवीर खेल्ने चलन छ । अन्वेषक मेरी एन्डरसनको भनाई अनुसार चकंद्यः भनिने सिंहसार्थ बाहु हुन् ।
सिंहसार्थबाहु अर्थात चकंद्यः इटुम्बहालका केशचन्द्रका दिदीको लोग्ने अर्थात भिनाजु हुन् । (एन्डर्सन १९८८ः२६०) फागु पूर्णिमा चकंद्यः अर्थात् सिंहसार्थबाहुको जात्रा यस प्रकारले सुरु भयो भन्ने थाहा पाइन्छ । सिंहसार्थबाहु ल्हासा गई व्यापारमा लागेका एक व्यापारी हुन् । यिनी आफ्ना सय व्यापारी साथी लिई ल्हासामा व्यापार गर्न जाँदा त्यहाँका महिलाले सबैलाई माया गरी पालेर राखेका थिए । एक दिन यिनले सुत्न ठिक्क परेका बेला करुणामयको जप गर्दा करुणामय प्रकट हुनुभयो ।
करुणामयले सिंहसार्थबाहुलाई आज्ञा गर्नु भयो, ‘हेर तिमीहरु यहाँ व्यापार गरिरहेका छौ । तिमीहरु सबैलाई आईमाईहरुले मायामोह गरी पालिराखेका छन् । उनीहरुले तिमीहरुलाई मोटोघाटो बनाईपछि खानुलाई हो । तिमीहरुलाई मोहमा पार्ने राक्षसनीहरु हुन् । त्यसकारण तिमीहरु यहाँ नबस, नेपाल फर्केर जाउ । ब्रह्मपुत्र नदीको किनारमा एउटा सेतो वर्णको वायुपंखी घोडा उभिरहनेछ । तिमीहरु सबै त्यसमा चढी फर्केर जाऊ । यसरी जाँदा ती राक्षसनी तिमीहरुलाई लिन आउने छन् तर तिमीहरु फर्केर नहेर्नु । जसले फर्केर हेर्छ, उसको तत्काल मृत्यु हुन्छ भनी आज्ञा गर्नुभयो र अलप हुनुभयो ।
करुणामयको आज्ञानुसार भोलिपल्ट सबै घर फर्कन ब्रह्मपुत्र नदीमा पुग्दा सेतो वर्णको वायुपंखी घोडा देखे । सबैजना त्यही घोडामा बसी नेपाल फर्किरहेका बेला राक्षनीहरु पनि पछि लागेर आपूmले मायामोह गरी पालेका मान्छेको नाउँ काढ््दै पछ्याएर आए । ज–जसले पछि फर्केर हेरे, ती सबै एक–एकजना गरी घोडाबाट खसी मरे । सिंहसार्थबाहु एकजनाले मात्र पछि फर्केर हेरेनन् र उनी बाँचेर आइपुगे । यिनी ल्हासाका राक्षसनीबाट बचेर घर आइपुगेका दिन यही फागुन पूर्णिमाको दिन परेको थियो ।
यसरी आफू राक्षसनीबाट बचेर घर आइपुगेका कुरा सिंहसार्थबाहुले सबैलाई सुनाए । यसरी मृत्युबाट बचेर यिनलाई अबिर छरी सिन्दूर जात्रा गरी ठँहिटीको भगवान् वहालस्थित घरमा भिœयाए । राक्षसनीबाट बाँचेर आएका हुनाले फागु पूर्णिमाको दिन बाजा बजाई चकंद्यःको जात्रा गर्ने परम्परा बसेको हो । एक दिन औंसीको राति ल्हासाका राक्षसनी सबैले दुःख दिन आइपुगेको कुरा सिंहसार्थबाहुले थाहा पाए । अनि यिनले हातमा तरबार समाती करुणामयको आराधना गरी राक्षसनीलाई भगाई सबैलाई बचाए । त्यसपछि सिंहसार्थबाहुले धर्म, न्यायको पक्षमा सदैव लागिरहनूू भनी सबैलाई ज्ञान बाँडे । यसले गर्दा त्यस ठाउँका सबैले सिंहसार्थबाहुलाई चकंद्यः भनी राजा सरह मान्ने गरे ।
(बज्राचार्यको पुस्तकबाट ।)