Kathmandu Press

औंसी–पूर्णे रोग अर्थात् ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’

मानिसको व्यवहारमा निश्चित समय अन्तरालपछि आउने नाटकीय परिवर्तनलाई ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ भनिन्छ । जस्तो ः व्यक्ति छिनमै अत्यधिक खुसी हुन्छ, छिनमै अत्यधिक दुःखी वा सानोसानो कुरामा रिसाउँछ । 
औंसी–पूर्णे रोग अर्थात् ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’
Hardik ivfHardik ivf

काठमाडौं, असोज १० : ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ एक किसिमको मानसिक रोग हो । जुन कडा खालको मानसिक रोगमा पर्छ। कुनै व्यक्तिले निश्चित समय अवधिमा फरक खालको व्यवहार देखाउँदा समाजमा भन्ने गरिन्छ– फलाना वा फलानीलाई औँसी÷पूर्णिमा लाग्यो, यो त्यस्तै खालको रोग हो । 

यसमा कुनै पनि व्यक्ति निश्चित समयका लागि खुसी हुने तथा निश्चित समयमा धेरै दुःखी हुने, रिसाउने लगायत व्यवहार देखाउँछन् । हरेक व्यक्तिमा कुन समय यस्ता व्यवहार देखिन्छन् भन्ने निश्चित हुँदैन । कसैको एक महिनामा एकपटक अत्यधिक रिस देखाउँछन् भने कोही दुई–तीन महिनाको एकपटक यस्ता व्यवहार देखाउने गर्छन् । अर्थात्, कुनै पनि व्यक्तिलाई ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ भएको छ वा छैन भन्ने संकेत यी दुई कुराले गर्छ– १) व्यक्ति छिनमै अत्यधिक खुसी हुन्छ । २) छिनमै अत्यधिक दुःखी वा सानोसानो कुरामा रिसाउँछ । अर्को शब्दमा भन्नुपर्दा मानिसको व्यवहारमा निश्चित समय अन्तरालपछि आउने नाटकीय परिवर्तनलाई ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ भनिन्छ।

कारण

हरेक मानसिक रोगजस्तै यसको पनि मुख्य कारणमा जैविक, मानसिक र सामाजिक तत्व नै आउँछन् । जैविक तत्व वंशाणुगत हुन्छ । जस्तै : आफ्नो परिवार वा वंशमा कसैलाई ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ थियो भने सो व्यक्तिको केही पुस्तासम्म यो रोग देखिन सक्ने सम्भावना रहन्छ । तनावका कारण पनि व्यक्तिमा ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ देखिन सक्छ । व्यक्तिमा तनाव उत्पन्न हुनुमा समाजले उसलाई गर्ने व्यवहार र उसको हुर्काइको पनि भूमिका रहन सक्छ । 

यो रोग महिला र पुरुष दुवैमा उत्तिकै देखिन्छ । उमेरका हिसाबले भन्ने हो भने बालबालिकामा यो रोग कम देखिन्छ भने २१÷२२ वर्षदेखि माथि उमेर समूहका मानिसमा यो रोग बढी देखिन्छ । यसलाई डिप्रेसनभन्दा माथिको चरणको रूपमा पनि लिइन्छ । लगनखेलस्थित मानसिक अस्पतालमा आउने कतिपय बिरामीमा पहिले नै डिप्रेसन भई त्यो रोग बल्झिएर ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’सम्म पुगेको पाइन्छ । कतिपयले डिप्रेसन निको भइसकेको सोचेर उपचारमा हेलचेक्रयाइँ गर्दा पनि ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ देखिन सक्छ। 

लक्षण

डिप्रेसन र ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ उस्तै उस्तै प्रवृत्तिको रोग हो । तर यी दुईमा केही भिन्नता छन् । डिप्रेसनमा पर्याप्त निद्रा नलाग्ने, अत्यधिक थकाइ लाग्ने, मन स्थिर नहुने, खुसी हुन नसक्ने, आवश्यकभन्दा बढी नरमाइलो लाग्ने, खाना नरुच्ने लगायत स्वास्थ्य समस्या देखिन्छ । 

‘बाइपोलार अफेक्टिभ डिसअर्डर’मा छोटो समयावधिमा मुड परिवर्तन हुन्छ । जस्तै ः एकैछिनमा धेरै खुसी हुने, एकैछिनमा धेरै दुःखी हुने, झर्कने, कराउने, धेरै रिसाउने आदि व्यवहार देखाउनु । यो रोगका बिरामी डिप्रेसनको तुलनामा बढी सक्रिय हुन्छन् । जस्तै ः घरको सबै काम राम्ररी गर्ने, केही काम गरिनै रहनुपर्ने बानी, ऊर्जा स्तर बढी हुने हुन्छ । साथै दुई–तीन घन्टा मात्र सुत्दा पनि एकदमै सक्रिय देखिने, शारीरिक सरसफाइमा धेरै नै ध्यान दिने लगायत लक्षण देखिन्छन् । 

याे पनि...

तपाईंलाई कुनै वस्तु वा घटनासँग डर लागिरहेको छ ? 

उदाहरणका लागि कुनै व्यक्तिमा ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ भएको थाहा पाउने मुख्य तरिका भनेको एकै समय अन्तरालमा व्यवहारमा परिवर्तन आउनु हो । जस्तो: कुनै समय त्यही काम गर्दा नरिसाउने व्यक्ति अर्को समय सोही काम गर्दा आवश्यकभन्दा धेरै रिसाउने व्यवहार देखाउँछन् । 

‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ भएका बिरामीले सबै आफैँ गरेको सोच्ने, आफैँले सबै सम्पत्ति जोडेको हो भन्ने, राजनीतिक र व्यावसायिक क्षेत्रमा लागेकाले सबैलाई चिनेको छु भन्ने, मैले यो पनि गरेको त्यो पनि गरेको भन्ने गर्छन् । यस्ता व्यवहारबाट पनि सो व्यक्तिमा ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ भएको थाहा पाउन सकिन्छ । 

यो मुख्यतः वृद्धवृद्धामा अझ बढी देखिन्छ । जस्तै ः उनीहरूलाई केही खानेकुरा दिँदा पनि कुनै समय सो खानेकुरा मिठो मानेर खाने र सोही कुरा दिँदा कुनै समय अत्यधिक रिसाउने, जथाभावी बोल्ने लगायत व्यवहार देखाउँछन् । यसलाई नेपालमा औंसी–पूर्णे लागेको पनि भन्ने गरिन्छ । सो बिरामीको परिवारले पनि पहिलेदेखि नै यस्ता क्रियाकलाप देखिरहेको हुँदा उनीहरूलाई आफ्नो सदस्यको यो अवस्था सामान्य लाग्न सक्छ । कतिपय बिरामीका आफन्त बिरामीसँग आउँदा ‘यसलाई औंसी–पूर्णे लाग्छ, अरु त खासै केही होइन, सबै ठीक छ’ भन्ने समेत गर्छन् । उनीहरूलाई यो एउटा रोग हो भन्ने ज्ञान हुँदैन ।

उपचार

यसको उपचार अरु रोगको तुलनामा भिन्न छ । ‘एटिपिडी फोबिक एन्जाइटी’ लगायतका मानसिक रोगमा औषधिको भूमिका बढी रहेको हुन्छ भने यसमा मानिस स्वयंले मुडलाई स्थिर राख्ने प्रयास गर्नुपर्छ । कुनै व्यक्तिमा बाइपोलार अफेक्टिभ डिसअर्डर सँगसँगै ‘साइकोसिस एनओएस’ नामक मानसिक रोग पनि छ भने ‘एन्टिसाइकोटिक’ औषधि दिने गरेका छौँ । 

यसबाहेक स्वास्थ्य अति नै बिग्रिएको अवस्थामा इलेक्ट्रिकल प्रविधि वा करेन्टबाट पनि उपचार गर्छौं । औषधिबाहेक साइकोलजिकल अर्थात् मानसिक उपचार गर्छौं । जसमा उनीहरूलाई काउन्सिलिङ गर्ने, व्यवहारमा स्थिरता कसरी ल्याउने भन्ने सिकाउने, रिस उठेका बेला कसरी आफूलाई नियन्त्रण गर्ने लगायतका कुरा सिकाउने गरिन्छ । यसमा व्यक्ति स्वयंले ‘मलाई यो रोग छ, मेरो मुड स्थिर बनाउनुपर्छ’ भन्ने कुराको मनन नगरेसम्म यो रोगको पूर्ण उपचार हुन सक्दैन । 

यो रोगको उपचार हुनेबित्तिकै समाधान हुँदैन । उपचार गराएकोमध्ये एक सय जनामा जम्मा १५ प्रतिशतलाई मात्र उपचारपछि पूर्ण रूपमा समस्या समाधान हुन्छ र सोही समस्या फेरि दोहोरिँदैन, ३५ प्रतिशत ठीकै भएर बाँचिरहेका हुन्छन् । त्यस्तै, ४० प्रतिशतलाई मल्टिपल भिजल अर्थात् महिना वा वर्षको अन्तरालमा समस्या देखिने र बाँकी १० प्रतिशत भने सिकिस्त बिरामी हुन्छन् । 

‘बाइपोलार अफेक्टिभ डिसअर्डर’को उपचारले बिरामीलाई पूर्ण निको बनाउनेभन्दा पनि रोगलाई बल्झिन नदिने र रोगकै कारण दैनिकीमा असर पार्न नदिने काम गर्छ । 

मानसिक अस्पतालमा पनि ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’का बिरामी धेरै छन् । मैले उपचार गरेकोमध्ये एक बिरामीलाई डिप्रेसन भएको थियो । सो व्यक्तिको पढाइ राम्रो थियो । उनलाई अमेरिकाको डिभी परेको थियो तर कारणवश जान पाएनन् । यही र अन्य कुराले धेरै तनाव भएपछि बिस्तारै उनी डिप्रेसनमा गए । उनलाई कसले मार्न आएको जस्तो अनुभव हुने, मेरो परिवार र मलाई मार्छ भन्ने गर्थे । उनलाई अस्पतालमा भर्ना नै गर्न परेको थियो । उपचारपछि बिस्तारै मानसिक स्वास्थ्य सुध्रिएपछि डिस्चार्ज भइसकेका छन् । तर फेरि बल्झिन सक्ने सम्भावना रहन्छ । 

उपचारका लागि आएकी अर्की एक युवतीलाई सुरुमा डिप्रेसन भएको रहेछ । धेरै थरीको चिन्ता र तनावका कारण उनी डिप्रेसनमा गएकी थिइन् । डिप्रेसनको लक्षण देखिँदा पनि परिवारले त्यसलाई सामान्य मानेर हेलचेक्र्याइँ गरेछ । त्यसै कारण उनको उपचारमा पनि समस्या आएको थियो । पहिले डिप्रेसनकै चरणमा उपचार हुन पाएको भए ‘बाइपोलार अफेक्टिभ डिसअर्डर’ हुने सम्भावना कम रहन्थ्यो । ती युवती उपचारका लागि आएका बेला ‘मेरा यस्ता साथी छन् । यस्तो मान्छेलाई चिन्छु, मेरो यस्तो घर छ’ भन्ने गर्थिन् । व्यवहार र स्वभावमा पनि एकदमै छुच्ची, ठूलो स्वरले कुरा गर्ने र निकै सक्रिय थिइन् । अहिले उनी उपचारबाट बिस्तारै ठीक हुने अवस्थामा छन् ।

(मनोचिकित्सक डा. विनिता ढुंगेलसँग सोनी शाहीले गरेको वार्तामा आधारित ।)
 

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, असोज १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्