पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक छ : अध्यक्ष दाहाल
उनले संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै जनयुद्धमार्फत जनतालाई गोलबन्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए।
काठमाडौं, साउन ७ : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन्।
बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरू एकजुट हुनु पर्ने भन्दै दलाल पुँजीवाद सबै मिलेर लाग्नु पर्ने बताए।
उनले संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै जनयुद्धमार्फत जनतालाई गोलबन्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए।
‘संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई माक्र्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए। नेपालमा पनि संविधान सभाको बहस पहिलेदेखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन,’ अध्यक्ष दाहालले भने, ‘माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्ध गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो।’
नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै दाहालले कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे।
वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्ने पनि उनको भनाई छ।
अध्यक्ष दाहालले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान पनि गरेका छन्।












