सोमबार, असार २२, २०७७

                                            #उहिलेको काठमाडौं

काठमाडाैं, माघ ४ : बुढानीलकण्ठ चोकदेखि जंगलको बाटो हुँदै भसनथली गाउँ पुगिन्छ। गत बिहीबार त्यस गाउँकी ८० वर्षीया साइँली खत्रीले चार वर्षीय पनाति (कान्छो छोराको छोरीको छोरो)लाई घर वरपर डुलाइरहेकी थिइन्। 

भनिन्छ, मानिस वृद्ध हुँदै जाँदा स्वभाव र बानी–व्यवहारमा बालपन फर्कन्छ । उनी पनि पनातिसँग बच्चा जस्तै बनेर अनेक बात मार्दै थिइन्। 

घर वरपर घाम ताप्न पनातिसँग हिँडिराख्ने उनी शारीरिक रूपमा स्वस्थ छिन् । आफ्नो अघिल्तिर देखिने नयाँ अनुहारसँग, आफ्नो घरमा आउनेहरुसँग उनी हँसिलो पाराले बोलिरहेकी हुन्छिन्।

उनले कुराकानीको फेरो खोलिन्, ‘माटोको घरजस्तो कहाँ हुन्छ र यो ढलानको घर । माटो घरमा जाडो महिना न्यानो र गर्मी महिना शीतल हुन्थ्यो । यो घर ठ्याक्कै उल्टो, जाडोमा धेरै चिसो, गर्मीमा धेरै तातो हुने रहेछ।’ 

आफ्नो जीवनको ८०औँ हिउँदसम्म आइपुग्दा उनले थुप्रै सम्झना सँगालेकी छन्। 

‘मेरी आमा आफ्नै पतिको बिहेमा रत्यौली नाचिन्’

साइँलीअघि जन्मेका दुई सन्तानको देहान्त भयो । उनकी आमालाई लाग्यो, अब मबाट सन्तान हुँदैनन् । त्यसैले उनकी आमाले सन्तानका लागि आफ्नो पतिको दोस्रो बिहे गरिदिन चाहिन् । रमाइलो त, आफ्नो पतिको बिहेमा साइँलीकी आमा रत्यौली नाचिन्। 

साइँली अनुहारभरि हाँसो ल्याउँदै भन्छिन्, ‘सानीआमालाई ल्याउँदा मेरी आमा रत्यौली नाच्नुभएको थियो रे।’

तर, पछि साइँली र एक भाइको जन्म भयो ।  साइँलीको अनुभव छ– सानीआमाबाट पनि आमाकै माया पाएँ।

स्याउला काटेर फर्केको दिन

साइँलीले सानैदेखि वरपरको जंगलमा घाँस–दाउरा गरिन् । एकपटक वैशाखको महिनामा उनी वनमा स्याउला काट्न गएकी थिइन्।

फर्कंदा नयाँ मानिसले घरको आँगन ढाकेर बसेका थिए । ती मानिससँग साइँली लजाइन् र स्याउलाको पातले मुख छोप्दै घरभित्र पसिन् । भित्र कोही एक छेउमा माला गाँसिरहेका, कोही नयाँ कपडा मिलाउँदै थिए।

  • ऊ बेला परालको कुन्यू हेरेर छोरी दिने चलन थियो। मलाई भने मामाले विवाह गरिदिनुभएको हो, केटो इमानदार छ भनेर।

घरमा के हुँदैछ भनेर सुरुमा त उनले बुझिनन् । केहीबेरमै बुझिहालिन्, उनकै विवाहको तयारी हुँदै रहेछ । एकैछिनमा कसैले कपाल कोरिदिए, कसैले कपडा लगाइदिए– उनलाई बेहुलीको रूप दिइयो । यसरी त्यसअघि कहिल्यै नदेखेको मीनबहादुर खत्रीसँग उनको विवाह भयो, १७ वर्षको उमेरमा।

साइँली आफ्नो विवाहको समय सम्झन्छिन्, ‘ऊ बेला परालको कुन्यू हेरेर छोरी दिने चलन थियो । मलाई भने मामाले विवाह गरिदिनुभएको हो, केटो इमानदार छ भनेर।’

विवाहको केही समयपछि उनका श्रीमान्ले ७० रुपैयाँ तलबमा कार्यालय सहयोगीको जागिर खान थाले । त्यसपछि घरधन्दादेखि खेतबारीको काम उनकै काँधमा आयो।

बुढानीलकण्ठकी ८० वर्षीया साइँली खत्री

शिवपुरी जङ्गलभित्रको बाटोछेउ उनको माइतीघर र जङ्गलको फेदी (शिवपुरी निकुञ्जबाहिर पाखा)मा उनको घर । माइतीमा थोरै खेत र धेरै बारी थियो । मेलापातको काम गरेर हुर्केकी उनी विवाह हुनेताका निकै स्फूर्त थिइन् । उनी भन्छिन्, ‘एउटा चुरोट सल्काएर नसकिँदै जस्तो मैले घर र माइती गरी भ्याउँथेँ।’ 

उतिबेला मेला पर्मको भरमा खेतीपाती हुन्थ्यो । एक दिन मेला आएबापत महिलालाई चार माना र पुरुषलाई एक पाथी धान दिए हुन्थ्यो । यति पाएपछि खेताला खुसी हुँदै जान्थे– काम परेको बेला सम्झन नभुल्नु है भनेर। 

‘असनमा दाउरा बेच्थेँ’

साइँलीको समयमा पनि गाउँले सहरसँग बजारिया वस्तु किन्थ्यो । गाउँ र सहरको सम्बन्ध वस्तु वा श्रमको किनबेचका माध्यमबाट गाँसिन्थ्यो। 

साइँली २२–२४ वर्षको उमेरदेखि (२०१८–२० सालतिर) घरधन्दा र दैनिकीमा आवश्यक पर्ने सामान किन्न सहर आउँथिन्, दाउराको भारी बोकेर– कहिले एक्लै कहिले साथीहरुसँग गफ गर्दै।  

अनुहारमा उही जवानीको ऊर्जा ल्याउँदै उनी भन्छिन्, ‘खाली खुट्टा चार घन्टा हिँडेर दाउरा बेच्न असन पुग्थेँ । एक भारी दाउरा पाँच मोहोर एक सुका (दुई रुपैयाँ ७५ पैसा)मा बिक्थ्यो । त्यसले महिनाभरि पुग्ने मसला, सक्खर, तमाखु किन्थेँ ।’कहिलेकाहीँ त कसैले उनको एक भारी दाउरालाई नौ मोहोरमा किनिदिन्थ्यो, उनको खुसीको पारो उसरी नै बढ्थ्यो। 

दाउराको भारी बोकेर घरदेखि असनसम्म पुग्न उनलाई चार घन्टाभन्दा बढी लाग्थ्यो । सहरतिर बाटो पिच भएका हुन्थे । कहिलेकाहीँ खाली गोडामा अलकत्रा टाँसिएर उनलाई हैरान पार्थ्यो।

उतिबेला सहरबाट फर्कंदा बाटोमा त्यति घरहरु थिएनन् । असनमा अन्नपूर्ण, गणेश मन्दिर, इन्द्रचोक र फाट्टफुट्ट घरबाहेक सबै ठाउँ खाली थिए । महाराजगन्जदेखि बुढानीलकण्ठसम्म आइपुग्दा मुस्किलले एक–दुई घर भेटिन्थे। 

पानीपोखरीतिर आइपुग्दा उनी कतै घर नभएकाले छिटोछिटो पाइला चाल्थिन्, महाजराजगन्जको खेतका फाँटमा आएर अलि सुस्ताउँथिन् । दाउरा बेचिसकेपछि घरधन्दा भ्याउने हतारमा हुन्थिन् उनी, बाटोमा मुस्किलले भेटिएका खाजा पसललाई बेवास्ता गरी घर पुग्थिन् । श्रीमान्का चार दाजुभाइको अलग–अलग भान्छा हुन थालेपछि उनलाई भिन्दै बसेर पनि सबै काम गरी खान सक्छु भन्ने आँट थियो।  

तीन ठाउँमा गरी १५ रोपनी खेतबारी थियो उनको । मलजलका लागि गाईभैंसी, एक हल गोरु, बाख्रा पनि पालेकी थिइन् । उनी पुराना दिन सम्झन्छिन्, ‘गाईको घिउ डाँडागाउँ पुर्‍याउँदा रानीसाइबा (त्यतिबेलाका ठूलाबडाकी श्रीमती)ले दिएको दश रुपैयाँले घरको ठूलै गर्जो टर्थ्यो।’ 

ऊ बेला शिवपुरीको फेदीबाट उनी टोखा, शिवपुरी जंगलमा घाँस–दाउरा गर्न जान्थिन् । ती जंगल अहिलेको जस्तो घना थिएन, पातला रुख–बिरुवा थिए । एक भारी पात बटुल्न शिवपुरी वनको पुप्पासम्म चहार्नुपर्थ्यो।     

अहिले घरअगाडिको फाँटमा घरहरुले भरिएको देख्दा उनलाई अनौठो लाग्छ । यत्तिका ठूलाठूला घर बनाउने पैसा कसरी आएको होला!

आफूले पिउने विष्णुमती खोलाको कञ्चनपानी अहिले ढलले भरिएको देखेर उनको मन काटिन्छ । उनी दुःखी हुँदै भन्छिन्, ‘कलियुगमा खोलाहरु स्वर्ग जान्छन् भन्थे, यसैगरी मिचिएर, मासिएर जाने रहेछन् क्यारे।’

त्यो रेडियो झोलामा थन्क्याइयो    

उनका श्रीमानले पाडो बेचेर २०४९ माघमा रेडियो किने, १५ सय रुपैयाँमा । रेडियो बज्दा उनलाई लाग्थ्यो, वरिपरि बसेर मानिसहरु गफ गरिरहेछन् । त्यो रेडियोले उनको जीवनको महत्वपूर्ण सम्झना बोकेको छ । उनी त्यही रेडियोलाई साथी बनाएर घरधन्दा र मेलापातको काम गर्थिन्। 

  • घरमा के हुँदैछ भनेर सुरुमा त उनले बुझिनन्। केहीबेरमै बुझिहालिन्, उनकै विवाहको तयारी हुँदै रहेछ। एकैछिनमा कसैले कपाल कोरिदिए, कसैले कपडा लगाइदिए–उनलाई बेहुलीको रूप दिइयो।

२०१५–२० सालतिर बेलुकीको खाना खाएपछि उनले टुकी बत्तीमा ढिँकी चलाउँथिन्, दुई–तीन पाथी धान कुटिसक्दा रात छिपिसकेको हुन्थ्यो । उनी भन्छिन्, ‘सहरतिर जाँदा कतैकतै बिजुली बत्ती देखेकी थिएँ, तर मेरो घरमा त्यो बत्ती २०४७ तिर मात्रै आयो।’ 

गाउँघरमा काठको पाटीमा खरीले कोरिरहेको देख्दा उनलाई लाग्थ्यो– के कोरेर खेलेका होलान् ? उनलाई पढ्नुपर्छ भन्ने थाहै थिएन, ऊ बेलाको समाज पनि त्यस्तै थियो। 

उनका पतिले भर्खरै ८५ वर्षको उमेरमा यो संसार छाडे । पति वियोगले उनी कहिलेकाहीँ एक्लो महसुस गर्छिन् । यो जिन्दगीमा उनलाई आफ्ना पतिसँग कुनै गुनासो छैन। भन्छिन्, ‘उहाँले मलाई जिन्दगीभरि तँ भनेर चर्को स्वर गर्नुभएन, कुनै वचन लगाउनुभएन।’

बिहान–बेलुकी उनी सुत्ने कोठाछेउ बजिरहने रेडियो आजकाल बज्न छाडेको छ । परिवारमा उनको पतिको सम्झनाले नसताओस् भनेर रेडियोलाई झोलामा थन्क्याइएको छ। 


(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ। –सम्पादक)

Published Date: Sunday, 19th January 17:03:02 PM