१५ वर्षमै विवाह, बिहेपछि परिवारले नै अगाडि बढायो राजनीतिमा

काठमाडौं, भदौ ३१ : वैवाहिक जीवनको सुरुवातपछि अधिकांश महिलाको जीवनशैलीमै परिवर्तन आउँछ, सामाजिक जीवनबाट टाढा पुग्‍ने उनीहरू पारिवारिक माहोलमै खुम्चिन बाध्य हुन्छन्। घरेलु जिम्मेवारीले उनीहरूलाई यसरी थिच्छ कि अध्ययन, जागिर, व्यापार, व्यवसायबाट समेत टाढिन पुग्छन्। भक्तपुर चाँगुनारायण नगरपालिकाकी उपमेयर विना बास्तोलाको कथा फरक छ। उनी वैवाहिक जीवनको सुरुवातसँगै राजनीतिमा होमिएकी हुन्।

काभ्रे बेथानचोकमा जन्मेकी उनी १५ वर्षको उमेरमै ०३० सालमा विवाह बन्धनमा बाँधिइन्। बिहेपछि उनले थाहा पाइन्, घरको पारिवारिक माहोल नै राजनीतिक रहेछ। ‘राजनीतिप्रति चाख र आस्था रहेछ उहाँहरूमा,’ उनी स्मरण गर्छिन्, ‘म पनि आफ्नो टोल, क्षेत्र, वडामा सामाजिक काममा रुचि राख्थेँ। सोही कारण मलाई मेरो घरबाटै राजनीतिमा अघि बढ्ने आँट तथा प्रेरणा दुवै मिल्यो।’

उनी ०५२ सालसम्म भने सामाजिक काममै व्यस्त रहिन्। ०५२ सालमा भने उनले एमालेको पार्टी सदस्यता लिइन्।

४८ वर्षअघिको समाज कस्तो थियो होला ? अझै पनि महिलाका लागि सार्वजनिक जीवन कठिन रहेको नेपाली समाजमा त्यतिबेला त उनीहरूलाई राजनीतिमा होमिने कुरा लगभग असम्भव नै थियो। थोरै महिला मात्र राजनीतिमा थिए, ती पनि सहरी इलाकामै केन्द्रित थिए। बास्तोलाले ग्रामीण भेगबाट सामाजिक गतिविधि जारी राखिन्। महिला, विवाह, सामाजिक काम अनि राजनीति। त्यतिबेलाको नेपाली समाजमा आफैँमा विरोधाभास बोल्थे यी शब्दले।

बास्तोला भने सानैदेखि समाजसेवामा रुचि राख्थिन्। आफ्नो टोल र वडाका अशक्त, महिला, अपांगता भएका व्यक्ति मात्र नभई जनावरप्रति पनि उनी दयालु थिइन्। सानैमा पनि भेला, बैठक र सामाजिक जमघटमा थोरबहुत संलग्‍न हुन्थिन्। सानै उमेर भएकाले प्रत्यक्ष राजनीतिमै भने लागेकी थिइनन्। किनकि, राजनीतिमै लाग्‍ने सोच उनमा पलाएको थिएन।

उनका जेठाजु लक्ष्‍मीप्रसाद बास्तोला त्यसबेला दुवाकोटका प्रधानपञ्‍च थिए। पञ्‍चायतकालका प्रधानपञ्‍च शक्तिशाली व्यक्ति मानिन्थे। उनका श्रीमान् अर्जुनप्रसाद बास्तोला पनि क्षेत्रीयस्तरको चुनावमा उम्मेदवार बनेका थिए। उनको पनि झुकाव राजनीतिमै थियो। त्यसैले विना पनि सामाजिक जमघट, भेला र बहसमा सक्रिय बन्‍न थालिन्।

सामाजिक जीवनमा उनको सक्रियता देखेर जेठाजु लक्ष्‍मीप्रसादले विनालाई ०५४ सालको स्थानीय निर्वाचनमा महिलातर्फ वडा सदस्यमा उम्मेदवारी दिन प्रेरित गरे। ‘हाम्रो परिवारकै बुहारी विना चल्तापूर्जा छिन्। उनलाई नै निर्वाचनमा उम्मेदवार बनाउने हो,’ उम्मेदवारीबारे छलफल गर्न आएका पार्टीका नेताहरूलाई जेठाजुले दिएको जवाफ उनले उद्धृत गरिन्।

निर्वाचनमा उनी विजयी पनि भइन् र दुवाकोट-५ की निर्वाचित महिला सदस्य बनिन्। ‘अनि सुरु भयो मेरो राजनीतिक जीवनको औपचारिक यात्रा,’ उनले विस्तारपूर्वक बताउन थालिन्, ‘उम्मेदवार भएसँगै घरबाट बाहिर निस्कन पाएँ। नत्र महिलाहरूलाई गाह्रै हुन्थ्यो, त्यसबेला पनि घर बाहिर निस्किन।’

वडा सदस्य निर्वाचित भएपछि उनले राजनीतिक यात्रामा पछाडि फर्किनु परेन। जनप्रतिनिधि हुँदै एमाले गाउँ कमिटी सचिव, अनेम संघ अध्यक्ष, पार्टी इलाका कमिटी सदस्य बनिन्। अनेम संघ जिल्ला कमिटीको उपाध्यक्ष, अध्यक्ष, सचिवालय सदस्य हुँदै पार्टीका विभिन्‍न तह र तप्कामा सक्रिय रहिन्। र, ०७४ सालको स्थानीय तह निर्वाचनपछि चाँगुनारायण नगरपालिकाकी उपमेयर निर्वाचित भइन्।

‘राजनीति परिवार सम्हालेजस्तै’

श्रीमानतर्फ उनको परिवार सातजना दाजुभाइसहित ठूलो परिवार थियो। उनी परिवारकी काइँली बुहारी। ‘ठूलो परिवारमा सबैलाई मिलाएर, रिझाएर राख्‍नुपर्छ, राजनीति पनि त्यस्तै हो,’ उनी भन्छिन्, ‘सबैलाई मिलाएर, बुझाएर, रिझाएर राख्‍न सक्नुपर्छ।’

उनको अनुभवमा जो चल्तापूर्जा देखियो, उसैमाथि आशा र जिम्मेवारी पनि थपिन्छ। त्यसैले घरायसी, सामाजिक र राजनीतिक जिम्मेवारी आफूमा बढी रहेको उनले महसुस गरेकी छन्। ‘सबैलाई एकनास हेरेर, मिलाएर लैजान सक्ने अगुवालाई नै जिम्मेवारी बढी हुन्छ। त्यही कुरा राजनीतिमा पनि लागू हुन्छ,’ उनी भन्छिन्, ‘समाजसेवा र समन्वय गर्ने, मिलनसार भएर जाने भावना भएका व्यक्तिलाई धोका पनि हुँदैन। सबैलाई मिलाउन सक्नुपर्छ। नम्र भावना देखाएर लागे मात्र राजनीति मात्र नभई हरेक क्षेत्रमा अघि बढ्न सकिन्छ।’

समाजसेवी भावनाका साथ जनताको सेवामा काम गर्नुपर्ने उनले बुझेकी छन्।  जनप्रतिनिधि भएपछि पार्टीगत भन्दा जनहितका काममा केन्द्रित हुनुपर्नेमा उनी दृढ छिन्। भन्छिन्, ‘भोट दिएकालाई मात्र हेर्ने र अरूलाई बेवास्ता गर्दै दायित्वबाट पन्छिन हामीले मिल्दैन। हाम्रा लागि सबै समान हुन्। पदमा रहुन्जेल जनताकै लागि काम गर्ने हो।’ त्यसैले जनप्रतिनिधि छउन्जेल पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्नुपर्ने उनी बताउँछिन्।

‘जनप्रतिनिधि महिलालाई अझै छैन सहज’

सिक्का दुई पाटा भनेझैँ हरेक पेशा र क्षेत्रमा नकारात्मक-सकारात्मक दुवै पाटा हुन्छन्। जनप्रतिनिधि भएपछि पदको दुरुपयोग नगरी काम गर्नुपर्नेमा उनी सचेत छिन्। नेपाली समाजमा त्यसै पनि राजनीतिलाई नकारात्मक कोणबाट हेर्ने भाष्‍य निर्माण भएको छ।

‘हामी महिला भएरै पनि राजनीतिमा लागेका छौँ। सिद्धान्त र जिम्मेवारी आत्मसात गर्दा राजनीति अवश्य गलत हुँदैन,’ उनी भन्छिन्। आफूले समाजसेवी भावना र उपमेयर पदलाई तोकिएका जिम्मेवारी पूरा गर्दै आएको उनको ठम्याइ छ।

उनका अनुसार देशभर जनप्रतिनिधि महिलालाई पर्याप्त अधिकार भने दिइएको छैन। उपमेयरको अधिकारमा केही अन्योल महसुस गरेकी छन् उनले। अनुगमन, मेलमिलापजस्ता काम उपमेयरलाई तोकिएको छ। ‘काम गर्दै जाँदा सुकुलमा चिनी छर्केर झिंगालाई अलमल्याएजस्तो भान हुन्छ,’ उनी भन्छिन्। न्यायिक समितिको जिम्मेवारी उपमेयरलाई तोकिएको छ तर आर्थिक पक्षमा उपमेयरलाई अझै पनि जिम्मेवारी दिन राज्य हिचकिचाएको हो कि भन्‍ने उनलाई लाग्छ।

यी पनि पढ्नुहाेस्

शिक्षक श्रीमानले बनाएको खाना खाएर उपमेयर कार्यालय जान्छिन्

‘महिला आत्मनिर्भर भएमा महिलाहिंसा कम’

‘मेयरबाट मैले कुनै विभेदको अनुभूति गर्नुपरेको छैन’

‘स्कुलबाट साँझ घर फर्कंदा बिहे छिनिएको थाहा पाएँ’

‘महिलालाई बालबालिका हुर्काउँदै राजनीति गर्न कठिन छ’

‘आफ्नै कार्यालयका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउँदा दुःख लाग्छ’

यद्यपि, चाँगुनारायण नगरपालिका यस विषयमा केही परिष्‍कृत रहेको उनी बताउँछिन्। भन्छिन्, ‘मलाई त अन्य पालिकाको उपमेयरको तुलनामा कामको दायरा फराकिलो छ। महिलालक्षित उपमेयर उद्यमशिलता कार्यक्रमजस्ता योजना तर्जुमा भएका छन्। एक हिसाबले अर्थसम्बन्धी निर्णयमा पनि स्थान दिइएको छ मलाई।’

महिला हिंसाका समस्या न्यून, जग्गा जमिनका मुद्दा धेरै

करिब चार वर्ष उपमेयरको पद सम्हाल्दा महिला हिंसा र शोषणका मुद्दा अनुमान गरिएभन्दा निकै कम आएको उनी बताउँछिन्। श्रीमान्बाट कुटपिट वा श्रीमतीबाट हिंसा, शोषण, खान-लगाउन नपाएका मुद्दा १-२ वटा आएको र त्यसमा पनि लिखितभन्दा पनि मौखिक ढंगबाटै टुंग्याइएको उनी बताउँछिन्।

उनका अनुसार तर, जग्गासम्बन्धी मुद्दा धेरै आउने गरेका छन्। ‘चाँगुनारायण नगरपालिकामा जग्गा प्लटिङ धेरै भएका कारण पनि होला जग्गा मिचेको, जग्गा विवाद, बालीनाली हानी नोक्सानी भएका मुद्दा बढी हेर्दै र मिलाउँदै आएका छौँ,’ उनी भन्छिन्।

उपमेयर रहँदाका उपलब्धी

बास्तोलाका अनुसार मन्टेश्‍वरी, लोकसेवा तयारी कक्षा, सिलाइ, बुनाइ, कटाइ, मुढा बनाउनेलगायत महिलालक्षित १५ वटा उद्यमशीलतासम्बन्धी तीनमहिने तालिम चाँगुनारायण नगरपालिकाले चलाइरहेको छ। त्यस्ता तालिमबाट महिलाहरूले सीप सिकी स्वरोजगार बन्दै गएको उनी बताउँछिन्। त्यसरी स्वरोजगार बन्‍न 'मेयर उद्यमशीलता कार्यक्रम'अन्तर्गत तीन लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने गरिएको छ।

दलित, महिला, ज्येष्‍ठ नागरिक, बालमैत्री सञ्‍जाललगायत कार्यक्रमहरू पनि सञ्‍चालन गरिरहेको उक्त नगरपालिकाले। उनका अनुसार करिब चारवटा वडामा ज्येष्‍ठ नागरिक चौतारी बनिसकेको र अन्य वडामा पनि निर्माण क्रममा छन्।

स्थानीय सरकारको उपप्रमुखका रूपमा उनको पहिलो वर्ष ऐन, कानून र भौतिक विकासमा केन्द्रित रह्यो। ‘सबैभन्दा ठूलो उपलब्धी भने हामीले ऐन बनाउन सफल भयौँ। त्यससँगै सिस्टम तयार भयो,’ उनी भन्छिन्, ‘स्थानीय सरकारको अवधारणाअनरूप पहिलो जनप्रतिनिधि भएका कारण हाम्रा लागि ठूलो चुनौती सिस्टम बसाएर काम देखिनुपर्ने थियो।’

यसबीचमा ५१ वटा ऐन बनाएर विकास निमार्णतर्फ ध्यान केन्द्रित गरिएको उनी बताउँछिन्। सोही कारण विकास योजना निर्माणमा पनि सहज भयो। खानेपानीका लागि बोरिङ सुविधा, सडक विस्तार र विकासका काममा नगरपालिकाले विशेष ध्यान दिएको उनी बताउँछिन्। भन्छिन्, ‘पानीको समस्या रहेको दुवाकोट क्षेत्रमा पानीको सुविधा पुर्‍याएका छौँ। हामी मानवीय विकासमा पनि लागेका छौँ। महिला उद्यमशीलताका कार्यक्रम सोहीअन्तर्गत पर्छन्।’

जनताका असीमित अपेक्षालाई समेट्नु सबैभन्दा ठूलो चुनौती लाग्छ उनलाई। जनप्रतिनिधि हुनासाथ विकासदेखि सबै काम एकैपटक हुन्छ भन्‍ने आमधारणा रहेको महसुस उनले यसबीचमा गरेकी छन्। भन्छिन्, ‘तर, हरेक कामका लागि समय चाहिन्छ।’

निर्वाचनमा लिनुपरेन चन्दा

नेपालको आवधिक निर्वाचन हरेक पटक महँगो बन्दै गएको छ। प्रचारप्रसारका सामग्री जुटाउनेदेखि कार्यकर्तालाई चियापान, खाना, यातायातको व्यवस्थालगायत चुनावी खर्च जुटाउन कम गाह्रो छैन।

र, त्यसरी जुटाइने खर्चका कारण निर्वाचित भएपछि गर्नुपर्ने सम्झौताले बदनाम बनाउँछन्। तथापि, उपमेयर बास्तोलालाई निर्वाचनका लागि आर्थिक सहयोग र चन्दा कसैबाट लिनुपरेन। निर्वाचन खर्च अमेरिकामा चिकित्सक बनेका छोराले बेहोरिदिएका थिए।

२०५४ सालमा वडा सदस्य भएको अनुभव अझै पनि उपयोगी

२०५४ सालमा महिला वडा सदस्य निर्वाचित हुँदा बटुलेको अनुभव अझै पनि उपयोगी भएको उनी बताउँछिन्। उपमेयर निर्वाचित भएपछि भने उनलाई न्याय निरुपणको अनुभव हासिल गर्न पाएकी छन्।

घरेलु जीवनबाट बाहिर निस्किँदा जनताको माझमा कसरी जाने, जनतासँग कसरी डिल गर्ने, बैठकमा कसरी प्रस्तुत हुनेजस्ता विषयमा उनले ज्ञान पाएकी छन्। भन्छिन्, ‘घरबाट बाहिर ननिस्किएका महिलालाई यसप्रकारका काम सहज हुँदैनन्। ०५४ सालको महिला सदस्य रहँदा यसप्रकारको सिकाई निकै फलदायी र उपयोगी रह्यो।’

उनका अनुसार ०५४ सालमा महिलाले पनि मन्दिर बनाउने माग बढी गर्थे। त्यतिबेला सडक र शिक्षा उनीहरूका माग नै हुन्थेनन्। अहिले जति पनि ठाउँमा मन्दिर देख्‍न सकिन्छ, पुरातात्त्विक महत्त्वका मठमन्दिरबाहेक अधिकांश ०५४ सालपछि नै बनेको उनी बताउँछिन्।

व्यस्त दैनिकी

उपमेयर बास्तोलाको दैनिकी बिहान चार बजेदेखि सुरु हुन्छ। पूजापाठ र धर्मकर्ममा आस्था भएकाले उनको बिहान नित्यपूजा र योगमा बित्छ। उपमेयर भएसँगै विभिन्‍न मुद्दाका काम बिहान घरमा समेत आउने गरेकामा उनलाई गुनासो छ।

‘घरमै नआउनुभन्दा पनि आइरहनुभएको हुन्छ। बिहानै घरबाट उम्किन गाह्रो छ,’ हाँस्दै उनी भन्छिन्। दिउँसोको समय नगरपालिकामा बित्छ। सामान्य दिनमा उनी साँझ पर्दै गर्दा घर पुग्छिन्। व्यस्त दिनमा घर पुग्‍न पनि राति ९ सम्म बज्छ।

उनी भन्छिन्, ‘महिला जति नै घर बाहिर गए पनि घरेलु हुनबाट भने कहिल्यै टाढिन सक्दैनन्।’ जस्तो- उनी कामबाट फुर्सद मिल्नासाथ घरतिरै लाग्छिन्। पुरुषहरूको कुरा फरक हुन्छ, उनीहरू चिया गफ र साथीभाइ जमघटमा फुर्सद बिताउँछन्।

‘हाम्रो ध्येय भने फुर्सदमा घर र घरेलु कामकाजलाई समय दिऊँ भन्‍ने हुन्छ। प्रमुख जिल्ला अधिकारी, वकिललगायत सार्वजनिक जीवनमा रहेका महिलाहरूसँग पनि यस विषयमा मत मिल्छ,’ उनी भन्छिन्।

किशोरीवयमै उनको विवाह भयो। तर, सहयोगी परिवार पाएका कारण उनले विवाहपछि पनि पढाइलाई निरन्तरता दिन पाइन्। ‘चार दशकअघिको त्यो समाजमा महिला त्यसमा पनि बुहारी भएर पढ्न पाउनु अहोभाग्य नै थियो,’ उनी भन्छिन्।

सहयोगी र प्रगतिशील विचारधाराको परिवारको साथ र सहयोगकै कारण विवाहपछि पनि राजनीतिमा लागेर उपमेयरसम्म बन्‍न पाएको उनी बताउँछिन्। आफ्नो आँट, साहस, आत्मविश्‍वास र सफलताको श्रेय उनी परिवारलाई दिन्छिन्।

यी पनि पढ्नुहाेस्

भूमिगत रूपमा नाचगान गर्दागर्दै राजनीतिमा आएँ

उपप्रमुख भवानीलाई श्रीमानले भन्छन्– ‘धेरैभन्दा धेरै समय कार्यालयलाई दिनू’ 

 Published Date: Thursday, 16th September 2021 1:55:00 pm