Kathmandu Press

किलागलको डबलीमा दीप्याखं (देवीनाच) (फोटो फिचर)

आज सुरु भएको यो नाच पाँच स्थानका डबलीहरूमा असोज ८ गतेभित्र नचाइसक्ने परम्परा छ। असोज २ गते इन्द्रध्वज उठाइसकेपछि कागेश्वर महादेवअगाडिको डबलीमा यो नाच प्रदर्शन गरिन्छ। त्यसपछि असोज ३, ४ र ८ गते अन्य डबलीहरूमा नृत्य प्रस्तुत गरिन्छ।
किलागलको डबलीमा दीप्याखं (देवीनाच) (फोटो फिचर)

काठमाडौं, भदौ ३० : काठमाडौंको नेवार समुदायअन्तर्गतको आदीवासी ज्यापू जाति परम्परागत ३२ टोलहरुमा फैलिएको छ।

किलागल टोल त्यसमध्ये एक हो। यस टोलबाट प्रत्येक वर्ष स्थानीय कुमारी जात्रा, सेतो हात्ती (पुलुकिसी नाच), गुरुमापालाई भोजन गराउने, खड्ग जात्रा आदि सम्पन्न हुने गर्छ। 

तीमध्ये पनि महत्वपूर्ण नाच हो, दीप्याखं अर्थात् देवी नाच। यसलाई दैत्य प्याखं पनि भन्ने गरिन्छ। दिप्याखं भदौको काय अष्टमीको भोलिपल्ट बिहान किलागल टोलमा नाच देखाएपछि सुरु हुन्छ। दीप्याखंका आफ्नै डबली छन्, जसको पछाडि सत्तल हुन्छन्। निश्चित डबलीमा बाहेक अन्यत्र यो नाच गर्न नहुने मान्यता छ।

नासपुजा गरी हरितालिका तिजको रातिदेखि ५ दिनसम्म (साँझ साढे दुई घण्टा) गुठीघरको आँगनमा ख्वापा (मुकुण्डो) मात्र लगार्इ दीप्याखंको अभ्यास हुने गरेको छ। नासपुजा (मुख्य देवताको पुजा) ञंलाथ्व नवमीका दिन बिहान करिब ५ बजे किलागलको डबलीमा पोसाक र मुकुण्डोसहित उक्त नाचको प्रस्तुति दिइन्छ। 

दिप्याखंमा सात देवीदेवता र दैत्यको भेषमा नर्तकी नाच्छन्। कुमारी, भैरव, चण्डी, दैत्यराज, कवः, बेताः र ख्याःको भेषमा नर्तकी नाच्ने गर्छन्। यो नाचमा बलि चढाउने तथा बध गर्ने चलन छैन।

यस्तै उक्त नाचको मुख्य आकर्षण पोषाक मात्र नभई भैरवले प्रत्येक १० वर्षमा बाघको छाला ओढ्नुसमेत रहेको  ‘देवीनाच एक परिचय’मा उल्लेख छ।त्यसमा उल्लेख भएअनुसार, नाचमा सातथरी बाजा, सातथरी ताल, सातैथरी तालमुद्रा तथा आसनको प्रयोग गरिन्छ।

देशमा शान्ति अमनचयन र रोगव्याधि नलागोस् भनेर नाच मञ्चन गर्ने गरिएको हो। यस नाचका गुरु पनि सातजना हुन्छन्। सबैका लागि छुट्टाछुट्टै जिम्मेवारी दिइएको हुन्छ। त्यसले नाचलाई व्यवस्थित गर्न सहयोग पुग्छ।

यस्तै लिंगो उठाएर इन्द्रजात्रा सुरु गरिने पहिलो दिन हनुमानढोकामा कागेश्वर महादेव मन्दिरअगाडि यो नाच देखाइन्छ। यसलाई इन्द्रजात्रामा कुमारीको रथ जुनजुन ठाउँबाट तानिन्छ, तिनै बाटोमा रहेका डबलीमा पनि यसको मञ्चन गर्ने चलन छ।

आज (बुधबार) ञंलाथ्व नवमीका दिन बिहान ५ बजे किलगल अगाडिको डबलीमा नाच मञ्चन गरिएको छ। यो नाचको सबैभन्दा अगाडि कवं डमरु बजाउँदै राँगाको फुकेको आन्द्रा मालाका रूपमा लगाई अनि फुकेको बेलुनजस्तो बनाई च्वप्वचाः (मूत्रथैली) दायाँ हालमा लिएर अगाडि बढेपछि कुमारी, भैरव, चण्डी, दैत्यराज, कवः, ख्याः को प्रस्तुति निकै आकर्षक हुने गर्दछ। यो नाच हेर्न टोलभरिका मानिसहरूको भिड लाग्ने गर्छ। लगभग आठ घन्टासम्म देवीदेवताहरूले आलोपलो गरेर नृत्य प्रस्तुत गर्छन्।

आज सुरु भएको यो नाच पाँच स्थानका डबलीहरूमा असोज ८ गतेभित्र नचाइसक्ने परम्परा छ। असोज २ गते इन्द्रध्वज उठाइसकेपछि कागेश्वर महादेवअगाडिको डबलीमा यो नाच प्रदर्शन गरिन्छ। त्यसपछि असोज ३, ४ र ८ गते अन्य डबलीहरूमा नृत्य प्रस्तुत गरिन्छ।

 

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्