अनि भिलेन बने प्रशान्त
चलचित्रमा खलनायकको भूमिकामा रहेर काम गर्ने पात्रहरुप्रति वास्तविक जीवनमा आम नागरिकको धारणा नकारात्मक नै रहन गयो। ‘रिल’मा मात्र नभएर ‘रियल’मा पनि भिलेनसँग मानिसहरु डराउँने र सकेसम्म टाढिन्थे। जबकि ‘हिरो’सँग मानिसहरूको सामीप्य नै बेग्लै हुन्थ्यो।काठमाडौं, माघ ९ : एक दशकअघिसम्म नेपाली चलचित्रको ‘खलनायक’ भन्ने बित्तिकै आम दर्शकको मस्तिष्कमा कस्तो चित्र आउथ्यो ? लामो कपाल, डरलाग्दो शरीर, डरलाग्दो बोली र सोहीअनुसारको पहिरन।
चलचित्रमा उनीहरुको भूमिका पनि त्यस्तै हुन्थ्यो। आम नागरिकमाथि अन्याय र अत्याचार गर्ने, हिंसात्मक गतिविधि गर्ने, समूह निर्माण गरेर आपराधिक काम गर्ने, मारकाटमा उत्रने इत्यादी।
यसकारण चलचित्रमा खलनायकको भूमिकामा रहेर काम गर्ने पात्रहरुप्रति वास्तविक जीवनमा आम नागरिकको धारणा नकारात्मक नै रहन गयो। ‘रिल’मा मात्र नभएर ‘रियल’मा पनि भिलेनसँग मानिसहरु डराउँने र सकेसम्म टाढिन्थे। जबकि ‘हिरो’सँग मानिसहरूको सामीप्य नै बेग्लै हुन्थ्यो।
तर, अहिले त्यो बुझाइलाई प्रशान्त ताम्राकारले भत्काइदिएका छन्। अर्थात्, एउटा भिलेन पनि ह्यान्डसम हुन सक्छन्, आम मानिस पनि चलचित्रका भिलेनसंग नजिकिन चाहन्छन् भन्ने मान्यता उनले स्थापित गरिदिएका छन्।
हिरोको जस्तै ‘क्रेज’ भिलेनको पनि हुन सक्छ भन्ने मानक आम दर्शकमा कायम गराउनुमा प्रशान्तको भूमिका महत्वपूर्ण छ।
ह्यान्डसम भिलेनको पहिचान
ताम्राकार यतिखेर ह्यान्डसम भिलेनका रूपमा परिचित छन्। तर, उनी आफूलाई एक अभिनेता मात्र भन्न रुचाउँछन् । ‘हिरो वा भिलेनभन्दा पनि म एक अभिनेता भएर चलचित्रमा आएको हुँ,’ उनले भने, ‘एउटा कलाकारले जुनसुकै पात्रको पनि राम्रो अभिनय गर्ने क्षमता राख्नु जरुरी हुन्छ भन्ने म ठान्छु।’
चलचित्रमा आफूलाई भिलेनकै लागि अफर आउने गरेको र दर्शकहरूले पनि त्यही पात्रका रूपमा आफूलाई रुचाएको उनको अनुभव छ। ‘म भिलेनै बन्छु भनेर यो क्षेत्रमा आएको होइन। तर, भिलेन बनेर काम गर्ने मौका बढी प्राप्त भयो। अहिले यही कामका लागि राम्रो प्रतिक्रिया आइरहेको छ,’ उनले भने।
भिलेनले नराम्रो पात्रका रूपमा काम गरेर समाजमा नकारात्मक असर पु¥याउनेभन्दा पनि समाजका नकारात्मक पक्षलाई अभिनयको माध्यमबाट प्रस्तुत मात्र गरिरहेको भनी बुझ्नुपर्ने उनको भनाइ छ।
ताम्राकारका अनुसार एक जमानामा लुट्ने, डकैती गर्नेहरूलाई ‘डाकु’ भनिन्थ्यो। मान्छे मार्ने, पिट्ने, लुट्ने कर्म उनीहरूको हुन्थ्यो। त्यतिबेला बनेका चलचित्रमा त्यस्तै किसिमले पात्रहरूलाई दर्शकमाझ ल्याउने गरिन्थ्यो। उनीहरू डाकु÷डाँका भनेर चिनिन्थे।
त्यसपछि ‘गुन्डा’ भन्ने आयो। मानिसहरूलाई जिस्काएर, धम्क्याएर, तर्साएर ‘गुन्डागर्दी’ गर्दै हिँड्नु गुन्डाहरूको दिनचर्या हुन्थ्यो। त्यसबेलाका चलचित्रले त्यस्तै पात्र खोज्थे र त्यो पात्रको भूमिका निर्वाह गर्नेलाई पनि गुन्डा नै भनेर आम मानिसले चिन्थे।
हिजोआज नकारात्मक भूमिकामा देखिने पात्रलाई सभ्य भाषामा भिलेन (खलनायक) भन्न थालिएको ताम्राकारले बताए। ‘व्यापारव्यवसायमा तलमाथि हुँदा आफ्नो फाइदाका लागि विभिन्न चलखेल गर्ने पनि भिलेन भनेर चिनिन थालेका छन्,’ उनले भने, ‘सामाजिक, आर्थिक, राजनीतिकलगायत विविध क्षेत्रमा छलकपट गर्ने मानिसहरूको चरित्रलाई पात्रले भिलेनको स्वरूपमा दर्शकसामु प्रस्तुत गर्ने अवस्था बनेको छ।’
उनका अनुसार एउटा भिलेनले आफ्नो फाइदाका लागि अरूलाई हानि पु¥याइरहेको हुन्छ। त्यो पात्र कुनै व्यक्तिविशेषलाई नराम्रो लाग्न सक्छ तर फाइदा कमाउनेका लागि त्यही पात्र राम्रो पनि हुन सक्छ।
‘समयको परिवर्तनसँगै कुन समाजमा कस्ता पात्रलाई खलनायक मान्ने भन्ने कुरा परिवर्तन हुँदै आएको छ। कुनै समय मुखिया, जमिनदारहरूले पनि समाजमा भएका गरिबहरूको शोषण गर्थे। त्यतिबेला उनीहरूलाई खलनायकको पात्रमा राखिन्थ्यो,’ उनले भने, ‘अहिले हरेक मानिसमा हिरोइज्म पनि छ र भिलेनपना पनि छ। मेरो लुक्स हेरेर जस्तो पात्रको अफर आयो, मैलै त्यही गरेको हुँ। दर्शकले पनि ह्यान्डसम भिलेन भनेर कदर गर्नुभएको छ। खुसी लाग्छ।’
जात्रा र पर्वमा भागदौड गर्दै बितेको बाल्यकाल
चलचित्रमा भिलेनको भूमिकामा देखिने प्रशान्त ताम्राकार मोडलिङ, फेसन कोरियोग्राफी र कलाकारिता तीनै क्षेत्रमा एक स्थापित नाम हो। २०३१ मंसिर २३ मा काठमाडौंको हनुमानढोकास्थित यट्खा बहालमा जन्मिएका उनको बाल्यकाल नियमित विद्यालय जानेभन्दा बाहेकको समय जात्रा र पर्वमा भागदौड गर्दै बितेको उनले सम्झिए। नेवार समुदायमा जन्मेहुर्केकाले पनि उनलाई सो अवसर प्राप्त भयो। बाल्यकालको उत्तराद्र्ध र किशोरावस्थाको प्रारम्भतिर साथीभाइसँग विभिन्न खेल खेल्ने गरिएको पनि उनले सुनाए।
सानैदेखि नयाँनयाँ साथी बनाउने उनको स्वभाव थियो। त्यसकारण, उनका अरुका तुलनामा साथीहरू बढी नै हुन्थे। ‘बच्चामा मेरा साथी धेरै थिए। बास्केटबल, सफ्ट टेनिसलगायत विभिन्न खेलमा साथीभाइसँग सहभागी हुन्थें,’ ताम्राकारले भने, ‘अहिले पनि बास्केटबल, ब्याडमिन्टनलगायत खेलहरूमा सहभागी भइरहेको हुन्छु।’
उनले आनन्दकुटीलगायत धेरै स्कुल परिवर्तन गरे। उच्च शिक्षा पब्लिक युथ क्याम्पसमा पढेका थिए। उनले त्यहाँबाट स्नातक (बिकम) पूरा गरेका थिए।
भाग्यवश मोडलिङ क्षेत्रमा प्रवेश
उनी नेपाली फेसन क्षेत्रको सुरुवाती चरणका मोडल हुन्। तर, यो उनको बाल्यकालदेखिको सोच भने थिएन। उनी सन् १९९१ तिर मोडलिङ क्षेत्रमा प्रवेश गरेका हुन्।
‘म चलचित्र क्षेत्रमा नै केही गर्छु भनेर आएको होइन तर रुचि नै नभएको पनि होइन। २० वर्ष अगाडि धेरै चलचित्रका लागि अफर आएको थियो र गर्ने योजनामा पनि थिएँ। तर, आफ्नै कामको व्यस्तताका कारण ती चलचित्रमा काम गर्न पाइनँ,’ उनले भने, ‘१९९१ सालमा मोडल आवश्यकता भन्ने एउटा विज्ञापन देखें र हचुवामा निवेदन दिएँ। भाग्यवश छनोट पनि भएँ र त्यहीँदेखि मेरो मोडलिङ यात्रा सुरु भएको हो।’
साथीहरूको आग्रहमा १२ वर्षअघि ‘टाटा बाइबाई’ चलिचित्रबाट आफ्नो अभिनय यात्रा सुरु भएको उनले बताए। त्यसपछि उनले ‘सम्बोधन’, ‘मुखौटा’लगायत चलचित्रमा पनि काम गरे। चलचित्र ‘ऐश्वर्य’ले आफ्नो फिल्मी करिअर माथि उठाएको उनले सुनाए।
‘ऐश्वर्यअघिका चलचित्र खेल्दा फिल्मी करियर बनाउँछु जस्तो लागेकै थिएन। तर, त्यो खेलेपछि दर्शकबाट जुन सकारात्मक प्रतिक्रिया आयो, त्यसपछि मात्र अब यो क्षेत्रमा केही गर्छु भन्ने लागेर अन्य चलचित्रमा अभिनय गर्न थालेको हुँ,’ उनले भने । चलचित्रको अभिनयको कदरस्वरूप उनले आधा दर्जनभन्दा बढी अवार्ड पनि पाइसकेका छन्। ‘सबै नेगेटिभ क्यारेक्टरमै अवार्ड पाएको हुँ,’ उनले भने, ‘त्यसरी अवार्ड पाएर अलि प्रोत्साहित पनि भएको छु।’
ताम्राकारले ऐश्वर्यपछि ‘रणवीर’, ‘क्यापटेन’, ‘जय शम्भो’ लगायत चलचित्र गरे। केही समयअगाडि मात्र ‘माही’ नामक हिन्दी भोजपुरी चलचित्रको सुटिङ सिध्याएर आएको उनले जानकारी दिए। यसबाहेक अहिले चलचित्र सुटिङ, फेसन प्रोजेक्टलगायत काममा व्यस्त रहेको उनले जानकारी दिए।
इभेन्ट म्यानेजमेन्टको पहिलो कम्पनी
मोडलिङ क्षेत्रमा प्रवेश गरिसकेपछि उनले सन् १९९४ मा इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि सञ्चालनमा ल्याए। त्यो सम्भवतः नेपालकै पहिलो इभेन्ट म्यानेजमेन्ट कम्पनी भएको उनको अनुमान छ।
ताम्राकारका अनुसार उक्त कम्पनीको दर्ता गर्न जाँदा समेत कुन विधामा दर्ता गर्ने भन्ने अन्योल पैदा भएको थियो। त्यसअघि सो प्रकृतिको कुनै कम्पनी दर्ता भइनसकेकाले कर्मचारीले पनि ‘यो कस्तो कम्पनी हो?’ भनेर प्रश्न गरेका थिए। ‘इभेन्ट म्यानेजमेन्टलाई नेपालीमा समारोह व्यवस्थापन नाम दिएर विज्ञापनको विधामा दर्ता गरेका थियौँ। त्यो हिसाबमा पनि हाम्रो कम्पनी नै प्रथम इभेन्ट म्यानेजमेन्ट कम्पनी थियो जस्तो लाग्छ,’ उनले भने।
उनले सन् १९९५ मा उनी ‘फस्र्ट म्यान हन्ट इन्टरनेसनल नेपाल’ भएपछि सिंगापुर पुगेर नेपालको प्रतिनिधित्व गरेका थिए। त्यतिबेला मिस्टर नेपालमा उनी थिए भने मिस नेपालमा रुबी राणा थिइन्।
त्यसयता उनले फेसनसम्बन्धी नै काम गर्दै आएका छन्। उनी विभिन्न सो, ब्युटी पेजेन्ट, ट्रेनिङ, विज्ञापन, वर्कसपमा व्यस्त रहँदै आएका छन्। आफूलाई अहिलेसम्म पनि कामको चाप उस्तै रहेको उनी बताउँछन्।
सुरुमा थोरै साथी मिलेर आफूहरूले थालेको त्यस्तो कम्पनी अहिले एक हजारको हाराहारीमा दर्ता भइसकेको उनको भनाइ छ । फेसन उद्योगमा पनि हजारौंको सहभागिता छ। अहिले यी कुरा व्यावसायिक रूपमै विकसित भइसकेको उनको बुझाइ छ।
‘मूलतः हामीले पछिसम्म फेसन वा फिल्मको माध्यमबाट संसारभर सकारात्मक सन्देश पु¥याउने र यस क्षेत्रलाई व्यावसायिक बनाउने लक्ष्यका साथ काम गरिरहेका छौं,’ उनले भने।
‘सुनिल थापाले नसम्झाउनुभएको भए अभिनय त्यगिसकेको हुन्थें’
मोडलिङ गर्दागर्दै चलचित्रमा आएका ताम्राकार अभिनयलाई सदैव चुनौतीका रूपमा लिन्छन्। ‘हरेक प्रोजेक्टमा नयाँ पात्रको अभिनय गर्नुपर्ने हुन्छ। निर्देशक नयाँ हुन्छ। स्क्रिप्ट नयाँ हुन्छ। त्यसैले मैले कुनैमा राम्रो अभिनय गरेँ भने अर्कोमा त्योभन्दा राम्रो हुन्छ भन्ने पनि हुन्न,’ उनी भन्छन्, ‘त्यसैले हरेक प्रोजेक्टमा नयाँ कुरा हुने हुँदा उत्ति नै मेहनत चाहिन्छ।’
उनको पहिलो सुटिङमा कलाकार सुनिल थापासँगको सट रहेको उनी सम्झन्छन्। ‘सुनिल थापाको एक्सन हेरेपछि म टोटली ब्ल्याङ्क भएको थिएँ। मलाई मेरो डाइलग पनि याद थिएन,’ उनले भने, ‘२० टेक लिइसकेपछि पनि मैले राम्ररी डाइलग सम्झन सकिनँ। आफैंलाई मनमनै भनिरहेको थिएँ– प्रशान्त ताम्राकार तैंले यो राम्रो काम गरेनस्। तँ गलत ठाउँमा छस्। यहाँबाट भाग्न सक्छस् भने भागिहाल्।’
त्यतिबेला कलाकार थापाले सम्झाउँदै नआत्तिन सुझाएपछि केही सहजताको अनुभव भएको उनले सुनाए। ‘पहिलो टेकको क्षण मेरा लागि सबैभन्दा नराम्रो अनुभव थियो। कहिलेकाहीँ जीवनमा प्रोत्साहन गर्ने व्यक्ति पनि चाहिँदो रहेछ। मेरो जीवनमा त्यस्ता व्यक्ति सुनिल दाइ बन्नुभयो,’ उनले भने, ‘सायद उहाँले त्यो समयमा मलाई नसम्झाउनुभएको भए म अहिले यो क्षेत्रमा हुन्नथें होला।’
कलाकार थापाको त्यो गुण कहिल्यै भुल्न नसकिने उनले बताए। ‘अहिलेसम्म पनि अभिनय भन्नेबित्तिकै त्यही दिन सम्झिन्छु, उहाँकै याद आउँछ,’ उनले भने।