Kathmandu Press

आजका अग्रगामी र आधुनिक महिलाको दायित्व के हुन सक्छ ?

अहिले त कम्तीमा आफूलाई मन लागेका कुरा आफैँ किनेर खाने छुट छ, मन नपरेका कुरा ठूलाबडाकै किन नहोस् प्रतिवाद गर्ने र नसुन्ने छुट छ।
आजका अग्रगामी र आधुनिक महिलाको दायित्व के हुन सक्छ ?

धेरैपछि मेरी एक र प्रिय मित्रसँग फोनवार्ता भयो। हामी अलि ढिलै कुराकानी गर्छौं तर लामै हुन्छन् कुरा। हाम्रा कुरा सन्चोबिसन्चोदेखि समाज र उस्तै परे देशका जल्दाबल्दा समस्यासम्म पुग्छन्। आजकल हामी दुवै अलि फुर्सदमा रहेछौँ। अचेल पत्रपत्रिका र अनलाइन न्युज पोर्टलमा फाट्टफुट्ट मेरा आलेख छापिन्छन्।

हामीबीचको पछिल्लो फोनवार्ता उनले मेरा आलेख नबिराई पढ्ने गरेको र ती लेख यथार्थ लाग्ने गरेकोबाट सुरु भयो। उनी किशोरवयदेखि नै आम महिलाभन्दा अलि भिन्न स्वभाव र सोचकी थिइन्। कसरी कसरी हामी घनिष्ठ हुन पुगेछौँ। हामी पढ्नलाई किताब आदानप्रदान गथ्र्यौं त्यतिबेला। उनी बजारको मुखैमा बस्ने, म अलि पर गाउँमा बस्ने। सैद्धान्तिक दृष्टिकोणले हामी कुनै पनि संगठनमा थिएनौँ तर आ–आफ्नो रोजाइबमोजिम मतदान गथ्र्यौं। तर हामी असल मित्र रहिरह्यौँ र हामीबीच देशदेशावरका समाचार, समाज, आर्थिक, राजनीतिक अवस्था र महिलाबारे विचार विमर्श भइरहन्छ।

समाजमा महिलाको अवस्था र महिलालाई हेर्ने आम दृष्टिकोणबाट हेर्दा हामी दुई केही अगाडि बढेकै महिला हौँ। धन्न हाम्रा अभिभावकले छोरी पढाए र हामीले सचेतनाका छिटा देख्न पायौँ। उनले भनिन्– समाजमा परिवर्तन त भएको छ है। हाम्रा आमा, सासुआमा, हजुरआमाहरूका पाला मीठोमसिनो मानिएका खाना महिला, नोकरचाकर तथा बालबालिकाका भागमा बिरलै रहन्थे रे। बचेखुचेका खाना खाएरै अधिंकाश महिला घरधन्दामा व्यस्त हुन्थे।’

Hardik ivf

अहिले त कम्तीमा आफूलाई मन लागेका कुरा आफैँ किनेर खाने छुट छ, मन नपरेका कुरा ठूलाबडाकै किन नहोस् प्रतिवाद गर्ने र नसुन्ने छुट छ। समाज रूपान्तरणसँगै महिलाको शिक्षा, रोजगारीले महिलाको आत्मसम्मानमा पनि वृद्धि भइराखेको छ। यद्यपि कैयौँ क्षेत्र, समुदाय र वर्गमा  परिवर्तन हुन नसकेको यथार्थ अर्कोतिर छ।

उनी र मबीच समाजमा भएका भनाइ र गराइको तालमेल नमिलेका अरु पनि थुप्रै विषयमा गफ भए। तर, मलाई महिलासँगै केन्द्रित भएर अझ केही लेखौँझैँ लाग्यो।

हाम्रो समाजमा महिलाको घरेलु भूमिकामा परिवर्तन भएका छन्। आर्थिक, शैक्षिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा महिलाको संख्या उल्लेख्य बढेकै छ। निर्णय तहमा भने पुुरुष वर्चस्व कायमै छ।  रूपान्तरणसँगै छाड्नैपर्ने विभिन्न खालका चलन विचार, अभ्यासलाई निरन्तरता दिँदै अर्को नयाँ प्रवृत्ति पनि सुरु भएको छ, जुन विश्वव्यापीकरण बनेको छ।

सूचना र प्रविधिले संस्कृति र व्यापारमै फेरबदल ल्याएको छ, एक किसिमले प्रवद्र्धन पनि गरेको छ। अर्कोतिर, विकृति पनि भित्र्याएको छ। झन्डै तीनवर्षे लकडाउनमा पनि केही हदसम्म फेसन बजार चले, यसको मतलब सूचना र प्रविधिले काम ग¥यो। टिकटक लगायत सामाजिक सञ्जालमा विविध प्रदर्शन र प्रस्तुति हेर्न सकिन्थ्यो, सकिन्छ। आज आफ्नो प्रतिभा प्रस्तुत गर्न अरुको भर पर्नुपर्दैन, हरेक सामाजिक सञ्जालमा जोडिन सक्छ। 

अर्कोतिर, उमेरले परिपक्व नभइसकेका किशोरी पनि जीवनका आधारभूत मूल्य–मान्यता, विद्यमान कानुन, हिंसा र माया के हो भन्ने नबुझी फसिरहेका उदाहरण पनि देखिँदै छन्। 

आधुनिकतालाई पछ्याउँदै गएका महिला विशेष गरेर युवा पुस्ता सानातिना घरायसी काम गर्दै नगर्ने, गर्न जान्दिनँ भन्ने या सबैभन्दा जाँगर नचल्ने काम खाना पकाउने र घरको काम हो भन्दै हिँड्ने गरेको पनि देखिन्छ। घन्टौँसम्म बन्द कोठाभित्र बसेर इन्टरनेटमा झुन्डिइरहने केही बाहिरी खबरबारे जानकार भएको जस्तो पनि गर्ने तर घरव्यवहार, परिवार, समाज अनि देशका बारेमा पैरै बेखबर रहने जमान पनि देखिन्छ। सबैमा यी उल्लिखित कुरा लागू हुँदैनन तर यस्तो जमात बढिरहेको देख्न सकिन्छ।

जुन बेला महिलाहरू घरकै काममा सीमित थिए। पारिवारिक र सामाजिक निर्णयमा कुनै सहभागिता थिएन र उनीहरूलाई सम्पूर्ण रूपले दोस्रो दर्जाको मानिस सम्झिन्थ्यो समाजले। महिलाकै कष्टपूर्ण आन्दोलनले उनीहरूको स्वाभिमान जाग्दै छ। अर्कोतिर ती अधिकारसँगै आउनुपर्ने सभ्यता, जिम्मेवारी, कर्तव्य, मानवता कतै कम हुँदै जाने त होइन भन्ने भय छ।

त्यस्तै पढालेखा र आर्थिक रूपमा पनि सक्षम हुन सक्ने युवा महिला शक्ति बढ्दै छ। निर्भीक र स्वतन्त्र नागरिक भएर आधा आकाश ढाक्ने सामथ्र्य लिई रुढीवादी र संकीर्ण समाजलाई पछाडि पनि पार्दैछन् महिलाले। यिनै जमातभित्र व्यक्तिगत रूपमा धनसम्पत्ति जोड्न, बैंक ब्यालेन्स बढाउन, पार्टी लाइफ मेन्टेन गर्न उद्यत् हुने तर परिवारमै ज्येष्ठ तथा कमजोर सदस्यप्रति हीन र हेलाभावले हेर्ने प्रवृत्ति पनि बढिरहेकै छ। व्यक्तिवादी चिन्तन र बानीलाई कतिपय महिलाले पनि अंगीकार गरेकै छन्। विश्वमा भएका महिला मुक्ति आन्दोलन, महिलावादी आन्दोलनको पहलस्वरूप केही समानताका कानुनी सफलता हासिल गरेका छन् महिलाले। प्राप्त उपलब्धिलाई जोगाइराख्न आफ्ना कर्तव्य, विवेक र मानवतालाई बिर्सनु हुँदैन तर बजारवादी, उपभोक्तामुखी व्यवस्थाले बिर्साउने हो कि भन्ने डर पनि छ।

बेवास्ताको सिकार ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकका विषयमा हामी साथी मिलेर एक अध्ययन गरेका थियौँ। काठमाडौंका केही सीमित वडामा गरिएको अवलोकन भ्रमण र छलफलपछि ज्येष्ठ नागरिकको संवेदनशीलतालाई अनदेखा गरिएको हो कि भन्ने लागेको थियो।

समय एकदम प्रतिस्पर्धी छ। धेरैजसो युवा जमात आफ्ना ज्येष्ठ बाआमा र परिवारका अरु सदस्यबाट टाढै छन्। उनीहरु करिअर र भविष्यको चिन्ताले दौडधुपमै छन्। यस्तोमा पक्कै पनि तन्नेरी महिला तथा पुरुषले परिवारका ज्येष्ठ सदस्यप्रति सहानुभूति राख्न या हेरविचार पु¥याउन फुर्सद पाएका हुँदैनन्। 

हामीकहाँ वृद्धाभत्ता दिएपछि राज्य ज्येष्ठ नागरिकको दायित्वबाट उम्केको जस्तो गर्छ। ज्येष्ठ नागरिकका अन्य थुप्रै समस्या छन्। कतिपयलाई विशेष रेखदेख र संरक्षण गर्नुपर्ने हुन्छ। यस्ता कुरा पनि परिवारभित्र बिस्तारै द्वन्द्वका रूपमा विकसित भइरहेको पाउन सकिन्छ। यस्तो अवस्थामा महिलाले नै पुरुषको साथ लिई परिवारमा एक सहजकर्ताको भूमिका निभाएर अलिकति मानवता दर्शाएर परिवारलाई व्यवस्थित गराउनुपर्ने देखिन्छ। यसको मतलब महिलाले मात्रै सेवा सुसारको काम गर्नुपर्छ भन्ने होइन। परिवारमा सबैले आफ्नो भूमिका र कर्तव्य निभाउने हो, तर यो धेरै परिवार र समाजमा भइरहेको छैन। 

मान्छे जन्मन्छ, हुर्कन्छ, युवा हुन्छ, समाजमा छवि बनाउँछ। कतिले धनसम्पत्ति पनि जोड्छन् तर सत्य कुरा भुलिराखेकै हुन्छ। त्यो सत्य भनेको मान्छे बिरामी हुन्छ, बुढो हुन्छ, उसका शारीरिक अंग, प्रत्यंग ढिला भइराखेका हुन्छन्, हरेकले यो अवस्था गुजार्नुपर्ने हुन्छ। आज हामीले परिवार र समाजका ज्येष्ठ नागरिकलाई राम्रो व्यवहार गरेर अब आउने नयाँ पुस्तालाई सिकाउनुपर्छ। नत्र भोलि हामीमाथि नयाँ पुस्ताबाट कस्तो व्यवहार हुने हो भन्न सकिँदैन। 

खर्चिला र देखावटी चलनमा वृद्धि

संस्कृतिका नाममा विद्यमान खर्चिला र अवैज्ञानिक लाग्ने प्रथा विशेष गरेर हिन्दू संस्कृतिमा रहेका गुन्युचोलो, विवाहमा कन्यादान, दाइजो, गरगहनाका फेसनमा तीव्र रूपमा प्रतिस्पर्धा जस्तै देखिन्छ। हिन्दी सिरियलले थपिदिएका विवाहका अतिरिक्त संस्कारहरू हल्दी, मेहन्दी, रिसेप्सनहरू पनि थपिँदैछन्। कतिपय यस्ता मानिस पनि थपिँदैछन्, जो परम्परा जोगाउन लालायित छन् र आफ्ना पालामा नयाँ खर्चालु चलन नभए पनि छोरीनातिनीलाई यो सब सिकाउन चाहन्छन्। 

अर्कोतिर महिलाउपर महिनावारी कलंक, छोइछिटो, बोक्सी प्रथा लगायत जात, उपजातको निरन्तरता छँदैछ। भलै यी अमानवीय हुन् भन्दै कानुन पनि बनिसके। अन्य कुरामा आधुनिक देखिने कतिपय महिला समूह पाखुरा सुर्कन्छन्, ‘म महिनावारी बार्छु त के भो ? म महिनावारीको दोष कटाउन तीजमा पञ्चमी व्रत र पूजाआजा गर्छु त के भो ? म दलित जातका महिलालाई घरभित्र आउन दिन्न र उनीहरूलाई तल्लो नै मान्छु त के भो ?’

देशका आम नागरिकले जानकारी पाइराख्नुपर्ने जरुरी कानुनी कुरा समेत आधुनिक भनाउँदाले बुझेको देखिँदैन। उल्टै पीडकको पक्ष लिएर आफैं न्यायाधीश बनेका घटनाले महिलालाई सिक्न, बुझ्न र जान्न धेरै बाँकी छ जस्तो लाग्छ।

यस्तो लाग्छ, पुँजीवादी व्यवस्था र पितृसत्तात्मक समाजमा महिला आन्दोलन र अधिकारले सुनिश्चित गरेका समानताका धुन गीत कतै छुटिरहेका त छैनन् ? छलफल गर्दै महिला पुरुष मिलेरै हाम्रो परिवार समाजलाई व्यवस्थित र मानवीय बनाऔँ।  महिलाले अझ चनाखो हुनुपर्ने बोध आफैँले गरेको भएर यसरी लेखियो।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्