मैले चिनेका दमन दाइ
चित्त नबुझेको कुरा सामुन्नेमै ठ्याङग भन्नसक्ने उनको स्वभाव नै हो । बेलामौकामा न्यायाधीश र वकीलको विषयमा उहाँले गरेका छेडखानी पत्रकारका लागि रोचक र घोचक हुने गर्दथे ।दमननाथ ढुंगाना– न्याय, कानुनव्यवसाय, राजनीति, मानवअधिकार र नागरिक अभियानमा सम्झिने एउटा गर्विलो नाम। आज अनयास स्वर्गवासको खबर सुन्दा मन बैचैन भइरहे छ। दमन दाइको नाम लिंदा यसै पनि श्रद्धा जागेर आउँछ।
उनै व्यक्तित्वसँग खासगरी कानुन व्यवसाय र मानवअधिकारवादीका रूपमा दुई दशक अघि मेरो चिनजान भएको थियो। दमन दाइको नाम लिँदै हँसिलो चेहरा, सुकिलो आकृति, प्रष्ट बोली, साधारण व्यक्तित्व, विद्रोही स्वभाव, सदाचारी बानीव्यहोरा, लोकतान्त्रिक छवि। यी चिज मेरो आँखाको अघि आउँछ।
म यो रूपलाई बिर्सन सक्दिनँ। ‘दमन दाइ १’ मैले प्रेमपूर्वक गरिने संबोधन हो यो। यही व्यक्तित्वसँग मेरो भेट पत्रकारिताका क्रममा अदालती रिपोर्टिङ गर्न सर्वोच्च अदालत आउँदा दुई दशक अघि भएको हो। अघि उभिएर ‘दाइ नमस्कार’ भन्दा पनि गौरव अनुभूति हुन्थ्यो। जतिबेला म अदालती पत्रकारिताकाको सुरूवाती क्षणमै थिएँ। निर्दलीय पञ्चायतको प्रतिकूल राजनीतिक अवस्थामा लोकतन्त्रको पक्षमा डटेर आन्दोलनमा होमिएको मात्र नभइ आस्थाका वन्दी र मानवअधिकारको पक्षमा वकालत गरेको व्यक्तित्वका रूपमा मैले इतिहासबाट बुझ्ने मौका पाएको थिएँ।
जतिबेला कानुन र अदालती पत्रकारिता सिक्ने क्रममै थिएँ, दमन दाइकोे प्रेमपूर्ण व्यवहारबाट म प्रभावित बनेको थिएँ। त्यो क्षण आज ताजा स्मरणमा आएको छ, फेरी एकपल्ट। मैले थाहा पाएअनुसार नागरिक स्वतन्त्रता, न्याय, समानता, मुलुकको समृद्धि अनि खुला परिवेशको आकांक्षा लिएर दमन दाइ २०१७ सालको शाही ‘कू’ पश्चात नेपाली काँग्रेसको राजनीतिमा होमिए। विपी कोइरालाको नेतृत्वको सरकार अपदस्थ गरेपछि उहाँले पञ्चायती व्यवस्थाविरूद्ध शंखनाद गरे। यता न्याय क्षेत्रमा नेपाल बारको महासचिव र सर्वोच्च अदालत बारको अध्यक्षका रूपमा पञ्चायती निरंकुशताविरूद्ध कानुन व्यवसायीका ‘कमाण्डर’ को भूमिका थियो। जेल जीवन अनि लोकतन्त्रको पुनर्बहालीको लागि भएको संघर्षको गाथा यो छोटो स्मरणमा सविस्तार गर्न सकिने बिषय होइन।
दमन दाइ, गान्धी र विपी कोइरालाको आदर्शबाट प्रेरित व्यक्तित्व रहेको कुरा मैले सुनेको थिएँ। पञ्चायत ढलेर मुलुकमा बहुदल पुनःस्थापनासँगै २०४८ सालको निर्वाचनपछि सभामुखको गहन् जिम्मेवारीमा रहे। सिद्धान्तप्रतिको उनको कट्टरता व्यवहारबाटै देख्न र अनुभव गर्न सकिन्थ्यो। वास्तवमा उनी कुनै पदभन्दा माथिल्लो श्रेणीका आदरणीय व्यक्तित्व थिए भन्दा फरक परोइन। जीवनको अन्तिम क्षणसम्म आफ्नो विचार र सिद्धान्तबाट उनी विचलित भएनन्।
वास्तवमा दमन दाइ हक्की स्वभाव र स्पष्ट वक्ता थिए। चित्त नबुझेको कुरा सामुन्नेमै ठ्याङग भन्नसक्ने उनको स्वभाव नै हो। बेलामौकामा न्यायाधीश र वकीलको विषयमा उहाँले गरेका छेडखानी पत्रकारका लागि रोचक र घोचक हुने गर्दथे। कानुनी इतिहासमा ढुंगानाको व्यक्तित्व यति माथि छ– कसैले आचारणलाई लिएर औंला ठड्याउने हिम्मत गर्न सक्दैन। थुप्रै कानुन र न्यायकर्मीको प्रगतिमा उनको पसिना सिंंचिएको छ।
वैयक्तिक स्वतन्त्रता, भ्रष्टाचारविरूद्ध शुसासन र नागरिक अधिकारको पक्षमा निकै खरो व्यक्तित्व थिए, दमन दाइ। वास्तवमा समिपमा रहँदा बस्दा एकखालको पारिवारिक वातावरण जस्तै न्यानोपन हुन्थ्यो।
एक अभिभावकको रूपमा कानुन व्यवसायीलाई मात्र नभै पत्रकारलाई पनि बारम्बार हौषला र प्रेरणा दिइरहे। जाँगर मर्न दिएनन्। सधैं अघि बढ्न हौस्याइरहे। उनका विचार गहिरा, घतलादा, परिपक्व र मर्मस्पर्शी हुन्थे। कुरा सुन्दा सच्चा अभिभावको आभाष हुन्थ्यो।
सिद्धान्तप्रतिको कट्टरता व्यवहारबाटै देख्न र अनुभव गर्न सकिने कुरा हुन्। वास्तवमा कुनै पनि पद भन्दा माथिल्लो श्रेणीका आदरणीय नेता थिए। मैलै जे जति चिनेँ– व्यथितिविरूद्ध निर्मम व्यक्तित्वका रूपमा। मानिसमा भएका गुणको कदर गर्ने हो। नभएका गुण खोजेर पाईँदैन। अग्रज मार्गदर्शक र पत्रकारका पनि कुशल अभिभावक दमन दाइ। थोरै स्वाभिमानी कानुनव्यवसायी मध्येका एक। न्यायजगतमा असिम स्नेह र श्रद्धा पाउने इतिहास पुरूष। बहुआयामिक, सरल स्वभाव, निश्चल व्यवहार। साधारण व्यक्तित्वभित्र विराट चरित्र। सादा प्रस्तुती । हक्की स्वभाव। जुझारूपन। दमन दाइ जे थिए– सबैका लागि खुला किताब।
तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिका इतिहासमा ताजै छ। शान्ति प्रक्रियाको पृष्ठभूमि तयार पार्न खलेको भूमिका इतिहासमा सदा अविस्मरणीय रहने छ। दमन दाइ भन्ने गर्थे– ‘प्रजातन्त्र र स्वतन्त्रता नहुँदा के हुन्छ भन्ने ०१७ साल पुस १ गतेपछि भोगी सकिएको थियो। प्रजातन्त्रप्रतिको कट्टरता मेरा लागि धार्मिक कट्टरता जस्तै थियो।’ राजदरबारले प्रजातन्त्र नसहेको ठम्याई उनको थियो। नेपालको विविधताका लागि लोकतान्त्रिक गणतन्त्र आवश्यक रहेको बताउँदै वैज्ञानिक ढंगले कार्यान्वयन गर्नुपर्ने आवस्यकतामा जोड दिन्थे उनी।
दमन दाइले दिएको प्रेरणा वा सन्देश भन्नु अन्यायविरूद्ध लड्ने र सत्यको पक्षमा दृढताका उभिने भन्ने नै हो। आफ्नो जिवनको आखिरी दिनसम्मै आफ्नो विचार–दर्शनमा पत्थर झैं कट्टर बनेर अडिग रहे। प्रायः कार्यक्रमहरूमा भेटघाट भइरहने यी अग्रज व्यक्तित्वसँग पछिल्लो समय भेटघाट पातलियो। सायद विरामी भएर होला। एक्कासी निधनको खवर सुन्दा एकछिन त टाउको गहरूँगो भयो। मुटु फुलेर आए जस्तो भयो। छाँगाबाट खसे झैं भएँ। अझै दमन दाइ यतै कतै भए जस्तो भान परे पनि अब उनी यो संसारबाट परलोक भइसकेका छन्।
दमन दाइले देशका लागि पुर्याएको योगदान इतिहासमा स्वर्णअक्षरले कुँदिने छन्। अविश्रान्त योद्धाप्रति हार्दिक श्रद्धासुमन।