Kathmandu Press

‘चुनावी परिणामले जिम्मेवारी बढेको महसुस भएको छ, निष्ठापूर्वक काम गर्छु’

मतगणनाका प्रत्येक चरणमा कडा टक्कर दिइरहेकी शर्माले अन्तिममा १६५ मतको झिनो अन्तरले जितिन् । एमालेभित्र ओलीको विश्वासपात्र मानिने पोखरेलको पक्षमा परिणाम नआउँदा सिंगो एमाले नै स्तब्ध बन्यो। 
‘चुनावी परिणामले जिम्मेवारी बढेको महसुस भएको छ, निष्ठापूर्वक काम गर्छु’

काठमाडौं, मंसिर १३ : दाङ–२ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेपछि नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माको चर्चा चुलिएको छ । ठूलो पार्टीका जिम्मेवार नेतालाई पराजित गर्दै शर्मा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एकमात्र महिला बनेकी छन्।

रेखा शर्माको उम्मेदवारीलाई सहज रुपमा लिएका पोखरेललाई चुनावी परिणामलाई पत्याउन शायदै सहज भएन । मतगणनाका प्रत्येक चरणमा कडा टक्कर दिइरहेकी शर्माले अन्तिममा १६५ मतको झिनो अन्तरले जितिन् । एमालेभित्र ओलीको विश्वासपात्र मानिने पोखरेलको पक्षमा परिणाम नआउँदा सिंगो एमाले नै स्तब्ध बन्यो। 

एमालेमा संकट उत्पन्न हुँदा वैचारिक रुपमा सल्लाह सुझाव दिनेमध्ये पोखरेल शीर्ष स्थानमा पर्छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा आफ्नै जोडबलले प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न सफल भएका थिए । यसबाट दाङका जनताले आफूलाई मत दिनेमा पोखरेल पूर्णतः विश्वस्त थिए । अन्तिममा पोखरेलले २६ हजार ६८१ मत पाउँदा शर्माले २६ हजार ८७७ मत ल्याएर जितिन् ।

Hardik ivf

माअ‍ोवादी भित्र रेखा शर्माको हैसियत माथि नै छ । उनी प्रचण्डका विश्वासपात्र मानिन्छन् । शर्मा आफै पनि दाङ–२ को निर्वाचनमा कठिनपूर्ण जित निकालेको स्वीकार गर्छिन्। ‘प्रतिस्पर्धी बलियो हुनुहुन्थ्यो तर, एजेन्डाको हिसाबमा हामी बलियो थियौं,’ उनले भनिन्,‘जनताको घरघरमा पुगें,उहाँहरुलाई आफूले गर्ने काम र भावी एजेन्डाबारे बताएँ । आम मतदाताहरुले अनुमोदन गर्नुभयो।’ महिला भएकै कारण चुनाव जित्न मुस्किल हुने बुझाईलाई पनि बदल्न सफल भएको उनले बताइन्। 

rekha-sharma-11670177010.jpg

शर्मा चुनावी परिणामबाट आफूमा जिम्मेवारी थपिएको महशुस भएको बताउँछिन्। ‘दाङ–२ का डेढ लाख मतदाताले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छु । चुनावमा जसरी मिहिनेत गरे अब जनताको समस्या समाधानका लागि त्यति नै मिहिनेत गर्छु,’उनले भनिन्।  

राजनीतिमा पहिलापहिला महिलाको सहभागिता कम थियो। २०४६ सालको आन्दोलनपछि बिस्तारै राजनीतिमा महिलाको सहभागिता बढ्न थालेको उनको बुझाई छ। बाध्यात्मक कानुनले राजनीतिमा महिलाको सक्रियता, सहभागिता र उपस्थिति बढाए पनि अझै पुरुषकै दबदबा कायम रहेको उनको बुझाइ छ। ‘पुरुषकै संख्या धेरै भएकाले टिकटमा पनि महिलाको अवसर कम भयो,’ उनले भनिन्, ‘अहिले महिलालाई चुनाव लड्न निकै मुस्किल छ।’ 

उनको अनुभवमा अहिले पनि समाजमा महिलालाई पत्याइँदैन। समाज पितृसत्तामा आधारित भएकाले यस्तो अवस्था कायम रहेको उनको ठम्याइ छ। कतिपय महिलाले चुनाव लड्न आँटै गर्दैनन् भने कतिपयले टिकटै पाउँदैनन्। त्यसकारण महिलाको सहभागिता बढाउन बाध्यात्मक कानुन बनाउनुपर्नेमा उनी जोड दिन्छिन्।

‘प्रत्यक्षतर्फ पनि निश्चित प्रतिशत अनिवार्य हुनुपर्ने भनेर कानुनी व्यवस्था गरिए महिला सहभागिता बढ्न सक्छ, अन्यथा उनीहरू पितृसत्ताको सिकार बनिरहन्छन्,’ उनले भनिन्, ‘बाध्यात्मक कानुन भएका स्थानमा मात्र महिलाको सहभागिता बढ्छ।’ राजनीतिमा मानसिक र शारीरिक रूपमा कुनै समस्या सामना गर्नुनपरे महिला भएकै कारण घरथर नभएको महसुस भने हुने गरेको उनी बताइन्। माइतीले विवाह भएको ठाउँकी हो भनिदिने र विवाह भएको ठाउँकाले माइती गाउँकी भनेर सोच्ने गरेको अनुभव उनले सुनाइन्। 

आफ्नो जित सम्भव हुनुको पछाडि ‘प्रदेश राजधानी दाङ बनाउनुपर्ने भन्दै माओवादी केन्द्रले मुख्य प्रस्ताव राख्नु पनि भएको उनी बताउँछिन्। प्रदेशको राजधानी दाङ बनाउन माओवादी केन्द्र निरन्तर लागिपरेको र त्यसमा तत्कालीन मुख्यमन्त्री पोखरेलले समर्थन गरेको उनले सुनाइन्। मुख्यमन्त्री भएकाले पोखरेलको वाहवाही भए पनि अजेन्डा कसको भन्ने कुरा जनताले बुझेको उनले बताइन्।

‘राजधानी कहाँ राख्ने भनेर बनेको सुझाव संकलनको समितिको संयोजक माओवादीको तत्कालीन सांसद दीपेन्द्र पुन हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘प्रस्ताव पनि हालका मुख्यमन्त्री माओवादीका सांसद कुलप्रसाद केसीले गर्नुभएको हो।’

उनका अनुसार राजधानीको विषयलाई लिएर एमाले र कांग्रेसका सांसदले तोडफोडसमेत गरेका थिए। बाँके, बर्दियाका जनताले दाङ राजधानी नभए कर्णाली प्रदेशमा सहभागी हुने भन्दै चुनौती पनि दिएका थिए। ‘जनताले माओवादीको कामलाई अनुमोदन गरेका कारण जित सम्भव भएका हो,’ उनले भनिन्।

आफ्नो जितमा लोकतान्त्रिक वाम गठबन्धनको साथले मद्दत गरेको पनि उनको भनाइ छ। ‘गठबन्धनको साथ नभएको भए जित्ने सम्भावना कम हुन सक्थ्यो। दाङ २ मा गठबन्धनको साथ सकारात्मक रह्यो,’ उनले भनिन् । 

अब दाङ २ को विकास निर्माण र समृद्धिमा ध्यान केन्द्रित गर्ने उनले बताइन्। ‘जनताका जम्मा दुई अपेक्षा छन्। एउटा दैनिक जीवनमा आइपर्ने समस्या र विकास निर्माण कसरी गर्ने भन्ने र अर्काे निर्वाचित भइसकेपछि जनतासँग भेटघाट गरिरहनुपर्छ भन्ने,’ उनले भनिन्, ‘त्यसमा पनि जनतासँगको भेटघाट निरन्तर हुनुपर्ने मुख्य खबरदारी छ।’ जनताको चाहनालाई ध्यानमा राखेर मतदातासँग भेटघाट गर्ने र सल्लाहसुझाव लिइरहने योजना बनाएको उनले बताइन्। 
 
राजनीतिक यात्रा 

०२६ सालमा जन्मिएकी रेखा शर्माको जन्मस्थान दाङको घोराही हो । पिता गिरिराज शर्मा र माता पार्वती शर्माको कोखबाट जन्मिएकी शर्मा बाल्यकालदेखि नै राजनीतिक माहोलमा हुर्किइन्। उनका बुबा राजनीतिमा सक्रिय थिए। त्यसकारण पत्रपत्रिका पढ्ने, राजनीतिप्रति चासो राख्ने अवसर पाइन्। उनले दाङको महेन्द्र बुहमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी छन्।

‘अध्ययन र राजनीति गर्न परिवारबाट सधैं सहयोग पाएँ,’ उनले भनिन्, ‘विद्यार्थी हुँदा २०४२ सालमा अखिल क्राान्तिकारीबाट राजनीति सुरु गरें।’ २०५३ देखि २०५८ सम्म अखिल नेपाल महिला संघ क्रान्तिकारीमा उनी आबद्ध भइन्। त्यसपछि महिला संगठनको नेतृत्व गरिन्। त्यतिबेला मदिरा सेवनमा रोक लगाएको तथा दाइजोको विषयमा अभियान चलाएको उनी बताउँछिन्।

RekhaSharma_202207131332411670177010.jpg

‘त्यतिबेला धेरै महिलाले मदिरा र दाइजोविरुद्धको अभियानमा समर्थन गरेका थिए तर पनि ती कुरालाई न्यूनीकरण गर्न सकिनँ,’ उनले भनिन्। महिला संघको राजनीतिक गतिविधिको नेतृत्व गर्दै गर्दा ०५७ मा उनी पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन्। 

०५२ बाट माओवादीले सुरु गरेको जनयुद्धमा उनी पनि लागिन् । त्यसबेला अत्यन्त कठिन परिस्थितिको सामना गर्नुपरेको उनी बताउँछिन् । जनयुद्धकै क्रममा शर्मालाई सेनाले पक्राउ गरेको थियो । उनले २०५८ चैत ३१ देखि २०५९ चैतसम्म (एक वर्ष) सैनिक हिरासतमा बसेकी थिइन्। २०५९ सालमा सरकार र माओवादीको वार्ता सुरु भएपछि उनी रिहा भएकी हुन्। रिहाइपछि उनी निरन्तर पार्टीमा लागिरहिन् र आजको सफलता हासिल गर्ने स्थितिसम्म आइपुगिन्। 

शान्ति प्रक्रिया पछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि शर्मा पहिलोपटक सांसद बनेर संसदमा प्रवेश गरिन््। लगत्तै ०७२ मा सामान्य प्रशासनमन्त्री र संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य बनिन् । अघिल्लो निर्वाचनमा पनि शर्मा समानुपातिकबाटै सांसद बनेकी थिइन्। 
 

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्