राधेश्याम : दृश्य छ, दिल छैन
चलचित्र सुरु हुँदा चिकित्सा विज्ञान र हस्तरेखा विज्ञानका विषयमा छेडिएको बहसमा न चिकित्सा विज्ञानका पाटालाई केलाइएको छ, न त हस्तरेखा शास्त्रका अद्भूत विषयमा प्रमाणित तर्क राखिएको छ।काठमाडौं, फागुन २८ : विक्रमादित्य (प्रभास), जो एक विश्वप्रसिद्ध हस्तरेखाविद् हुन्, जसले हात हेरेर भूत, वर्तमान र भविष्य बताइदिन सक्छन्। उनको कुनै भविष्यवाणी गलत भएको छैन। यतिसम्म कि उनले तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको समेत हात हेरेर भनेका थिए– तपाईंले छिटै इमर्जेन्सी (संकटकाल) लगाउनहुनेछ। यो सन्दर्भ, ८० को दशकको हो, जतिबेला भारतमा २१ महिना संकटकाल (भारतमा आपतकाल भनिन्छ) लगाएको थियो।
विक्रमादित्यले अरुको मात्रै होइन, आफ्नो हस्तरेखा पनि पढेका छन्। उनको हातमा प्रेमको योग हुँदैन, त्यसैले उनी गहिरो प्रेममा परेका हुँदैनन्। प्रेमसँगको लुकीमारीमा उनको भेट इटालीको रोम सहरमा प्रेरणा (पूजा हेगडे) सँग हुन्छ। पूजा पेसाले डाक्टर हुन्छिन्। पूजालाई डाक्रले एक भविष्यवाणी गरेको छ।
हस्तरेखा विज्ञान र आधुनिक चिकित्सा विज्ञानबीच भारतीय चलचित्र ‘राधेश्याम’को कथा घुमेको छ। तर, कथाले यी दुवै विज्ञानको गहिराई भन्दैन, प्रेम सम्बन्धको भुँमरीमा छिर्छ। हातमा प्रेम योग नभएका आदित्य प्रेममा पर्छन्।
चलचित्रमा ८०–९० को दशकको सेटिङ छ। त्यसैले प्रसिद्ध रोमियो–जुलियटको प्रेमकथाको प्रसंगलाई पनि चलचित्रमा गाँसिएको छ। यद्यपि, रोमियो जुलियटमा जस्तो उनीहरू प्रेमका लागि ज्यान दिन्छन् वा प्रेमका लागि भाग्यसँग लड्छन्, त्यसको उत्तर भने करिब दुई घन्टा आठ मिनेटको बसाइमा थाहा हुन्छ।
एक वाक्यमा भन्दा प्रेमका लागि आफ्नै भाग्यसँगको लडाइँ हो, राधेश्याम। तर, नामजस्तो राधाकृष्णको जिकिर नहुँदा चलचित्रको शीर्षकसँग कथा नजोडिएको देखिन्छ।
एकातर्फ प्रेम, अर्कोतर्फ आधुनिक चिकित्सा विज्ञान र हस्तरेखा विज्ञानको उचित तालमेल नहुँदा चलचित्रको पटकथा फितलो लाग्छ। चलचित्रमा हस्तरेखा विज्ञानका ‘आइन्स्टाइन’ मानिएका विक्रमादित्यलाई सहजै स्थापित गरिएको छ। हात हेरेरै शतप्रतिशत सही भविष्यवाणी गर्न सक्ने विलक्षण प्रतिभा उनीमा कसरी आयो वा विकसित भयो भन्ने पृष्ठभूमिको अभाव दर्शकलाई महसुस हुन्छ।
चलचित्र सुरु हुँदा चिकित्सा विज्ञान र हस्तरेखा विज्ञानका विषयमा छेडिएको बहसमा न चिकित्सा विज्ञानका पाटालाई केलाइएको छ, न त हस्तरेखा शास्त्रका अद्भूत विषयमा प्रमाणित तर्क राखिएको छ। उहीबीचमा सुरु हुन्छ आदित्य र प्रेरणाको प्रेमकथा। कुनै साइन्सफिक्सन वा ज्योतिषी चमत्कार चलचित्रमा छैन, जुन एक हिसाबले रियलिस्टिक पक्ष हो।
यद्यपि, नामका लागि मात्र ज्योतिषशास्त्र र विज्ञानका भारी शब्द हुँदा दर्शकलाई कथा कमजोर लाग्न सक्छ। सुनिँदै र अनुमान गर्न सकिने प्रेम कहानी चलचित्रले बोकेको छ। कुनै अब्बल वा भिन्न प्रेमकहानी चलचित्रमा छैन। जसका कारण क्लाइमेक्समा दर्शकमा जाग्नुपर्ने इमोसन वा थ्रिल पैदा गर्न भने चलचित्र असफल भएको छ।
यस चलचित्रको निर्माणमा तीन सय ५० करोड भारतीय रुपैयाँ खर्च गरिएको भनिएको छ, खर्च अनुसार दृश्य भने देखाइएको छ। ट्रेनमा भएको विक्रमादित्य र प्रेरणाको पहिलो भेटको दृश्य यसअघिका चलचित्रका दृश्यलार्ई पनि मात दिने खालको छ। चलचित्रको क्लाइमेक्सनमा जहाजको दृश्य अब्बल छ। इटालीका विभिन्न रमणीय दृश्य समेटिएको छ। ब्याकग्राउन्ड म्युजिक कर्णप्रिय छ।
कोरोनाका कारण इटालीमा छायांकन हुनुपर्ने केही दृश्य भारतमै सेट डिजाइन गरी एनिमेसन गरिएको छ, यसकारण प्राकृतिक सौन्दर्य देखेका दर्शकका आँखालाई यस्ता एक दुई दृश्य खल्लो लाग्न सक्छन्।
यस फिल्ममा बाहुबलीमा जस्तो प्रभासको बलियो उपस्थिति हेर्न पाइँदैन। यद्यपि प्रभासका फ्यान था प्रेमिल जोडीका लागि यो चलचित्र ‘वान टाइम वाच’ खालको बनेको छ। जहाँ केही मनोरम रोमान्टिक दृश्य लोभलाग्दा छन्।
प्रभास र पूजाको अभिनय सुन्दर छ। बाँकी पात्रको चर्चा खासै गरिएन, कारण स्क्रिनमा ती पात्रले पाउनुपर्ने जति स्थान पाएनन्। यद्यपि, अन्य कलाकारको पनि यसमा अभिनय अब्बल छ।
अब्बल र स्थापित कलाकार, उत्कृष्ट प्राविधिक पक्ष र करोडौँको लगानी हुँदा पनि चलचित्रको आत्मा पटकथा सशक्त नहुँदा राधेश्याम ठीकठाकको चलचित्र मात्र बनेको छ। यस्तो लाग्छ, यस चलचित्रमा दृश्य छ, दिल छैन।
कथा सरल छ, उचारचढाव आउँदैन। यसको निर्देशन र लेखन राधाकृष्ण कुमारले गरेका हुन्।