Kathmandu Press

अङ्ग्रेजले हारेको त्यो दिन

नेपालको इतिहासकै एक महत्त्वपूण यस घटनालाई स्मरण गर्दै वि.सं. २०६७ सालदेखि सिन्धुलीगढीमा विजयोत्सव मनाउने गरिएको छ। तर सिन्धुलीगढीमा यस्तो विजयोत्सव चाहिँ कात्तिक २४ गते मनाउने गरिएको छ।
अङ्ग्रेजले हारेको त्यो दिन

गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ असोज १५ गते नुवाकोट विजय गरेर नेपाल एकीकरण अभियान सुरु गरेका थिए। त्यसको २३ वर्षपछि वि.सं. १८२४ असोज १५ गतेकै दिन पृथ्वीनारायण शाहलाई इतिहासमै सबैभन्दा ठुलो उपलब्धी हात लागेको पाइन्छ। संसारभर साम्राज्य विस्तार गरेको ब्रिटिसले इतिहासमै पहिलो शर्मनाक हार व्यहोरेको दिन हो, वि.सं. १८२४ असोज १५ गते।

१७औँ शताब्दीको सुरुवाततिरै व्यापारको सिलसिलामा भारतको गुजरातमा पर्ने सुरतमा उद्योग खोलेको ब्रिटिसले अन्ततः सिङ्गो भारत नै कब्जामा लिएर इस्ट इन्डिया कम्पनीमार्फत औपनिवेशिक शासन गरिरहेको थियो भने संसारभर साम्राज्य विस्तार गरेको ब्रिटिसको प्रवेश जहाँ पनि व्यापारकै सिलसिलामा भएको पाइन्छ।

तीव्र औद्योगिक तथा आर्थिक विकास गरेको बेलायत भारतबाट व्यापार तिब्बतसम्म विस्तार गर्न चाहन्थ्यो। त्यसका लागि अहिलेको नेपालको भूमीहुँदै जानुको विकल्प थिएन। तर नेपाल एकीकरण अभियानलाई तीव्रता दिइरहेका पृथ्वीनारायण शाह र उनका सेना अङ्ग्रेजका लागि बाधक थियो।

Hardik ivf

नुवाकोट कब्जा गरेपछि नेपाल खाल्डो (काठमाडौँ उपत्यका)मा आँखा लगाएका पृथ्वीनारायण शाहले पटक–पटक हार व्यहोरे पनि तेस्रोपटकमा कीर्तिपुर विजय गरेरै छाडे। कीर्तिपुर विजय प्राप्त गर्नुअघि नै गोर्खाली सेनाले मकवानपुर, नगरकोट, नाल्दुममाथि चढाइँ गरिसकेको थियो। यसरी चारैतिरबाट आर्थिक नाकाबन्दी गर्दै आएका गोर्खालीबाट आफ्नो देश खतरामा परेको कान्तिपुरका राजा जयप्रकाश मल्लले चाल नपाउने कुरै भएन।

आत्तिएका जयप्रकाश मल्ललाई काठमाडौँमा रहेका पादरी जोसेपीले अङ्ग्रेजसँग सैनिक सहायता माग्न सुझाव दिए। अन्ततः उपत्यकामाथि पृथ्वीनारायण शाहले लगाएको नाकाबन्दीका कारण थुनिएका काश्मिरी मुसलमान व्यापारी उमदालाई वकिल र नागा वैरागी रामदासलाई उनका सहायक बनाएर जयप्रकाश मल्लले ई.सं. १७६७ मार्चको आरम्भमा सिन्धुलीको बाटो बेतिया पठाए।

1(1)-1727773877.jpg

जयप्रकाश मल्लले सहयोग याचना गर्दै पठाएको पत्र र काठमाडौँको परिस्थिति बुझेपछि इस्ट इन्डिया कम्पनी सरकारले धेरै लाभ हुने निष्कर्ष निकाल्यो। अन्ततः पटनाका हाकिम रम्बोल्डले कप्तान जर्ज किनलकलाई सैनिक अभियानको नेतृत्वको जिम्मेवारी दिए। उनले जयप्रकाश मल्लका वकिलहरूसँग भेट गरी गोर्खाली सेनाको सङ्ख्या, उनीहरूले प्रयोग गर्ने हातहतियार, रणकौशल, सैनिक अभियान दल जाने बाटो, त्यसको दूरी, बास आदिका बारेमा सूचनाहरू सङ्कलन गरे।

जयप्रकाश मल्लको सहयोग याचना र अङ्ग्रेज अधिकारीहरूको चलखेलबाट पृथ्वीनारायण शाह बेखबर थिएनन्। उनले आफ्ना गुप्तचरहरूमार्फत् यी सबै कुरा पत्ता लगाइसकेका थिए। यसैक्रममा उनले अङ्ग्रेज अधिकारीहरूको आँट बुझ्ने र उनीहरूलाई अलमल्याउने रणनीतिअनुसार रम्बोल्डलाई यदि आफ्नो सुरक्षा प्रबन्ध हुन्छ भने भेटघाटका लागि आफू पटना आउन तयार रहेको पत्रसमेत पठाए।

तर सँगसँगै पृथ्वीनारायण शाहले अङ्ग्रेजहरूबाट हुन सक्ने हमलाको प्रतिकार गर्न आवश्यक तयारी पनि गर्न थालिसकेका थिए। अङ्ग्रेजहरूले सिन्धुलीतिरबाट आक्रमण गर्न सक्ने अनुमानका आधारमा उनले खजाञ्ची वीरभद्र उपाध्याय र सिकारी सरदार वंश गुरुङलाई करिब पाँच सय सैनिकका साथ सिन्धुली भञ्ज्याङमा रहेको पौवागढी पठाए।

पृथ्वीनारायण शाहले कीर्तिपुरमा रहेका सात सय जति सैनिकका साथ काजी वंशराज पाँडे र काजी श्रीहर्ष पन्थलाई अप्रिलको आन्तिमतिरै सिन्धुली पठाइसकेका थिए। यसैगरी उनले हरिहरपुरतिरबाट पनि आक्रमण हुने सम्भावना देखेर तीन सय जति सैनिक हरिहरपुरगढीमा पठाएका थिए। उनले काजी वंशराज पाँडेमार्फत सिन्धुलीगढीदेखि जनकपुरसम्मको बाटामा रहेका गाउँहरूका बासिन्दालाई शत्रु सैन्यले लुटपाट गर्नसक्ने सम्भावना भएको भन्दै अलि पर सुरक्षित स्थानहरूमा बसाइँ गर्न आदेशसमेत दिए।

पृथ्वीनारायण शाहले प्रत्याक्रमणको तयारी गरिरहेका बेला कप्तान किनलक उमदा र रामदासलाई अगाडि लगाएर १८ कम्पनीमा बाँडिएर २४ सय बन्दुकधारी सैनिकसहित पटनाबाट प्रस्थान गरे। जनकपुर आइपुग्दा नपुग्दै रसदको प्रबन्धमा समस्या हुने देखियो। अन्ततः उनीहरूले दरभङ्गाबाटै रसद झिकाए। बचेखुचेको रसदले बिहानको छाक टारेर बेलुकी खुर्कोट बास गर्ने निधोसहित कम्पनी सेना अगाडि बढ्यो।

सहायक बाहिनीपति लेफ्टिनेन्ट हार्डी बचेको रसद र भारी बोकेका भरियालाई अगाडि लगाएर एड्भान्स गार्डसँग हिँडेका थिए। कप्तान किनलक भने पछाडिको फौज (रियर गार्ड)सँग हिँडेका थिए । यो युद्धमा वंशराज पाँडे र वीरभद्र उपाध्यायले शत्रुमाथि ढुङ्ग्रेबासबाट तथा सिकारी सरदार वंश गुरुङले ढुङ्ग्रे भञ्ज्याङमा ढाड हान्ने (लाम तोड्ने) प्रबन्ध मिलाइएको थियो। वंश गुरुङ नेतृत्वमा पाँच सय सैनिक थियो भने वंशराज पाँडे र वीरभद्र उपाध्यायसँग सात सय सैनिक थियो।

युद्ध अगाडिसम्म काठमाडौँमा बसेर खटनपटन गरिरहेका पृथ्वीनारायण शाहले सिन्धुलीगढीको युद्धमा खनियाँ खर्कमा रहेर निर्देशन दिएका थिए। रसद र भरिया लिएर हिँडेको हार्डी देखापर्ने बित्तिकै गोर्खाली सैनिकले हतियार प्रहार ग¥यो। टाउकोमा चोट लागेका उनी फर्कन बाध्य भए। सोही मौकामा वंश गुरुङले ढुङ्ग्रे भञ्ज्याङमा शत्रु सेनाउपर आक्रमण गरे।

अङ्ग्रेज सेनाको तुलनामा गोर्खाली सेनासँग भएको हतियार निकै कमजोर थियो। तर युद्ध हतियारले मात्र जितिँदैन रहेछ। युद्ध जित्न युद्धको राणनीति, युद्धकौशल, आत्मबल अत्यन्तै महत्त्वपूर्ण हुन्छ। वंश गुरुङ खासमा सैनिकभन्दा पनि बढी सिकारी थिए। सिकार गर्दा अरिङ्गाल, बछ्यूँ आदि प्रयोग गर्ने उनको कलाले सिन्धुलीगढीको युद्धमा अत्यन्तै महत्त्वपूण भूमिका खेलेको स्पष्ट हुन्छ।

16-1727773877.jpg

उकालोमा अचानक आक्रमण खेप्नुपरेको कम्पनी सेना तितरबितर भएर जङ्गलमा छरिए। गोर्खाली सेनाले अरिङ्गाल र बछ्यूँको गोला फुटाएर फालिदिए। राता लुगा लगाएका अङ्ग्रेज सेनामाथि अरिङ्गालको गोलो नै खनियो। अङ्ग्रेज सेना भाग्न सक्ने सम्भावित रुटमा जङ्गलभर गोर्खाली सेनाले सिस्नो राखेको थियो। अङ्ग्रेज सेनालाई सिस्नोले पनि पोल्यो। अन्ततः अङ्ग्रेज सेना सिन्धुलीगढीबाट पराजय भोग्दै ठुलो क्षति व्यहोरेर फर्कन बाध्य भयो।

इतिहासकार दिनेशराज पन्त लेख्छन्, ‘त्यस दिन कम्पनी सेना पराजित भएर फर्कनुको सट्टा उपत्यका पस्न पाएको भए, जयप्रकाश मल्ल नै पनि वि.सं. १८२५ असोज १३ सम्म कान्तिपुरका राजा हुन पाउने थिएनन् होला। नेपालको अहिलेको रूप रहने त कल्पनै गर्न सकिँदैनथ्यो।’

नेपालको इतिहासकै एक महत्त्वपूण यस घटनालाई स्मरण गर्दै वि.सं. २०६७ सालदेखि सिन्धुलीगढीमा विजयोत्सव मनाउने गरिएको छ। तर सिन्धुलीगढीमा यस्तो विजयोत्सव चाहिँ कात्तिक २४ गते मनाउने गरिएको छ। सिन्धुलीकै केही जोसिला युवा तथा पत्रकारहरूले सुरु गरेको विजयोत्सव मनाउने कार्य पछिल्लो समयमा भने कमलामाई नगरपालिकाले स्वामित्व ग्रहण गर्दै मनाउने गरेको छ।

कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउन थालिए पनि इतिहासको अध्ययन र खोजी हुँदै जाँदा विजय प्राप्त गरेको दिन चाहिँ असोज १५ गते रहेको पुष्टि भयो। सिन्धुलीगढी विजयमा विशेष भूमिका रहेका चार वीरयोद्धा वंशराज पाँडे, वीरभद्र उपाध्याय, श्रीहर्ष पन्थ र वंश गुरुङमध्ये वंश गुरुङका सन्तानहरू चाहिँ भेटिएका छन्।

सिकारी सरदार वंश गुरुङका सन्तानहरू तनहुँको जसपुरमा रहेका छन्। सिकारी सरदार वंश गुरुङ प्रतिष्ठान नै स्थापना गरेका उनीहरूले प्रतिष्ठानकोतर्फबाट विभिन्न कार्य गरिरहेका छन्। जसपुरमा निर्माण गरिएको वंश गुरुङको शालिक २०७६ साल कात्तिक ९ गते गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले अनावरण गरेका थिए। प्रतिष्ठानले दुई वर्षअघि स्मारिका पनि प्रकाशन गरिसकेको छ भने हरेक वर्ष सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागिता पनि जनाउँदै आएका छन्। त्यस्तै असोज १५ मा प्रतिष्ठानले जसपुरमा औपचारिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग