Kathmandu Press

ग्याल्पो ल्होसारको गरिमा के हो ?

ग्याल्पो ल्होसार चिनियाँ तिब्बती ज्योतिषशास्त्र अनुसारको नयाँ वर्ष हो। चीनबाट तिब्बतको बाटो हुँदै नेपालमा यो पर्व भित्रिएको हो।
ग्याल्पो ल्होसारको गरिमा के हो ?

आज (बिहीबार) नेपालका शेर्पा तथा तिब्बती क्षेत्रका बौद्धधर्मालम्बीले ग्याल्पो ल्होसार मनाइरहेका छन्।  तिब्बती भाषामा ‘ल्हो’ को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ ‘नयाँ’ हुन्छ। तिब्बती भाषामा ‘सार्व’ र ‘निव’ ले ‘नयाँ’ र ‘पुरानो’ अर्थ दिन्छ।

सोही तिब्बती ‘सार्व’ शब्द हाल प्रचलनमा ‘सार’ भएको हो। साथै, तिब्बती व्याकरणमा विशेषण नामको पछाडि हुन्छ। यस कारण ‘सार्व ल्हो’ अथवा ‘सारल्हो’ नभनी ‘ल्होसार’ भनिएको हो। 

ग्याल्पो ल्होसार चिनियाँ तिब्बती ज्योतिषशास्त्र अनुसारको नयाँ वर्ष हो। चीनबाट तिब्बतको बाटो हुँदै नेपालमा यो पर्व भित्रिएको हो।

Hardik ivf

ल्होसार चार प्रकारका छन्। पौष शुक्ल प्रतिपदामा प्रवर्तन हुने ल्होसारलाई तोल ल्होसार भनिन्छ, ल्होसारमध्ये यो आदिम हो। तर, अहिले यो लोपोन्मुख अवस्थामा छ। माघ शुक्ल प्रतिपदा दिन प्रवर्तन हुने सोनाम ल्होसार हो। त्यस्तै, फागुन शुल्क प्रतिपदाका दिन ग्याल्पो ल्होसार प्रवर्तन हुन्छ। गुरुङ समुदायले पुस १५ गते मान्ने ‘तमु ल्होछार’ वा ‘तमु ल्होसार’ भनिन्छ। तिब्बतको ल्हासा, ल्हासादेखि पूर्वी तिब्बत र नेपालमा हिमाली भेग खुम्बुका शेर्पाले ग्याल्पो ल्होसार मनाउने गर्छन्।

यता पश्चिम तिब्बतका मानसरोवर वरिपरिका थोरै समुदाय र नेपालको हुम्ला, मनाङ र भुटानको थोरै समुदायले तोल ल्होसार मनाउँछन्। 

पश्चिम तिब्बतको ल्हासादेखि सम्पूर्ण पश्चिमी तिब्बत अनि नेपालको हुम्ला मनाङ र खुम्बुबाहेक सम्पूर्ण हिमाली  क्षेत्र र नेपालका तामाङले मान्ने सोनाम ल्होसार हो। तामाङ समुदायले ल्होसारलाई ‘ल्होछार’ पनि भन्छन्। तिब्बती प्रसिद्ध गुरु दलाई लामाले मान्ने ल्होसार पनि ग्याल्पो ल्होसार हो। तिब्बती पञ्चाङ्गको उठान पनि ग्याल्पो ल्होसारबाट भएको हो। 

तिब्बती भाषा धावा त्हाङ्पो’को अर्थ पहिलो र महिना क्रमशः हुन्छ। फागुन शुल्क प्रतिपदामा ग्याल्पो ल्होसार सुरु हुने भएकाले फागुन महिनालाई ‘धावा त्हाङ्पो’ अर्थात् ‘पहिलो महिना’ भनिन्छ। 

यो वर्ष बाघ वर्गको वर्ष हो। हिन्दूमा १२ वटा राशि भएझैँ तिब्बती शास्त्रमा १२ वटा जन्तुको वर्ग हुन्छ। बाघ वर्गलाई १२ वटै वर्गमध्येको राजा भनिन्छ। किनकि बाघले वर्ष दिनभर भोग गर्छ। अन्य मुसा, गाई, सर्प, कुकुर आदि १२ वटा वर्गको तुलना बाघलाई बलियो मानिन्छ।

बाघ वर्षमा जन्मिएका व्यक्तिमा आत्मराज्य शक्ति हुन्छ। उक्त वर्गमा जन्मिएका मानिसको यस वर्ष उन्नति प्रगति हुन्छ भन्ने जनविश्वास छ। यस वर्षको ग्याल्पो ल्होसारमा गत वर्षको गाई वर्गको वर्षलाई बिदाई गरी बाघ वर्गको वर्ष आगमन भएको हो। यस दिन परिवारमा सुखशान्ति र राम्रो स्वस्थास्थित होस् भनी पूजापाठ, हमन गरी रमाइलो गर्ने गर्छन्। त्यस्तै, बौद्धधर्मालम्बीको झण्डा लुङदार पनि टाँग्ने काम हुन्छ।

किंवदन्ती

ल्होसारको सम्बन्धमा हालसम्म खास ठेट किंवदन्ती पाइएको छैन। चारवटै ल्होसारको प्रवर्तन आर्य महामञ्जुश्रीले गरेका हुन्। ‘आर्य महामञ्जुश्री’ भने संस्कृत शब्द हो। जसलाई तिब्बती भाषामा ‘चिग्ह्याल्पो’ भनिन्छ।  ‘चि’ भनेको ‘ज्योतिष’ र ‘ग्ह्याल्पो’ भनेको ‘राजा’। आर्य महामञ्जु श्री तिब्बती ज्योतिष राजा थिए, जसले यी चार ल्होसारको तिब्बती शास्त्रमा प्रवर्तन गरे। 

ज्योतिष मञ्जुश्रीले प्रतिपादन गरेको सोही सूत्रकै आधारमा यी पर्व मनाइँदै आएको हो। नेपाल, चीन, मंगोलियन, भुटान, थाइल्यान्ड, कोरिया, जापान, वर्मा, कम्बोडिया, तिब्बत, सिक्किम, भारत आदि गरी एसिया महादेशको करिब ९८ प्रतिशत मुलुकमा अझै पनि यो पद्धति प्रचलित रहेको छ।

(नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् गुरुङसँग प्रबिता श्रेष्ठले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: १५:१६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्