Kathmandu Press

एमाले एकताको निहितार्थ

प्रधानमन्त्री ओलीले शक्तिको उन्मादलाई टाढा हुत्याइदिने हो भने तीन दशकभन्दा लामो समयदेखि लोकतान्त्रिक ‘स्पेस’मा अभ्यस्त बनेको एमालेको विभाजन रोक्न सकिने थियो। र, पार्टी विभाजन हुने लोकतन्त्रको कुरूप अभ्यासबाट देशलाई मुक्त राख्‍न सकिने थियो।
एमाले एकताको निहितार्थ

काठमाडौं, वैशाख ८ :

महाभारतको एक प्रसंग-

जीवनको अन्तिम दिन पाण्डव र कौरव दुवैका गुरु द्रोणाचार्य कसैबाट पराजित नहुने योद्धामा रूपान्तरित भएका हुन्छन्। शक्तिको उन्मादले उनलाई साधारण वाणको सीमा नाघेर दिव्यास्त्र प्रयोग गर्ने उत्तेजनामा पुर्‍याउँछ। र, दिव्यास्त्र प्रकट गर्छन्। जसै दिव्यास्त्र उनको हातमा आउँछ, आकाशमा देवराज इन्द्र प्रकट हुन्छन् र भन्छन्, ‘हे आचार्य, दिव्यास्त्रहरूको प्रयोग तपाईंलाई शोभा दिँदैन। त्यसैले दिव्यास्त्रको प्रयोग नगर्नुहोस्।’ देवराज इन्द्रको आग्रहबाट उनी टसको मस हुँदैनन्। उनलाई सम्झाउन परमपिता ब्रह्मा नै प्रकट हुन्छन्। र, भन्छन्, ‘हे आचार्य, दिव्यास्त्रको प्रयोग धर्मको रक्षाका लागि हुनुपर्छ, तिनको प्रयोगबाट गुरु मर्यादाको उल्लंघन हुन्छ। तिमी रक्तनदीमा स्नान गर्न कहाँ आइपुग्यौ? दिव्यास्त्रको प्रयोगमा तिमी आशक्त बनिसकेका हौ भने मेरो भन्‍नु केही छैन।’ र, द्रोणाचार्यले दिव्यास्त्र फिर्ता गर्छन्।

Hardik ivf

रामायणको एउटा प्रसंग-

दशरथ पुत्र राम रावणसँग युद्ध गरेर आफ्नी जीवन संगिनी सीतालाई अपहरणमुक्त गर्न लंका पुग्छन्। बाँदर सेनासहित उनी बसेको शिविरसम्म दक्षिण दिशाबाट चमकधमक आइरहेको हुन्छ। र, विभिषणलाई सोध्छन्- ‘विनाबादल कसरी बिजुली चम्किरहेको छ?’ विभिषणले त्यसको रहस्य बताउँछन्- ‘त्रिकुट पर्वत शिखरमा आफ्नो विलासी भवनको प्रांगणमा लंकापति रावण आमोदप्रमोदमा व्यस्त छन्। र, रानी मन्दोदरीका कानका कुण्डल हल्लिँदा यहाँसम्म चमक आइरहेको हो र रावणको मुकुटले बिजुलीको आभा प्रकट गरिरहेको छ। युद्धको भयबाट आफू टाढा रहेको सन्देश दिन र आफूलाई निश्‍चिन्तता दिलाउन उनी यो सबै गरिरहेका छन्।’ त्यसपछि रामले एउटै वाण चलाउँछन् र रावणको मुकुट भुइँमा गिराएर मन्दोदरीको दायाँ कानको कुण्डलमा समेत प्रहार गर्छन्। त्यसबाट पनि रावणले आफूलाई निश्‍चिन्त रहेको देखाउन छाड्दैनन्।

यी दुई कथा भलै काल्पनिक हुन् तर यिनमा बलियो सन्देश लुकेको छ। पहिलो- शक्तिशालीले शक्तिको जथाभावी प्रयोगबाट आफ्नै मर्यादा गुमाउँछ। र, दोस्रो- सम्भावित बिघ्‍नबाट आफूलाई जतिसुकै निश्‍चिन्त राख्‍न खोजे पनि बिघ्‍न टर्दैन र विनाश गराएरै छाड्छ।

एकाएक ‘रामभक्त’मा रूपान्तरित प्रधानमन्त्री केपी ओलीका लागि यी दुवै प्रसंग शिक्षाप्रद हुन सक्छन्। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति देख्दा-सुन्दा उनमा रामायणकालीन र महाभारतकालीन अझ पौराणिक काल्पनिक कथाहरूको गहिरो प्रभाव झल्किन्छ। तर, उनले ती कथाबाट पाठ सिकेर सत्तारुढ एमालेको विभाजन रोक्न र शासनसत्तालाई सही दिशा दिन प्रयत्न नै नगरेको प्रतित हुन्छ। उनी पार्टी विभाजन रोक्न होइन, बढाउन क्रियाशील देखिन्छन्। र, मानौँ केही हुँदै नभएझैँ आफू निश्‍चिन्त रहेको सन्देश प्रवाह गर्न उद्यत छन्। तर, एमाले विभाजनको बिघ्‍न सन्‍निकट देखिन्छ, जसलाई उनले रोक्न सक्ने छैनन्।

‘राष्‍ट्रवाद’को पगरीसहित जनसमर्थन प्राप्त गरेर सत्तामा पुगेको एमाले विभाजनउन्मुख रहेको प्रसंगलाई पौराणिक काल्पनिक कथासँग तुलना गर्नु कति उपयुक्त होला भन्‍ने बहस आफ्नो ठाउँमा होला। तर, प्रधानमन्त्री ओलीले शक्तिको उन्मादलाई टाढा हुत्याइदिने हो भने तीन दशकभन्दा लामो समयदेखि लोकतान्त्रिक ‘स्पेस’मा अभ्यस्त बनेको एमालेको विभाजन रोक्न सकिने थियो। र, पार्टी विभाजन हुने लोकतन्त्रको कुरूप अभ्यासबाट देशलाई मुक्त राख्‍न सकिने थियो। आ-आफ्ना अहम् र घमण्ड त्याग्‍न नसक्दाको परिणति नेपाली लोकतन्त्रले नै बेहोर्नुपर्ने दुरुह चित्र निकट क्षितिजमा देखिँदैछ। यस्तो क्रुर नियतीबाट सीमित दल र समूहलाई त लाभ होला, लोकतन्त्र र मुलुकले भने ठूलो मूल्य चुकाउनुपर्ने निश्‍चित छ।

एमालेका दोस्रो वरियताका नेताहरूको भनाइ मान्‍ने हो भने पार्टीलाई फेरि एकताको सूत्रमा बाँध्ने प्रयत्न यो तप्काबाट जारी छ। तर, पहिलो वरियता र खासगरी प्रधानमन्त्री ओलीमा यसतर्फ तत्परता नदेखिँदा यो प्रयत्नमा चिसो पानी खनिँदैछ। प्रधानमन्त्री ओली एकपछि अर्को कारवाहीको शृंखला चलाउँदैछन्, जसले पार्टी एकताका लागि मार्गप्रशस्त हुँदैन। अझै पनि ओलीले आफूलाई एक कदम पछाडि सार्ने झिनो आशा देखिन्छ, माधवकुमार नेपाल-झलनाथ खनाल समूहमा। तर, धमाधम कारवाहीको डण्डा चल्दै गर्दा त्यो आशामा तुषारापात हुँदैछ।

नेपाल-खनाल समूहमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुँदा बहुमत पुग्‍ने र आधिकारिकता आफ्नै पक्षमा आउने आकलन उक्त समूहको देखिन्छ। तर, निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको ‘सेटिङ’का कारण आधिकारिकता उनकै समूहले पाउने लगभग निश्‍चित रहेको बुझाइमा पनि उनीहरू छन्।

नेपाल-खनाल समूह अहिले देशभर समानान्तर कमिटी गठन गर्दै शक्ति आर्जनमा व्यस्त छ। मंगलबारसम्ममा ६७ जिल्लामा समानान्तर कमिटी गठन भइसकेका छन्, बाँकी छन् १० जिल्ला। समानान्तर कमिटी गठन गर्दै पार्टी अध्यक्ष ओलीलाई दबाबमा राख्‍ने नेपाल-खनाल समूहको रणनीति पनि विस्तारै फिका सावित हुँदैछ। किनकि, त्यस्ता गतिविधिबाट आफूलाई रत्तिभर फरक नपरेको ओलीले देखाइरहेका छन्। निश्‍चित छ- नेपाल र खनालसहितका २७ जना सांसदको पद खारेज हुनेछ र उनीहरू सबै पार्टी सदस्यबाट बर्खास्त हुनेछन्। र, यो समूह अर्को पार्टी खडा गर्न बाध्य हुनेछ।

२७ जना सांसद पदमुक्त हुँदा प्रधानमन्त्री ओली आफैँ अल्पमतमा पर्नेछन्। त्यसबाट उनलाई केही लाभ हुनेवाला छैन। बदलाको भावनाले सरकारलाई अल्पमतमा पार्ने वातावरण उनी आफैँले सिर्जना गर्दैछन्। रह्यो फ्लोर क्रसको विषय- नेपाल र खनालसँग आफैँले अग्रसरता लिएर संवादमाथि संवादको शृंखला चलाउने हो भने त्यो वातावरण आफैँ विलिन हुनेछ। त्यही अग्रसरता अभावमा लोकतान्त्रिक स्पेसमा रमाएको यो वामपन्थी दलले विभाजनको दिशातर्फ तीव्र गति पक्रेको छ।

ओली समूहका दोस्रो वरियताका केही नेता रातबिरात वरिष्‍ठ नेता नेपाल र खनाल अनि उनीहरूको समूहमा रहेका आफ्नै कोटीका नेताहरूसँग संवादमा छन्। तर, त्यो संवादलाई अध्यक्ष ओलीले देखेको नदेख्यै गरिरहेका छन्। ‘ओलीका दूतहरू आएर मसँग भेटिरहेका छन्,’ नेपाल-खनाल समूहका एक नेताले हालै वरिष्‍ठ नेता नेपालसँगको भेटमा उनको भनाइ उद्धृत गरे। तर, त्यस्ता भेटको औचित्य पुष्‍टि भएको छैन। किनकि, अध्यक्ष ओली आफ्नो शक्ति उन्मादबाट पछाडि सर्ने संकेतसम्म छैन।

ओलीको उन्माद कायम रहँदा उनकै समूहमा पनि असन्तुष्‍टि चुलिँदो छ। तथापि, तत्काल विद्रोह गर्ने मनस्थिति ओलीसँग असन्तुष्‍ट नेताहरूले देखाएका छैनन्। किनकि, एउटा ठूलो पंक्ति पार्टीबाट बाहिरिँदा आफूलाई हुने लाभ-हानी गणनामै उनीहरू रमाएको देखिन्छ।

ईश्‍वर पोखरेल, विष्‍णु रिमाललगायत केही नेतालाई टाढा राख्‍ने हो भने सुवास नेम्वाङ, विष्‍णु पौडेल, प्रदीप ज्ञवाली, डा. राजन भट्टराईलगायत नेताहरू विभाजनबाट पार्टी ध्वस्त हुने बुझाइमा देखिँदै आएकै छन्। केही त्यस्ता नेता पनि सतहमा देखिन्छन्, जसको प्रधानमन्त्री ओलीसम्म बलियो पहुँच नै छैन, बाहिर-बाहिर उनीहरू आफूलाई सबैभन्दा उग्र समर्थक देखाइरहेका छन्। ती नेतासँग ओलीले सल्लाह नै लिँदैनन्। र, जसको सल्लाह लिन्छन्, उसले उनकै ‘रबर स्टाम्प’मा निरन्तर सीमित राखेका छन्।

पहिले ओली समूहमा लामो समय रहेर हाल नेपाल-खनाल समूहमा लागेका एक नेताको भनाइ मान्‍ने हो भने उपाध्यक्ष वामदेव गौतम कमजोर बनिसकेका छन्। उनीसँग हरि पराजुलीबाहेक केन्द्रीय सदस्य नै छैनन्, ०७१ सालमा निर्वाचित केन्द्रीय कमिटीमा। किरण गुरुङ, बलराम बास्कोटा, सावित्री भुसाल, पद्मा अर्याललगायत नेताले गौतमको साथ छाडिसकेका छन्। त्यसैले उपाध्यक्ष गौतमले ओली र नेपाल-खनाल समूह जसलाई समर्थन गरे पनि उनको एक्लो व्यक्तित्व मात्र बाँकी छ। त्यसैले उनी दुवै समूहका लागि मूल्यवान बनेका छैनन्।

तत्कालीन नेकपा एकीकृत हुँदा नै गौतमको राजनीतिक उपादेयता थियो। उनको आफ्नै कारणले हो, नेकपा विभाजन भएको पनि। नौ सदस्यीय केन्द्रीय सचिवालयमा उनी निर्णायक भूमिकामा थिए। पार्टीलाई फोड्न मिल्दैन भनेर उनी उभिइदिएको मात्र भए नेकपा विभाजनतिर जाँदैनथ्यो, किनकि उनी उभिनासाथ सचिवालयमा एकताको पक्षमा पाँचजना एकातिर हुन्थे, विपक्षमा चार मात्र रहन्थे। त्यतिबेलै विश्‍वास गुमाइसकेका हुन्, वामदेवले। त्यसैले उनको एमालेलाई एकताबद्ध राख्‍ने अभियानले कुनै परिणाम दिएको छैन।

एमाले अध्यक्ष ओली जति आक्रामक ढंगबाट ‘मुभ’ गरिरहेका छन्, उनको मनभित्र गढेको डरले काम गरिरहेको विश्लेषण गर्न सकिन्छ। किनकि, जसबाट उनलाई पटक्कै लाभ छैन, त्यतै उनको ‘मुभ’ देखिन्छ। पार्टी विभाजन भएको बेला उनी अहिलेको प्रतिनिधिसभाको औचित्य सकिएको र ताजा जनादेशको विकल्प नभएको बारम्बार दोहोर्‍याइरहेका छन्। ६ वैशाखमा उनले आफ्नो समूहको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि त्यही विषयलाई दोहोर्‍याइ-तेहेर्‍याइ उल्लेख गरेका छन्।

ताजा जनादेशबाट के लाभ हुन्छ ओलीलाई? जवाफ आउँछ- आफ्नो ढिपीको कार्यान्वयन मात्र। किनकि, समानान्तर कमिटीमार्फत देशभर संगठन विस्तारमा आक्रामक ढंगले लागेको नेपाल-खनाल समूह नै ओली नेतृत्वको एमालेभन्दा बलियो हुन सक्छ। किनकि, सत्तामा बसिरहँदा ओली समूहले संगठन विस्तारतर्फ ध्यान दिन सक्दैन। अझ जति आत्तिएर एकपछि अर्को कारवाही शृंखला चलाउँछन्, त्यति नै उनी पार्टीभित्र अझ बढी अलोकप्रिय बन्‍ने छन्। र, तल्लो पंक्तिका कार्यकर्ता  समर्थकको सहानुभूति नेपाल-खनाल समूहले पाउने छ।

कतिपय यस्ता जिल्ला पनि छन्, जहाँ माधवकुमार नेपालको कमजोर पकड थियो अहिलेसम्म। उनको पकड शून्यबराबर रहेको बर्दियामा जिल्ला कमिटी सचिवालयका आधा सदस्य उनको पक्षमा उभिएका छन्। जुन जिल्लामा उनको पकड राम्रो मानिन्थ्यो, त्यहाँका नेता-कार्यकर्तामा अर्को पार्टी खडा हुने कुरामा पनि खिन्‍नता देखिँदैन। किनकि, ती नेता-कार्यकर्ता ०७१ सालयता ओली समूहबाट प्रताडित बन्दै आएका थिए। जिल्ला तहमा अखिल र युवा संघका ठूला कार्यक्रम गर्न नेपाल-खनाल समूहले सफलता पाउँदै गएको परिदृष्‍यबाट पनि केही अनुमान गर्न सकिन्छ।

त्यो किन पनि हुन सक्छ भने पूर्वप्रधानमन्त्री नेपाल अहिलेसम्म ढुलमुले चरित्रको नेताका रूपमा चिनिँदै आएका थिए। सायद आफ्नो राजनीतिक जीवनमै पहिलोपटक उनी एमाले अध्यक्ष ओलीविरुद्ध अडिग देखिन्छन्। यसो भन्दै गर्दा नेपाल-खनाल समूहको पक्ष लिएको अर्थ लाग्‍नु हुँदैन, किनकि नेपाल-खनाल समूहको शक्ति आर्जनको यो दौडलाई एमाले अध्यक्ष ओलीले कम आँक्नु उनकै लागि प्रत्युत्पादक हुन सक्छ भन्‍न खोजिएको हो।

केही गरी नेपाल-खनाल समूहले अर्को पार्टी गठन गर्‍यो र त्यसले माओवादी केन्द्रसँग चुनावी सहकार्य गर्‍यो भने एमाले अध्यक्ष ओली एक्लिने छन्। उनले माओवादी केन्द्रलाई यति टाढा हुत्याइसके कि अब फेरि चुनावी सहकार्यको सम्भावना शून्यबराबर छ। कांग्रेसले आगामी चुनावमा कसैसँग चुनावी तालमेल गर्न सक्दैन। किनकि, उसलाई कम्युनिस्ट पार्टीहरूमा आएको विभाजनबाट लाभ लिँदै सकेसम्म बहुमत प्राप्त गर्नुछ। तराईकेन्द्रित दल जसपासँग चुनावी तालमेल गरेर ओलीलाई लाभ हुने छैन। राप्रपासँग तालमेल गर्दा झापाको आफ्नो निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने प्रयत्नका लागि मात्र काम लाग्‍नेछ। र, त्यसबापत अर्को निर्वाचन क्षेत्रमा राप्रपालाई सघाउनुपर्नेछ। त्यसैले पार्टी फुटका बीच चुनावमा जानु प्रधानमन्त्री ओलीले आफू र एमालेको राजनीतिलाई किनारामा धकेल्नु मात्र हुनेछ। दलदलमा फसेको जीवले जति बढी हातखुट्टा चलाउँछ, त्यति नै भासिँदै जान्छ। यो तथ्य राम्रोसँग बुझेका प्रधानमन्त्री ओलीले किन हातखुट्टा नै ज्यादा चलाइरहेका छन्? त्यसका लागि कसले उनलाई उक्साइरहेको छ? जवाफ भविष्‍यले दिनेछ।

बालुवाटारबाट चितवनका लागि ७ वैशाखमा प्रस्थान गरेको ‘राम-सीता रथयात्रा’ र चितवन अयोध्यापुरीलाई राम जन्मभूमिका रूपमा प्रस्तुत गर्दैमा आफ्नो पार्टीले बहुमत ल्याउँछ भन्‍ने भ्रम प्रधानमन्त्री ओलीमा छ भने केही भन्‍नु छैन। किनकि, यदि हिन्दू धर्मवादी मत राजनीतिमा निर्णायक हुन्थ्यो भने तत्कालीन राप्रपा नेपाल र हालको राप्रपा दुई तिहाइ बहुमतसहित सत्तामा हुने थिए। अनि, जनताको तिरष्‍कारका कारण गद्दीच्युत राजसंस्था राप्रपाका नेताहरूको चाहनाअनुसार उहिल्यै नागार्जुनबाट नारायणहिटी फर्किसकेको हुने थियो।

निर्माणको चरणमा प्रवेश नै नगरी शिलान्यास र निर्माण पूरा नहुँदै उद्घाटनको दौडले सत्ताका लागि बहुमत दिन्थ्यो भने राजनीतिकर्मी होइन, कुनै इन्जिनियरले देशको नेतृत्व गर्ने थियो। ढुंगा ढुंगामा नाम खोपाउने रहरले बहुमत दिलाउँथ्यो भने चुनाव गरिरहनुपर्ने नै थिएन, नेपालको ढुंगा ढुंगामा बास भएको जनविश्‍वास रहेका देवताले देशको शासन सत्ता हाँकिरहेका हुने थिए। त्यसैले भ्रम र झुटको यो दौडको कुनै अर्थ र औचित्य छैन, प्रधानमन्त्री ज्यू।

सूर्य चिह्न र एमालेको नाम र ब्रान्डले बहुमत दिलाउँछ भन्‍ने अर्को ठूलो भ्रम हो। किनभने, ती दुवै ब्रान्डमा उम्मेदवार बनेका प्रधानमन्त्री ओली स्वयंले ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेका थिए। माधवकुमार नेपाल र झलनाथ खनालले पनि सूर्य चिह्न र एमाले ब्रान्डबाटै उम्मेदवार बन्दा हार बेहोरेकै हुन्। त्यसैले एमाले र सूर्य चिह्नको ब्रान्ड नै चुनाव जित्ने अस्त्र होइनन्, हुन सक्दैनन्। त्यो किन पनि भने हातहातमा मोबाइल र इन्टरनेट सुविधा उपलब्ध रहेका मतदाता काठमाडौंको सत्ता राजनीति र नेताहरूको कार्यशैलीसँग भलिभाँति परिचित छन्। र, एमालेका नेता-कार्यकर्ता मात्र होइन, समर्थकहरू पनि एमाले विभाजनको कारक बनेको मुख्य नेता को हो भन्‍नेमा प्रष्‍ट छन्।

प्रधानमन्त्री ज्यू,

श्रीकृष्‍णलाई महाभारत युद्ध गराउनु नै थियो। भीष्‍म पितामहलाई आफ्नो मृत्युको कारण शिखण्डी बन्‍नेछन् भन्‍ने जानकारी थियो। उनकी माता गंगालाई थाहा थियो- भोलिदेखि मेरो छोरो शरशय्यामा आराम गर्नेछ किनकि ऊ थाकिसकेको छ। द्रोणाचार्यलाई जानकारी थियो- आफ्नो हत्या गर्नकै लागि धृष्‍टद्युम्नको जन्म भएको हो। कर्णलाई बोध थियो- आफ्नो मृत्यु अर्जुनकै वाणबाट हुनेछ। फेरि पनि महाभारत युद्ध रोकिएन। कसैसँग रोक्ने बुता थिएन। श्रीकृष्‍णलाई जानकारी थियो- यदुवंशको विनाश निश्‍चित छ, त्यो पनि रोकिएन। किनकि, युग परिवर्तन हुनु नै थियो। अर्थात्, युग परिवर्तनको वेग रोक्ने ल्याकत कसैसँग हुँदैन, परिवर्तन भएरै छाड्छ।

महाभारतकै अर्को प्रसंग-

जब दुर्योधन युद्धमा हार्दै जान्छन् अनि मात्र धृतराष्‍ट्रको दिमागमा युद्ध रोक्ने समझ आउँछ। अनि दिव्यदृष्‍टि पाएका सञ्‍जयलाई सोध्छन्, ‘हे सञ्‍जय, यो युद्ध रोक्ने कुनै उपाय सुझाऊ।’ सञ्‍जयले जवाफ दिन्छन्, ‘हे राजन, अब सारा अमृत तपाईंको अञ्‍जुलीबाट बगिसक्यो, अब उसको विषयमा सोचेर के लाभ होला र? जुन अञ्‍जुलीबाट अमृत बहेर गयो राजन, त्यो अञ्‍जुली गान्धारीनन्दन दुर्योधनको थिएन, त्यो अञ्‍जुली स्वयं तपाईंको थियो महाराज।’

र, धृतराष्‍ट्रले जवाफ दिन्छन्- ‘होइन सञ्‍जय, त्यो अञ्‍जुली मेरो दुर्भाग्यको थियो। मलाई युद्धको दृष्‍य बताउँदै जाऊ, यही मेरा लागि दण्ड हो।’ जब दुर्योधनको इहलीला समाप्त हुन्छ अनि एक अहंकारी योद्धा सधैँका लागि विदा हुन्छ अनि मात्र धृतराष्‍ट्रलाई आफ्नो महत्त्वाकांक्षा र पुत्रमोहका कारण द्वापर युगकै विनाशकारी युद्ध टार्न नसकिएकामा पश्‍चाताप बोध हुन्छ।

त्यसैले समय छँदै सोच्नु र पहलकदमी लिनु राम्रो हो। समय घर्किसकेपछि पश्‍चातापबाहेक केही बाँकी रहँदैन। किनकि, सत्ता, शक्ति र सम्पत्ती बडो अस्थिर र चञ्‍चल हुन्छन्। यिनले आफ्नो हातमा रहुन्जेल तुजुक देखाउँछन्। जब हातबाट फुत्किन्छन्, फेरि कहिल्यै हाता लाग्दैनन्।
 

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, वैशाख ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्