सानैमा राजनीतिमा, कलिलैमा ‘जनवादी विवाह’
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत राजनीतिमा प्रवेश गर्दै गर्दा निरंकुश पञ्चायती व्यवस्था ढल्ने संघारमा थियो। उनी कक्षा–८ पढ्दाताका नै राजनीतिमा लागेकी थिइन्, किशोरावस्थामै ‘जनवादी विवाह’ गरेकी थिइन्।काठमाडौं, भदौ १२ : उनी कक्षा-८ पढ्दै गर्दा राजनीतिमा लागिन्, जतिबेला राजनीतिबारे उनलाई जानकारी पनि थिएन। कक्षा-९ मा पढ्दै गर्दा उनी विवाह बन्धनमा बाँधिइन्, त्यो पनि जनवादी शैलीबाट। उनी अर्थात् भक्तपुर सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेत। अहिले ४७ वर्षकी भइन्, जनप्रतिनिधि महिलाका रूपमा नगरको विकास निर्माण मात्र होइन, न्यायिक समितिको संयोजक पनि हुन् उनी।
नेपाललाई पितृसत्तात्मक देश मानिन्छ। ३ असोज ०७२ मा घोषणा गरिएको नयाँ संविधानले हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागितालाई अनिवार्य गर्यो । त्यसैले हो, जुनाजस्ता राजनीतिमै जीवन बिताएका महिलाका लागि जनप्रतिनिधिका रूपमा जनसेवामा जुट्न ढोका खुलेको पनि। तथापि, नेपाली समाजमा महिला दबिएकै छन्। तीमध्ये थोरै मात्र जनप्रतिनिधि र राज्यका उपल्लो तहमा पुगेका छन्।
उनी कक्षा-८ मा अध्ययनरत छँदा निरंकुश पञ्चायती व्यवस्था उत्तरार्द्धमा थियो। कक्षा-८ को वार्षिक परीक्षा त्यतिबेला जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्थ्यो। निम्न माध्यमिक तह पार गरेर माध्यमिक तहमा पाइला टेक्ने ढोका थियो, त्यो परीक्षा। त्यसैले मिहिनेत जरुरी थियो। उनी जिल्लास्तरीय परीक्षाको तयारीका लागि ट्युसन पढ्न गठ्ठाघर पुग्थिन्।
उनलाई ट्युसन पढाउने शिक्षक राजनीतिमा थिए। र, उनी पनि पञ्चायती व्यवस्था ढाल्ने आन्दोलनको तयारीमा जुटेका थिए। कक्षा-९ पढ्दै गर्दा जनवादी विवाहमा बाँधिएका उनका श्रीमान नारायण बस्नेत पनि तिनै शिक्षकसँग आन्दोलनको तयारीमा जुटेका थिए। पछि श्रीमान बनेका नारायणकै प्रेरणाले जुना पनि तत्कालीन नेकपा (माले)मा आबद्ध भइन्।
‘हाम्रो त जनवादी विवाह’
त्यतिबेला नारायण नेकपा (माले)को जिल्ला कमिटी सदस्य बनिसकेका थिए। जुना कक्षा-९ मा पढ्दै गर्दा नारायण २३ वर्षका लक्का जवान थिए, उनी भने १७ वर्षकी मात्र।
उनीहरू दुवैले एकअर्कालाई चिनेको हिसाबबाट त्यो प्रेम विवाह हो कि भन्ने लाग्न सक्छ। तर, उनीहरूको न प्रेम विवाह थियो, न त मागी विवाह नै। जुनाले त्यो क्षण सम्झँदै मुस्कुराउँदै भनिन्, ‘हाम्रो जनवादी विवाह भएको हो।’
राजनीतिलाई ‘डर्टी गेम’ ठान्ने अहिलेको पुस्ताका लागि ‘जनवादी विवाह’ नौलो शब्द लाग्न सक्छ। ‘जनवादी विवाह ! के हो जनवादी विवाह भनेको?’ प्रश्न भुुईंमा खस्न नपाउँदै उनले बेलीविस्तार लगाइन्, ‘हामी दुवैले एकअर्कालाई चिनेका थियौँ। मलाई ट्युसन पढाउने शिक्षक र पार्टीका केही कार्यकर्ताले हामी एकै पार्टीको भएका कारण हाम्रो विवाह गरिदिने भने। मेरो आमाबुवाले पनि कुनै आपत्ति जनाउनु भएन। बिनादाइजो, बिनाभोज पार्टीले नै हाम्रो विवाह गरिदिएको हो। हामीलाई आशिर्वाद दिन आएका सबैलाई चिया, बिस्कुट मात्र दिइयो। पार्टीबाट गरिएको विवाहलाई नै त्यसबेला जनवादी विवाह भनिन्थ्यो।’ जनवादी विवाह भएकै कारण पनि होला, उनलाई श्रीमानले राजनीतिमा लाग्न धेरै प्रोत्साहन गरेको उनी बताउँछिन्।
श्रीमतीलाई राजनीतिमा छाडेर श्रीमान सरकारी जागिरमा
जुना जतिबेला राजनीतिमा आइन्, महिलाले नेपाली समाजका कठिन ढोका पार गरेर मात्र सार्वजनिक जीवनसम्म पुग्न पाउँथे। अहिले पनि नेपाली समाज महिलाका लागि सहज बनिसकेको छैन। तथापि, त्यतिबेलाभन्दा धेरै परिवर्तन आइसकेको छ। अहिले त धेरै महिला आफ्नो हक अधिकारबारे अवगत छन्। केहीले यसको हनन् भएको खण्डमा आवाज पनि उठाइरहेका छन्। तर, विगतमा कहाँ यस्तो थियो र ?
श्रीमानकै निरन्तर साथ, सहयोगका कारण जुनाले राजनीतिमा लाग्न पाइन्। तर, सबैलाई यस्तो अवसर कहाँ ? धेरै महिलाहरूले राम्ररी पढेलेखेका पनि थिएनन्। राजनीतिमा लाग्नका लागि श्रीमानले सहयोगी भूमिका वहन गरे पनि वैवाहिक जीवनको जिम्मेवारीले उनलाई खुम्च्याएको थियो।
बिनादाइजो त्यो पनि ‘जनवादी विवाह’ गरेकै कारण पनि उनले परिवारबाट केही अपहेलनासमेत झेल्नुपर्यो। ‘जनवादी विवाह गरेको भएर केही कुरा सुन्नुपरेको थियो। घरपरिवारले पनि नेता छोराले नेतिनी बुहारी ल्यायो भनेर सुनाउँथे। बुहारी भएको नाताले घरको जिम्मेवारीका कारण केही समय पार्टीमा सक्रिय पनि हुन सकिनँ। तर, श्रीमानले घरपरिवारलाई सम्झाएर परिस्थिति सम्हाल्नुभयो,’ उनले विगत सम्झिइन्, ‘जनवादी विवाहकै कारण मलाई खासै मन पराएका थिएनन्। त्यसमाथि अढाइ वर्षको अन्तरालमा दुई छोरीलाई जन्म दिएकाले श्रीमानलाई अर्को विवाह गर्न सुझाव दिनेको पनि कमी थिएन। ठाउँ र परिस्थितिअनुसार बुहारी भएपछि अलि बढी संघर्ष नै गर्नुपर्छ।’
घरमा ६ दाजुभाइ र दुई बहिनीमध्ये माइला छोरा हुन्, नारायण। त्यसैले विवाहपछि देवर र नन्दहरूको सबै जिम्मेवारीसमेत जुनामै थियो। यदि श्रीमान सहयोगी हुन्थेनन् त विवाहपछि नै उनको राजनीतिक जीवन सकिने उनी सुनाउँछिन्।
२०४८ सालमा नारायण पार्टीको जिल्ला कमिटी सदस्य थिए। श्रीमान-श्रीमतीमध्ये एकजनाको जागिर हुनुपर्ने आवाज त्यतिबेला कम्युनिस्ट पार्टीमा जबर्जस्त उठेको थियो। त्यसैले नारायणले श्रीमतीलाई राजनीतिमा छोडेर लोक सेवा आयोगको परीक्षामा सामेल हुने निर्णय गरे। त्यो क्षण सम्झिँदै गर्दा जुनाको अनुहारमा श्रीमानप्रतिको असीम श्रद्धा झल्किन्थ्यो। अहिले नारायण संसद् सचिवालयमा कार्यरत छन्।
पुरुषको तुलनामा महिला अझै कम प्राथमिकतामा
जुनाले ०४८ सालमा एमालेको साधारण सदस्य लिएकी हुन्। त्यसको दुई वर्षपछि ०५० सालमा बालकोट गाविसमा अखिल नेपाल महिला संघको अध्यक्षको कार्यभार लिइन्। त्यसैले उनको राजनीति सुरुदेखि नै जिम्मेवारीका साथ अगाडि बढ्यो।
त्यसपछि उनी अनेमसंघको जिल्ला सदस्य बनिन् र अहिले केन्द्रीय सदस्य छिन्। यस्तै, पार्टीको वडा र इलाका सदस्य हुँदै वडा समिति सचिव पनि बनिन्। अहिले उनी एमालेको भक्तपुर पार्टी सचिवालय सदस्य छिन्।
धेरै संघर्षका बावजुद कामअनुसारको फल नपाएको गुनासो भने गर्छिन्। ‘म पुरुष भएको भए त्यतिबेला राजनीतिमा लागेर अहिले पार्टीको केन्द्रीय कमिटीतिर पुग्ने बेला भइसक्थ्यो। तर, हामी महिलालाई एउटै पद दिएर त्यसैमा थमौती गरिरहने पितृ सत्तात्मक सोच हाम्रो राजनीतिमा अझै पनि कायम छ,’ जुना भन्छिन्, ‘त्यसमाथि महिलालाई घर व्यवहार पनि सम्हाल्नुपर्ने हुन्छ। म घरको चाँजोपाँजो मिलाएर मात्र हिँड्न पाउँथेँ।’
अहिले देशभरका नगरपालिका, महानगरपालिका र उपमहानगरपालिकामध्ये १३ जना महिला मात्र मेयर वा प्रमुख छन्। अरू सबैमा उपप्रमुख मात्र छन् महिला। त्यो पनि ३३ प्रतिशत महिला अनिवार्य तथा मेयर र उपमेयरमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक बाध्यताका कारण।
त्यसका बावजुद आफूसँग कार्यालयका कतिपय निर्णय लिने अधिकार नभएको उनको गुनासो छ। ‘मजस्तो व्यक्ति यति धेरै संघर्ष गरे पनि पुरुषभन्दा यति पछाडि परेकी छु। घरबाटै निस्किनसमेत गाह्रो रहेका महिलाहरूको संघर्ष छुट्टै छ भनेर त्यस्तो वर्गलाई लक्षित गरी विद्यालय खोल्ने, महिला सशक्तीकरण अभियान चलाउनेलगायत काम गर्दै आएकी छु,’ उनी भन्छिन् ‘६२-६३ को जनआन्दोलनताका हाम्रो ६० जनाको जिल्ला कमिटी बैठकमा जम्मा चारजना महिला थियौँ। अहिले त्यो संख्या बढेको छ। तर, यस क्षेत्रमा मिहिनेत गर्न अझै बाँकी छ।’
महिलालाई जति काम, कर्तव्य र अधिकार छ, त्यति नै सम्मान हरेक क्षेत्रमा कार्यरत महिलालाई हुनुपर्ने उनी बताउँछिन्। अहिलेको पितृसत्तात्मक सोचका कारण पनि कतिपय क्षेत्रमा महिलाको कार्यक्षमतालाई छायामा राखिएको उनको गुनासो छ। ‘यी महिलालाई अगाडि बढ्न दिनु हुँदैन भन्ने एकथरि छन् भने महिला पनि नेता हुन सक्छन् र भन्ने सोच भएका मानिसको कमी छैन। पार्टीमै पनि पदाधिकारी महिलाको माग गरिरहेका छौँ। बढ्ता नकराओ, तिमीहरूलाई महिला राष्ट्रपति दिएका छौँ भनेर हाम्रो मुख बन्द गर्छन्,’ उनी भन्छिन्। सोही कारण महिलाले राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा पुरुषको तुलनामा धेरै संघर्ष गर्नुपरिरहेको उनको ठहर छ।
‘महिला भएकै कारण पदाधिकारीमा जान पाइनँ’
राजनीति र सामाजिक क्षेत्रमा लामो समय बिताएकी जुनाले ०७४ सालमा सूर्यविनायक नगरपालिकाको उपप्रमुख बन्ने अवसर पाइन्। उनले यसअघि विभिन्न सामाजिक संस्थामा काम गर्दै आएकी थिइन्।
यहाँसम्म आउनलाई उनले धेरै कठिनाइ भोग्नुपर्यो। अनेक संघर्ष पार गर्दै आएकी छन् उनले। कतिपय ठाउँमा सबै योग्यता भए पनि महिला भएकै कारण पछाडी परेको गुनासो गर्छिन्। ‘महिलाहरूले पाएका जिम्मेवारी इमानदारीका साथ वहन गरिरहेका छन्। तर, पुरुषहरूमा महिलालाई अधिकार दिँदा उनीहरूको भाग नै खोसिने हो कि भन्ने डर छ,’ जुना भन्छिन्, ‘अहिलेसम्म पनि पुरुषले महिलालाई भर्याङको रूपमा मात्र प्रयोग गरेको पाइन्छ। महिलालाई महत्त्वपुर्ण पद दिन अझै नेताहरू हिचकिचाउँछन्।’
विगतमा आफूले भोगेका विभिन्न कठिनाइ स्मरण गर्छिन् उनी। भन्छिन् ‘करिब आठ वर्षअघि पार्टीको जिल्ला अधिवेशन भएको थियो। २-३ कार्यकाल जिल्ला र सचिवालयमा बसिसकेपछि पदाधिकारीमा जाने भन्ने सोच थियो। तर, नेताहरूले पहिला जेमा हुनुहुन्छ, त्यसैमा बस्नू, अर्को मान्छेलाई ल्याउनुपर्छ भन्नुभयो।’
त्योबेलाको राजनीति
जुनाले विगत र अहिलेको राजनीतिमा धेरै फरक पाएकी छन्। उनले राजनीति थाल्दा पार्टी सदस्यता लिएपछि ३-४ वर्षसम्म एउटा जनवर्गीय संगठनमा बसेर काम गरेको हुनुपर्ने नियम थियो। सदस्यता प्राप्त गर्न माक्र्सवाद भनेको के हो ? कम्युनिस्ट पार्टिको अन्तिम लक्ष्य के हो ? समाजवाद भनेको के हो ? धनी र गरिबको खाडललाई कसरी पुर्न सकिन्छ ? यस्तै यस्तै प्रश्नमा लिखित परीक्षा दिएर पूर्ण प्रशिक्षित गराएर मात्र पार्टीमा ल्याइने गरेको उनी बताउँछिन्।
अहिले भने लिखित परीक्षाको प्रचलन हराउँदै गएको उनको भनाइ छ। ‘पहिला हामीलाई वर्षको २-३ पटक प्रशिक्षण दिइन्थ्यो। तर, अहिले पार्टी अलि भाँडभैलो अवस्थामा छ,’ उनी भन्छिन्, ‘अहिले धेरै कर्यकर्ता चाहिने, पार्टी कब्जा गर्ने हिसाबमा अगाडि बढ्ने, गुट बनाउने, एकलौटी गर्न खोज्नेलगायत गतिविधि बढेका छन्। पहिलाजस्तो स्कुलिङको एक सिन्को पनि छैन।’ सित्तैँमा जनताको सियोधागो पनि नलिऊ भन्ने स्कुलिङबाट आएकी हुन् उनी।
नगर उपप्रमुखका रूपमा न्यायिक समितिको अध्यक्ष भएर काम गर्दा उनले ज्येष्ठ नागरिक, महिला र बालबालिकाका मुद्दालाई विशेष प्राथमिकता दिने गरेकी छन्। सूर्यविनायक नगरपालिकामा जग्गा जमिनका मुद्दा मामिला बढी आउने गरेको उनी बताउँछिन्।