Kathmandu Press

अञ्जनादेवी आफ्नै श्रीमानको हाकिम बन्न पुगिन् 

अञ्जनादेवी उपप्रमुख भएर कार्यालय पुगेको पहिलो दिन कार्यकक्षमा प्रशासन प्रमुख श्रीमान्ले उनको स्वागत गरेका थिए, यो समाचारको विषय पनि बनेको थियो । अहिले अञ्जनादेवी जुन कुर्सीमा छन्, उनी त्यहाँसम्म पुग्नुमा समयको साथ मात्र होइन, श्रीमानको हात सहयोग र उनी स्वयंको राजनीतिक लगाव उत्तिकै छ ।
अञ्जनादेवी आफ्नै श्रीमानको हाकिम बन्न पुगिन् 

काठमाडौं, चैत १९ : बिहीबार (१२ चैत) बिहान मध्यपुर थिमि नगरपालिका उप–प्रमुख अञ्जनादेवी मधिकर्मी (श्रेष्ठ)ले काठमाडौं प्रेसलाई समय दिएकी थिइन्, आफ्नै कार्यकक्षमा । सुरुमै उनले भनिन्, ‘आज न्यायिक समितिको मिटिङ छ, कुराकानी छिटो गरौँ है ।’

अघिल्लो दिनै फोनमा हामीले उनलाई कुराकानीको विषयबारे बताएका थियौँ– ‘काठमाडौं प्रेसको महिला जनप्रतिनिधि शृंखला, जसमा तपाईंले आफ्नो राजनीतिक यात्रा र व्यक्तिगत संघर्ष हामीलाई बताउनुपर्छ ।’ उनी सहमत थिइन् ।

बहुदलका निम्ति नौ महिना जेल

Hardik ivf

२०४२ जेठ २३ गते, नेपाली कांग्रेसको सत्याग्रह कार्यक्रम थियो, त्यस कार्यक्रममा सहभागी हुन् अञ्जनादेवी काठमाडौं भोटाहिटी पुगिन् । 

पञ्चायती व्यवस्थाविरुद्धको त्यस आन्दोलनमा उनी पनि धर्नामा थिइन् । ‘विभिन्न जिल्लाका साथीहरू सडकमा छरिएर बसेका थियौँ । प्रहरीले लाठी, अश्रुग्यास प्रहार गर्दै सबैलाई उठाउन थाल्यो । म पनि गिरफ्तारीमा परेँ,’ अञ्जनादेवी भन्छिन्, ‘त्यतिबेला म १८ वर्षकी थिएँ, नौ महिना जेलजीवन बिताउनुपर्‍यो ।’ 

मध्यपुर थिमि नगरपालिकाकी उप–प्रमुख अञ्जनादेवी मधिकर्मी (श्रेष्ठ) /तस्बिर : सुजल बज्राचार्य

उनका अनुसार, त्यतिबेला अम्बिका बस्नेत, सहाना प्रधान, गीता उप्रेती, कल्याणी रिजाल लगायत अन्य राजनीतिमा सक्रिय महिला गिरफ्तारीमा परेका थिए । पहिलो दिन आफूहरूलाई महेन्द्र पुलिस क्लबमा २४ घन्टा उभ्याएर राखिएको तर केही खान नदिइएको उनी बताउँछिन् । त्यसपछि महिला प्रहरीको संरक्षणमा उनीसँगै २३ महिलालाई सेन्ट्रल जेल पु¥याइयो । त्यहाँ उनीहरूलाई ‘क’ वर्गमा राखिएको थियो, जहाँ खाद्यान्नको गुणस्तर र बस्न केही राम्रो सुविधा दिइन्थ्यो । 

त्यतिबेला अञ्जनादेवी आफन्तकहाँ बसेर पद्मकन्या क्याम्पसमा आइए पढ्दै थिइन् । उनी जेलमै छँदा परीक्षा प¥यो, उनले जेलबाटै परीक्षा दिइन् । तर, उत्तीर्ण हुन सकिनन् । 

बुवाको सहयोग

अञ्जनादेवीको जन्म हालको पनौती नगरपालिका–७ मा भएको हो, ०२३ कात्तिक १५ गते । बुवा आनन्दकुमार मधिकर्मी र आमा नानुमायाका दुई भाइ छोरा र ६ बहिनीमध्ये उनी जेठी हुन् । उनका बुवा कृषक थिए तर स्थानीय स्तरमा समाजसेवा र नेपाली कांग्रेसबाट राजनीतिमा पनि सक्रिय थिए । उनले छोराछोरी सबैलाई स्कुल पठाए । अञ्जनादेवीले स्थानीय इन्देश्वर माविबाट एसएलसी उत्तीर्ण गरिन्, ०४० सालमा । त्यतिबेला समाजमा छोरीलाई अध्ययन गराउनुपर्छ भन्ने चेतना फैलिइसकेको थियोे । उनी भन्छिन्, ‘त्यतिबेला एसएलसी दिनेमा महिला–पुरुष बराबरजस्तै थियौँ ।’ 

घरमा बुवाकै प्रभावले कक्षा ८ मा पढ्दा (०३७ साल) उनले नेपाल विद्यार्थी संघको सदस्यता लिएकी थिइन् । सदस्यता लिएसँगै स्थानीय स्तरमा हुने पार्टीका कार्यक्रममा उनी सहभागी हुन्थिन् । राजनीतिक गतिविधिमा हिँड्न उनलाई बुवाबाट पूरै समर्थन थियो । 

जेलजीवनपछि उनी स्थानीय स्तरमै राजनीतिसँगै शिक्षण पेसामा लागेकी थिइन् । उनले सुरुमा प्रौढ शिक्षा पढाउँथिन्, पछि (०४७)देखि पनौतीको कुशादेवी माविमा कक्षा ६ सम्मलाई पढाउन थालिन् । यो स्कुल उनको घरदेखि १ घन्टा पैदलदूरीमा थियो । बर्खामा बाटोभरि हिलो हुन्थ्यो । स्कुल जाँदा चिप्लिएर लडेर उनको कपडा हिलैहिलो हुन्थ्यो । उनी सम्झन्छिन्, ‘कतिपटक स्कुल पुगेर कार्यालय सहयोगीको लुगा लगाएर पढाएकी छु ।’ 

त्यतिबेला उनको तलब १५०० रुपैयाँ थियो । महिनामा एकजोर जुत्ता हिँडेरै फाट्थ्यो । तीन वर्ष त्यहाँ पढाएपछि उनले घर नजिकैको पुण्य माविमा १० वर्षजति पढाइन् । त्यसपछि भक्तपुरको आदर्श उच्च माविमा ०७४ सम्म पढाइन् । मध्यपुर थिमिको उपप्रमुख भएपछि उनको शिक्षण पेसा रोकियो ।

उनी ०४६ सालको आन्दोलनमा सक्रिय भएर लागेकी थिइन् । यही सक्रियताका कारण उनी २०४८ देखि ०६३ सम्म महिला संघ काभ्रेको उपाध्यक्ष बनिन् । त्यस्तै, ०७० असार २३ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको शिक्षा शाखाको संयोजक बनिन् । ०७४ को स्थानीय तह निर्वाचनमा उनले पार्टीबाट टिकट पाइन् र उप–प्रमुख बनिन् । 

उप–प्रमुख भएपछि के गरिन् ?

उनले ०६२ देखि भक्तपुरको आदर्श उच्च माविमा पढाउन थालेकी थिइन् । योबीचमा यहाँका स्थानीयसँग उनको एकखालको निकटता थियो । ‘नगरपालिका क्षेत्रभित्र विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएकी थिएँ,’ उनी भन्छिन्, ‘लामो समयदेखि चेलिबेटी बेचबिखनविरुद्ध कार्यक्रम पनि गरेका थियौँ ।’

उप–प्रमुख बनेपछि नगरबासी महिला आएर आफूहरूलाई विभिन्न तालिम दिइनुपर्ने प्रस्ताव राखे । नगरपालिकाबाट विभिन्न परिकारको अचार बनाउने, कपडाको जुत्ता बनाउने, केक बनाउने, सिलाइबुनाई, कम्प्युटर, ब्युटिपार्लर लगायत तालिम दिइयो । ‘तालिम लिएका एक–दुई जनाले मात्र व्यवसाय थालनी गरे,’ उपप्रमुख भन्छिन्, ‘सीप सिक्छन्, कार्यान्वयन गर्दैनन् । त्यसैले अबको एक वर्षमा महिलालाई थप तालिम दिएर कुनै व्यवसायमा आबद्ध गराउने योजना छ ।’ 

मध्यपुर थिमि नगरपालिका कला–संस्कृतिले धनी छ । त्यसैले पुराना बाजागाजा, नाच–जात्रा, पाटीपौवा आदिलाई ध्यानमा राखेर युवा वर्गलाई तालिम दिइएको पनि उनी बताउँछिन् । 

‘उपप्रमुखले अनुगमन नगर्न भन्नुहुन्छ’

उपप्रमुख मधिकर्मी नगरपालिकाले गर्ने विविध गतिविधिबारे आफूसँग प्रमुखले छलफल नगर्ने बताउँछिन् । उनी भन्छिन्, ‘महिला उपप्रमुख भएका कारण हो कि ! के कारण हो, प्रमुख र उप प्रमुखबीच सूचना आदान–प्रदान हुँदैन ।’ 

उपप्रमुखको काम, कर्तव्य र अधिकारभित्र ‘योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण’ पनि पर्छ । उपप्रमुखको अधिकारभित्र अनुगमन पर्ने भए पनि प्रमुखले पटक–पटक अनुगमन नगर्नू भन्दै आएको उनी बताउँछिन् । उनले भनिन्, ‘प्रमुखले नगर्नू भने पनि आफ्नो काम गरिरहेकी छु ।’ 

अब महिलाहरू निर्णयात्मक तहमा पुग्नुपर्ने उनको बुझाइ छ । ‘आउने चुनावमा उपप्रमुख महिलाहरू प्रमुखमा दाबेदार बन्नुपर्छ,’ उनी भन्छिन्, ‘पुरुषले मात्र होइन, महिलाले पनि गाउँपालिका, नगरपालिका चलाउन सक्छन् ।’ 

श्रीमान्को हाकिम

उनले एसएलसी दिएपछि गाउँमै प्रौढ शिक्षा पढाइन् । यो कार्यक्रम अनौपचारिक शिक्षा सेवा केन्द्रबाट सञ्चालित थियो । शिक्षा सेवा केन्द्रमा कार्यरत थिए, भक्तपुर मध्यथिमिका धनकृष्ण श्रेष्ठ । यही सिलसिलामा धनकृष्ण र अञ्जनादेवीको भेट भएको थियो । क्रमशः उनीहरू एक–अर्काको प्रेममा परे । जात लगायत सामाजिक मूल्य–मान्यताका कुराहरू मिल्ने भएकाले अन्ततः उनीहरूले सहज रुपमा विवाह गरे, ०५२ जेठमा । विवाह गर्दा अञ्जनादेवी २९ र धनकृष्ण ३१ वर्षका थिए । परिपक्व उमेरमा विवाह भएकाले उनीहरूले जीवनलाई सल्लाह र समझदारीमा अघि बढाए । 

धनकृष्णले सुरुमा विभिन्न प्रोजेक्टमा काम गर्थे, प्रोजेक्टमै काम गर्ने सिलसिलामा उनीहरूको भेट भएको थियो । ०५४ सालदेखि भने उनले मध्यपुर थिमि नगरपालिकामा काम गर्दै आएका छन् । धनकृष्ण भन्छन्, ‘सुरुमा नगरप्रमुखको पिए भएर काम गरेको थिएँ ।’ अहिले उनी नगरपालिकाको प्रशासन प्रमुख छन् ।

कतिपयले धनकृष्णलाई भन्छन्, ‘श्रीमती हाकिम हुनुहुन्छ, तपाईंलाई शाखा प्रमुखमा काम गर्न अप्ठेरो लाग्दैन ?’ धनकृष्णको जवाफ हुन्छ, ‘काम गर्न केको अप्ठेरो ? दुवैको काम र जिम्मेवारीको आ–आफ्नै महत्व छ ।’ 

अञ्जनादेवी उपप्रमुख भएर कार्यालय पुगेको पहिलो दिन कार्यकक्षमा धनकृष्णले नै उनको स्वागत गरेका थिए, यो समाचारको विषय पनि बनेको थियो । अहिले अञ्जनादेवी जुन कुर्सीमा छन्, उनी त्यहाँसम्म पुग्नुमा समयको साथ मात्र होइन, श्रीमानको हात सहयोग र उनी स्वयंको राजनीतिक लगाव उत्तिकै छ । 

अहिले उपप्रमुखले नबुझेका प्रशासनिक काम–कारबाहीबारे धनकृष्णले बुझाउने गर्छन् । कहिलेकाहीँ उपप्रमुख बिहान ६ बजे घरबाट निस्केर साँझ ८–९ बजे फर्कनुपर्छ । धनकृष्ण भन्छन्, ‘चुनाव जितेपछि उनी जनताको मान्छे हुन्, जनताको काममा समय दिनुपर्छ ।’

शिक्षण पेसामा आबद्ध भएकाले विवाहपछि पनि अञ्जनादेवी नौ वर्षसम्म माइतीमै बसिन् । पहिलो सन्तान (छोरी)लाई जन्म दिँदा विद्यालयले उनलाई दुई महिना बिदा दिएको थियो । यो दुई महिनाको अवधिमा उनी राजनीतिक कार्यक्रममा सहभागिता जनाइरहिन् । उनी भन्छिन्, ‘सानो बच्चालाई छाडेर हिँड्दा आमा र भाइले धेरै गाली गर्थे ।’ तर, राजनीतिक कार्यक्रममा नगई उनको मनले मान्दैनथ्यो ।

अहिले उनी एक छोरी, एक छोरा र श्रीमानसँग बस्दै आएकी छन् । छोराछोरी दुवै स्नातक गरिसकेका छन्, छोरीले ल पढेकी छन् भने छोराले इन्जिनियरिङ । 

धनकृष्ण भन्छन्, ‘अहिले छोराछोरी ठूला भएकाले घरको काममा सघाउँछन् ।’ 

याे पनि पढ्नुहाेस्

भूमिगत रूपमा नाचगान गर्दागर्दै राजनीतिमा आएँ

उपप्रमुख भवानीलाई श्रीमानले भन्छन्– ‘धेरैभन्दा धेरै समय कार्यालयलाई दिनू’

शिक्षक श्रीमानले बनाएको खाना खाएर उपमेयर कार्यालय जान्छिन्

‘महिला आत्मनिर्भर भएमा महिलाहिंसा कम’

‘मेयरबाट मैले कुनै विभेदको अनुभूति गर्नुपरेको छैन’

‘स्कुलबाट साँझ घर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’

‘महिलालाई बालबालिका हुर्काउँदै राजनीति गर्न कठिन छ’

‘आफ्नै कार्यालयका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउँदा दुःख लाग्छ’

 

 

 

प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, चैत १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्