Kathmandu Press

इखले पढायो, अविचलित राजनीतिले उपमेयर बनायो

दनुवार परिवारकी छोरी भएकैले एसएलसी पास गर्दा खिसिट्युरी भोगेकी र जिते पनि मान्दैनौँ भनेर चुनावी अभियानमा होच्याइएकी लक्ष्मी दनुवार पाँचखाल नगरपालिकाकी सफल उपमेयर बनेकी छन्। र, सबैबाट हौसला र प्रेरणा पाएकी छन्।
इखले पढायो, अविचलित राजनीतिले उपमेयर बनायो

काठमाडौं, असोज ५ : ‘तँ दनुवार होस्, उपमेयर चुनाव जिते पनि मान्दैनौँ’ । निर्वाचित भएको चार वर्ष बितिसक्दा पनि लक्ष्मी दनुवारको कानमा गुन्जिरहन्छ यो वाक्यांश । स्थानीय तहको निर्वाचनमा भोट माग्न घरदैलोमा निस्केका बेला उनलाई एक स्थानीय बासिन्दाले यस्तो दुर्वाच्य प्रयोग गरेका थिए।

तथापि, ‘दनुवारकी छोरीले एसएलसी पास गरी रे’ भन्दै होच्याएर बोलिएका शब्दले उपमेयर बन्न सहयोग पुगेको उनी बताउँछिन् । ‘हिजो एसएलसी पास हुँदा होच्याएर नबोलिएको भए मलाई पढ्न मन लाग्दैनथ्यो होला,’ उनी भन्छिन, ‘उच्च शिक्षा लिएका कारण राजनीतिमा आउने मौका मिल्यो र उपमेयर बनेँ ।’

शनिबार मध्याह्न कार्यकक्षमा भेटिइन्, उपमेयर दनुवार । शनिबार कार्यालय बन्द थियो । तथापि, ‘काठमाडौं प्रेस’को ‘जनप्रतिनिधि महिला’ शृंखलाका लागि उनीसँग कुराकानी गर्नु थियो । सहजै कार्यकक्षमा आइदिन तयार भइन् उनी । कार्यकक्षमा प्रवेश गर्नासाथ मन्द मुस्कानसाथ उनले भनिन्, ‘उपमेयरको अनुभव समेट्न आउनुभएकोमा विशेष धन्यवाद ।’

‘अन्य समुदायको व्यक्ति उपमेयर हुन समाज र साथीभाइबाट लाञ्छना सहनु पर्दैनथ्यो होला । तर, जनजाति भएका कारण पटक–पटक ठक्कर खानुपरेको छ,’ उनले आफ्नो चारवर्षे अनुभव सुनाउन थालिन् ।

नमोबुद्ध नगरपालिका–३ बालुवामा ८ चैत ०४४ मा माइलो दनुवार र कान्छीको कोखबाट जन्मिइन्, लक्ष्मी । उनी जेठी छोरी हुन् । दुई  भाइ र एक बहिनी छन्, उनका । ‘बुवा–आमा खेती किसानी गर्नुहुन्थ्यो, अहिले पनि त्यही पेशा हो,’ उनी भन्छिन्, ‘पाँचखालको मुख्य पेशा नै कृषि हो ।’

कमजोर आर्थिक अवस्थाको परिवारमा हुर्किएका कारण बाल्यकाल अभावमै बित्यो उनको । सात वर्षको उमेरमा स्थानीय नारायण प्राविमा भर्ना भइन् । ‘काका हजुरबुवा उपप्रधानपञ्च हुुनुहुन्थ्यो, उहाँले नै नारायण प्रावि स्थापना गर्नुभएको हो,’ उनी भन्छिन्, ‘हजुरबुवाले छोरीलाई विद्यालय पठाउनुपर्छ भनेपछि पढ्न पाएँ ।’

उनका अनुसार त्यो बालुवाको पहिलो विद्यालय थियो, जसमा उनका फूपुहरू पनि लुंगी र चोलो लगाएर पढ्न जान्थे ।

लक्ष्मीले कक्षा–१ देखि ४ सम्म नारायण प्राविमा पढिन् । कक्षा–५ अध्ययन गर्न भने करिब तीन किलोमिटर टाढा शिखरकटेरीस्थित गंगादेवी प्रावि धाइन् । ‘कक्षा–६ देखि एसएलसीसम्म आजाद माविमा पढेँ,’ उनी भन्छिन्, ‘०६१ सालमा दोस्रो डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुँ ।’

कक्षा–१ देखि ९ सम्म दनुवार समुदायका १४–१५ जना उनीसँगै पढ्दै थिए । तर, एसएलसी दिने र उत्तीर्ण हुने गाउँकी एक्ली बनिन्, उनी । गाउँमा अन्य समुदायका व्यक्ति एसएलसी फेल भएका थिए। उनलाई पनि एसएलसीपछि पढ्न पाउँछु भन्ने लागेको थिएन । किनकि, फेल भएका साथी र उनीहरूका परिवारका सदस्यले दुनवार समुदायकी लक्ष्मीले के पढ्लिन् र भन्दै कुरा काटेका थिए, उनकै सामुन्ने ।

तर, जनजाति समुदायले पढ्दैनन् जस्तो व्यवहार गरेको देख्दा उनको मनमा पढ्नैपर्छ भन्ने अठोट पैदा भयो । ‘त्यसैले घरबाट सहयोग नमिले पनि आफैँ काम गर्दै अध्ययन गर्छु भन्ने जिद्दी गरेँ र पढ्न पाएँ ।’

त्यसपछि उनले बनेपामा भाडाको कोठामा बसेर पढ्न थालिन् । बनेपाको चैतन्य क्याम्पसमा कक्षा–११ देखि स्नातकसम्म शिक्षा विषय लिएर अध्ययन गरिन् । ‘घर छोडेर पढ्न बनेपा आएपछि नै सुरु भएको हो मेरो राजनीतिक यात्रा पनि,’ उनले स्मरण गरिन् ।

कलेजबाट राजनीतिक यात्रा

२०६१ सालमा चैतन्य क्याम्पसबाटै उनको राजनीतिक यात्रा सुरु भयो । कलेजमा विभिन्न पार्टीका विद्यार्थी संगठनले नयाँ विद्यार्थीलाई आफूमा आबद्ध गराउने कोशिस गर्छन् । त्यही क्रममा पहिलोपल्ट ०६२ सालमा उनले नेविसंघको सदस्यता लिइन् । ‘हजुरबुवा कांग्रेस हुनुहुन्थ्यो त्यसैले कांग्रेस नै रोजे,’ उनी भन्छिन्, ‘नेविसंघका हरेक कार्यक्रममा पुग्थेँ ।’

अध्ययनको सिलसिलामा ०६५ सालदेखि एक गैरसरकारी संस्थामा काम गरिन् । जागिरको क्रममा विभिन्न विद्यालय घुम्न पाइन् । त्यसबाट उनमा वक्तृत्वकला विकास भयो । राजनीतिमा वक्तृत्वकलामा पोख्त हुनु जरुरी थियो । ‘मेरो सक्रियताकै कारण ०६२ सालमा नेविसंघको जिल्ला सदस्य निर्वाचित भएँ,’ उनी भन्छिन्, ‘र, ०६२–६३ को आन्दोलनमा पनि सक्रियतापूर्वक सहभागी हुन पाएँ ।’

२०६३ सालमा उनी नेपाल महिला संघको जिल्ला सहसचिव बनिन् । र, कांग्रेसको राजनीतिमा आइन् । ‘त्यतिबेला महिलाको संख्या न्यून हुने भएकाले खोजी–खोजी पद दिइन्थ्यो,’ उनी भन्छिन् ।

२८ चैत ०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा उनी पार्टीलाई जिताउन दिलोज्यानले लागिन् । असोज ०६७ मा सम्पन्न कांग्रेसको १२ औँ महाधिवेशनमा बालुवाबाट वडा सदस्यमा प्रतिस्पर्धा गरिन् । तर, १२ भोटले पराजित भइन् । ‘त्यसबेला दनुवार भएकै कारण भोट पाइनँ,’ उनी भन्छिन्, ‘दनुवारलाई जिताउन हुँदैन, भोट माग्न हिँडी भने गाउँमा खुट्टा काटिदिनुपर्छसम्म भने ।’

फागुन ०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनमा स्वतः प्रतिनिधि बनिन् । त्यसपछि नेपाल आदिवासी जनजाति संघको जिल्ला सचिव भइन् । त्यसपछिको राजनीतिक यात्रामा भने उनले पछाडि फर्किनु परेन । ‘अध्ययनसँगै राजनीतिक यात्रा  र एनजीओको जागिरलाई निरन्तरता दिएँ,’ उनी भन्छिन्, ‘राजनीति सुरु गरेदेखि आफूलाई थाहा भएको कार्यक्रम कुनै छुटाइनँ ।’

जागिर र राजनीति गर्दैगर्दा २७ असार ०७० मा मागी विवाह भयो उनको । ‘विवाहपछि पनि राजनीतिमा सक्रिय रहेँ,’ उनी भन्छिन्, ‘०७१ सालमा छोरो जन्मियो, ०७३–७४ मा एनजीओको जागिर छोडेँ ।’

यी पनि पढ्नुहाेस्

शिक्षक श्रीमानले बनाएको खाना खाएर उपमेयर कार्यालय जान्छिन्

‘महिला आत्मनिर्भर भएमा महिलाहिंसा कम’

‘मेयरबाट मैले कुनै विभेदको अनुभूति गर्नुपरेको छैन’

‘स्कुलबाट साँझ घर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’

‘महिलालाई बालबालिका हुर्काउँदै राजनीति गर्न कठिन छ’

‘आफ्नै कार्यालयका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउँदा दुःख लाग्छ’

एनजीओको जागिर छाडेपछि स्थानीय तह निर्वाचनको चहलपहल सुरु भइसकेको थियो । लामो समयदेखि उनको राजनीतिक सक्रियता देखेका पाँचखालका कांग्रेस नेता–कार्यकर्ताले लक्ष्मीलाई उम्मेदवारी दिनुपर्ने आवाज उठाए । पाँचखाल नगरपालिकामा झण्डै आधा जनसंख्या दनुवार समुदायको छ । सोही कारण दनुवार समुदायबाट उम्मेदवारी अनिवार्य नै थियो । ‘उपमेयरको टिकट पाएँ र जितेँ पनि,’ उनी खुशी हुँदै भन्छिन्, ‘त्यसअघि दनुवार उठे पनि जित्दैनन् भन्नेहरूका लागि उदाहरण बनेँ ।’

उपमेयरको जिम्मेवारी वहन गर्दै गर्दा स्नातकोत्तर तहको अध्ययन पनि अगाडि बढाएकी छन् । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा एलएलबी पनि गर्दै पढ्दै छिन् । ‘उपमेयरको भूमिका र अध्ययन सँगसँगै अगाडि बढाइरहेकी छु,’ उनी भन्छिन् ।

सहयोगी परिवार, सहयोगी श्रीमान्

पाँचखाल–१२ का कुमार दनुवारसँग उनको मागी विवाह भएको हो । घरकी कान्छी बुहारी हुन्, उनी । परिवार र श्रीमान्ले राजनीतिमा अगाडि बढ्न सहयोग गरिरहेको उनी बताउँछिन् । ‘सासुआमा विभिन्न समूहमा सक्रिय हुनुहुन्छ, उहाँले बुहारीलाई पनि छोरीजस्तै स्वतन्त्रता दिनुभएको छ,’ उनी भन्छिन्, ‘सासुआमा र बुवाले जनताका लागि राम्रो काम गर भनेर सधैँ हौसला दिनुहुन्छ ।’

विवाहपछि उनी केही वर्ष श्रीमान्सँग अस्थायी रूपमा काठमाडौं बसेकी थिइन् । ०७४ सालपछि भने पाँचखालमै बस्दै आएकी छन् । उनका श्रीमानको अडिट फर्म छ । व्यवसायी श्रीमानबाट उनले पर्याप्त सहयोग पाइरहेकी छन् । ‘विवाहपछि छोरीको काम कर्तव्य परिवर्तन हुन्छ तर मैले राजनीतिलाई निरन्तरता दिन सकेँ,’ उनी भन्छिन्, ‘श्रीमान सहयोगी भएका कारण राजनीतिमा सक्रिय भइरहन पाएँ ।’

मेयरबाट सधैँ प्रोत्साहन

देशभर सात सय ५३ वटा स्थानीय तह छन् । प्रमुख र उपप्रमुखको काम, कर्तव्य संविधान र कानूनले नै तोकिदिएका छन् । कतिपय यस्ता पालिका पनि छन्, जसमा प्रमुख र उपप्रमुख फरक पार्टीबाट निर्वाचित भएका छन् । र, उनीहरूबीच विवादका शृंखला छन् । तर, पाँचखाल नगरपालिकामा त्यस्तो अवस्था नरहेको लक्ष्मी बताउँछिन् । ‘सरकारले उपमेयरका लागि तोकिदिएको काम कर्तव्य पाउन मेयरबाट कुनै रोकावट छैन,’ उनी भन्छिन्, ‘प्रमुखले कामको लागि सधैँ प्रोत्साहन गर्नुहुन्छ ।’

उनका अनुसार प्रमुख र उपप्रमुखबीच हरेक योजना तथा कार्यक्रमको बारेमा दैनिक सल्लाह हुन्छ । विभिन्न कार्यक्रममा समेत बाँडफाँट गरेर जाने गर्छन् । ‘महिला उपमेयर भएका कारण धेरैजना आफ्ना योजनाबारे मेयर सा’बसँग छलफल गर्न पुग्छन् । तर, मेयर सा’बले उपमेयरको काममा उहाँसँगै छलफल गर्नु भन्दै पठाइदिनुहुन्छ,’ लक्ष्मी भन्छिन्, ‘महिलाले हरेक निर्णय आफैँ लिनसक्नुपर्छ भन्दै हरेक काममा हौसला दिनुहुन्छ ।’

स्थानीय तहमा मुद्दा बढ्दो

पाँचखाल नगरपालिका गठन भएयता हालसम्म एक सय १३ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ७० वटा मेलमिलापमा टुंगिएको उपमेयर दनुवार बताउँछिन् । ‘न्यायिक समिति स्थापना भएपछि नगरपालिकामा मुद्दा आउन थालेका हुन्,’ उनी भन्छिन, ‘घर झगडादेखि जग्गा विवादका मुद्दा नगरपालिकामा आइपुग्छन्, कतिपय मुद्दा दर्ता नगराई छलफल गरेर मिलाइन्छ ।’

न्यायिक समिति गठनपछि नगरवासीका मुद्दा प्रहरी कार्यालयभन्दा पहिले नगरपालिकामा आउने गरेको उनी बताउँछिन् । ‘दर्ता भएका धेरै मुद्दा मेलमिलापमा टुंग्याइन्छ भने कतिपय मुद्दा अदालत जानु भनेर पठाइन्छ,’ उनी भन्छिन, ‘नगरवासीले दुःख पर्दा पालिकाकै न्यायिक समितिलाई सम्झिन्छन् ।’

२०७३–०७४ यता जग्गा विवाद २०, खान–लाउन नदिएको तीन, घरेलु हिंसा १०, गाली गलौज तीन, अंशबण्डा चार, सम्बन्धविच्छेद तीन, कुटपिट सात, बाटोसम्बन्धी विवाद २० र अन्य २० घटना न्यायिक समितिले निरुपण गरेको छ । अन्य केही मुद्दा छलफलको प्रक्रियामा रहेको उपमेयर दनुवार बताउँछिन् ।

महिला उद्यमीका लागि ‘कोसेली घर’

महिलालाई रोजगारी दिन धेरै पालिकाले ‘महिला उद्यमी’ कार्यक्रम ल्याएका छन् । धेरै महिलाले तालिम पनि पाएका छन् । तर, कार्यान्वयनमा केही प्रतिशत गिरावट हुने गरेको लक्ष्मी बताउँछिन् । ‘महिलालाई स्वरोजगारसँगै आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको छ,’ उनी भन्छिन्, ‘सोही कारण चालु आर्थिक वर्षदेखि महिला उद्यमीका लागि ‘कोसेली घर’ कार्यान्वयनमा ल्याउने तयारीमा छौँ ।’

उनका अनुसार महिलालाई स्वरोजगार बन्न गुडिया बनाउने, जुत्ता चप्पल, क्रिस्टलको माला बनाउने, पोते उन्नेलगायत तालिम दिइएको छ । महिलाहरूले उत्पादन गरेका सामग्री नगरपालिकाले कोसेली घर निर्माण गरी बजार व्यवस्थापन गरिदिने योजना छ । ‘त्यस्तो हुँदा महिलाहरू उद्यमीसँगै आत्मनिर्भर हुन्छन्,’ उनी भन्छिन्, ‘महिला आत्मनिर्भर भएमा उनीहरूमाथि हिंसा पनि कम हुने अनुमान छ ।’

बालबालिकालाई मदिरा बिक्री र सेवन निषेध

पाँचखाल नगरपालिकाले ‘घरेलु मदिरा व्यवस्थापन ऐन’ बनाएको छ, जसमा १६ वर्षमुनिका बालबालिकालाई व्यवसायीले मदिरा बेच्न नपाउने उल्लेख छ । ‘व्यवसायीहरू र नगरपालिकाको सहमतिमै ऐन बनाइएको हो,’ उनी भन्छिन्, ‘मदिरा सेवन गरेर महिला हिंसा बढेकाले व्यवसायी र स्थानीय तहले दुवैलाई समेटेर बनाइएको हो ।’

उनका अनुसार मदिरा उत्पादन गरी बेच्न ल्याउनेलाई बिहानको समय छुट्याइएको छ । व्यवसायीलाई मदिरा बेच्न साँझ पाँच बजेदेखि ८–९ बजेसम्म बिक्री गर्न दिने योजना छ । दिउँसो बिद्यार्थीले मदिरा सेवन गर्न नपाउन् भनेर बिक्री नगर्ने योजना बनाइएको उनको भनाइ छ।

गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे

पाँचखाल नगरपालिकाभित्रका गर्भवतीलाई सामान्य परीक्षणका लागि धुलिखेल अस्पताल पुग्नुपर्ने बाध्यता छ । गर्भवती भएको सुरुवाती दिनदेखि नौ महिनासम्म तीनपटकभन्दा बढी भिडियो एक्सरे गर्नुपर्ने उपमेयर दनुवार बताउँछिन् ।

‘परीक्षणका लागि सडक यात्रा जोखिमपूर्ण हुने भएकाले नगरपालिकाले मासिक घुम्ती सेवामार्फत निःशुल्क परीक्षण गराउने व्यवस्था गदैर्छौँ,’ उनी भन्छिन्, ‘अस्पतालमा भिडियो एक्सरे गर्ने खर्च बचत होस् र स्वास्थ्यमा असर नहोस् भनेर यो कार्यक्रम ल्याइएको हो ।’

यससँगै सुत्केरी पोषणका लागि खाद्यान्न सहयोग गर्ने तयारी छ । सुत्केरीलाई पैसाभन्दा खाद्यान्न दिँदा तत्काल प्रयोग गर्न पाउने भएकाले यो कार्यक्रम ल्याइएको उनी बताउँछिन् ।

उनका अनुसार जनजाति र दलित समुदायका विद्यार्थी र बालिकालाई विद्यालयमा विशेष सुविधा दिई नगरपालिकाले पढ्ने सुविधा दिएको छ । ‘दलित र जनजातिलाई अधिकांश विद्यालयमा छात्रवृत्ति दिइएको छ,’ उनी भन्छिन्, ‘सबै पक्षलाई समेटेर नगरपालिकाले काम गरिरहेको छ ।’

यी पनि पढ्नुहाेस्

भूमिगत रूपमा नाचगान गर्दागर्दै राजनीतिमा आएँ

उपप्रमुख भवानीलाई श्रीमानले भन्छन्– ‘धेरैभन्दा धेरै समय कार्यालयलाई दिनू’ 

प्रकाशित मिति: ०९:४४ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्