तपाईंलाई कुनै वस्तु वा घटनासँग डर लागिरहेको छ ?
सामान्य शब्दमा भन्नुपर्दा कुनै व्यक्ति कुनै वस्तु वा घटनासँग डराउनु र त्यो अवस्थाबाट पन्छिन खोज्नुलाई ‘फोबिक एन्जाइटी’ भनिन्छ । त्यो यस्तो अवस्था वा घटना हुन्छ, जुन अरुलाई सामान्य लाग्न सक्छ ।
‘फोबिक एन्जाइटी डिसअर्डर’ एक प्रकारको मानसिक रोग हो । फोबिया वा एन्जाइटी डिसअर्डर र फोबिक एन्जाइटीलाई एकै खालको मानिए पनि यी दुईमा भिन्नता छ । फोबिया भनेको कुनै वस्तु वा घटनासँग डर लाग्नु हो । फोबिक एन्जाइटी भनेको त्यो डरले आफ्नो दैनिकीमै असर पार्ने गरी स्वभावमा परिवर्तन आउनु हो ।
सामान्य शब्दमा भन्नुपर्दा कुनै व्यक्ति कुनै वस्तु वा घटनासँग डराउनु र त्यो अवस्थाबाट पन्छिन खोज्नुलाई ‘फोबिक एन्जाइटी’ भनिन्छ । त्यो यस्तो अवस्था वा घटना हुन्छ, जुन अरुलाई सामान्य लाग्न सक्छ ।
फोबिक एन्जाइटी लागेको बिरामी आइपरेको अवस्थासँग भाग्ने, भागेको विषय वा वस्तुसँग जम्काभेट भइहाले त्यो अवस्थामा एन्जाइटी अझै बढ्ने हुन्छ । उदाहरणका लागि कुनै एक व्यक्तिलाई कुनै समय कुकुरले लखेटेको वा टोकेको छ भने धेरै समयसम्म कुकुरदेखि टाढाटाढा बस्ने हुन्छ । थोरै डराउनुलाई सामान्य पनि मानिन्छ, यसलाई फोबियाको रूपमा पनि लिन सकिन्छ । तर कुकुरले कुनै समय टोकेकै भएर कुकुर देख्नेबित्तिकै टाढैबाट भाग्ने, बाटो नै परिवर्तन गर्ने, कुकुर हुन्छ भनेर आफू हिँड्ने बाटो र समय नै परिवर्तन गर्ने, अत्तालिने, कुकुर अचानक आफ्नोअगाडि आउँदा निस्सासिने, बाटोमा कुकुर आउँछ भनेर घरबाटै ननिस्कने लगायत समस्या आउनुलाई नै फोबिक एन्जाइटी भनिन्छ ।
यो एक उदाहरण मात्र हो । फोबिक एन्जाइटी जुनसुकै वस्तुसँग पनि हुन सक्छ । जस्तै ः पानी, भीडभाड, खुला ठाउँ, कीरा, उचाइ, ठाउँ, अन्धकार आदिबाट छुट्टाछुट्टै हुन्छ । अर्थात् चाहिनेभन्दा बढी डराउनुलाई नै ‘फोबिक एन्जाइटी’ भनिन्छ ।
एकान्त, भीडभाडमा जाँदा, बस चढ्दा, कुकुरले लखेट्दा आदि घटनामा कुनै व्यक्तिलाई एन्जाइटीको समस्या उत्पन्न भयो भने अर्कोचोटि फेरि सोही ठाउँ वा त्यस्तै प्रकृतिको घटना सामना गर्नुपर्दा उसलाई डर लाग्न सक्छ । त्यस्ता समस्यासँग भाग्ने गर्न सक्छ।
लक्षण
अवस्थासँग भाग्नु वा अभोइड गर्नु नै फोबिक एन्जाइटीको मुख्य लक्षण हो । कसैलाई कुनै अवस्थासँग डर लाग्छ, तर त्यसलाई सामना गर्न खोज्छ भने त्यस्तो अवस्थालाई फोबिक एन्जाइटी मानिँदैन । कुनै मानिससँग डराउनु वा अगाडि पर्न नखोज्नु र परिहाले मस्तिष्कले राम्ररी काम नगर्नुलाई पनि केही हदसम्म फोबिक एन्जाइटी मान्न सकिन्छ ।
यसबाहेक असामान्य रूपमा पसिना आउने, असामान्य सास फेर्ने, छिटो मुटु धड्कने, काम्ने, शरीर अत्यधिक तातो वा चिसो हुने, छाती दुख्ने, पिन वा सुईले घोँचेको अनुभूूति हुने, मुख सुक्खा हुने, भ्रम पैदा हुने, वाकवाकी र रिंगटा लाग्ने, टाउको दुख्ने लगायत समस्या पनि आउन सक्ने सम्भावना रहन्छ ।
यस्ता अवस्थाको सामना नगर्नकै लागि सो व्यक्तिले आफ्नो समय तालिका परिवर्तन समेत गर्ने गरेको पाइएको छ । कतिपय फोबिक एन्जाइटीका बिरामी कुनै अवस्थासँग सामना गर्नुअगाडि नै त्यसका लागि आफूू सक्षम नभएको मानेर अवस्थासँग भाग्ने वा त्यसको वैकल्पिक उपाय रोज्ने गरेका छन् ।
जस्तै : कुनै पार्टीमा जाँदा वा कुनै बाटोमा हिँड्दा एन्जाइटीका समस्या छन् भने सो व्यक्तिले अरु बाटो रोज्ने प्रशस्तै उदाहरण छन् । फोबिक एन्जाइटीको मुख्य लक्षण भनेकै अवस्थालाई अभोइड गरेर त्यसबाट टाढा जानका लागि अथवा त्यो अवस्थालाई सामना गर्न नपरोस् भनेर आफ्नो सजिलो कार्यतालिकालाई पनि अप्ठेरो बनाउने गरी काम गर्न सक्छ ।
यसको सकारात्मक पक्ष के हो भने अन्य केही मानसिक रोगमा बिरामीले आफू मानसिक रोगी भएको महसुस गर्दैन वा स्विकार्न खोज्दैन भने यसमा व्यक्ति स्वयंले आफूलाई कुन चिजले फोबिक एन्जाइटी भइरहेको छ भन्ने थाहा पाउँछ र त्यसको समाधान गर्न खोज्छ ।
उदाहरणका लागि साइकोसिस जस्ता बिरामीको केसमा आफूलाई गाह्रो नहुने तर बिरामीको परिवर्तित स्वभावका कारण समाज र परिवारमा नकारात्मक असर गरिरहेको हुन्छ । तर, यसमा आफूलाई नै गाह्रो हुने र कतिपय कुराको आफैँलाई पनि ज्ञान हुन्छ।
फोबिक एन्जाइटी हुनुका कारण
विषेशगरी जैविक तत्त्व नै फोबिक एन्जाइटीको कारण हुन सक्छ । मानिसको मस्तिष्क र शरीरको कस्तो खालको बनावट छ, वातावरणीय कारक तत्त्वमा उसले पहिले कस्तो अवस्थाको सामना गरेको छ र त्यसले मानसिक रूपमा कस्तो आघात पारेको छ आदि कारणको रुपमा फोबिक एन्जाइटीमा देखिन्छन् । तर, ठ्याक्कै के कारणले फोबिक एन्जाइटी हुन्छ भन्न सकिँदैन । किनभने, कसैलाई कुनै अवस्था सामान्य वा सहज लाग्न सक्छ, कसैलाई त्यही अवस्था परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ ।
लागुपदार्थको प्रयोगपछि पनि कतिपयमा निश्चित समयसम्म यस्ता समस्या देखिन्छन् । तर त्यसलाई फोबिक एन्जाइटी मानिँदैन । सामान्य अवस्थामा कम्तीमा एक महिनादेखि यस्ता एन्जाइटीका कारण आफ्नो दैनिकीमा धेरै नै समस्या आउन थालेको छ भने सम्बन्धित चिकित्सकसँग परामर्श लिन जरुरी हुन्छ ।
उपचार
अहिले पनि मानसिक अस्पताल, लगनखेलमा आउने बिरामीमध्ये धेरै बिरामीमा फोबिक एन्जाइटीकै समस्या देखिएको छ । गत आर्थिक वर्षमा मात्र फोबिक एन्जाइटीका दुई हजार ४६ बिरामी आएको अस्पतालको तथ्यांक छ ।
यसको मुख्य उपचार भनेको मनोवैज्ञानिक परामर्श र औषधि नै हो । मनोवैज्ञानिक उपचार अन्तर्गत कुनै व्यक्तिलाई जे चिजसँग डर लाग्छ वा फोबिक एन्जाइटी छ, त्यो वस्तु वा अवस्थासँग बिस्तारै सामना गर्न लगाउने हो । यसका लागि धेरै औषधि पनि छन् । जुन सहजै उपलब्ध हुन्छन् । मानिसको शरीरको प्रकृति र फोबिक एन्जाइटी रोगको अवस्था हेरेर दुवै एकैसाथ वा छुट्टाछुट्टै पनि उपचार गर्न सकिन्छ । नेपालमा यसको अवस्थाबारे समग्रमा तथ्यांक उपलब्ध नभए पनि क्लिनिक र अस्पतालमा दैनिक यस्ता बिरामी आइरहेका हुन्छन् ।
मानसिक अस्पताल, लगनखेलमा आउने फोबिक एन्जाइटीका बिरामीको कुरा गर्ने हो भने यहाँ खुला ठाउँको डर हुने, मानिसको भीड हुने ठाउँमा जान डराउने, सामाजिक फोबिया भएको, कुनै वस्तु देखेर डराउने, जनावर देखेर डराउने लगायत समस्या लिएर बिरामी आइरहेका हुन्छन् ।
कतिपय अन्य अस्पतालमा उपचार गराउँदा पनि निको नभएका बिरामी, पहिले धामीझाँक्री कहाँ गएर निको नभएका बिरामी पनि मानसिक अस्पताल लगनखेलमा आउने गर्छन् । त्यस्ता बिरामीलाई औषधोपचारमा विश्वास गर्न र दिएका औषधि नियमित लिन समेत सल्लाह दिने गरेका छौँ ।
(मनोचिकित्सक डा. देवकोटासँग काठमाडौंप्रेसकर्मी सोनी शाहीले गरेको कुराकानीमा आधारित ।)












-(7)-1765197040.jpg)