Kathmandu Press

चन्द्रशमशेरले क्षयरोगीलाई राख्न बनाएको टोखा सल्लाघारीको 'क्वारेन्टिन'

टोखा स्यानिटोरियममा राणाहरूको क्लास अनुसार ए, बी, सी नाम दिएर कटेज बनाइएको थियो। आफ्नो क्लास अनुसार राणाहरू त्यहाँ बस्थे। महाकवि देवकोटा पनि जीवनको उत्तरार्द्धमा एसिस्टेन्ट सुपरिटेन्डेन्टको खाली क्वार्टरमा अपरेसनपछि १५ दिनजति बसे।
चन्द्रशमशेरले क्षयरोगीलाई राख्न बनाएको टोखा सल्लाघारीको 'क्वारेन्टिन'

काठमाडौं, चैत १४ : काठमाडौंको मित्रपार्कस्थित घरको आँगनमा कुर्सी–टेबल राखेर बसेका थिए, डा. गौरीशंकरलाल दास। टेबलमा केही पत्रिका, पुस्तक र मोबाइल थियो। ‘अल्जाइमर विस्मृति समाज नेपाल’को पूर्वअध्यक्ष समेत रहेका ९७ वर्षीय गौरीशंकरलालको स्वास्थ्यको कुरै भएन, उनी आरामले पत्रिका पढ्छन् र समाज सेवामा पनि सक्रिय छन्। उनी अहिले बिपी नेत्र प्रतिष्ठानको अध्यक्षका रूपमा काम गर्दै छन्।

सिरहाको इनरुवा पुख्र्यौली थलो भएका गौरीशंकरलाल काठमाडौं खाल्डोमा बस्न थालेको झन्डै ७० वर्ष भयो। उतिबेला सर्लाहीदेखि काठमाडौं आउन उनलाई दुई दिन हिँड्नुपरेको थियो। पहिलो रात भीमफेदीमा बास बसे, भोलिपल्ट केही घन्टा हिँडेपछि उनले काठमाडौं उपत्यका टेकेका थिए। उनले २००९ सालदेखि वीर अस्पतालमा जागिर सुरु गरेका हुन्। डा. दासले पछि लोकसेवा आयोग  र मानवअधिकार आयोगको सदस्य समेत भएर काम गरे। एक शताब्दी उमेर पुग्न लागेका उनले कसरी पढे, कसरी जागिर खाए, उनको भोगाइ र संघर्षमा देश कस्तो थियो ? यस्तै कुरा सोध्न हामी गत साता उनको घरमा पुगेका थियौँ। निकै स्फूर्तिका साथ उनले हामीसँग कुरा गरे।

चन्द्रशमशेरले बनाउन लगाएको त्यो ‘क्वारेन्टिन’

वीर अस्पतालमा उनी रेजिडेन्ट मेडिकल अफिसर (आरएमओ)का रूपमा नियुक्ति भएका थिए, लोकसेवा पास गरेर। त्यतिबेला वीर अस्पतालमा वीर मेल र वीर फिमेल भन्ने थियो। उनले वीर मेल हेर्नुपथ्र्यो। सुरुवाती समयमा उनको मासिक तलब १ सय ८० रूपैयाँ थियो, थप २० रूपैयाँ भत्ता आउँथ्यो।

क्षयरोगीकै लागि भनेर टोखामा स्यानिटोरियम (बिरामीलाई विशेष रेखदेखमा उपचार गर्ने ठाउँ) बनाइएको थियो। पहिले आधुनिक उपचार पद्धति नभएकाले बिरामीलाई हावा आउने खुला ठाउँमा राखेर उपचार गरिन्थ्यो।

तस्बिर : सुजल बज्राचार्य/काठमाडाैं प्रेस

गौरीशंकरलालले वीर अस्पतालमा जागिर गरेको चार महिना भएको थियो, एक दिन स्वास्थ्य निर्देशक (डा. जितसिंह मल्ल) उनलाई भेट्न आए। उनले गौरीशंकरलाललाई जिपमा चढाएर टोखामा लिएर गए। त्यतिबेला उनी सल्लाघारीको सडक हुँदै टोखा पुगेका थिए, त्यहाँको प्राकृतिक सौन्दर्य उनको मन हरेको थियो। त्यही बेला निर्देशकले उनलाई सोधे, ‘डा. साहब यहाँ बस्नुहुन्छ ?’ आफू त्यहाँ बस्न चाहेको बताएपछि उनलाई त्यहाँ पठाइयो, असिस्टेन्ट सुपरिटेन्डेन्टको पद दिएर। पछि सुपरिटेन्डेन्टमा बढुवा भयो। त्यहाँ दास दश वर्षजति बसे। उनका अनुसार, त्यहाँ क्षयरोग (टिबी)का बिरामी उपचारका लागि आउँथे। त्यहाँ बसेको र औषधोपचार गरेको पैसा लाग्दैनथ्यो। तर बेड पाउन मुस्किल हुन्थ्यो। त्यतिबेला बिरामीका लागि ५० बेड मात्रै थिए। गौरीशंकर भन्छन्, ‘बिरामीले त्यहाँ ठाउँ पाउन एक वर्षसम्म कुर्नुपर्थ्यो।’

उहिलेको काठमाडौं १: ‘पाँच मोहोरमा एक भारी दाउरा बेच्थें’

उहिलेको काठमाडौं २ : ‘मान्छेले गाडी बोकेर ल्याएको हेर्न जान्थेँ’

उहिलेकाे नेपाल - ३ : ‘डोकोमा चढेर काठमाडौं आएको हुँ’

राणाप्रधानमन्त्री चन्द्रशमशेरकी पत्नीको मृत्यु पनि क्षयरोगले भएको थियो, ११ फेब्रुअरी १९०५ मा। पछि चन्द्रशमशेर राणाको मुखबाट रगत बग्न थाल्यो। यसरी चन्द्रशमशेरले ‘टोखा स्यानिटोरियम’ बनाउन २० लाख रूपैयाँ दिएर बैंकमा राख्न लगाएका थिए। सुविधासम्पन्न स्यानिटोरियम बन्न बाँकी नै थियो, अकस्मात चन्द्रशमशेर राणाको मृत्यु भयो। उनको मृत्युपछि भीमशमशेर प्रधानमन्त्री भए। स्यानिटोरियमको निर्माण कार्य रोकियो। पछि जुद्धशमशेरको पालामा आएर मात्र टोखा स्यानिटोरियमलाई १९९१ सालमा पूर्णता दिइयो।’

क्षयरोग सरुवा रोग भएकाले चन्द्रशमशेरले उति पर सल्लाघारीमा स्यानिटोरियम बनाउन लगाएको बुझिन्छ। जसरी पछिल्लो समय कोभिडका बेला सरकारले विभिन्न ठाउँमा अस्थायी क्वारेन्टिन बनाएको थियो।

चन्द्रशमशेरले बनाउन लगाएको त्यो ‘क्वारेन्टिन’मा गौरीशंकरलाल पुग्दासम्म अफिसर्स वार्ड, जनरल वार्ड, एक्स–रे, ल्याबोरेटोरी, डाक्टर र नर्सका लागि क्वार्टर, कुल्ली वार्ड, सरसफाइ गर्ने कर्मचारी बस्ने वार्ड बनेको थियो। उक्त अस्पताल उद्घाटनको समयसम्म नेपालमा क्षयरोग उपचार गर्ने विशेषज्ञ उत्पादन भएका थिएनन्। त्यसैले बम्बईबाट विशेषज्ञ झिकाइएको थियो। पछि आधुनिक उपचार पद्धति आएसँगै स्यानिटोरियमको आवश्यकता घट्दै गयो।

महाकवि देवकोटा १५ कटेजमा बसे

टोखा स्यानिटोरियममा राणाहरूको क्लास अनुसार ए, बी, सी नाम दिएर कटेज बनाइएको थियो। गौरीशंकरका अनुसार, ए क्लासका राणा ए कटेजमा, बी क्लासका राणा बी कटेजमा र सी क्लासका राणाहरू सी कटेजमा बस्थे।

गौरीशंकर हुँदा त्यहाँको बी कटेजमा त्रिभुवनकी भाउजु उपचार गर्न बसेकी थिइन्। उनी ह्विलचेयरमा हिँड्डुल गर्थिन्। यसै कटेजमा हृदयचन्द्र सिंह पनि आएर बसेका थिए।

‘एकपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाले क्वार्टर खाली छ भनी सोध्नुभयो, मैले छ भनेँ। उहाँको पेटको अप्रेसन भएको थियो। हावापानी राम्रो भएकाले यहाँ आउन चाहनुभएको रहेछ,’ गौरीशंकर भन्छन्, ‘उहाँ एसिस्टेन्ट सुपरिटेन्डेन्टको खाली क्वार्टरमा आएर १५ दिन बस्नुभयो।’

देवकोटालाई  भेट्न संगीतकार नातिकाजी, शिवशंकर, पुष्प नेपाली, बच्चु कैलाश र गणेशमान सिंह लगायत जान्थे। उनको अतिथि भएर गएका नातिकाजीको टोलीले अस्पतालको हलमा सांगीतिक कार्यक्रम गर्थे। यसरी उनको संगीतमा सबै बिरामी रमाउँथे।

गौरीशंकरका अनुसार, त्यहाँबाट हस्तलिखित ‘संगम’ नामक पत्रिका निस्कन्थ्यो। त्यस पत्रिकामा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र चित्रधर हृदयले लेख–रचना छाप्थे। उनी भन्छन्, ‘पत्रिका प्रकाशित भएको दुई वर्षमा मेरो सरुवा भयो र  पत्रिका पनि बन्द भयो।’

सुविधामा घोडा

टोखा स्यानिटोरियम जान बाटो बनाइएको थियो। जहाँ जिपसँगै घोेडाहरू हिँड्थे। गौरीशंकरलाई एउटा घोडा दिइएको थियो। घोडालाई हेरचाह गर्ने सइस (व्यक्ति) को साथमा घोडालाई चाहिने दाना पनि तोकिएको मात्रामा दिइन्थ्यो। एकपटक घोडाबाट लडेदेखि उनी साइकल चढ्न थाले।

वीर अस्पतालनजिकै सेन्ट्रल चेस्ट क्लिनिक थियो। त्यहाँका स्वास्थ्य विशेषज्ञ भिजिट गर्न टोखा जान्थे। गौरीशंकर पनि कहिलेकाहीँ ओहोरदोहोर गर्नुपर्दा साइकल चढ्थे।

उहिलेकाे नेपाल - ४ :‘एसएलसी दिन १३ दिन हिँडेर काठमाडौं आएँ’

उहिलेकाे नेपाल - ५ : युवराज वीरेन्द्रलाई भनेँ, ‘हजुरले फेरि भात खुवाएजस्तो गर्नुपर्‍यो’

उहिलेकाे नेपाल  ६ : राजकुमारी श्रुति फूल किन्न आइन् र भनिन्- ‘सरकार होइन, छोरी भन्नुस्, आमा’

२०१७ सालमा राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि उनी त्यहाँबाट सरुवा भए, डेपुटी मेडिकल सुपरिटेन्डेन्टका रूपमा। त्यतिबेला उनका सहपाठी डा. नागेश्वरप्रसाद सिंह स्वास्थ्यमन्त्री भएका थिए। नागेश्वरप्रसाद र गौरीशंकरले पटनामा सँगै पढेका थिए। गौरीशंकर कहिलेकाहीँ नागेश्वरप्रसादको क्वार्टरमा जान्थे। एक दिन नागेश्वरले भने, ‘टोखा कति बस्नुहुन्छ ? अब म यहाँ काठमाडौंमा सारिदिन्छु।’ त्यतिखेर सेन्टर चेस्ट क्लिनिकको इन्चार्ज थिए, डा. यज्ञराज जोशी। त्यहीँ डा. जोशी स्वास्थ्य विभागका निर्देशक भएर जाँदा गौरीशंकर मेडिकल सुपरिटेन्डेन्ट भए।  

‘पञ्जी प्रथा’अन्र्तगत विवाह

गौरीशंकरले भारतको राजनगरस्थित रामेश्वर हाई स्कुलबाट सन् १९४१ मा एसएलसी (माट्रिकुलेसन) पास गरेका हुन्। उनी भन्छन्, ‘मेरो ब्याचमा २५ जनाले एसएलसी दिएका थिए, त्यसमध्ये म दोस्रो श्रेणीमा पास भएँ।’ उनले त्यहाँको छात्रावासमा बसेर पढेका हुन्। उतिबेला मासिक खर्च ३० भारतीय रूपैयाँ लाग्थ्यो।

उनका बुवा जनार्दनलाल दासले भारतबाट बिए.डी पास गरेका थिए। उनकी आमा भवानीदेवीले विद्यालय शिक्षा नलिए पनि सामान्य लेखपढ गर्न सक्थिन्। पारिवारिक माहोल शिक्षित भएकाले उनले शिक्षालाई सरासर अगाडि बढाए। उनले सन् १९४५ मा बिएससी गरे । भारतकै टिएनमे कलेज भागालपुरबाट मेडिकल शिक्षा पास गरे। पटनामा प्रिन्स अफ वेल्स मेडिकल कलेजबाट सन् १९५१ मा उनी डाक्टर बने।

उनले १८ वर्षको उमेरमा भारतको दरभंगा भन्ने ठाउँबाट विवाह गरे। उनले विवाह गर्दा पत्नी गंगादेवी १३ वर्षकी थिइन्। मैथिली समाजमा विवाहको कुरा मिलाउने काम पञ्जिकारले गर्थे। पञ्जिकारलाई केटा र केटी पक्षको पारिवारिक विवरण सबै थाहा हुन्छ। किनकि उनीहरूसँग केटा र केटी पक्षको वंशावली हुन्छ। मिथिला समाजमा पञ्जी व्यवस्था अर्थात् आफ्नो वंशावली लेखाउने चलन छ।

विवाहको कुरा छिन्न केटी पक्ष र केटा पक्षका मानिस कुनै मन्दिर वा सार्वजनिक स्थलमा भेला हुन्छन्। विवाह छिनिएपछि केटा र केटी पक्षलाई पञ्जिकारले प्रमाणपत्र दिइन्छ। उनी विवाह गर्न घोडा चढेर गएका थिए। विवाहका लागि जाँदा बेहुलीको घरमा तीन दिनसम्म बस्नुपर्थ्यो। विवाह सकेर पनि जन्तीले बेहुलालाई केटीको घरमै छाडेर आउने चलन थियो। बेहुलीको घरबाट शुभमुर्हूत हेरी त्यसको चार–पाँच दिनमा बेहुला पक्षलाई पुनः निम्तो दिइन्थ्यो। यसपछि मात्र बेहुलाले जन्तीसँगै बेहुली लिएर घर फर्कन्थे। उनको बिहेमा पनि त्यस्तै भयो। यस रीतिलाई द्विरागमन अर्थात् धुरी अन्माउने भनिन्छ।

उतिबेला विवाहमा केटालाई उपहारका रूपमा घडी, त्यो बेला चलेको कलम (फाउन्टेन, पार्कर, सेफर), इंल्यान्डमा बनेको साइकल दिने चलन थियो। त्यस्तै, बेहुलीको मुख हेर्न गहना वा पैसा दिने चलन थियो। जन्ती गएका सबैले बेहुलीलाई पैसा दिएर मुख हेर्थे। विवाहमा कुलदेवताको पूजा पनि विशेष रूपमा गरिने गौरीशंकरलाल बताउँछन्। उनको विवाहताका सुनको भाउ ४० रूपैयाँ तोला थियो।

राजा महेन्द्रबाट धन्यवादको चिठी

जाइकाले एक्सपो कार्यक्रम आयोजना गरेको थियो। जसमा विभिन्न क्षेत्रमा कार्यरत ७० नेपालीमध्ये उनी पनि स्वास्थ्य मन्त्रालयको तर्फबाट जापान गएका थिए। यस कार्यक्रममा राजा महेन्द्रले नेपाली स्टलको उद्घाटन गर्दै थिए। महेन्द्रलाई जापानको एयरपोर्टमा लिन गौरीशंकर पनि पुगेका थिए। उनी भन्छन्, ‘मलाई देख्नेबित्तिकै राजा महेन्द्रले भन्नुभएको थियो– ए डाक्टर किन तिमी यहाँ आएको ! राजाको तात्पर्य लिन आउननपर्ने भन्ने थियो। म भने एक–दुई भेटमै राजाले आफूलाई याद गरेकामा छक्क परेँ।’

उहिलेकाे नेपाल ७ : आँखा अगाडि झुन्डिएको शुक्रराज शास्त्रीको शव...

उहिलेकाे नेपाल ८ :‘दर्शनशास्त्रमा विद्यावारिधि गरेर राजा महेन्द्रसँग जागिर मागेँ’

उहिलेकाे_नेपाल ९ :‘राजा त्रिभुवनका लागि राणाशासकले दुई सय जति केटी राखिदिएका थिए’ 

उहिलेकाे नेपाल १० :राधादेवी जोशी

उहिलेकाे नेपाल ११ : ओलीका ‘तमासे वकिल बाजे’ले आफ्नै घरका तमसुक च्यातेका थिए

गौरीशंकरले बीचमा थप अध्ययनका लागि बेलायत गएर फर्के। फर्केपछि उनी र साथी जयनारायण गिरिले ठमेलस्थित जुद्धोदय स्कुलका दुई सय विद्यार्थीलाई टिबी लागे वा नलागेको भनी ‘हिफ टेस्ट’ गरेका थिए। उनीहरूको उक्त परीक्षण सफल भएकोबारे तुलसी गिरिले राजालाई जानकारी गराएका थिए। यो थाहा पाएपछि राजा महेन्द्रले उनलाई धन्यवादसहित चिठी लेखेका थिए। त्यसले आफूलाई ऊर्जा मिलेको गौरीशंकर बताउँछन्। भन्छन्, ‘त्यो चेकजाँच एकदमै नयाँ थियो। यसबारे मैले एक लेख लेखेको छु, त्यो लेख जनरल अफ नेपाल मेडिकल एसोसियसनले सन् १९६५ मा प्रकाशित गरेको थियो।’

राजा महेन्द्रले आफ्नी रानी इन्द्रराज्यलक्ष्मीको निधनपछि उनकै सम्झनामा परोपकार प्रसूति गृह खोले। त्यतिबेला आफूले उक्त अस्पताललाई प्रसूति मात्र नबनाएर ‘हस्पिटल फर वुमन’ बनाउनुपर्छ भन्ने प्रस्ताव महेन्द्रलाई राखेको गौरीशंकरलाल बताउँछन्। तर विविध कारण आफ्नो प्रस्तावले मूर्त रूप लिन नपाएको उनको भनाइ छ।

(‘उहिलेको नेपाल’ स्तम्भ मार्फत हामीले ८० बर्ष उमेरको हाराहारी पुगेका हजुरबा र हजुरआमाबाट नेपाली समाजको कथाहरु खोतल्ने प्रयाश गरेका छौँ । तपाईहरुसँग पनि आफ्नो जीवनका कथाहरु भन्न सक्ने  हजुरबा अथवा हजुरआमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामीले प्रत्येक हप्ता ‘उहिलेको नेपाल’ स्तम्भ प्रकाशित गर्नेछौ। –प्रधानसम्पादक)

 

प्रकाशित मिति: ११:०२ बजे, शनिबार, चैत १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्