डिग्रीले उत्तर मात्र रटायो, प्रश्नात्मक चेत सिकाएन
हामीले कुनै विषयलाई कसरी लिने, उक्त विषयउपर कसरी बहस, छलफल गर्ने भन्ने कुरा हाम्रो शिक्षा प्रणालीमा गएर ठोकिन्छ। हामीलाई दिइने शिक्षाले हामी छोरीलाई कहिल्यै आत्मनिर्भर बन्न र स्वविवेक प्रयोग गर्न सिकाएन।‘तिम्रो त व्रत छ होला है, बिहे भएपछिको पहिलो तीज व्रत त बस्नैपर्यो नि’ तीजको दिनमा बिहानै मन्दिरबाट फर्किँदै गरेकी एकजना मित्रले सोधिन्। ‘अहँ ! मेरो त व्रत छैन्, मैले त कहिल्यै भगवानको नाममा व्रत बस्ने गरेको छैन,’ मेरो जवाफ सुनेर उनले मलाई ट्वाल्ल परेर हेरिन्, मानौँ मैले बोल्नै नहुने शब्द उच्चारण गरेँ। ‘ला ! हो र बिहे भएको पहिलो वर्ष तीजको व्रत त बस्नुपर्ने हो नि,’ उनी चुकचुकाइन्। यस्तै संवाद सोही दिन केही साथीहरूसँग पनि भयो। ‘खोई ! तीजको व्रतको फोटो हेरम्, आज त व्रत होला नि,’ यस्ता म्यासेज पठाउने साथीलाई मैले कहिल्यै तीज मनाएकी छैन् भन्ने जानकारी थियो।
व्रत बस्ने कुरामा म स्पष्ट छु- भोको पेट बसेर भगवान खुशी भई मागेको फल पूरा गरिदिँदा हुन् त मन्दिर बाहिर रातदिन भोकै बस्न बाध्य भएकाहरूको मनोकामना सबैभन्दा पहिले पूरा हुँदो हो। अनि अर्को कुरा व्रत बसेर भगवान खुशी भन्दा पनि शरीरलाई भने फाइदा गर्छ। सातामा एक दिन हल्का खानेकुरा, पाकेका फलफूल, जुस खाँदा पेट पनि हल्का र शरीर स्फुर्त हुन्छ, तर पानी नै नपिइकन वा थुक पनि ननिली भने होइन। अर्को बात के भने मुद्दा व्रत र भगवानसँगको होइन, यस लेखमार्फत उठाउन खोजेको विषय फरक छ। केही संवाद र केही भोगाइ जसले मानसपटलमा हल्ला मच्चाउँछ, सोही विषयलाई लिएर केही लेख्न कोशिस गर्दैछु।
स्वास्थ्यको हिसाबले व्रत बस्नु अथवा तौल घटाउनका निम्ति बस्नु यी दुई विषय नितान्त फरक हुन्। पछिल्लो समय शरीरको मोटोपन घटाउन विभिन्न तरिकाले व्रत बस्ने टिप्सहरू गुगलदेखि टिकटकसम्म भेट्न सकिन्छ। तर, तीजमा श्रीमानको लामो आयुका लागि उनका नाममा व्रत बस्नुपर्ने मान्यता बोकेका शिक्षित नयाँ पुस्ताको सोचाइ, बुझाइ देखेर शिक्षाले मात्र अन्धविश्वास र रुढीवादी सोच हटाउने रहेनछ भन्ने स्पष्ट भएको छ।
उहिले जब म गाउँमा एसएसलसीको तयारीमा गर्दै थिएँ, म सोच्थेँ- गाउँघरमा हुने छोरा-छोरीबीचको विभेद, जातीय विभेद, धर्मको नाममा कसैलाई मन्दिर पसेको आधारमा कुटपिट गरी हातखुट्टा भाँचिदिएको, दलित समुदाय घरको पालीमा बस्दा मात्रै पनि कपाल चारपाटे पारेर जुत्ताको माला लगाई गाउँ डुलाएका घटना देख्दा अशिक्षा र जनचेतना अभावले त्यस्तो भएको होला, मानिस शिक्षित भयो भने त यो सब हुँदैन होला। गाउँमा पो यस्ता घटना भएका हुन्, शहरमा त यस्तो सोच्दैनन् होला। तर, यथार्थ निकै भयानक रहेछ। जति सोच्यो, जति बुझ्यो उति भयानक।
पुरुषले चाहे पितृसत्ता र गैरदलितले चाहे जातीय विभेदको मुक्ति सम्भव छ तर उत्पीडित समुदायको विषयमा सोच्ने फुर्सद कसलाई? भनिन्छ नि सामान्य आवश्यकतामा जनतालाई भुलाइदिन सके जनताका हक र अधिकारको सवाल उठ्दैन। त्यसरी नै महिला र उत्पीडितको न्याय, समानता र समताका लागि काम भयो भने वर्षौँदेखि खाइपाइ आएको तरमारा र पितृसत्ताको राजनीति स्वाहा हुने डर छ। यी दुई राजनीति समाप्त भए कसैले कसैलाई दास बनाउन पाउँदैन, दास बनाउन नपाउने सबैलाई समान बनाउँदा घाटा हुन्छ भने फाइदाको राजनीति छोडर कसले गर्छ घाटाको राजनीति?
पेशाले शिक्षक र लेखक एक मित्र अन्तर्राष्ट्रियस्तरमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएकी हुन्। गैरदलित समुदायकी उनले नेपालमा भन्दा विदेशमा नेपाली संस्कृतिको जगेर्ना गरेको सगर्व सुनाउँदै थिइन्। महिनावारी बार्ने (यतिसम्म कि महिनावारी हुँदा के खाने, के नखानेसम्म), चाडपर्व र परम्परालाई यथावत राख्ने, तीजका क्रियाकलापहरू निष्पक्ष ढंगले सामूहिक रूपमा पालना गर्नेलगायत उनले बताइन्। तर, नेपालमा त्यो संस्कार सबै पतन हुन लागेकामा उनको दुःख मनाउ छ। तीजमा रमझम गर्ने, खानपिन र रमाइलो जमघटको पक्षको विरोध नगर्नु उनको नितान्त व्यक्तिगत धारणा होला, त्यसलाई मैले नकारिनँ। तर, धार्मिक, सांस्कृतिक विशेषगरी ऋषि पञ्चमी पूजाप्रतिको चिन्ता देख्दा भने कुनै राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबाट ज्ञान प्राप्त गर्दैमा पितृसत्ता र विभेदको खिलाफमा प्रश्न गर्ने चेत आउने रहेनछ भन्नेमा स्पष्ट भएँ।
पछिल्लो समय सामाजिक सञ्जालमा छरप्रष्ट भएका ऋषिपञ्चमी पूजाका लाइभ भिडियो र फोटो देख्दा अहिलेको पुस्ताको हार्दिकता झल्किन्छ। आफ्नो जातीयता, आफ्नो धर्म र संस्कारप्रति गर्व गरेर कथित उच्चजातिका महिलाले हर्षोल्लासका साथ मनाएको तीज र ऋषिपञ्चमीप्रतिको श्रद्धा देख्दा शिक्षित भनिए पनि महिनावारी भएवापत पाप पखाल्न कुनै ग्लानी नभएको देख्न सकिन्छ। स्वास्थ्य प्रजनन प्रणालीका लागि अत्यावश्यक महिनावारी प्राकृतिक हो, जुन अपरिहार्य छ भन्ने जानकारी हुँदाहुँदै पनि महिनावारीलाई अपराधीकरण गरेर जसलाई क्षमायाचना माग्न अनिवार्य गरिएको सामाजिक दृष्टिकोणप्रति घृणा लाग्नुपर्नेमा गौरवान्वित महसुस गर्ने अहिलेको युवा जमात अझ डरलाग्दो अवस्थामा छ।
२०६८ सालको जनगणना अनुसार ५१.५० प्रतिशत जनसंख्या रहेका महिलाको साक्षरता प्रतिशत ५७.४ छ। तथापि, तथ्यांक जस्तोसुकै होस्, महिलाहरूमा साक्षरताको संख्यात्मक वृद्धि भए पनि आफूमाथिको उत्पीडनको विषयमा बोल्न उनीहरू निकै कम अगाडि सर्छन्। महिला त्यसमा पनि आदर्श महिला हुनका लागि यो गर्नुपर्छ, यो गर्नुहुँदैन भनी बनाइएका नीति नियम र सीमाहरू, पितृसत्तालाई टिकाइराख्न स्वतन्त्रताको नाममा दिइएको अदृश्य अंकुशका विषयमा अहिलेका साक्षर भनिएका महिला विशेषगरी युवाले बहस छेड्नु जरुरी छ। प्रश्नात्मक चेत नराख्ने, समाज, ठूलाबडाले जे भने सोहीअनुरूप ‘यस वुमन’ हुन सके समाजको असल चरित्रमा राखिने बन्धनमाथि प्रश्न गर्न रोकेको देख्दा पितृसत्ताले गिज्याइरहेको छ। र, ‘तँ मेरो अगाडि कायर होस्, मेरो अगाडि तेरो केही लाग्दैन’ भन्दै शैक्षिक प्रणालीमाथि औँला उठाएर हाँस्दैछ जोडजोडले।
बडेमानका पुस्तक रटिए, थेसिस, रिसर्च अनेक विधि पनि पूरा गएिर तर प्रश्नात्मक चेत बढाउन जरुरी ठानिएन। जहाँ पढेअनुसार व्यवहारमा लागू गर्न सकिँदैन भने त्यस्तो शिक्षाको औचित्य के? हाम्रो शिक्षा प्रणालीले नम्बर कसरी बढी ल्याउने भनेर सिकायो, महिलालाई कुन सीमामा संयम भएर बस्न सकिन्छ भने असल महिला कहलिन्छन् भनेर सिकायो। तर, गलत र अन्यायविरुद्ध प्रश्न गर्न सिकाएन।
समाजमा धर्मका कारण पिल्सिएका महिला देख्दा त्यसविरुद्ध बोल्ने ओठलाई हाम्रो शिक्षाले झकझक्याएन, जातीय दम्भका कारण कथित उच्च जातीय अंहकारले ६ जना युवाको हत्या गरेर भेरी नदीमा बगाउँदासम्म बोल्न सिकाएन। बोक्सीको आरोपमा दिशा-पिसाब खुवाएर गाउँ निकाला गर्दासम्म प्रश्नात्मक चेतसहितको आवाज उठाउन सिकाएन। सिकायो त मात्र प्रतिक्रिया र स्पष्टीकरण दिन। हिजोको र आजको तुलना गरेर विस्तारै ठीक हुन्छ, समय लाग्छ भन्दै पन्छिन सिकायो। पछिल्लो पुस्ताको अवस्था देख्दा झन डरलाग्दो छ, धर्म र संस्कारको आडमा अपराध स्वीकार्न तयार हुँदैछ÷पारिँदै छ। चाहे विकृत संस्कार र चाडबाड हुन् वा कुसंस्कार।
निरन्तर सामाजिक सञ्जाल, टिकटकमा आएका भिडियो देख्दा एक प्रकारको डर पैदा हुन्छ। यो पुस्ता जो अंग्रेजी माध्यममा अध्ययन गरिरहेको छ, जसका हातमा स्मार्ट फोन र इन्टरनेटको पहुँच छ, जसलाई जातीय विभेद हुनु गलत हो र त्यसको अन्त्य हुनुपर्छ भन्ने पनि जानकारी छ तर त्यसको विरोध गर्दैन। यो पुस्ताले जातीय विभेदविरुद्ध लेखिएका, बनाएका सामग्रीलाई नकार्छ। यस्तै, महिनावारी पाप नभएर प्राकृतिक अवस्था हो भन्ने जानकारी भएका शिक्षित युवापंक्ति, जसलाई महिनावारी हुने प्रक्रियाका बारेमा पनि जानकारी छ। तर, तिनै पापको प्रायश्चित गर्न पूजा गरिरहेका छन्। हाम्रो संस्कार अथवा ‘मेरो निजी जीवन, मेरो च्वाइस’ को नाममा गलतलाई पनि आत्मसात गर्दै पञ्चमी नुहाएको, धुमधामले मनाएको देख्दा लाग्छ- अहिलेका महिलाभन्दा हाम्रा हजुरआमाहरू, हजुरआमाका आमाहरू धेरै स्वतन्त्र रूपले जीवन बिताएका थिए। हिजोका दिनमा यो अथवा त्यो गर्नेपर्छ भन्ने अनिवार्यता रहे पनि कैयनले गर्थे, कतिले गर्दैनथे पनि। तर, अहिलेको पुस्ता जसले गलत भन्ने थाहा हुँदाहुँदै पनि ‘च्वाइस्’ र ‘देखासिकी’को नाममा अनिवार्य बनाउँदै लगेको छ।
तीजसँग जोडिएको धार्मिक पक्ष छोडेर सांस्कृतिक पक्षमा रमाएका भनिएका अविवाहित साथी, जसले श्रीमानको नाममा पानी पनि नपिई व्रत नबसेको कुराप्रतिको प्रतिक्रियाले भारतीय कवि रामास्वामी पेरियारलाई सम्झायो। उनले लेखेका छन्, ‘एउटा धार्मिक मानिसबाट तपाईंले युक्तिसंगत विचारको अपेक्षा गर्नसक्नु हुन्न, ऊ पानीमा तैरिएको मुडाजस्तै हो।’
पछिल्लो समय अझ भनौँ २१औँ शताब्दिमा महिला शिक्षाको बारेमा धेरैले बुझे र अनिवार्यताको माग गरे। महिलाका लागि शिक्षालाई आवश्यकताको विषय विभिन्न माध्यमबाट उठान पनि गरियो। छोरी पढाउनुपर्छ भनेर नेपाल टेलिभिजनबाट प्रसारित टेलिसिरियल ‘उजेली’ हेरेर हुर्केका हामी छोरीहरू आफूले प्राप्त गरेको शिक्षाको दायरालाई कति संकिर्ण बनाइरहेका छौँ? शिक्षाको उज्यालोलाई लुकाएर पितृसत्ता र धर्मान्धतामा रमाएको देख्दा शिक्षाको उज्यालो ज्योति कम भएको सहजै जानकारी हुन्छ।
हामीले कुनै विषयलाई कसरी लिने, उक्त विषयउपर कसरी बहस, छलफल गर्ने भन्ने कुरा हाम्रो शिक्षा प्रणालीमा गएर ठोकिन्छ। हामीलाई दिइने शिक्षाले हामी छोरीलाई कहिल्यै आत्मनिर्भर बन्न र स्वविवेक प्रयोग गर्न सिकाएन। हामीले पाएको शिक्षाले आदर्श श्रीमती कसरी बन्ने? घरपरिवारको रेखदेख गर्ने सतीसावित्री कसरी बन्ने? आदर्श श्रीमतीले के गर्नुपर्छ के गर्नु हुँुदैन? बुहारी जसले आदर्शपूर्वक मनमा द्वेष, पीडा नराखी कसरी घरको काम सक्ने? उही समयमा कार्यालयको काम, बालबच्चा कसरी हेर्ने? महिलालाई आदर्श र सतीसावित्री कसरी हुने भन्ने हाम्रो शिक्षाले नै सिकाएको रहेछ।
एउटी महिला जबसम्म छोरीको रूपमा रहँदा जति स्वतन्त्र हुन सक्छे, बुहारी भएपछि हुन सक्दिन वा हुनु हुँदैन भन्ने मान्यता धेरैमा छ। यो मानसिकता हिजो या आज आएको नभई वर्षौँदेखि संस्कारका नाममा महिलामा हस्तान्तरण गरिँदै आएको हो। त्यसलाई मेटाउन त्यति सहज छैन। विश्वविद्यालयका डिग्री र सर्टिफिकेटले पढाउने आदर्शका गाथा पितृसत्ता टिकाइराख्न गरिएको राजनीति मात्र हो। कसरी आजको दिनसम्म पितृसत्ता सफलतापूर्वक टिकिरहेको छ भन्ने देख्नका लागि समाजिक सञ्जालमा आउने प्रतिक्रिया पढे पुग्छ। कवि हिरादेवी वाइवाले सामाजिक सञ्जालमा एउटा स्ट्याटस् पोस्ट गरिन्, ‘अनि के छ खबर महिनावारी हुने पापिनीहरू? फोहोरीहरू? ३६५ पटक नुहाएर पाप पखालिसकियो कि छैन?’ सोही स्ट्याटस्लाई अभियन्ता सावित्री सुवेदीले आफ्नो स्वर दिएर टिकटक भिडियो बनाइन्। उक्त टिकटक भिडियो हेरेर उनीमाथि गाली मात्र बर्सिएन, बलात्कारको धम्की नै आयो। उक्त भिडियोमा कमेन्ट गर्ने अधिकांश महिला नै थिए, विशेषगरी युवतीहरू। मान्छेको इच्छा, उसको निजी विचार भनी सामाजिक सञ्जालमा व्यक्त गरिने प्रतिक्रियाले निकै डरलाग्दो रूप लिएको छ।
तीज सकिएलगत्तै फेसबुकमा पोस्ट गरिएका अधिकांश तस्बिरहरू मध्ये ‘ह्याप्पी ऋषि पञ्चमी’ लेखिएको एउटा पोस्ट देखाउँदै बहिनीले सोधिन्, ‘तिम्रो साथीहरूको त ऋषि पञ्चमी पूजा गरेका कति धेरै फोटो? खासमा यो महिनावारी पाप हो?’ मैले जवाफ दिएँ, ‘होइन, पाप भएको भए तिमी पनि पापिनी हुन्थेउ, म पनि हुन्थेँ अनि हाम्री आमा पनि हुनुहुन्थ्यो नि।’ मेरो उत्तर सुन्नेबित्तिकै बोली ऊ, ‘उसो भए यत्रो मास्टर्स पढेका, स्कुल कलेज पढाउनेले पापिनी हुँ, माफ गर्नु भन्दै ऋषिपञ्चमी किन मनाएका त?’ मैले भनेँ, ‘थाहा नभएर होला नि, तिमीले बुझेकी छौ नि, महिनावारी हुनु पापी हुनु होइन, त्यसको पाप पखाल्नुपर्दैन भनेर।’
‘त्यसो भए जति पढे पनि रुढीवादी परम्परा मान्ने भएसी के खर्च गरी-गरी पढ्नु?’ यति बोलेपछि उनी टिकटकमा भिडियो हेर्न थालिन्। टिकटकतिर पनि पनि उस्तै। कक्षा-१२ सकेर बसेकी बहिनीको कुराले मनमा प्रश्न जगायो, ‘हो, हुन पनि हामीले पढाइ सकेर फेरि पनि के सही, के गलत भनेर छुट्याउन सक्दैनौँ भने हामीले लिएको ज्ञान, हाम्रो सिकाइको महत्त्व के रह्यो त?’
अहिले परिस्थिति नियाल्दा धेरैको मुखबाट महिला स्वतन्त्रताको कुरा सहजै निस्कन्छ। बिहे भएपछि धेरैजनाले बधाइ दिनुभयो। सोही क्रममा एक जना प्रिय दिदीले सोध्नुभयो, ‘घरमा कस्तो छ? पहिलाको जस्तै स्वतन्त्र हुन पाइन्छ कि के छ?’ मैले भनेँ, ‘अँ ! ठीकै छ, त्यस्तो त केही लाग्दैन।’ उहाँको अर्को भनाइ थियो, ‘विवाह हुनुअघिको छोरीको जीवनजस्तो स्वतन्त्र चाहन्छन्, बुहारी भइसकेपछि कहाँ दिन्छन् र?’ उहाँको आशय मैले खास बुझिनँ र केही सोधिनँ पनि। तर स्वतन्त्रता भनेको राति अबेरसम्म अफिस बस्ने, बिहेपछि पनि केटा साथीहरूसँग बोल्न पाउने, मन लागेको लुगा लगाउनेलगायतलाई भनिएको रहेछ। कुरोको चुरो पछि मात्र बुझेँ। खासमा मानिस जन्मजातै स्वतन्त्र हुन्छ, उसको स्वतन्त्रता कसैले दिएर वा लिएर जफत गर्ने बस्तु नै होइन, स्वतन्त्रताको विषयमा यति त बुझेका होलान् नि डिग्रीधारी शिक्षित बुद्धिजीविहरूले?
उग्र जात व्यवस्था, पाप र धर्मले ओतप्रोत धार्मिकवाद, पितृसत्तात्मक राजनीति जबसम्म मानसिक रूपमा मानेका हुन्छन्, ती महिला निजी जीवनमा स्वतन्त्र हुन सक्दैनन्, मात्र स्वतन्त्र भएकोजस्तो गर्छन्। स्वतन्त्रताको परिभाषा दिने शिक्षित महिला जबसम्म छोरी हुन्छन्, तबसम्म स्वतन्त्रता लागु हुने तर बुहारीमा स्वतन्त्रता लागू हुन दिनु हुँदैन भन्ने मानसिकता पनि पितृसत्ताको एउटा स्वरूप हो। धर्म र संस्कारका नाममा रुढीवादी परम्परा जोगाइराख्ने चलायमान रोबोटका रूपमा महिलालाई प्रयोग गरिएको कुरा शिक्षित भनिएका महिलाले बुझ्न आवश्यक छ र सो विषयउपर बहस हुनपर्छ। धार्मिक विश्वासमाथिको आस्थाउपर ठेस लाग्ने, धार्मिक सहिष्णुतामाथि प्रहार गरेको भन्ने आरोप लाग्ला आफ्नो ठाउँमा छ तर यथार्थ यही हो।