कांग्रेसमा युवा र समावेशिताले बढाएको तागत
कांग्रेस केन्द्रीय समितिमा दलितको प्रतिनिधित्व हुँदैमा जातीय छुवाछूत स्वतः हट्ने होइन। महिलाको संख्या बढ्दैमा पितृसत्ताका आधार भत्कने पनि होइन। उद्योगी र व्यवसायीको प्रतिनिधित्व हुँदैमा उद्योगधन्धा फस्टाउँदैन। समावेशीको विषय होस् या समृद्धिको आकांक्षा, यो पूरा गर्न स्पष्ट नीतिसहितको दूरदृष्टि चाहिन्छ।मुलुकका प्रमुख राजनीतिक दलहरूको महाधिवेशन भर्खरै सकिएका छन्। महाधिवेशनले लोकतान्त्रिक विधिबाट समावेशी चरित्रको पार्टी निर्माणमा कस्तो योगदान पुग्यो या पुगेन यसबारे चर्चापरिचर्चा हुनु अस्वाभाविक होइन। यस्ता छलफलले दलहरूको समीक्षा गरी सुधारको मार्गमा लैजान मद्दत पुग्छ। दलहरू बलियो हुनु भनेकै अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रकै जग बलियो हुनु हो।
एमाले र माओवादी केन्द्रको महाधिवेशनमा अपनाइएका निर्वाचन विधि र प्रक्रियालाई लिएर अहिले पनि तातो बहस चलिरहेकै छ। खासमा एमाले र माओवादीभित्र नेतृत्व चयन प्रक्रियाका कारण धेरै प्रश्न उठेका छन्। एमालेमा सर्वसम्मतिका नाममा निषेध र माओवादीमा जनवादी केन्द्रीयताका नाममा तोक लगाउने शैली हाबी भएको देखियो।
तर, नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले भने लोकतान्त्रिक अभ्यासमा आफूलाई अब्बल साबित गरेको विश्लेषण भइरहेको छ। यद्यपि, कांग्रेसको चौधौं महाधिवेशनले कस्तो नेतृत्व छान्यो, त्यसले समावेशी लोकतन्त्रको अभ्यासको आधारशिला निर्माण गर्याे गरेन भनेर विभिन्न कोणबाट टीकाटिप्पणी नभएका भने होइनन्।
वास्तवमा कांग्रेसको केन्द्रीय नेतृत्व (निर्वाचित र मनोनीतसमेत) को तस्बिर हेर्दा विविधता झल्किएको देखिन्छ। जसबाट समावेशी प्रतिनिधित्व भएको आभास पाउन सकिन्छ। कांग्रेसको वर्तमान केन्द्रीय समितिलाई सरसर्ती हेर्दा नौ खाले अनुहारको छनक मिल्छ।
१. अनुभवी र परिपक्व : कांग्रेस सभापति शेरबहादुर देउवा झन्डै आठ दशक पुग्न लागेका पाका नेता हुन्। ६ दशक लामो राजनीतिक यात्राका अनेकौ आरोह अवरोह छिचोल्दै दोस्रो पटक सभापतिमा निर्बाचित देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री बनिसकेको अनुभव छ।
सोसलिस्ट इन्टरनेसनलको उपाध्यक्षसमेत रहेका देउवा समकालीन नेपाली राजनीतिकै सबैभन्दा शीर्ष नेता हुन्। त्यसैगरी सभामुख एवं उपप्रधानमन्त्री भइसकेका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक यात्रा र अनुभवले पनि कांग्रेसभित्र छुट्टै रौनक थपेको छ। देउवा र पौडेलको राजनीतिक अनुभव र परिपक्वता कांग्रेसको महत्वपूर्ण पुँज हो।
२. नेतापुत्रदेखि अनुयायीसम्म : कांग्रेसको वर्तमान केन्द्रीय समितिमा संस्थापक नेता बिपी पुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायण पुत्र विमलेन्द्र निधि, गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला, सन्त नेता कृष्ण प्रसाद भट्टराइका अनुयायी डा. नारायण खड्का, पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीसम्मका नेताहरू रहेका छन्। यो कांग्रेसको फरक सौन्दर्य हो।
३. युवा पिँढी : यसपल्टको कांग्रेस महाधिवेशनबाट नेपाली समाजमा युवाको आस्था र विश्वास जित्न सफल तरुण युवाका ढुकढुकी कांग्रेस नेतृत्वमा उदाएका छन्। विश्वप्रकाश शर्मा, गगन थापा र प्रदीप पौडेल मात्र होइनन्, जीवन परियार, बद्री पाण्डे, सरिता प्रसाईं, कुन्दन काफ्ले र रुपा विकसम्मको अनुहारले कांग्रेसमा युवाहरूको आकर्षण ह्वात्तै बढेको देखिन्छ। यसपल्टको महाधिवेशनमा पत्रकारिता क्षेत्रबाट पनि प्रतिनिधित्व भएको छ। युवा पत्रकार अजय शिवाकोटी निर्वाचन प्रक्रियाबाटै कांग्रेस केन्द्रीय सदस्य चुनिएका छन्।
४. नेविसंघ र तरुण दलका पूर्वअध्यक्षहरूको वर्चस्व : नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई कांग्रेसको नर्सरी भन्ने गरिन्छ भने तरुण दललाई संगठनको आधार। नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिमा नेविसंघ तथा तरुण दलका पूर्वअध्यक्षहरूको वर्चस्व स्थापित छ। सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा मात्र होइन, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलवहादुर केसी, बालकृष्ण खाँण, एन पी साउद, गोविन्द भट्टराई, प्रदिप पौडेल, कल्याण गुरुङ, नैनसिंह महर र राजिव ढुंगानासम्मका नेविसंघका अध्यक्षहरू कांग्रेस केन्द्रीय समितिमा आएका छन्।
त्यसैगरी तरुण दलको अध्यक्ष भइसकेका उदयशमशेर राणा, महेन्द्र यादव र जितजंग बस्नेतको अनुहारले कांग्रेस संगठनलाई थप ऊर्जा भरेको छ। तैह्राें महाधिवेशनमा भन्दा चौधौंमा तरुण युवाको बढोत्तरी भएको छ। जसका कारण कांग्रेसमा उत्साह थपिएको छ।
५. महिलाको आकर्षण : सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनादेखि चित्रलेखा यादव, सुजाता परियार, लक्ष्मी परियार, सीता गुरुङ, जाबेरा खातुन, महिन्द्रा कुमारी लिम्बु, मुक्ता कुमारी यादव र शिला खड्काको अनुहारले कांग्रेसप्रति आधा आकास भनेर चिनिने आम नेपाली महिलाहरूको विश्वास र भरोसा बढ्दै जाने विश्वास थपिएको छ।
६. डाक्टरहरूको बाक्लो उपस्थिति : कांग्रेस केन्द्रीय समितिमा विद्वत् वर्गमा गनिने डाक्टरहरूको पनि उपस्थिति बढेको छ। डा. शशांक कोइराला, डा. रामशरण महत, डा. नारायण खड्का, डा. प्रकाशशरण महत, डा. आरजु राणा देउवा, डा. डिला संग्रौला, डा. गोपाल दहितदेखि डा. गोविन्द पोखरेलसम्मको ज्ञान कांग्रेसले उपयोग गर्न पाउनेछ। जसले आर्थिक सामाजिक रुपान्तरणको अगुवाइ अझै पनि कांग्रेसले गर्न सक्ने देखिन्छ।
७. उद्योगी व्यवसायी : नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा विश्वकै धनीमा गनिने अर्बपति विनोद चौधरी, सफल उद्योगी उमेश श्रेष्ठ, जिपछिरिङ लामा, टेकबहादुर गुरुङ, ई. मोहन आचार्य लगायतको प्रतिनिधित्वले कांग्रेसप्रति उद्योगी–व्यवसायीको आकर्षण बढेको देखिन्छ। प्रतिष्ठित उद्योगी व्यवसायीको प्रतिनिधित्वका कारण लगानी र पूर्वाधारको क्षेत्रमा आमूल सुधार भई स्वदेशमै रोजगारी वृद्धिमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ।
८. समावेशिता र जातीय विविधताको समिश्रण : कांग्रेस केन्द्रीय समितिमा आठवटा विभिन्न क्लस्टरबाट पहिलोपल्ट सहमहामन्त्री निर्वाचित भएका छन्। दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक र अपांगता भएकाहरूको समेत केन्द्रीय समितिमा प्रतिनिधित्व छ। यसले साँच्चै समावेशिता र जातीय विविधता काग्रेसभित्र देख्न सकिन्छ।
९. पञ्चायती पृष्ठभूमिदेखि कम्युनिस्ट छाडेकासम्म : नेपाली कांग्रेसको केन्द्रीय समितिमा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापा पुत्र सुनिल थापा, पञ्चायतको राजनीति हुँदै कांग्रेसमा पकड कायम गरेका तथा कम्युनिस्ट त्यागेर आएका नेताहरूको सानदार उपस्थिति छ। यसले कांग्रेसभित्र सबैलाई स्वागत र क्षमताअनुसारको जिम्मेवारी प्राप्त हुने अवसर उपलब्ध छ भन्ने सन्देश प्रवाह गरेको छ।
अन्त्यमा, सबै वर्ग, क्षेत्र र समुदायको उपस्थितिले साँच्चै कांग्रेसलाई ‘सबै अट्ने र सबैलाई समेट्ने’ पार्टीका रूपमा स्थापित गरिदिएको छ। वास्तवमा कांग्रेस सबै वर्ग, क्षेत्र, लिंग, जातजाति, विचार तथा उमेर समूहको पार्टीका रुपमा देखा परेको छ। सँगसँगै प्रश्न पनि उठ्छ– के अब कांग्रेसले समावेशी चरित्रको देखिँदैमा सबै वर्ग, क्षेत्र, लिंग, जातजाति तथा उमेर समूहको भावना समेटेर सामाजिक न्यायसहितको लोकतन्त्र स्थापित गर्न सक्छ त ? केही टाठाबाठाको प्रतिनिधित्व र पहँुचले मात्रै यो सम्भव छैन । जुन समुदायको प्रतिनिधित्व गर्दै स्थापित भएको नेता हो, त्यो समुदायको पक्षमा व्यवहारमै क्रियाशील बन्न सके मात्र समावेशी लोकतन्त्र सुनिश्चित हुन सक्छ।
तर कांग्रेस केन्द्रीय समितिमा दलितको प्रतिनिधित्व हुँदैमा जातीय छुवाछूत स्वतः हट्ने होइन। महिलाको संख्या बढ्दैमा पितृसत्ताका आधार भत्कने पनि होइन। उद्योगी र व्यवसायीको प्रतिनिधित्व हुँदैमा उद्योगधन्धा फस्टाउँदैन। समावेशीको विषय होस् या समृद्धिको आकांक्षा, यो पूरा गर्न स्पष्ट नीतिसहितको दूरदृष्टि चाहिन्छ।
त्यसपछि आवश्यक छ, उत्तरदायित्वसहितको अधिकारको प्रयोग। आशा गरौं, कांग्रेस नेतृत्वमा अनुभवी र ऊर्जावान् नेताहरूको सत्कर्मले मात्रै त्यो लक्ष्य हासिल हुनेछ। लक्ष्य प्राप्तिमा आजैदेखि कांग्रेस नेताहरू व्यवहारमा खरो उत्रन सकून्।