Kathmandu Press

यसकारण प्रतिनिधिको रोजाइमा परे देउवा

लोकतन्त्रमा सहमति, सहकार्य र समन्वयले नै राष्ट्रिय एकताको भावना जगाउँछ। यो मान्यतामा देउवा सदैव दृढ छन्। कांग्रेसका लागि यो क्षण विशिष्ट अवसरका रूपमा रहेको छ।
यसकारण प्रतिनिधिको रोजाइमा परे देउवा

नेपाली कांग्रेसको १४औ महाधिवेशनको महायज्ञ सम्पन्न भइसकेको छ। सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी कांग्रेसको नेतृत्वमा पुनः दोस्रो कार्यकालका लागि महाधिवेशन प्रतिनिधिले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको पक्षमा अमूल्य मत जाहेर गर्दै घर फर्केका छन्।

यसपल्टको महाधिवेशनमा कांग्रेसभित्र सभापतिका लागि अनुभवी एवं वरिष्ठताको निरन्तरता या वंश परम्पराअनुरूपको फरक अनुहार भन्ने सवाल जोडतोडका साथ उठेको हो। बहुमत महाधिवेशन प्रतिनिधिको अभिमतले यो विषयको छिनोफानो गरेको छ। कांग्रेस कार्यकर्ता मात्र नभई नागरिक तहसम्म कांग्रेस महाधिवेशनले कदाचित देउवाबाहेक अर्को सभापति चुन्यो भने कस्तो स्थिति आउला भन्ने चिन्ता र चासोको विषय थियो। कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक व्यक्ति भएका बेला पार्टी संकटमा पुगेको विगत इतिहासले झस्काउनु अस्वाभाविक थिएन। 

नयाँ अनुहार नेतृत्वमा आउँदा सरकार परिवर्तनका लागि दबाब आउन सक्ने भएकाले फेरि मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिने चिन्ता पनि सँगसँगै नरहेको होइन। कांग्रेसकै नेतृत्वको सरकार रहेको स्थितिमा गठबन्धनलाई जोगाउँदै आम निर्वाचनसम्म लैजानुपर्ने गहन जिम्मेवारी थियो। महाधिवेशन प्रतिनिधिले स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा सफलता हासिल गर्न परिपक्व एवम् अनुभवी नेतृत्वको आवश्यकता देखे। 

Hardik ivf

प्रतिनिधिहरूले सभापतिको प्रतिश्पर्धामा उभिएका व्यक्तित्वलाई न्यायको तुलोमा जोखे। अन्तिममा पार्टी हित अनि मुलुकको दीर्घकालीन भविष्यका लागि देउवा नै पुनः सभापति हुनुपर्ने अपरिहार्यता ठाने। आजको राजनीतिक संक्रमणकाललाई पार लगाउन पाको नेता नै चाहिन्छ भन्ने निक्र्योल गरे। काँचो नेतृत्वलाई विश्वास गरिहाल्न सकेनन्। र, बलियो र एकताबद्ध कांग्रेस लामो अनुभव प्राप्त नेताबाट मात्रै सम्भव छ भनेर देउवाको पक्षमा बलियो मत जाहेर गरे। अन्ततः देउवा फेरि एकपल्ट नेपाली कांग्रेसको मात्र नभई नेपाली राजनीतिको मियोका रूपमा स्थापित हुन पुगेका छन्।

मुलुकका प्रायः सबै प्रमुख पार्टी टुक्रिँदा पनि कांग्रेसलाई एकगठ बनाएर लैजान सक्नु देउवाका लागि ठूलो उपलब्धि हो । कांग्रेसभित्र मात्र नभई गठबन्धनका अन्य दलहरूले पनि निष्पक्ष निर्वाचनको अभिभारा पूरा गर्न देउवामाथि नै भर गरेको अवस्था छ। यतिबेला गठबन्धनका आधारमा प्रदेशहरूमा नयाँ सरकार बनेका छन्। संसद्मा केवल ६३ सिट मात्र रहेको कांग्रेसले १६५ जना सांसदको विश्वास जितेर सरकारको नेतृत्वमा पुग्नु चानचुने सफलताको विषय थिएन। कांग्रेस, माओवादी केन्द्र, जसपाका दुवै खेमा, राजमो मात्र नभएर माधव नेपाल पक्षलाई समेत एक ठाउ“मा उभ्याउन सक्नु देउवाप्रति विश्वासकै प्रतिफल थियो। 

प्रदेश सरकारको नेतृत्वमा शून्य रहेको कांग्रेसले कर्णाली र गण्डकीमा नेतृत्व गर्न सफल भएको छ। अन्य प्रदेशमा पनि कांग्रेससँग सत्ता साझेदारी छ। सर्वोच्च अदालतद्वारा संसद् पुनःस्थापनापछि कांग्रेसको नेतृत्वमा मुलुकको भद्रगोल र बेथितिपूर्ण राजनीति ट्र्याकमा आएको छ। यतिबेला देउवाको नेतृत्वलाई सिंगो मुलुकले नै स्वीकार गरेको अवस्था छ। 

कांग्रेसभित्र आम कार्यकर्ताले सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझ्ने नेताका रूपमा देउवालाई चिन्दछन्। देउवाले नै समन्वयकारी भूमिका खेल्न सक्छन् भन्ने गहिरो विश्वास छ। पटकपटक कठिन समयमा देशको नेतृत्व सम्हालेका देउवाको लचकता एउटा छुट्टै विशेष गुण नै हो। कांग्रेसभित्र मात्र नभई अन्य पार्टीमा समेत यो विश्वास कायम छ।

पाँच दशक लामो राजनीतिक संघर्षबाट खारिएका पाका नेताबाट बाँकी दिनमा अन्यथा हुन सक्ने ठाउँ पनि छैन। बहुमतका आधारमा नभई कांग्रेसमा सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ भन्ने मान्यताले काम गरेको थियो। यसर्थ पनि देउवाप्रतिको विश्वास र भरोसामा कांग्रेसजनमा कुनै कमी नआएको महाधिवेशनको मत परिणामबाट पुष्टि भएको छ। 

पारिवारिक बिरासतका रूपमा नभई नेतृत्वमा आफैं सक्षम भएर आउनु देउवाको ठूलो शक्ति थियो। नयाँ परिवेशमा खारिएको अनुभव अनि नवजवानको प्रेरणाले मात्र आम कार्यकर्तामाझ उत्साह भर्ने विश्वास थियो। कांग्रेसमा रूपान्तरण परिपक्व अनुभव र नयाँ जोसको समिश्रणबाट मात्र सम्भव थियो। युवाको जोस र समावेशीकरणको अभावमा बलियो पार्टी बन्न सम्भव थिएन पनि।

भविष्यको कांग्रेस बलियो देख्न देउवाले सबैलाई समेटेर अझै फराकिलो ढंगले अघि बढ्नुपर्ने अवस्था छ। मुलुकलाई अप्ठ्यारोबाट बाहिर निकाल्न सक्ने खुबी भएको नेताका रूपमा देउवालाई सबैले विश्वास गरेका पनि छन्। उनले सबैमा समन्वयकारी भूमिका खेल्न सक्छन् र सन्तुलन कायम गर्न सक्छन् भन्ने विश्वास कांग्रेसभित्र मात्र नभई अन्य पार्टीमा समेत रहेको छ। ‘गिभ एन्ड टेक’ मा उदार रहेका कारण पनि उनमा यसरी भर सबैले परेको पनि हुन सक्छ। 

लोकतन्त्रमा सहमति, सहकार्य र समन्वयले नै राष्ट्रिय एकताको भावना जगाउँछ। यो मान्यतामा देउवा सदैव दृढ छन्। कांग्रेसका लागि यो क्षण विशिष्ट अवसरका रूपमा रहेको छ। स्थानीय निर्वाचन र आम चुनाव सम्पन्न गर्ने गहनतम जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई पुरानै हैसियतमा पुर्‍याउने देउवाको अठोटलाई आम महाधिवेशन प्रतिनिधिले विश्वास गरेकै हुन्।

कांग्रेसजनलाई आज चाहिएको बलियो कांग्रेसका साथमा राजनीतिक स्थिरता, विकास र समृद्धि नै हो। मुलुकमा नयाँ संविधान जारी भएपछि तिनै तहको चुनाव कुशलतापूर्वक सम्पन्न गरी संविधानको सफल कार्यान्वयन देउवाबाटै सम्पन्न भएको थियो। आम चुनावपछि नै बिथोलिएको राजनीतिले सही ‘ट्र्याक’ लिएको हो। मुलुकको राजनीतिलाई लिकमा ल्याउन देउवाले खेलेको भूमिकालाई महाधिवेशनको जनमतले फेरि एकपल्ट मूल्यांकन गरेको छ।

तर दुखद पक्ष नै भन्नुपर्छ, भएका उपलब्धि र राम्रा पक्षलाई अनदेखा गर्दै कांग्रेसभित्रैका कतिपय बुद्धिजिवी नामधारी व्यक्तिले महाधिवेशनको मुखमा एकोहोरो आरोपको खेती गरेकै हुन्। नाना तरहका निहुँ उधिनेर हिलो छ्याप्ने सुनियोजित कर्म भयो। गोयबल्स शैलीमा हुर्मत काढ्ने काम भयो। जता हेरे पनि पहेंलै देख्ने एकै खालका पात्रले विरोधमा अनौठो चर्तिकला नै देखाए। मिडियामार्फत झुटा सर्वेक्षणका अनेक प्रपञ्च रचिए। अन्ततः महाधिवेशन प्रतिनिधिको मतका सामु ती सबै घामको प्रकाशमा पानीको फोका बिलाएजसरी हराए। 

यति मात्र होइन वरिष्ठ अग्रज नेता रामचन्द्र पौडेल–शशांक कोइरालाले समेत देउवाको उपस्थितिलाई कम आँक्न सकेनन् र अन्तिममा बल दिए। सभापतिका प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको साथ पाएर देउवा ८ सय ७८ मतान्तरले विजयी भए। सभापति मात्र नभई पदाधिकारीमा देखिएको बहुमतले पनि कांग्रेसमा देउवाको हैसियत पुनर्पुष्टि गरेको छ।

निर्वाचनको पूर्वसन्ध्यामा रामचन्द्र पौडेल, शशांक कोइरालादेखि प्रकाशमान सिंहसम्मको एकछत्र समर्थन जुटाउन सक्नु देउवाको कूटनीतिक चातुर्यता त हुँदै हो, सँगसँगै यो उनीप्रतिको विश्वास र भरोसा पनि हो। बरु, कांग्रेस न कसैको विरासत, न आशीर्वादले चल्छ भन्ने सच्चाइलाई एकपाने बुद्धिजीवीले बुझ पचाएकै हुन्। कांग्रेसजस्तो सात दशक लामो इतिहास बोकेको जीवन्त पार्टी आम कार्यकर्ताको भावनाले मात्र अघि बढ्न सम्भव छ। 

अग्रजको सम्मान, समकक्षीको व्यवस्थापन र युवाको प्रोत्साहनले मात्र दरिलो बन्न सक्छ। महाधिवेशनमा आम प्रतिनिधिले पाको अनुभव र युवाको ऊर्जा भन्ने तथ्यलाई अनुमोदन गरेका छन्। हुन पनि यी दुईको संयोगले नै कांग्रेसलाई निःसन्देह गतिशील बनाउनेछ। मिडियाको आलोचनालाई ‘पब्लिक अडिट’ र विरोधीको आलोचनालाई लोकतन्त्रको गहना मान्ने देउवालाई अब लिनुदिनु केही नभएकाले सबै पक्षका आवाज सुनेर कांग्रेसलाई फेरि नयाँ उचाइ दिने विश्वास गरौं। पक्कै पनि ‘हाम्रा मान्छे भन्दा, राम्रा मान्छे’ ले पार्टीमा सही ठाउँ पाउनेछन्। नेतृत्वले गल्ती गर्दा सुधारका लागि सकारात्मक गाली र राम्रो गर्दा स्नेहका तालीले मात्र पार्टीलाई पुनतार्जगी गर्नेछ, न कि विरोधका लागि विरोधले। 
 

प्रकाशित मिति: १७:३३ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?