स्त्री–पुरुषमा भेदभाव र स्त्री शोषणलाई प्रोत्साहन
महाभारत शान्तिपर्व अनुसार त्यस समयमा नारीहरू स्वतन्त्र थिए भन्ने बुझिन्छ। आदिम गण समाज पनि मातृसत्तात्मक थियो भन्ने त्यसबेलाका गणका नाम नारी नामबाट उच्चारण गरेकोबाट पुष्टि हुन्छ। तर हिन्दू धर्मका बहुसंख्यक साहित्यमा नारीलाई शोषण गर्ने कुरा उल्लेख गरिएका छन्।हिन्दू धर्म साहित्यहरूमा लेखिएको छ कि धर्म विषयको एक मात्र आधिकारिक र वैध स्रोत धर्मग्रन्थ हो। यसले धर्मग्रन्थमा गलत र खराब कुरा नै लेखिएको छ भने पनि विनातर्क मान्नुपर्ने पक्षमा जोड दिन्छ। अर्को कुरा धर्म भनेको भौतिक बन्धनबाट मुक्ति (मोक्ष) प्राप्त गर्नु हो, जुन यथार्थमा सम्भव र प्रमाणित छैन। यसमा सदाचारलाई जोड दिनुपर्छ त भनिएको छ तर, ब्राह्मणलाई भोजन गराउँनु, उसलाई दान दक्षिणा दिनु र उसलाई तृप्त पार्नु पनि सदाचार हो भन्ने जस्ता कुराहरू पनि धार्मिक साहित्यमा लेखिएका छन्। यसले पापी, फटाहा, कूकर्मी र खराव चरित्रको मान्छेले समेत यज्ञ, पुराण, जप, दान र ब्राह्मण सेवा गरेपछि उसले खराब काम गरेपनि छुट पाउँछ भन्ने मान्यता स्थापित गराउन खोजेको देखिन्छ। यस बाहेक धार्मिक साहित्यमा विज्ञान, तर्क, प्रमाण र प्रयोगको सट्टामा आडम्बर र अन्धविश्वासलाई बढी महत्त्व दिएको पाइन्छ।
वेद, पुराण, रामायण, महाभारत आदि ग्रन्थहरू कल्पनाले उडानले भरिएका छन्। ती ग्रन्थहरूमा तथाकथित परमेश्वर देखि जीवजन्तुहरूलाई समेत विचित्र भूमिकामा प्रस्तुत गरेको पाइन्छ। विष्णुको अवतार मानिएका राम, कृष्णहरूले अचम्मका कार्य गरेका चित्रण गरिएको छ भने दैत्यदानव, असुर, राक्षस, यक्ष, गन्धर्व, अप्सरा, परी, भालु, बादर, सर्पहरूले पनि तिनीहरूको जैविक क्षमता भन्दा फरक र अविश्वासिलो कार्य गरेका व्यहोरा उल्लेख छ। पौराणिक साहित्य हरेक जात तथा समुदायमा हुन्छ। अन्य समुदायमा त्यस्तो साहित्यलाई लोककथाको रूपमा स्वकिार गरिएको छ। तर, हिन्दू साहित्यमा त्यस्ता साहित्यलाई धर्म तथा आस्थाको प्रमुख अङ्गको रूपमा समाहित गरिएको छ। विज्ञान पढेका र विज्ञानसम्मत ढङ्गले काम गरिरहेका वैज्ञानिक डाक्टर तथा इन्जिनियर जस्ता कतिपय हिन्दूहरू समेत वर्षा तथा शान्तिको लागि यज्ञ हवन गर्ने, सूर्यग्रहण तथा चन्द्रग्रहणका समयमा नदी तालमा नुहाउनु राम्रो मान्ने, फलित ज्योतिष तथा शकुनमा विश्वास गर्ने जस्ता क्रियाकलापमा संलग्न भएका देखिन्छन्। यसरी दोहोरो मापदण्ड र दोहोरो मनोभावले समाज कसरी उभो लाग्न सक्तछ ?
पुराणमा अनेकौ कपोकल्पित घटना, स्थान, भूगोल र चमत्कारलाई यथार्थ भनिएको छ। त्यस्ता कपोलकल्पित घटना तथा भूगोल भनेर साना बालकहरूलाई समेत पढाउदा जीवनभर उसमा सही कुरा झुठा र झुठा कुरा सही हो भन्ने छापले छोड्दैन।
पौराणिक कथाहरूमा हनुमान नामको बानरदेवले सूर्य खाएको, अगस्त्य नामको ऋषिले समुद्र पिएको जस्ता कुराहरू पनि उल्लेख छन्। सूर्य पृथ्वीभन्दा नौ करोड तीस लाख माइल टाढा छ र त्यसको व्यास नौ लाख माइलभन्दा लामो दूरीको छ। सामान्य कद भएको बादर हनुमानले त्यति टाढाको र त्यति ठूलो सूर्य निलेको भन्ने भ्रम बाँड्नु कति उचित हुन्छ ? त्यस्तै संसारको सबै समुद्र निल्ने पेट अगस्त्य ऋषिको थियो भन्नु वकवास बाहेक अरु के हुन सक्छ ?
अन्धविश्वासी, भयग्रस्त, भ्रान्तिपूर्ण र हतप्रभ बनाउने खालको भएकोले पनि धार्मिक साहित्यले समाजमा गलत प्रभाव पारिरहेको छ।
महाभारत शान्तिपर्व अनुसार त्यस समयमा नारीहरू स्वतन्त्र थिए भन्ने बुझिन्छ। आदिम गण समाज पनि मातृसत्तात्मक थियो भन्ने त्यसबेलाका गणका नाम नारी नामबाट उच्चारण गरेकोबाट पुष्टि हुन्छ। तर हिन्दू धर्मका बहुसंख्यक साहित्यमा नारीलाई शोषण गर्ने कुरा उल्लेख गरिएका छन्। नारी स्वतन्त्र बन्न नहुने, नारीले सधैँ पुरुषको सेवा सुश्रुषा गर्नुपर्ने, पुरुषले नारीलाई वस्तुको रूपमा स्वीकार्नु पर्ने, पुरुष जतिसुकै दूराचारी भएपनि नारीले उसको सेवा गर्नुपर्ने, पुरुषले नारीको हरेक कुरामा चियो चर्चो गर्नुपर्ने तर नारीले पुरुषसँग केही सोधखोज गर्न नहुने जस्ता कुराहरू हिन्दू धर्मशास्त्रमा जताततै लेखिएका छन्। पत्नी मरेमा वा महारोगी भएमा लोग्नेले तुरुन्तै बिहे गर्न हुने, एउटी पत्नीमाथि सौता हाल्दा पनि लोग्नेको कुनै आलोचना नहुने तर विधुवाले भने जिन्दगीभरी मृत पतिलाई सम्झेर बाँच्नु पर्ने बिडम्वनाहरू पनि धर्मशास्त्रमा विधी बनेर बसेका छन्।
हिन्दू धर्म साहित्यमा मनुस्मृतिलाई महत्त्वपूर्ण ग्रन्थको रूपमा मानिन्छ। मनुस्मृतिका विधि विधानहरू अक्षरसः पालन गर्नुपर्छ भन्ने धार्मिक पण्डितहरू व्याख्या समेत गर्दछन्। तर, मनुस्मृति नारी शोषणको प्रमुख खम्वाको रूपमा उभिएको छ। मनुस्मृतिमा लेखिएका केही श्लोकहरू विश्लेषण गर्दा पनि उक्त कुरा पुष्टि हुन्छ।
‘वालया वा युवत्या वा बृद्धा बापि तु योषिता
न स्वतन्त्रेण कर्तव्य किञ्चित कार्य गृहेष्वषि।’
(मनुस्मृति, अध्याय ५, १४७)
अर्थात्, ‘बालिका, युवती वा बृद्धा जुन उमेरकी नारीले पनि स्वतन्त्रपूर्वक घरको काम गर्नु हुँदैन।’
मनुस्मृतिले जतिसुकै खराब भएपनि पतिलाई देवतासरह पूज्नु पर्छ भन्नेमा जोड दिएको छ। यसले जतिसुकै पीडा खपेर भएपनि पतिको सेवा गर्ने र देवता सरह पुज्ने शिक्षा दिएर समाज झन् कुरुप र घिनलाग्दो बनाउँने काम गरेको छ।
‘विशील : काम बृत्तोमा गुणेवा परिवर्जित ः
उपचय स्त्रिया साध्वा सततं देववत्पति।’
(मनुस्मृति अध्याय ५, १५२)
अर्थात्, ‘पतिको शील स्वभाव नभएपनि, दुराचारी भएपनि, दसवटी वेश्यासँग हिँड्ने भएपनि वा असल गुणहरूले बर्जित भएको अत्याचारी भएपनि पत्नीले देवताझैँ मानेर निरन्तर सेवा सुश्रुसा गरिरहनु पर्दछ।’
साहित्यले समाजका नारी पुरुष दुवैलाई समान महत्त्व र अवसर प्रदान गर्नु पर्नेमा हिन्दू धर्म साहित्य नारीको इज्जत र हुर्मत लिनमा अग्रसर भएको पाइन्छ। नारीहरूको मानसिकता गिराउनमा धर्मग्रन्थहरू उद्धत छन्। स्वयं मनुस्मृतिमा नारी स्वभावको बारेमा गरिएको चित्रण दृष्टिगत गर्दा नारीहरूलाई हेपिएको, चेपिएको र पेलिएको प्रस्ट हुन्छ। नारीहरूको यस्तो स्वभाव हुन्छ भनेर लाञ्छना लगाउनु आफैँमा कति अपराधपूर्ण ठहर छ।
‘नैता रुपं परीक्षन्ते नासां वयसि संस्थिति
सरुपं वा विरुप वा पुमानित्येव भुज्जते।’
(मनुस्मृति, अध्याय ८)
अर्थात्, ‘नाठाहरू खोज्दै हिँड्नु, चञ्चल मनोवृत्तिका हुनु, निष्ठुरी हुनु, जतिसुकै चियो चर्चो गरे पनि लोग्नेको इच्छा विरुद्ध गइहाल्नु नारीहरूको बानी हो।’ त्यति मात्र होइन अध्याय ९ मै नारीलाई— ‘राम्रो राम्रो ओछ्यान खोज्ने, बेकारमा बसेर गफ चुट्ने, गहना गुरिया भनेपछि हुरुक्क हुने, कामोत्तेजनाले ग्रस्त हुने, स–सानो कुरामा पनि रिसाई हाल्ने, कुटिल बानी व्यहोरा हुने, अर्काको कुरा काट्दै हिँड्ने स्वभाव नारीहरूको हुन्छ’ भनेर नारीहरूको अत्यन्त निन्दा गरिएको छ।
रामायणलाई हिन्दूहरू अति आदर गर्दछन्। तर स्वयं राजा दशरथले तिनवटी विवाह गर्दा पनि कतै आलोचना भएको छैन। रामको आदेशले लक्ष्मणले शुर्पणखाको नाक नै काटिदिँदा पनि नारीप्रति अलिकति पनि सद्भाव व्यक्त गरिएको छैन। रावणद्वारा सीतालाई मुक्त गरेर ल्याउँदा सीता अग्नीपरीक्षामै होमिनु प¥यो तर त्यही समयमा आपूmखुसी रहेका रामको चरित्रको बारेमा भने कसैले प्रश्न उठाएन।
पुराणहरूमा पनि नारीहरूलाई अति निम्न कोटीमा राखिएको छ। पुराणमा नारी विधवा भइन् भने शिर मुण्डन गरेर एकान्तमा बस्नु सम्म भनिएको छ। भागवतमा त लोग्ने लङ्गडो, अन्धो, महारोगी जे भएपनि नारीले उसको सेवा गरिरहनुपर्छ भनिएको छ तर त्यही कुरा पत्नीमाथि पुरुषले गर्नुपर्ने कुरालाई पर्दा लगाइएको छ।
पुराणहरूमा नारी विधवा भएमा जीवनभर मृत पतिको स्मरण गरेर बस्नुपर्ने कुरा उल्लेख छ तर पत्नीको मृत्यु भएमा लोग्नेले तुरुन्तै विवाह गरेर गृहस्थी चलाउनु पर्ने कुरा उल्लेख छ।
नारीलाई सम्मानित व्यवहार नगर्नुको कारण हिन्दू धर्म नारी पीडाको प्रमुख स्रोत बन्न पुगेको छ। नारीहरूलाई सिर्जनशील कार्यमा प्रोत्साहित गर्नु र नारी समानताको पक्षमा जोड दिनुको सट्टामा नारीहरूको मनोवल गिराउने कार्यमा हिन्दू धर्म अनेकौँ प्रसङ्गमा उद्धत भएको छ।
वैदिक तथा महाभारत कालमा नारीहरूलाई दोसीको रूपमा प्रयोग गरेका पनि पाइन्छ। महाभारतको सभापर्व, वनपर्व, विराटपर्व जस्ता पर्वहरू अध्ययन गर्दा युधिष्ठिरले अठासीहजार स्नातकको लागि प्रति स्नातक ३० दासीहरूको हिसावले २६ लाख ४० हजार दासीहरू दान दिएको उल्लेख छ। हिन्दूहरू रामलाई ‘मर्यादा पुरुषोत्तम’ भन्दछन्। तर, स्वयं रामले विवाहमा दाइजो स्वरूप दासीहरू लिएको कुरा तुलसीदासद्वारा रचित रामायणको बालकाण्डमा उल्लेख छ। नारीलाई वस्तुसरह उपहार दिने प्रथा पनि हिन्दू धर्मले बोकिरहेछ।
ऋग्वेद कालमा कयौ आर्यहरूले युनानजस्ता देशहरूमा महिलाहरू लुटेर ल्याई दक्षिणपूर्वी एशियामा बेच्ने र यहाँका हिन्दूहरूले पनि बढी मूल्य तिरेर युरोपेली महिलाहरू राख्ने चलन रहेको इतिहास छ। अहिले पनि हिन्दू विवाह पद्धतिमा ‘कन्यादान’ गर्ने भनि छोरीको विवाह गरिदिने चलन छ। कन्यादान गर्नु ‘गोदान’ गर्नु सरह हो भनि महिलालाई भन्दा गाईलाई बढी महत्त्व दिएको छ। छोरीको विवाह गर्नुको अर्थ ‘दान’ गर्नु होइन तर त्यसो भएको छ। हिन्दू धर्म अनुसार पत्नी मरे पतिले तुरुन्तै विवाह गर्न हुने तर पति मरे पत्नीले विवाहको कुनै कुरा सोच्नै नहुने मान्यता व्याप्त छ। अझ पत्नीको पापको कारण पतिको मृत्यु भएको भन्न पछि नपर्ने समाज पनि हाम्रै हो। विधवाहरूको पुनर्विवाह गर्नु अपराध हो भन्ने भ्रम पनि हिन्दू धर्ममा कम छैन।
हिन्दू विवाहमा पुरोहितले कन्याका मातापिता र बरबधूलाई निम्न मन्त्र जपेर पूजा गर्न लगाउँछन्– ‘स्वस्ति न इन्द्रो वृद्धश्रवाः पूषा विश्वेदाः स्वस्ति नस्ताक्षार्यो अरिष्टनेमिः स्वस्तिनो वृहस्पतिदेधातु।’
यस मन्त्रले इन्द्रको पूजा गरिन्छ। इन्द्रले छल गरेर गौतमकी पत्नीलाई बलात्कार गरेको थियो। विवाह जस्तो पवित्र कार्यमा इन्द्रजस्तो कामी, लोलुप र बलात्कारीको पूजा गर्नु अनैतिकता बाहेक अरु के नै हुन सक्छ?