Kathmandu Press

चुनाव रोक्न परराष्ट्रले पत्र लेखे पनि चुनाव रोकिन्न : एनआरएनए अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको दाबी गरेका छन्।
चुनाव रोक्न परराष्ट्रले पत्र लेखे पनि चुनाव रोकिन्न : एनआरएनए अध्यक्ष पन्त

जर्मनी, भदौ २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको दाबी गरेका छन् ।

‘अमूक राजनीतिक पार्टीको स्वार्थपूर्तिका लागि गरिएको दबाब संघलाई कदापि मान्य हुँदैन्,’ उनले भने । एनआरएनएले विधि, विधान र प्रक्रिया उल्लंघन नगरेको र गर्न नसक्ने उनको भनाइ छ । परराष्ट्र मन्त्रालयले संघको महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेको उल्लेख गर्दै भदौ २५ मा पत्रमार्फत चुनाव स्थगित गर्न निर्देशन दिएको थियो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)लाई लेखिएको पत्रमा विवादित विषयबारे छानविन गर्न मन्त्रालयको नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा गठन गरिएको अनुगमन समितिले प्रतिवेदन पेश नगरेसम्म संघका चुनावी प्रक्रिया स्थगन गर्न भनिएको छ ।

पत्र सार्वजनिक हुनु अघिसम्म आफू मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै पन्तले भने, ‘मन्त्रालयका अधिकारीले मसँग निकै ठूलो दबाब आएकाले थेग्न नसक्ने आएको बताउनुभएको थियो ।’

परराष्ट्रले खोजेको जवाफ दिने, विधानअनुसार गरिएको प्रक्रियाबारे जानकारी दिने तर चुनाव नरोक्ने पन्तले बताए । ‘त्यसैले हामी तोकिएको समयमै चुनाव गर्छौँ,’ पन्तले भने, ‘चुनाव तोकिएकै समयमा हुन्छ ।’

महाधिवेशन प्रतिनिधिको एनसीसीबाट सूची संकलन भएर दाबीविरोध परिहेको र त्यसबारे अन्तिम टुंगो नलाग्दै अनियमितता भन्ने प्रश्नप्रति अचम्म लागेको उनले बताए । प्रतिनिधिको सूचीबारे एनआरएनएको छानविनपछि मात्र अनियमितता भए–नभएको जानकारी हुनेमा पहिले नै त्यस्तो आरोप लगाउनु गलत भएको पन्तले बताए ।

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्