Kathmandu Press

‘दरबारिया राणाहरूले जनताका कुखुरा लैजान्थे’

दरबारिया राणा रिसल्ला, हात्तीमा चढेर कुमारी जात्रा हेर्न आउँथे। रिसल्लामा सवार ५–६ दरबारिया राणाले बाटोमा जात्रा हेर्न बसेका जनतालाई मोहोर–मुद्रा छर्दै हिँड्थे। जनताहरू पनि ‘महाराज, महाराज’ भन्दै राणाहरूलाई ढोग्थे।
‘दरबारिया राणाहरूले जनताका कुखुरा लैजान्थे’

काठमाडाैं, वैशाख ५ : बहुआयामिक व्यक्तित्व हुन्, सुवर्ण शाक्य। बौद्ध दर्शनका चिन्तक, दर्जनौँ कृतिका लेखक, प्रभात प्रौढ हाइस्कुलका पूर्वहेडमास्टर, दरबार हाइस्कुलका पूर्वहेडमास्टर, पिपल्स क्याम्पसका पूर्वप्राध्यापक– उनको परिचय ठूलो छ। काठमाडौं प्रेसको ‘उहिलेको नेपाल’ शृंखलामा भलाकुसारी गर्न गत साता हामीले उनलाई भेटेका थियौँ। ८५ वर्षीय शाक्यसँग यति धेरै सम्झना रहेछन्, कुरा कहाँबाट सुरु गरेर कहाँ अन्त्य गर्ने भन्ने समस्या भयो। त्यसैले पुरानो समाज झल्काउने केही प्रसंग यहाँ उल्लेख गरिएको छ।

आठ कक्षाको परीक्षा दिन बनारस

न्युरोडको ओमबहालमा जन्मिएका शाक्यले दरबार हाई स्कुलबाट औपचारिक शिक्षा प्रारम्भ गरेका हुन्। उनका बुवा तेजधन शाक्यले दरबार हाई स्कुलमा कक्षा १० सम्म पढेका थिए। सानोमा उनलाई बुवाले घरमै अंग्रेजी विषय ‘फर्स्ट बुक’ पढाउँथे। उनका बुवा ओम बहालको नवहिलमा रहेको ‘जोर गणेश प्रेस’मा इन्चार्ज थिए। हजुरबुवा इन्द्रधन शाक्यले सुवर्णलाई घरमै संस्कृत शिक्षा दिएका थिए।

Hardik ivf

यसरी घरमै बुवा–हजुरबुवासँग संस्कृत, अंग्रेजी, नेपाली, गणित सिकेका सुवर्ण एकैचोटि दरबार हाइस्कुलको संस्कृत पाठशालामा कक्षा ६ मा भर्ना भए, जति उनको उमेर १० वर्षको थियो। दरबार हाई स्कुलको एउटै भवनमा संस्कृत र अंग्रेजी बढाइ हुन्थ्यो। उनले दिनमा संस्कृत पाठशालामा व्याकरण, साहित्य र दर्शन विषय पढ्थे। बिहानमा दरबार हाई स्कुलमा अंग्रेजी शिक्षा लिन्थे। दरबार हाइस्कुल प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि खोलिएको थियो।

संस्कृत पाठशालामा बनारसको कोर्स अनुसार संस्कृत विषयको पढाइ हुन्थ्यो। त्यतिबेला कक्षा ८ को परीक्षा दिन बनारस जानुपथ्र्यो। तीन दिन लगाएर उनी बनारस पुगे र परीक्षा दिएर फर्के। बनारस जानका लागि उनी न्युरोडबाट हिँडेर चन्द्रागिरी डाँडामा पुगेका थिए। त्यहाँदेखि टिस्टुङ, पालुङ हुँदै भिमफेदीसम्म हिँडेरै पुगे। भिमफेदीबाट पुरानो गाडी लहरी चढेर अमलेखगन्ज पुगे। अमलेखगन्जबाट रक्सौलसम्म रेल चल्थ्यो। १९८० सालतिर सुरु भएको रक्सौल–अमलेखगन्ज रेल सेवा २०२१ सालतिर बन्द भयो। ‘यसरी तीन दिन लगाएर बनारस पुगेँ। भारतीय आठ आना तिरेर लजमा बसेको थिएँ,’ उनी भन्छन्, ‘मसँग परीक्षा दिन जाने साथीमा भोजपुर, धादिङका पनि थिए।’

‘डबलीमा नाच्ने महिला पाउन गाह्रो’

एसएलसी पास नहुँदै उनले पढाउन थालेका हुन्। काठमाडौंको लगनटोलमा २००७ मा स्थापना भएको ‘जोर गणेश विद्याश्रम मिडिल स्कुल’मा उनले २०१० सालदेखि पढाउन थाले।

बैंसमा उनको रुचि रंगमञ्चमा थियो। २०२५ सालतिर त काठमाडौंमा उनको चर्चा हुन थालेको थियो। उनका साथी (भाइ) डा. त्रिरत्न मानन्धरले ‘सुवर्ण शाक्य अभिनन्दनग्रन्थ’मा लेखेका छन्, ‘२०२५ सालतिर पकनाजोलमा रहेको नेपाल युवक माध्यमिक शिक्षालयले राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रम गरेको थियो। त्यस कार्यक्रममा बढी गीत र नृत्य प्रस्तुत गरिएको थियो। गीतहरू प्रस्तुत हुँदा घरी गीतकारको रुपमा, घरी गायकको रुपमा एउटै व्यक्तिको नाम उद्घोष गरिन्थ्यो– सुवर्ण शाक्य।’

यतिबेला त उनी दरबार हाइस्कुलका हेडमास्टर भइसकेका थिए। किशोरावस्थामा उनले टोलका डबलीहरूमा नाटक प्रस्तुत गर्थे- आफैँ नाटककार, आफैँ अभिनेता भएर। उनले नाटक क्षेत्रमा लागेपछि सांस्कृतिक संस्था स्थापना गरेका थिए। उनलाई नाटकमा महिला कलाकार आवश्यक हुन्थ्यो, उसले अभिनय र नृत्य गर्नुपथ्र्यो। त्यो बेला समाजमा छोरी मान्छे घरबाहिर निस्किएर नाच्न पाउँदैनथे। ‘म घरघर गएर अभिभावकलाई यो राम्रो कार्यक्रम हो, पठाइदिनुस् केही भएमा म जिम्मा लिन्छु भनी बिन्ती गर्थें,’ उनी भन्छन्, ‘बडो मुस्किलले महिला कलाकार पाइन्थ्यो।’ यसरी जम्मा गरेका कलाकारलाई खाजा खुवाउन उनीसँग पैसा हुँदैनथ्यो। एकपटक त उनले आमाको तुकी (ढुङग्री) चोरेर खाजा खुवाए। २०१३ सालतिर एक तोला सुनको पच्चीस रुपैयाँ पर्थ्यो। नाटकमा लाग्दा सुरुसुरुमा उनलाई बुवाले गाली गरेका थिए। पछि समाजमा सबैले राम्रो मानेपछि उनलाई सहज भयो, उनका बुवाले पनि छोराको काम मन पराउन थाले।

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २ : ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

त्रिचन्द्र कलेजमा पढ्दा सुवर्णका सहपाठी थिए, गायक नारायणगोपाल। ‘कुनै विषयको कक्षा सकिएपछि साथीभाइहरू कलेजबाहिर चौरमा भेला हुने चलन थियो,’ सुवर्ण भन्छन्, ‘यसरी भेला भएका बेला वा बाटोमा हिँडेका बेला नारायण गोपालले हामीलाई गीत सुनाउँथे।’
 
परालमा बेरेको राँगाको मासु

पहिले अचेल जस्तो प्लास्टिकको झोला आएको थिएन। मासु किन्न जाँदा परालका त्यान्द्राले बेरेर दिन्थे।

घरमा उनकी आमाले कान्छो भाइ जन्म दिएकी थिइन्। यही खुसीमा उनी पाँच पैसा लिएर राँगा काटेको ठाउँमा मासु लिन गएका थिए। मासु बेच्ने मान्छेले १०–१२ वटा परालको त्यान्द्रामा मासु पोको पारेर दिए। केटाकेटी उनी हातमा राँगाको मासु हल्लाउँदै हिँडिरहेका थिए, उडिरहेको चिल आएर उनको हातबाट मासु तानेर लग्यो, उनी हेरेको हेर्‍यै भए।

राणाले जात्रा हेर्न बसेका जनतालाई मोहोर फाल्थे

उनी सात–आठ वर्षको हुँदा राणाहरूले सिंहदरबार र हनुमान ढोकाभित्र इन्द्रजात्रा देखाउने गर्थे। यस जात्रामा राँगो बलि दिने कार्यक्रम पनि हुन्थ्यो। दरबारभित्र देखाइने जात्रा हेर्न सर्वसाधाणका लागि अनुमति थिएन। सुवर्णलाई दरबारभित्रको जात्रा हेर्ने मन हुन्थ्यो। संयोगले उनका टोलका धेरै मानिस राणाका दरबारमा जागिरे थिए। जागिरेलाई बैठके (राणाको बैठकमा काम गर्ने), भँडारे (भण्डारमा काम गर्ने), हुक्के (राणाले खाने हुक्का समाउने), तालुकेदार र नाइके भनिन्थ्यो।

ती जागिरेसँग सुवर्णले भने, ‘मेरा लागि पनि एउटा चिट (सिफारिस कागज) ल्याइदिनू, म पनि दरबारभित्रको जात्रा हेर्छु।’ यसरी उनी केहीपटक दरबारभित्रको जात्रा हेर्न गए।

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

उहिलेकाे नेपाल - ५ : युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

उहिलेकाे नेपाल  ६ : राजकुमारी श्रुति फूल किन्न आइन् र भनिन्- ‘सरकार होइन, छोरी भन्नुस्, आमा’

वसन्तपुरमा कुमारी जात्रा हुँदा जुद्घशमशेर, पद्मशमशेर, मोहन शमशेरहरूको सवारी हुन्थ्यो। उनीहरू रिसल्ला (घोडाले तान्ने बग्गीजस्तै) चढेर आउँथे।

कतिपय दरबारिया राणा हात्तीमा चढेर आउँथे। रिसल्लामा ५–६ जना सवार हुन्थे। ‘उनीहरूले बाटोमा जात्रा हेर्न बसेका जनतालाई मोहोर मुद्रा छर्दै हिँड्थे। जनताहरू पनि ‘महाराज, महाराज’ भन्दै राणाहरूलाई ढोग्थे,’ सुवर्ण भन्छन्, ‘राणाहरूले फालेको मोहोर थाप्न आफूले पहिरिएको वा ओढेको लुगा फिँजाउँथे।’

दरबारिया राणाले कुखुरा लैजान्थे

सुवर्ण केटाकेटी छँदा काठमाडौंमा धेरैले घरघरमा कुखुरा पाल्थे। राणाहरूलाई भेट्न विदेशी पाहुना दरबार आइरहन्थे। यसरी आएका पाहुनालाई खुवाउन कुखुरा चाहियो भने दरबारियाहरू सुवर्णको टोलतिर आउँथे। दरबारिया आएको थाहा पाउनेबित्तिकै घर–घरका मानिस बाहिर चरिरहेका कुखुरालाई ‘आ आ’ भन्दै डोकोले छोपिहाल्थे। ‘डोेकोले छोपिएको कुखुरालाई भने उनीहरूले लैजाँदैनथे,’ सुवर्ण भन्छन्, ‘आवश्यक परेका बेला दरबारियाहरूले जनताका घरबाहिर खेलिरहेका कसैसँग सोधखोज नगरी लैजान्थे। कसैले आवाज उठाउने हिम्मत गर्दैनथ्यो।’

सुपारी दिएको एक वर्षपछि विवाह

सुवर्ण २० वर्षको हुँदा विवाहको कुरा चल्यो, महाबौद्घकी १३ वर्षीया केशरी शाक्यसँग। विवाहको कुरा चलाउने लमीले केटा र केटी पक्षका मान्छेसँग कुरा छिनेपछि बिहे छिनिन्थ्यो, केटाकेटीको देखभेट गराउने चलन थिएन।

लमीले केटीको बाबु र केटीलाई साक्षी राखी केटा पक्षबाट सुपारी, सौभाग्यको सामान र फलफूल दिएपछि विवाह छिनिन्थ्यो। त्यसको एक वर्षपछि विवाह हुन्थ्यो। विवाह नहुन्जेल एकभित्र पर्नेे सबै चाडपर्वमा केटाको घरबाट केटीको परिवारमा फलफूल, मिठाई पठाइदिने चलन थियो।

योबीचमा टोलमा भोज खान गएका बेला हुनेवाला श्रीमान र श्रीमतीको पनि देखभेट हुन्थ्यो। एकपटक सुवर्ण टोलमा भोज खान गएका थिए, त्यहाँ उनकी हुनेवाली पत्नी पनि आएकी रहिछन्। ‘मलाई आफन्तले तेरो हुने बेहुली ऊ त्यहाँ बसेर खाइरहेकी छ भनी देखाइदिए,’ सुवर्ण भन्छन्, ‘उता उनलाई पनि आफन्तले बेहुला त्यही हो भनी परैबाट देखिाइदिएका थिए।’

दुई छोरीलाई जन्म दिएको केही वर्षमै निमोनियाबाट केशरीको निधन भयो। त्यसपछि सुवर्णले २०२० सालमा लगनटोलकी रत्ना शाक्यसँग दोस्रो विवाह गरे।

केशरीको कोखबाट जन्मेकी जेठी छोरी तिमिला कृषि विकास बैंकमा जागिरे भइ अवकाश लिइसकेकी छन्। कान्छी छोरी रुपा शाक्य रेडियोलोजिस्ट हुन्।

रत्नाबाट पाँच सन्तान भए। कान्छी छोरी दर्पणा शाक्यले बनारसबाट संगीतमा एमए गरेकी छन्। यस्तै, जेठा छोरा रोशन जोरगणेश सहकारीका निर्देशक हुन् भने माइला छोरा डा. भूषण शाक्य अमृत साइन्स क्याम्पसमा सह– प्रधानध्यापक छन्। कान्छा छोरा तोषण स्टेसनको व्यापार सम्हाल्दै आएका छन्।

‘हजुरआमाले लोग्ने भनेर भरियादाइलाई ढोग्दा’

सुवर्णलाई आमाले हजुरआमाको बारेमा पनि सुनाएकी थिइन्। सुवर्णकी हजुरआमाको माइती (बूढो मावली) मा भोज थियो रे। हजुरआमा बिहानै माइत गइछन्। नेवार समुदायमा चाडपर्वमा छोरी अघिल्लो दिन वा बिहानै माइत जाने चलन थियो। अर्को दिन हजुरबुवालाई घरमा काम सघाउने एकजना भरिया दाइलाई लिन पठाइएको थियो। बेलुकी आइपुगेका ज्वाइँ र भरियादाइ मझेरीको सुकुलमा अडेस लगाएर बसिरहेका थिए। सुवर्णकी हजुरआमाकी आमाले भनिछन्, ‘तल ज्वाइँ आउनुभएको छ, ढोग्न जाऊ।’

उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...

उहिलेकाे नेपाल ८ :‘दर्शनशास्त्रमा विद्यावारिधि गरेर राजा महेन्द्रसँग जागिर मागेँ’

उहिलेकाे_नेपाल ९ :‘राजा त्रिभुवनका लागि राणाशासकले दुई सय जति केटी राखिदिएका थिए’ 

उहिलेकाे नेपाल १० :राधादेवी जोशी

उहिलेकाे नेपाल ११ : ओलीका ‘तमासे वकिल बाजे’ले आफ्नै घरका तमसुक च्यातेका थिए

उहिलेकाे नेपाल १२ : चन्द्रशमशेरले क्षयरोगीलाई राख्न बनाएको टोखा सल्लाघारीको 'क्वारेन्टिन'

‘हजुरआमाले अँध्यारोमा आइपुगेका आफ्ना श्रीमान् नचिनेर भरियादाइलाई ढोग्नुभएछ,’ सुवर्ण भन्छन्, ‘वास्तवमा हजुरआमाले हजुरबालाई चिनेकै हुनुहुन्नथ्यो।’

त्यतिबेला बिजुली थिएन। बेलुका सुत्ने कोठामा बालेको टुकीबत्ती श्रीमतीले भान्छाको धन्दा सकेर आउने बेलासम्म निभिसकेको हुन्थ्यो। त्यसमाथि पहिले श्रीमान् र श्रीमती सुत्ने कोठामा राति बत्ती बाल्नु हुँदैन भन्ने चलन थियो। उज्यालो भएपछि पत्नी छिटै उठेर कामधन्दामा लाग्नुपर्थ्यो र श्रीमानलाई ठाडो शिर गरी हेर्नुहुन्न भन्ने चलन थियो। यसो हुँदा उनकी हजुरआमाले हजुरबालाई चिनेकी रहिनछन्।

‘त्यो बेलाको समाजमा श्रीमान् र श्रीमतीले एक आपसमा कुराकानी गरेको परिवार, छरछिमेकले राम्रो मान्दैनथे,’ सुवर्ण भन्छन्, ‘नेवार समुदायमा बिहान पतीलाई नढोगी पत्नीले केही नखाने चलन थियो, त्यो अहिले हट्दै गएको छ।’

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौँ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ। –प्रधानसम्पादक)

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, वैशाख ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्