राणाकालमा खोलिएको ‘पब्लिक’ स्कुल : संस्थापक प्रधानाध्यापक जेल परेका थिए
प्रमोदशमशेर राणाको पुस्तक ‘राणाशासनको वृत्तान्त’ अनुसार, बेलायतको भ्रमणपछि आफ्ना छोरा–भजितालाई अंग्रेजी शिक्षा दिनुपर्छ भन्ने विचारले वि.सं. १९१० मा जंगबहादुरले दरबार स्कुल खोलेका थिए। रणोद्दीपसिंह प्रधानमन्त्री (वि.सं. १९३३–१९४२) भएपछि यस सो स्कुलमा भारदारका छोरा समेतले पढ्न पाउने अनुमति दिएका थिए।काठमाडौं, पुस २५ : ‘मे आई कम इन् सर ?’ प्रधानाध्यापक लक्षण पौडेलको कार्यकक्ष अगाडि आएर एक छात्राले सोधिन्। उनले सेतो रङमा हरियो धर्का भएको सर्ट, खरानी रङको फ्रक र नीलो स्विटर लगाएकी थिइन्, जो जुद्धोदय माविको पोसाक हो।
उनी प्रधानाध्यापकको कार्यकक्षमा अंग्रेजी शब्दकोश लिन आएकी थिइन्। प्रधानाध्यापकको अनुमतिपछि उनी शब्दकोश लिएर बाहिरिइन्। प्रधानाध्यापकले उनको नाम भने ठम्याउन सकेनन्।
एक महिनाअघि (मंसिर ६ मा) काठमाडौं महानगरपालिका–१६ क्षेत्रपाटीस्थित जुद्धोदय माविमा हामी पुग्दाको दृश्य हो यो। त्यो दिन प्रधानाध्यापक शिक्षकहरूसँगको छलफलमा थिए। जुद्धोदय माविको अवस्था र संक्षिप्त जानकारी लेख्ने भनी हामीले उनीसँग समय लिएका थियौँ। विद्यालयका बारेमा कुराकानी गर्नुअघि प्रधानाध्यापक पौडेलले हामीलाई निकै केरकार गरे– के लेख्ने हो, किन लेख्ने हो, कसरी लेख्ने हो आदि।
स्कुलका विषयमा नकारात्मक लेखिदिने हो कि भन्ने त्रास उनलाई रहेछ। हामीले भन्यौँ– सामुदायिक विद्यालयको सकारात्मक प्रचार–प्रसार गर्ने हाम्रो स्तम्भ हो यो। उनी विशेषतः स्कुलको जग्गासम्बन्धी परेको मुद्दाका कारण त्रसित भएका रहेछन्। उनका अनुसार, स्थानीय एक व्यक्तिले विद्यालयको १३ आना जग्गा आफ्नो भनी मुद्दा हालेका छन्। जसको छिनोफानो हुन बाँकी छ।
यो विद्यालय पर्यटकीय क्षेत्र ठमेलनजिकै ९ रोपनी ६ आना एक पैसा क्षेत्रफलमा फैलिएको छ। जसमा एउटा पाँचतले भवन छ, ३६ वटा कोठासहितको। यो भवन भूकम्पपछि बनाइएको हो। ‘ठूलो बजेटको काम हुँदा हिसाब मिलाउन समय लागेको थियो,’ ०६९ देखि यस विद्यालयका प्रधानाध्यापक रहेका पौडेल भन्छन्, ‘विद्यालयले आर्थिक हिनामिना गरेको छ भन्ने आरोप पनि लगाइएको छ, तर अरुले भनेको जस्तो आर्थिक हिनामिना भएको छैन।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारदेव मानन्धरका अनुसार, अहिले विद्यालय भवन अगाडिको भाग व्यावसायिक प्रयोजनका लागि भाडामा दिइएको छ। केही सटर ३० वर्षका लागि भाडामा लिई ‘तरुण निर्माण सेवा’ले विद्यालय भवन निर्माण गरेको उनले बताए।
भाडाबापत व्यवसायीले मासिक रूपमा साढे चार लाख रुपैयाँ शुल्क बुझाउँछन्। ‘विद्यालयको वार्षिक खर्च एक करोडभन्दा बढी हुन्छ,’ प्रधानाध्यापक पौडेल भन्छन्, ‘आम्दानी पनि सोही आसपास छ।’ त्रिकोण आकारमा रहेको विद्यालय वरिपरि कपडा, होटल र विभिन्न हस्तकलाका पसल छन्।
राणाकालमा बनाइएको ‘पब्लिक’ स्कुल
नेपालका १५औँ प्रधानमन्त्री जुद्धशमशेर राणाको नामबाट खोलिएको हो, जुद्धोदय मावि, २६ चैत १९९५ मा। यसको सुरुको नाम ‘जुद्ध पब्लिक हाइस्कुल’ थियो। राणाकालमा पब्लिक स्कुल खोल्नु क्रान्तिकारी कदम थियो। त्यसो त यसअघि नै दरबार हाइस्कुल खोलिएको थियो, वि.सं. १९१० मा।
प्रमोदशमशेर राणाको पुस्तक ‘राणाशासनको वृत्तान्त’ अनुसार, बेलायतको भ्रमणपछि आफ्ना छोरा–भजितालाई अंग्रेजी शिक्षा दिनुपर्छ भन्ने विचारले वि.सं. १९१० मा जंगबहादुरले दरबार स्कुल खोलेका थिए। रणोद्दीपसिंह प्रधानमन्त्री (वि.सं. १९३३–१९४२) भएपछि यस सो स्कुलमा भारदारका छोरा समेतले पढ्न पाउने अनुमति दिएका थिए।
यही सिलसिलामा आउँछ, जुद्धोदय मावि। प्रधानाध्यापक पौडेलका अनुसार, जुद्धशमशेरको सदिच्छा र तीर्थराज सिंह सुवाल (१९५२–२०१४)को प्रयत्नले यो विद्यालय खोलिएको हो। नागरिक चेतनशील हुन्छन् र विरोध गर्छन् भनेर राणाकालमा विद्यालय खोलिँदैनथ्यो। यस्तो बेला जुद्धशमशेरले सर्वसाधारण (पब्लिक)कै लागि विद्यालय खोल्ने अनुमति दिएका थिए। प्रधानाध्यापक पौडेल भन्छन्, ‘उनी (जुद्धशमशेर) अंग्रेजका सामु शिक्षाप्रेमी देखिन चाहन्थे। समाजसेवी तीर्थराज सिंह सुवाल लगायत युवाको पनि यस स्कुल खोल्नमा लगन, मेहनत र समर्पण कम थिएन।’
विद्यालयको स्मारिका ‘ज्योतिर्मय जुद्धोदय’का अनुसार, यस विद्यालयका संस्थापक पाँचजना थिए– तीर्थराज सिंह सुवाल (संस्थापक प्रधानाध्यापक), ज्योतिरत्न तुलाधर, हरिकृष्ण श्रेष्ठ, गोपालप्रसाद रिमाल (साहित्यकार) र रामलाल मानन्धर।
जुद्धोदयको सुरुवाती भवन जुद्धसडक (हाल नेपाल बैंक लिमिटेडको हेड अफिस नजिक) मा थियो। त्यहाँ पहिले घोडाको तबेला थियो। संस्थापक सुवालले त्यही तबेलामा पाँच सय ११ विद्यार्थीबाट पढाउन सुरु गरेका थिए। प्रधानाध्यापक पौडेलका अनुसार, त्यसपछि यो विद्यालय मखनगल्ली, विशालबजार (जनसेवा सिनेमा हल) गरी २००६ सालमा क्षेत्रपाटीमा सारिएको हो। क्षेत्रपाटीमा विद्यालयका लागि दुईतले भवन बनाइएको थियो। उक्त भवनका लागि जुद्धपुत्र बहादुर शमशेरले चन्दाका रूपमा जग्गा दिएका थिए।
जुद्धशमशेर देहरादुन प्रवासमा रहेका बेला यस विद्यालयका प्रधानाध्यापक लगायत तीनजना उनलाई भेट्न गएका थिए। त्यतिबेला विद्यालय सञ्चालनका लागि जुद्धले आठ हजार भारतीय रुपैयाँ दिएको प्रधानाध्यापक पौडेलले स्मारिकामा लेखेका छन्। हाल रहेको विद्यालयको जग्गा २०२१ सालमा राजा महेन्द्रबाट प्राप्त भएको हो।
क्रान्तिकारी व्यक्तित्वको पहल र नारी शिक्षा
१९९७ सालमा संस्थापक प्रधानाध्यापक तीर्थराज सिंह सुवाललाई पक्राउ गरी केही महिना थुनामा राखिएको थियो। विद्यालय खोलेकै कारण तीर्थराज जेल परेको भन्ने बूढापाकाबाट सुन्नमा आएको प्रधानाध्यापक पौडेल बताउँछन्।
संस्थापक सुवालकी छोरी डा. कमला सुवालले विद्यालयको स्मारिकामा लेखे अनुसार, स्कुल खोलेबापत तीर्थराज जेल परेर निस्कँदा दारी बढेर लामो भएको थियो। ‘कसैले कति समय थुनिनुभयो भनेर सोध्दा बुवाले आफ्नो लामो दारी समाउँदै यति समय भन्नुभएको थियो रे,’ उनले भनेकी छन्, ‘सोझो उत्तर नदिएको भनी बुवालाई पुनः थुनिएको मलाई आमाले सुनाउनुभएको थियो।’
कलकत्ताबाट म्याट्रिकुलेसन (एसएलसी) गरेका तीर्थराजले उतिबेला राणा अफिसरका छोराछोरीलाई समेत ट्युसन पढाउँथे।
अर्कोतिर, प्रगतिवादी साहित्यकार गोपालप्रसाद रिमाल, जसको ‘मसान’ र ‘यो प्रेम’ नाटक, ‘आमाको सपना’ कवितासंग्रह जस्ता चर्चित कृति छन्, उनी पनि यो विद्यालयका संस्थापक हुन्। रिमालको ‘आमाको सपना’ कविताले क्रान्तिको आह्वान र विश्वास गर्छ। यस पृष्ठभूमिमा हेर्दा जुद्धोदय मावि क्रान्तिकारी युवाहरूकै प्रयत्नमा खुलेको देखिन्छ।
प्रधानाध्यापक पौडेलका अनुसार, नारी शिक्षालाई प्रोत्साहन गर्न २००७ सालमा यस विद्यालयमा कन्या विभाग खोलिएको थियो। २०१२ सालमा छात्रालाई अलग स्कुल (कान्ति ईश्वरी, प्याफल) खोली स्थानान्तरण गरिएको हो। पछि २०४१÷४२ देखि सहशिक्षा आरम्भ गरिएको हो।
जुद्ध पब्लिक (जेपी) हाइस्कुललाई २०३० सालदेखि जुद्धोदय माविका रुपमा व्यावसायिक रुपमा सञ्चालन गरिएको हो। ‘पहिले यहाँ पढ्न मासिक शुल्क तिर्नुपथ्र्यो। २०५८ सालदेखि निःशुल्क गरिएको हो,’ प्रधानाध्यापक पौडेल भन्छन्, ‘२०६४ सालदेखि कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउँछौँ।
११०० विद्यार्थी अध्ययनरत
जुद्धोदय माविमा हाल कक्षा १ देखि १२ सम्म अध्ययन हुन्छ। सन् २०२० देखि ११ र १२ कक्षा पढाउन सुरु गरिएको हो।
विद्यालयका अनुसार, हाल यहाँ एक हजार एक सय विद्यार्थी अध्ययरत छन्। जसमा महिला र पुरुषको संख्या उस्तै–उस्तै रहेको प्रधानध्यापक पौडेल बताउँछन्। ‘३२ शिक्षक–शिक्षिका छन्, जसमा २७ शिक्षक–शिक्षिकाको दरबन्दी छ,’ उनले भने, ‘पाँच कर्मचारी विद्यालयबाट राखेका छौँ।’
उनका अनुसार, विगत पाँच वर्षयता यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या आठ सयभन्दा कम छैन। ०७२ सालभन्दा अगाडिका केही वर्ष एक हजार दुई सय विद्यार्थीसम्मले यहाँ अध्ययन गर्थे। भूकम्पका कारण विद्यार्थी संख्या केही घटेको हो। अहिले विद्यार्थीको संख्या बढ्दो क्रममा छ।
यस विद्यालयमा अधिकांश विद्यार्थी ठमेल, असन, इन्द्रचोक लगायत क्षेत्रमा मजदुरी गर्नेका छोराछोरी रहेको प्रधानाध्यापक पौडेल बताउँछन्। ‘८० प्रतिशत मजदुरी र अस्थायी बसोबास गर्नेका छोराछोरी छन्,’ उनले भने, ‘२० प्रतिशत विद्यार्थी स्थानीयवासी हुन्।’
पछिल्ला चार वर्षमा यस विद्यालयबाट चार सय ३४ विद्यार्थीले एसइई दिए। ०७४ मा एसइई दिनेमध्ये दुई जनाले ए प्लस ल्याएका थिए। त्यस्तै, ०७५ मा ९ जनाले, ०७६ मा २२ जनाले र ०७७ मा १३ जनाले ए प्लस ल्याएको प्रधानाध्यापक पौडेल बताउँछन्। पछिल्ला दुई वर्ष कोभिडका कारण विद्यालय आफैंले नम्बर राखेर पठाएका कारण धेरैले ए प्लस ल्याएको उनी स्वीकार गर्छन्। यस वर्ष यस विद्यालयबाट सय जनाले एसइई दिँदैछन्।
कक्षा १० मा अध्ययनरत अर्चना शाह एसइईको तयारी राम्रै भइरहेको बताउँछिन्। उनी कक्षा ९ देखि यस विद्यालयमा भर्ना भएकी हुन्। यसअघि उनी निजी विद्यालय (ब्राइटफिल्ड एजुकेसन एकेडेमी)मा अध्ययन गर्थिन्। ‘निजी विद्यालय र सामुदायिक विद्यालयका बारेमा धेरै भिन्नता छ भन्ने सुनेकी थिएँ,’ उनी भन्छिन्, ‘त्यस्तो होइन रहेछ। यहाँ शिक्षकले धेरैपटक प्रश्न गरी बुझाएर पढाउनुहुन्छ।’
यस विद्यालयमा ०४५ सालदेखि कक्षा १ देखि ५ लाई अंग्रेजी विषय पढाउने शिक्षक लोकनाथ नेपाल अहिले विद्यार्थीले इन्टरनेट र सञ्चारमाध्यमबाट धेरै कुरा सिकिरहेको र निकै फर्वाड भएको बताउँछन्। ‘पहिले विद्यार्थीको सिक्ने माध्यम विद्यालय मात्र हुन्थ्यो। अहिले सञ्चारमाध्यम, इन्टरनेटबाट पनि विद्यार्थीले सिक्ने गर्छन्,’ उनी भन्छन्, ‘पहिला घोकन्ते शिक्षा थियो तर अहिलेको सिकाइ केही हदसम्म उत्पादनमुखी भएको पाएका छौँ।’