एमाले महाधिवेशन : पुराना पुस्ताले विश्राम लिने र नयाँ पुस्तालाई मौका दिने देखिँदैन

यसपालि एमाले महाधिवेशनमा राजनीतिक विचारको कुनै छलफल हुने अवस्था देखिँदैन। महाधिवेशन भनेको पार्टीको विचार निर्माण र नेतृत्व चयनका लागि फलफल गर्ने ठाउँ हो। तर, विचारको कुनै बहस भएको देखिँदैन।

यसअघि महाधिवेशनमा पुराना पुस्ताले विश्राम लिने र नयाँ पुस्तालाई मौका दिने कुरा भएको थियो। जुन पूरा भएको पाइँदैन। खासमा यही महाधिवेशनमा युवा पुस्तालाई जिम्मेवारी सुम्पिनुपर्ने हो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा पनि गरेका थिए– ‘म यसपटक मात्र प्रधानमन्त्री हुन्छु, अर्को पटकदेखि हुनेछैन।’ तर, महाधिवेशनसम्म आइपुग्दा उनले आफ्नो रबैया बदलेका छन्। फेरि अध्यक्ष हुने र सकेसम्म सर्वसम्मत अध्यक्ष हुने उनको कोसिस देखिन्छ। त्यसकारण यो महाधिवेशनमा पनि युवापुस्ता एमालेको अगुवा हुने सम्भावना कम छ।

अहिले एमालेमा माओवादी केन्द्रको एउटा हिस्सा मिसिन गएको छ। यसअघि छलफल नहुँदा पार्टी (नेकपा) फुट्ने परिस्थिति बन्यो। त्यो परिस्थितिमा आफ्नो मतसहितको समूह पनि एमालेमा छ। यी सबैलाई यो महाधिवेशनमा सम्मानजनक ठाउँ दिइन्छ वा दिइँदैन भन्ने प्रश्न उठेको छ। माओवादीबाट मिसिन गएकाका लागि सम्मानजनक ठाउँ छ। तर, पहिलेको माधव नेपाल समूहबाट मिसिन गएकालाई के गर्ने भन्ने प्रश्न छ।

यसलाई एकताको महाधिवेशन भनिएको छ। तर, नामअनुसारको काम भएको छैन। यो एक हिसाबले नेतृत्वको मात्र महाधिवेशन भएको जस्तो देखिएको छ। योे समयमा नेपाललाई कुन–कुन कार्यक्रममार्फत बदल्ने भन्ने कुरामा देशव्यापी रूपमा बहस हुनुपर्ने थियो। साधारण जनताले पनि त्यो बहसमा सहभागी हुनुपर्ने थियो। त्यसो भए जनताको सहभागिता भएको महाधिवेशन हुने थियो।

कम्युनिस्ट भनेको श्रमिक वर्गको पार्टी हो। तर, श्रमिक वर्गकै कुनै सहभागिता छैन। श्रमिक वर्गका लागि जम्मा तीनजनाको कोटा छुट्ट्याइएको छ। यो एक हिसाबले मध्यम र निम्न मध्यम वर्गको पार्टी हुन गइरहेको छ। ऋरू पार्टीको पनि समस्या यही हो। कम्युनिस्ट पार्टीले सुरुमा अन्य पार्टीभन्दा फरक ढंगले अगाडि बढ्ने कुरा गरेका थिए। ‘रियल’ कम्युनिस्ट पार्टी बनाएर लैजाने भनेका थिए, तर रियल कम्युनिस्ट पार्टीको ‘क’ पनि देखिएको छैन।

यसको आचरण, संस्कृति, विचार कुनै पनि कुरा बदलिएको छैन। आचरण, विचार र संस्कृति नै नबदले पछि कम्युनिस्ट पार्टी कसरी बदल्छ त ?

छलफलविहीनताको अवस्था

विगतमा छलफलको अभावकै कारण पार्टी टुक्रिएको थियो। जुन यसपटक पनि दोहोरिएको छ। विचारको छलफल नहुनु भनेको पुरानो विचारको निरन्तरता हुनु हो। नयाँ विचारले स्थान नपाउँदा फलस्वरूप नेपालमा रूपान्तरणकारी कार्यक्रम पनि आउँदैन। पुरानै कार्यक्रम बाध्यकारी रूपमा चलिरहनेछ। अहिले जसरी पार्टी चलिरहेको छ, त्यसरी नै चलिरहन्छ। कुनै रूपान्तरणकारी कार्यक्रम ल्याउने सम्भावना रहँदैन।

यसको सबैभन्दा नकारात्मक परिणाम भनेको आम जनतामा यो पार्टीप्रतिको आकर्षण घट्छ। आम जनताले सर्वसाधारण जनताको मुद्दा, उनीहरूको जीविकाको मुद्दा, उनीहरूको समस्याको मुद्दा यस महाधिवेशनमा कति उठेको छ भनेर हेर्छन्। खालि टाउको मात्र गनेर जनताले त्यो पार्टीलाई समर्थन गर्ने वा नगर्ने भन्ने हुँदैन। तर, यस महाधिवेशनमा आम जनताको मुद्दाबारे कुनै छलफल नै गरिएको छैन।

प्रतिस्पर्धाबिनाको महाधिवेशन

विगतको महाधिवेशनमा प्रतिस्पर्धा देखिन्थ्यो भने अहिले त्यस्तो देखिएको छैन। पहिला माधव नेपालसँग प्रतिस्पर्धा देखिएको थियो, अहिले त्यो रहेन। विगतमा प्रतिस्पर्धाकै कारणले पार्टी फुट्ने अवस्थामा समेत पुगेको थियो। तर, अहिले यसमा फुट हुने सम्भावना छैन र कुनै गुट पनि देखिँदैन।

पार्टीभित्र विभिन्न पदका लागि उम्मेदवारीको प्रतिस्पर्धा भइरहेको भए पनि अध्यक्ष पदमा भीम रावलबाहेक कसैले उम्मेदवारी दिएको देखिँदैन। अहिले भीम रावललाई पनि उम्मेदवारी फिर्ता लिन लगाउने प्रयास चलिरहेको छ। त्यसकारण यसलाई प्रतिस्पर्धा र चुनौतीबिनाको महाधिवेशन हुन लागिरहेको भन्न सकिन्छ। जुन अघिल्लो पटकभन्दा फरक हो। प्रतिस्पर्धा भनेको समानुपातिक लोकतन्त्रको सुन्दरता हो। त्यो एमालेमा अहिले देखिएको छैन।

३३ प्रतिशत महिला

पार्टीले संविधानअनुसार ३३ प्रतिशत महिलालाई सहभागी गराउने पहल गरिरहेको छ। जुन एमालेको इतिहासमा पहिलोपटक हो। यसलाई कानुनले पनि बाध्यकारी बनाएको हुनाले यो लागु गर्न लागिएको हो। कानुनले ३३ प्रतिशत महिलाको सहभागिता नभए पार्टी नै दर्ता नहुने नियम बनाएको छ।

समावेशीका लागि महिलाको सहभागितासँगै दलित, जनजातिका लागि पनि नयाँ कलस्टर छुट्ट्याएर उनीहरूमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्न लागेको देखिन्छ। तर, दलित, जनजाति, मधेसीलगायतको तुलनामा महिलाको हकमा पार्टीले समावेशिता बढी देखाएको छ।

(सोनी शाहीले गरेको वार्तामा आधारित।)

 Published Date: Wednesday, 24th November 2021 4:52:00 pm