Kathmandu Press

के लिच्छविकालमा दुई संवत् चलेको थियो ? 

हालको ललितपुर इलाकाका दृष्टिकोणले ललितपुरमा मात्रै लिच्छविकालका अभिलेख यो समेत गरी ४५ थान पुगेको देखिन्छ । लिच्छविकालमा प्रसिद्ध रहेको कैलाशकुट भवनबाट जारी भएको अभिलेख मात्रै बुंगमतिको अभिलेखदेखि जयदेवको ज्ञानेश्वरको अभिलेखसम्ममा २६ थान पुगेको देखिन्छ ।
के लिच्छविकालमा दुई संवत् चलेको थियो ? 

काठमाडाैं, माघ २० : २०७८ पौष ५ गते पाटन भीमसेन मन्दिरअगाडि ढल उत्खनन भइरहेका क्रममा लिच्छविकालीन शिलालेख भेटिएको खबरले निकै चर्चा पायो । यसरी लिच्छविकालको तथ्य इतिहास प्रस्फुटन हुने शिलालेख भेटिएलगत्तै आकर्षित हुन पुगेका विभिन्न जिज्ञासा तथा तथ्य बुँदागत रूपमा राख्न चाहन्छु ।

१) सुरुमा लिच्छविकालीन शिलालेख फेला परेको सूचना पुरातत्त्वविद् प्रकाश दर्नालबाट पाउनासाथ यो स्मरण भयो कि ललितपुर मंगलबजारस्थित भीमसेन मन्दिरअगाडि सडकमा ढल छोपी राखेको शिलामा अंकित अभिलेख भनेर पुस्तकमा उल्लेख थियो । सायद त्यही अभिलेख फेरि फेला परेको होला भन्ने लागेको हो । तर स्थलमै गएर हेर्दा झनै खुसीको कुरो पाएँ । किनकि प्राप्त उक्त अभिलेख हराइरहेको अभिलेख नभई नयाँ अप्रकाशित अभिलेख रहेछ ।

२) संयोग नै भन्नुपर्छ हराइरहेको अभिलेख पनि १५ पंक्तिकै थियो भने हालै प्राप्त अभिलेख पनि १५ पंक्तिकै छन् । तर हराइरहेको शिलालेख संवत् ५१६ वैशाखको थियो भने हाल प्राप्त अभिलेखमा संवत् ५३६ ज्येष्ठको रहेको यकिन भयो । 

Hardik ivf

३) यही सन्दर्भमा अरु पनि विभिन्न सन्दर्भ आकर्षित हुन आयो, ताकि ती सन्दर्भमध्ये यहीँ भइरहेको उत्खननका क्रममा गत २०७८ भाद्र २९ मा भेटिएको पूर्व मध्यकाल ने.सं. ५९२ को शिलालेख पनि आकर्षित हुन्छ । यसका अतिरिक्त राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको शिलाफलक अभिलेख जुन शिलाफलक अभिलेख यही पाटन भीमसेन मन्दिर अगाडिको डबलीको अभिलेख थियो । साथै मंगलबजारको आठ मणिमध्ये एक मणि मणिचैत्य पनि हो । यो चैत्य पनि लिच्छवि राजा मानदेवको पालामा बनेको भन्ने जनश्रुति पाइन्छ र संवत् ५३६ कै गोकर्ण बालुवा गाउँको अंशुवर्माको अभिलेख पनि यहाँ स्वाभाविक रूपमा अपरिहार्य तवरले आकर्षित हुन आएको छ ।

४) हालको ललितपुर इलाकाका दृष्टिकोणले ललितपुरमा मात्रै लिच्छविकालका अभिलेख यो समेत गरी ४५ थान पुगेको देखिन्छ । लिच्छविकालमा प्रसिद्ध रहेको कैलाशकुट भवनबाट जारी भएको अभिलेख मात्रै बुंगमतिको अभिलेखदेखि जयदेवको ज्ञानेश्वरको अभिलेखसम्ममा २६ थान पुगेको देखिन्छ ।

५) शिलामा दायाँबायाँ मृग श्रावक र बीचमा धर्मचक्रको चिह्न देखापर्नु भनेको बौद्धविहार चिह्न भनी बोध हुन आउँछ । यस प्रकारको चिह्न स्वयम्भु, तुकंवहाल, पशुपति, जयवागीश्वरी, धनदो चैत्य गोकर्ण, गोकर्ण महांकाल, राष्ट्रिय संग्रहालयमा राखिएको शिलाफलक र हाल फेलापरेको शिलालेखमा पनि पाइएको छ । मृग श्रावक चिह्न उस्तै भए पनि धर्मचक्रको चिह्न भने फरकफरक रहेका छन् । 

६) लिच्छविकालमा अति प्रभावशाली व्यक्तित्वको रूपमा चिरपरिचित व्यक्तिको नाम अंशुवर्मा हो । उनको नाम लिच्छवि संवत् ५१६ देखि लिच्छवि संवत् ५४५ सम्मको अभिलेखमा देखापर्ने गरेको पाइन्छ । तीमध्ये लिच्छवि संवत् ५१६ देखि ५२६ सम्म अंशुवर्माको नाम राजा शिवदेव प्रथमसँग संयुक्त शासकका रूपमा देखापरेको पाइन्छ भने लिच्छवि संवत् ५२९ देखि लिच्छवि संवत् ५४४ सम्म एकल शासकको रूपमा देखापरेको हामी पाउँछौँ । त्यस उप्रान्त लिच्छवि संवत् ५३७ लाई फेरि संक्षिप्त लिच्छवि संवत् ३७ प्रयोग गर्दै गएको तथ्य अभिलेखबाटै पुष्टि भइरहेका छन् । 

७) अंशुवर्माका ती अभिलेखमध्ये लिच्छवि संवत् ५१६ को अभिलेख भनेको हराइरहेको पाटन भीमसेन मन्दिरको अभिलेख पहिलो हो । यसमा अंशुवर्मालाई श्री सामन्त भनिएको छ । त्यसपछिका अभिलेखमध्ये संवत् ५३६ पौषसम्मका अभिलेखमा श्रीमहासामन्त भनिएको छ भने संवत् ५३६ ज्येष्ठको हाल भेटिएको अभिलेखमा श्रीमहासामन्त भनिएको छैन । तिस्तुंग तोखेलको संवत् ५३७ (३७) को अभिलेखमा फेरि श्री महासामन्त उल्लेख छ । त्यसपछिका अभिलेखमा श्र्यंशुवर्मा, श्री कलहाभिमानी उल्लेख छन् भने चितलाङ्को लिच्छवि संवत् ५४५ (४५) को उदयदेवको अभिलेखमा अंशुवर्मालाई श्री महाराजाधिराज उल्लेख गरिएको छ ।

८) हाल पाटन भीमसेन मन्दिरअगाडि भेटिएको अभिलेखमा अंकित संवत्को अंक ५३६ नै सही हो किनकि माथि नै भनिसकेको छु कि यस अभिलेखका सम्बन्धमा अध्ययन गर्दा गोकर्ण बालुवा गाउँको संवत् ५३६ को अभिलेखको सन्दर्भ अपरिहार्य तवरले जोडिन आउँछ । यो सन्दर्भ उल्लेख गर्नुको मुख्य तात्पर्य नै यही कि यी दुवै अभिलेखका संवत् ५३६ को अंक एउटै किसिमको छ । अतः यसमा संवत् ५३६ को एकांक अक्षर ६ को ठाउँमा ९ भनेर पढ्न सकिने अवस्था बिल्कुलै छैन । यदि यस कुरा विश्वास नलागेमा एकांक अक्षर ९ उल्लेख भएका थुप्रै अभिलेख पाइन्छन् । तुलना गरेर हेर्न सक्नुहुन्छ । 

९) यस अभिलेखमा उल्लेख भएको मुख्य विषयवस्तु भनेको तत्कालीन राजा श्री अंशुवर्माले कैलाशकूट भवनबाट आज्ञा जारी गरेको बारेमा छ । त्यस आज्ञामा उहिलेका राजा श्री वृषदेवले स्थापना गरेको धातुचैत्यरथलाई नयाँ मन्दिरको स्वरूप बनाई यसको दैनिक एवं पर्व पूजा गर्न गुठी र आयस्ताको व्यवस्थाका लागि आज्ञा गरिएको भन्ने छ भने पूजा गुठीका लागि भगवद्वाशुदेव गोष्ठीलाई र आयस्ताका लागि योव्रङ्ग्राम, लवणग्राम र सौपलिङ्गग्रामका पाञ्चालिकालाई आज्ञा गर्दै यसमा कुनै किसिमको विचलन नआओस् र चित्त बुझ्ने गरी खर्च उपलब्ध होस भनी चाहिने अधिकार सुम्पी धेरै कालसम्म रहोस् भनी शिलापत्र सनद राखी निगाह गरियो भनिएको छ । 

१०) चाँगुनारायणको संवत् ३८६ को स्तम्भलेखमा राजा मानदेवले आफ्नो जिजुबाजेको नाम वृषदेव उल्लेख गरेको र त्यस्तै अर्को अभिलेख पशुपतिको संवत् ३८१ को अभिलेखमा पनि त्यसतै प्रकारले वृषदेवको नाम उल्लेख छ । अहिले प्राप्त भएको संवत् ५३६ को अशुवर्माको अभिलेखमा श्री वृषदेव राज कारित धातुचैत्यरथ भनी स्पष्ट उल्लेख आएको छ । जयदेव द्वितीयको पशुपति अभिलेखको लिच्छवि वंशावलीमा वृषदेवलाई राजामा उत्तम र बौद्ध धमको पक्षपाती भनी बयान गरिएको छ । अन्य वंशावलीमा पनि वृषदेवलाई बौद्ध धर्मका अनुयायी भनी जुन वर्णन हुनु र अहिले उनले बनाएको धातुचैत्यरथको उल्लेख आउनुले उनको बारेमा चर्चेका वर्णन सबै वास्तविक सत्य रहेछ भनी पुष्टि भएको छ ।

११) प्राप्त यस अभिलेखमा श्री वृषदेव राज कारित धातुचैत्यरथ भनी प्रस्टसँग उल्लेख आएको छ । यसमा धर्मधातु वा वज्रधातु भन्ने अर्थ लाग्ने गरी उल्लेख भएको भए त्यही अनुसार बुझ्नुपर्ने हुने थियो । तर यसमा धातुचैत्यरथ भनेर उल्लेख भएकाले अवश्य पनि यो धातुबाट निर्मित चैत्यरथ नै हुनुपर्छ भन्ने बुझाइ हुन आउँछ । वंशावलीमा उल्लेख भए अनुसार नेपालमा धातुबाट निर्मित वस्तु इसापूर्वकालमै प्रयोगमा थिए भन्ने पाइन्छ तर नेपालमै बनाइन्थ्यो भन्ने उल्लेख गर्ने आधार थिएन । राजा मानदेवका पालामा धातु मुद्रा मानांक प्रचलन भएका आधारमा धातुकला थियो भन्ने अनुमान अवश्य गर्न सकिन्थ्यो । तर त्यतिवेलाको कलात्मक वस्तु यही भनी देखाउने उहाहरण भने दिन पाइने स्थिति भइरहेको थिएन । अहिले प्राप्त अंशुवर्माको पालाको अभिलेख भए पनि वृषदेवको पालामा बनेको धातुनिर्मित चैत्यरथ विद्यमान थिए भन्ने बोध गर्दछ । यसले राजा वृषदेवको पालामै नेपालमा धातुकलाको निकै विकास थियो भन्ने पनि पुष्टि हुन आउँछ ।

१२) शिवदेव र अंशुवर्माको संवत् ५२६ को लेलेको अभिलेखमा भगवद्वाशुदेव ब्राह्मण गोष्ठीको उल्लेख छ र अहिले पाइएको अभिलेखमा भगवद्वाशुदेव गोष्ठीको उल्लेख आएकाले यी दुई नामको गोष्ठी एकै प्रकारको हुन सक्ने देखिन्छ । इतिहासकारले यसअघि ब्राह्मण समेत उल्लेख आएकाले हिन्दु देवदेवालयको मात्र रेखदेख यो गोष्ठीबाट हुन्थ्यो भन्दै आएका थिए भने अहिले प्राप्त भएको अभिलेखमा अंशुवर्माले बौद्ध धर्मका धातु चैत्य रथसहितको मन्दिरको सम्पूर्ण रेखदेख यही भगवद्वाशुदेव गोष्ठीलाई नै सुम्पेको तथ्य प्रकाश हुन आएको छ । 

१३) शिवदेव र अंशुवर्माको संवत् ५२६ को लेलेको अभिलेखमा भगवद्वाशुदेव ब्राह्मण गोष्ठीको उल्लेख हुनु र यस प्राप्त अभिलेखमा पनि भगवद्वाशुदेव गोष्ठीको उल्लेख आएबाट अभिलेखमा उल्लेख आएको आधारमा योब्रङ्ग्राम, लवण ग्राम, सौपलिङ्ग ग्राम पनि लेलेकै निकटस्थ ग्राम थिए कि भन्ने अनुमान हुन आउँछ । यकिनका साथ भन्न सकिने अवस्था भने छैन । एउटा आश्चर्यको कुरो लिच्छविकालका झन्डै अढाइ सय थान अभिलेख प्राप्त भइसकेको भए तापनि यी नाम भने कतै पनि देखापरेको छैन । अभिलेखमा लवण ग्राम जुन उल्लेख छ, यसमा बढी जोड दिएर विचार गर्दा त्योवेला उपत्यकामा नुन आउने ठाउँलाई सायद लवण ग्राम भनिएको पो हो कि भन्ने सम्भावना छ भने नुन आउने ठाउँ प्रायः उत्तर भेगबाट आउने हुनाले त्यो भेगको आसपासका गाउँ हो कि यो पनि सम्भावना बलियो छ । जेहोस् यी तीनैँ गाउँमा बौद्धधर्ममा आस्था राख्नेको संख्या धेरै थियो अथवा चैत्यरथसित प्रत्यक्ष सम्बन्ध थियो भन्ने चाहिँ सहज अनुमान हुन आउँछ । किनकि वृषदेवले बनाएको धातुचैत्यरथका लागि चाहिने आयस्ता यी गाउँका पाञ्चालीले उपलब्ध गराउँथ्यो भन्ने तथ्यको खुलासा हुन्छ ।

१४) पाटन दरबार केशवनारायणचोकमा रहेको संवत् ५६७(६७) को अभिलेख मात्रै देखापरेकोले कुमारामात्यको पदवीको पहिलो उल्लेख भनी यही अभिलेख औंल्याउने गरिन्थ्यो । अहिले त्योभन्दा अघिको संवत् ५३६ को अभिलेखमै कुमारामात्यको उल्लेख भएको प्रमाण भेटिएको छ । संवत् ५३६ को अभिलेखमा कुमारामात्य पदवी धारण गरेको व्यक्ति चन्द्रजीव थिए भने संवत् ५६७(६७)को अभिलेखमा कुमारामात्य पदवी धारण गरेको व्यक्ति प्रियजीव नामक व्यक्ति रहेको थियो । चन्द्रजीव र प्रियजीवबीच नातामा पनि नजिकको सम्बन्ध हुन सक्छ कि भन्ने सम्भावना देखिन्छ ।

प्रायः इतिहासकारले राजामात्य भन्नाले राजाले अह्राएको काम गर्ने र कुमारामात्य भनेको युवराजले अह्राएको काम गर्ने अति विश्वासिलो व्यक्तिलाई दिने पदवी भनी व्याख्या गर्दै आएको छन्, यसको मतलब कुमारामात्य भनेको युवराजको सेक्रेटरी जस्तो भन्ने भयो । यो व्याख्या पनि त्यति सटीक होइन कि किनकि संवत् ५६७ मा राजा नरेन्ददेवको सेक्रेटरी भएर प्रियजीवले काम गरेको र संवत् ५३६ मा स्वयं राजा अंशुवर्माको सेक्रेटरी भएर काम गर्ने चन्द्रजीव देखापरेकाले कुमारामात्य पनि राजाकै सचिव जस्तो पदवी थियो भनी खुलासा हुन आएको छ । 

१५) पाटनमा ज्येष्ठ शुक्ल पूर्णिमाको दिनको स्मरण अति महत्त्वपूर्ण रही आएको छ । किनकि अहिले पनि ज्येष्ठ शुक्ल पूर्णिमाको दिन सिद्धिनरसिंह मल्लको कृष्णलीलाको चित्र र श्रीनिवासमल्लको सुनमोलम्वा सिंहासन कृष्णमन्दिर अगाडि प्रदर्शन गर्ने चलन छ । यो अभिलेखमा अंशुवर्माले संवत् ५३६ को ज्येष्ठ शुक्ल पूर्णिमाकै दिन वृषदेवले स्थापना गरेको धातुचैत्यरथलाई नयाँ मन्दिरको स्वरूप दिए भनी शिलालेखमा उल्लेख आएबाट ज्येष्ठ शुक्ल पूर्णिमाको सांस्कृतिक महत्त्व वृषदेवको पालादेखि नै अविछिन्न रूपले कायम थियो कि भन्ने अनुमान सहजै हुन आउँछ ।

अहिले प्राप्त अभिलेखको सबभन्दा महत्वपूर्ण तथ्य भनेको यसमा संवत् ५३६ ज्येष्ठ शुक्ल पूर्णिमा मिति उल्लेख आउनु हो । किनकि लिच्छविकालमा दुईथरी संवत् चलेको र ती दुई थरी भनिएका संवत् शक संवत् र मानदेव संवत् भनी वकालत गर्दै आएका तमाम यसका हिमायती इतिहासको मुखमा बुजो लाग्न गएको छ । हुन त आजभन्दा ३२ वर्षअघि भेटिएको गोकर्णवालुवा गाउँको अभिलेखले नै लिच्छविकालमा दुईथरी संवत् चलेको पनि होइन, शक र मानदेवसंवत् पनि होइन भनी सिद्ध भइसकेको थियो ।

फेरि पनि ५३६ को अभिलेख प्राप्त हुनु भनेको अघि सिद्ध भएको तथ्यलाई थप बल प्रदान गरेको छ । यसलाई फेरि बहसको विषय बनाउन चाहनेहरू छन् भने काठमाडौं ज्यावहालको संवत् ५३५ को अभिलेख र यसका बारेमा व्यक्त हुँदै आएका इतिहासकारको एकैे किसिमको धारणाको नै पहिले हृदयंगम गरून् र त्यसपछि अंशुवर्माकै अभिलेख संवत् ५३६ को किन प्राप्त हुन्छ त भन्ने सवाल जवाफ हुन सक्छ ।

(यही माघ १७ गते राष्ट्रिय अभिलेखालयबाट आयोजित जुम मिटिङ राजवंशीले प्रस्तुत गरेको कार्यपत्रको एक अंश । राजवंशी लिपिविद् तथा पूर्वप्रमुख पुरातत्व अधिकृत समेत हुन् ।)
 

प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्