Kathmandu Press

पत्रकारका पनि प्रेरणा स्रोत ‘वस्ती सर’

वस्ती जुझारु लेखक रहेका कारण पत्रकारका लागि पनि प्रेरणाका स्राेत थिए। पत्रपत्रिकामा प्रकाशित समाचार र विचारमा सधैं उनको औधी चाख हुने गर्दथ्यो। खासगरी अदालत, भ्रष्टाचार, मानवअधिकार, व्यथितिका चाख लाग्दा बिषय उनका रुचीभित्र पर्दथे। कुनै बेला उनी पत्रिकाका स्तम्भकार समेत रहे।
पत्रकारका पनि प्रेरणा स्रोत ‘वस्ती सर’

अध्यापन, कानुन व्यवसाय, न्याय र मानवअधिकार क्षेत्रको अनुभवी व्यक्तित्व प्रकाश वस्तीको हृदयघातका कारण ७१ वर्षको उमेरमा परमधाम भयो। न्यायकर्मीका रुपमा आलोचनात्मक चेत भएका सिद्धहस्त व्यक्ति थिए वस्ती। कानुनव्यवसायीमा रहँदा विशेषगरी देवानी कानुनका विज्ञका रुपमा उनको राम्रो परिचय थियो। छोटो समय न्यायाधीश हुँदा देवानी विवाद जस्तैः अंश, सम्पत्ति, जालसाली, किर्ते, ठगी एवम् संवैधानिक विवादमा केही नजिर प्रतिपादन गरेर वस्तीले न्यायमा थिति बसाउन मद्दत गरे। 

करिब ३५ वर्षको वकालतको अनुभवपछि २०६५ सालमा वस्ती सर्वोच्च अदालतको अस्थायी न्यायाधीश भए। तर पाँच बर्ष अस्थायी न्यायाधीश बनेका उनी प्रतिशोधको शिकार बने। उनले अस्थायीबाटै घर फर्किनु परेको थियो। अस्थायीबाट स्थायी बनेको भए एक वर्ष प्रधानन्यायाधीश हुने रोलक्रममा थिए उनी। संभवतः सुशीला कार्कीपछि उनले न्यायपालिकाको नेतृत्व गर्न पाउँथे। वास्तवमा वस्ती कानुन, न्याय र मानवअधिकारको क्षेत्रमा शालीन र अध्ययनशील व्यक्तिका रुपमा चिनिएका थिए।

दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश रहेका बेला न्याय परिषदले उनलाई अस्थायी न्यायाधीशबाटै घर फर्कन बाध्य तुल्याएको थियो। तत्कालिन प्रधानन्यायाधीश शर्माले आफ्नो आश्रम नजिकैको मन्दिर देखाएर ‘ग्रहशान्ति गराउनुपर्यो’ भनेको किस्सा पनि वस्तीले जिवित छँदा सुनाउने गर्दथे। आफूलाई सहज रुपबाट स्थायी गर्ने छेकछन्द नदेखेपछि  वस्ती सर्वोच्चबाट बिदाबारी भए। सर्वोच्च अदालतको न्यायाधीशबाट घर फर्केपछि कानुनी बन्देजका कारण कानुनव्यवसाय गर्नबाट समेत बञ्चित भए।

Hardik ivf

prakash_osti_1635678104-1735362419-1735971576.jpg
 

न्यायपालिकामा वस्तीको बलियो उपस्थिति रहँदारहँदै पनि तत्कानीन न्याय परिषदबाट किन गलहत्याइयो ? भन्ने प्रश्न अझै पनि निरुत्तरित छ। न्यायका शुभचिन्तकको मानसपटलमा सधैं घुमिरहने छ। सर्वोच्चमा छँदा अदालतमा अनियमितता, भ्रष्टाचार, बिचौलियाबाट न्यायमा विचलन रहेको भन्दै बृहद प्रतिवेदन तय भएको थियो। अनुपराज शर्मा प्रधानन्यायाधीश छँदा गठित विकृतिविहीन न्यायपालिका अभिवृद्धि अध्ययन समितिमा वस्तीले पनि सदस्यमा रहेर काम गरेका थिए। 

न्यायमा ‘विचौलिया’ भन्ने नाम उनैले दिएका थिए। विशेषगरी उनी न्यायमा पोख्त थए। कानुनव्यवसायी छँदा पनि उनी २०६४ सालमा सर्वोच्च अदालत बार एशोसिएसनद्वारा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा गठित ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’ को सदस्य भएर काम गरेका थिए। त्यो समिति सर्वोच्च अदालत बार एशोसिएसनका तत्कालिन अध्यक्ष प्रकाशनमानसिंह राउत (हाल प्रधानन्यायाधीश) ले गठन गरेका थिए। 

त्यतिखेर पनि अदालतमा अनियमितता, भ्रष्टाचार र बिचौलिया व्याप्त रहेको भनेर प्रतिवेदन बनाइएको थियो। वस्तीसँगैका सहकर्मी न्यायाधीशहरु उनलाई मुद्दा बुझ्ने, भाषामा कमाण्ड, गहिरो अध्ययन अन्वेषण गर्ने व्यक्तित्वका रुपमा चिन्दछन्। अनेक चलखेलका कारण सर्वोच्चको स्थायी न्यायाधीश हुनबाट रोकिएपछि वस्ती राष्ट्रिय मानवअधिकार अयोगको सदस्य बने। ६ वर्ष आयोगमा बिताए। आयोगबाट विदा भएपछि पछि वस्ती न्यायिक र कानुनी लेखनमा तल्लिन थिए।

कानुनव्यवसायसँगै लामो समय ल कलेजमा प्राध्यापन गरेका वस्तीले कानुनी एवं न्यायिक पुस्तक, पत्रिका र जर्नल सम्पादनको समेत भूमिकामा रहे। कानुन व्यवसायी रहँदा सर्वोच्च अदालत बार एशोसिएशनको सचिव, नेपाल बार एशोसिएशनको महासचिवसम्म बने। उनले पढाएका धेरै विद्दार्थी आज अदालतका न्यायाधीश, अफिसर र अब्बल कानुनव्यवसायीका रुपमा दरिएका छन्। साय यसै कारण पनि सबैबाट ‘वस्ती सर’ का रुपमा सधैं आदर र सम्मान पाइरहे। उनले दर्जनौं कानुनी पत्रपत्रिकामा सम्पादन गरे। उनको संपादनमा कानुनव्यवसायी क्लवद्वारा संपादित ‘कानून’ पत्रिका न्याय क्षेत्रमा निकै चर्चित हुने गर्दथ्यो। कानुन र न्यायिक इतिहास सम्बन्धी थुप्रै पुस्तक लेखे। 

Prakash-Wasti--1735971645.jpg
 

उनी जुझारु लेखक रहेका कारण पत्रकारका लागि पनि प्रेरणाका स्राेत थिए। पत्रपत्रिकामा प्रकाशित समाचार र विचारमा सधैं उनको औधी चाख हुने गर्दथ्यो। खासगरी अदालत, भ्रष्टाचार, मानवअधिकार, व्यथितिका चाख लाग्दा बिषय उनका रुचीभित्र पर्दथे। कुनै बेला उनी पत्रिकाका स्तम्भकार समेत रहे। यसरी पत्रकारिताका अविभावक पनि थिए।  

वस्ती २०६५ मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति भई २०७० सालसम्म न्यायमूर्तिको भूमिकामा रहे। सर्वोच्चको अस्थायी न्यायाधीशबाट अवकाश भएपछि मानवअधिकारकर्मीका रुपमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य बनेर मुलुकलाई योगदान गरेका थिए। वस्तीको जिवनकाललाई समग्रमा ६ वटा आयामबाट चियाउनु उपयुक्त हुने छ। पहिलो, २०३४ देखि २०५५ सालसम्म कानुन प्राध्यापनको भूमिका। दोस्रो, २०३३ देखि २०६५ सालसम्म निरन्तर कानुनव्यवसायीका रुपमा। तेस्रो, कानुन पत्रिका, जर्नलको संपादक बनेर कानुनी साहित्य र पत्रकारिताको भूमिका। चौथो, कृतिकार र अन्वेषक। पाँचौं न्यायकर्मी। र, छैटौं सक्रिय मानवअधिकारकर्मी। यसरी उनको बहु आयामलाई खुट्याउन सकिन्छ। एउटै कोणबाट मात्र हेरियो भने उनको परिचय अधुरो हुनेछ।  

यसरी उनले जुनसुकै पदीय जिम्मेवारीमा रहँदा इमान्दारी र कुशलतापूर्वक खोटरहित ढंगले आफ्नो पदीय जिम्मेवारी निर्वाह गरेको पाइन्छ। हरेक क्षेत्रमा काम गर्दा उनी बेदाग थिए। हठी र सपाट थिए। आर्थिक रुपमा लोभ र पाप उनमा रत्तिभर देखिएन। एक असल गुरु, न्यायका मर्मज्ञ, मानवअधिकारका अथक अभियन्ताको आज रिक्तता छाएको छ। इतिहासको एउटा दियो निभेको छ। कानुनी इतिहास लेखनको पाटो अधुरो छाडेर वस्ती सर सबैबाट विदा भएका छन्। उनले देशका लागि लगाएको गुन सदा स्मरणीय रहेको छ। सधैं हाम्रो सम्झनामा रहनेछन्।

प्रकाशित मिति: १२:०६ बजे, शनिबार, पुस २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्