एउटा शालीन व्यक्तित्वको अवसान

भारतको राजदूतबाट फिर्ता भएर नेपाल फर्किएपछि एकदिन रुक्मशम्शेर राणाले बत्तिसपुतलीस्थित आफ्नो घरमा एक्कासी बोलाए। उनलाई खेलकुदभन्दा राजनीतिक कुरा गर्न मन लागेको रहेछ।

अरू बेला अक्सर खेलकुदको कुरा गर्न रुचाउने रुक्मको फेरिएको अवतार देखेर एकछिन त म चकितै परेँ। मनमनै सोचेँ- ‘उहाँलाई राजदूत भएपछि आफ्नो पिता तथा कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाको छोरा हुनुको महत्त्व बल्ल बोध भएछ!’

नेपालमा गणतन्त्र स्थापना भएर संविधान लागू नभइरहेको रस्साकस्सीका बीच रुक्मशम्शेर भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए। त्यतिबेला उनको नियुक्तिलाई लिएर भारतीय सञ्‍चार माध्यमले ठूलो चासो राखेका थिए। सम्भवतः पहिलोपल्ट भारतको अग्रणी सबै मिडियाको पहिलो पृष्‍ठमा छापिएको थियो- ‘भारतका पुराना मित्र सुवर्णशम्शेर राणाका छोरा रुक्मशम्शेर राणा भारतका लागि नेपाली राजदूत नियुक्त।’

राजदूत हुँदा भारतमा आफूसँग भएका दुई ठूला घटना सुनाउँदै उनले भने- नवीन! मलाई पिताजीको विषयमा किताब निकाल्न मन लागेको छ। के गर्ने?’

तर, यो अवसर शुक्रबार राति ८६ वर्षको उमेरमा उनको निधन हुँदासम्म मलाई जुरेन। आन्तरिक रूपमा उनले कसैबाट किताब लेखनलाई अगाडि बढाएको भए यो नेपाली कांग्रेसको सबैभन्दा ठूलो दस्तावेज हुने पक्का छ।

भारतमा राजदूत भएर बस्दा उनले आफ्नो पिताजीको राजनीतिलाई झन् बढी नजिकबाट बुझने मौका पाए। घरमा भेट्न बोलाउँदा सुनाए- एकदिन भारतीय प्रधानमन्त्रीको विशेष निमन्त्रणामा अन्य राज्यका मुख्यमन्त्री पनि निम्त्याइएका रहेछन्। बिहारका मुख्यमन्त्री नितिश कुमार त्यो कार्यक्रममा सहभागी हुन विशेष रूपले दिल्ली आएका थिए। नितिशले सुरुमा उनलाई खासै महत्त्व दिइरहेका थिएनन्। तर, कार्यक्रममै सहभागी एक परिचित मित्रले उनलाई तानेर नितिशसँग परिचय गराएछन्,  ये सुवर्ण (शम्शेर) जीका लड्का! यसपछि माहोल नै बेग्लै भयो। नितिशले उनलाई अचानक गर्ल्याम्मै अँगालो हालेर भन्‍न थालेछन्, ‘आप तो हमारा हि आद्‍मी है। सुवर्णजी तो हमारे भी नेता थे।’

उनीसँग अर्को मिठो स्मरण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग रहेछ। त्यतिबेला मोदी प्रधानमन्त्री नियुक्त भइसकेका थिएनन्, गुजरातमै मुख्यमन्त्री थिए। भारतीय पत्रपत्रिकामा नेपाली राजदूतको विषयमा अधिक समाचार प्रकाशित हुन थालेपछि मोदीलाई ‘गुजरात मोडल’ देखाउन रहर जागेछ। रुक्मलाई विशेष निमन्त्रणा गरे। भारतको सम्भावित प्रधानमन्त्रीको निम्तो पाएपछि रुक्म पनि दंग पर्दै गुजरात लागेछन्। गुजरातमा रुक्मको आतिथ्यका लागि मोदीले कुनै कसर बाँकी राखेनन्। तर, घुम्ने व्यवस्था गाडीमा गराए। मोदीले भनेछन्- ‘हेलिकोप्टरमा घुम्दा गुजरातको विकासलाई नजिकबाट नियाल्न सकिन्‍न। त्यसैले गाडीको विशेष व्यवस्था गरेको छु।’

रुक्म गुजरातको विकास देखेर चकित परे। र, मोदीको काम गर्ने शैलीबाट निकै प्रभावित पनि भए। स्वच्छ छवीका पूर्वप्रशासकलाई आफ्नो सल्लाहकार राखेर ठूला परियोजनाका सबै ‘स्टिमेट’ निकाल्न लगाउने र त्यही ‘स्टिमेट’का आधारमा काम गराउने मोदीको परिपाटी उनलाई गजब लागेको रहेछ। भ्रष्‍टाचारविरूद्ध शून्य सहनशीलताको सिद्धान्तअनुरूप ‘न हम खाएँगे, न औरोको खाने देंगे’ मूल नारालाई वास्तविक रूपमा लागू गर्ने मोदीको तत्परताप्रति उनी कायल थिए। मोदी भारतको प्रधानमन्त्री भएर पहिलोपल्ट नेपाल भ्रमणमा आउँदा हायात होटलमा आफूलाई चिनेर हात मिलाउन अगाडि आएको दृश्य खुब रमाइलो पाराले वर्णन गर्थे।

भूगोलको हिसाबले मात्र होइन, सामाजिक र सांस्कृतिक रूपमा पनि नेपाल भारतको सबैभन्दा नजिक रहेको तथ्यलाई राम्रोसँग बुझेका रुक्म राजनीतिकर्मीको व्यक्तिगत ‘दन्त बझान’ले दुई देशको सम्बन्धमा उतार-चढाव आइरहने बताउँथे। उनी भन्थे- ‘नेपालका थुप्रै ‘डिप्लोम्याट’ प्रधानमन्त्रीलाई सुझाव दिँदा भारतीय शासकलाई गाली गर्ने र उत्तेजित तुल्याउने काम गर्छन्। यसले न नेपालको हित हुन्छ, न नेपालीको।’ फेरि तिनै ‘डिप्लोम्याट’ले भारतीय समकक्षीसँग कुरा गर्दा खुट्टा कमाएको उनले धेरैपल्ट अनुभव गरेका थिए। उनको एउटै भनाइ हुन्थ्यो- कुरौटे बानीले कसैलाई कहिँ पुर्‍याउँदैन। झन् राष्‍ट्रको हकमा त यो अभिसाप नै हो।

२०१३ सालमा नेपाली कांग्रेसको अध्यक्षको हैसियतले पिताजी सुवर्णशम्शेरले कांग्रेसको मूल नीति ‘प्रजातान्त्रिक समाजवाद’लाई महाधिवेशनबाट पारित गराउन वहन गरेको भूमिकाको उनी अक्सर चर्चा गर्थे। यो सबैलाई थाहा भएको विषय हो, जहाँनिया राणा शासन समूल रूपमा नष्‍ट गर्न सुवर्णशम्शेरले वहन गरेको भूमिका आफैँमा सराहनीय छ।

तिनै सुवर्णका कान्छा छोरा रुक्म नेपाली राजनीतिको एउटा यस्तो जीवित पात्र थिए, जसले नेपालमा राजसंस्था पुनःस्थापित भएको घटनादेखि राजसंस्था विघटन भएको इतिहासलाई नजिकबाट नियाल्ने अवसर पाए।

२००७ सालमा राजा त्रिभुवनसँग मिलेर नेपालमा प्रजातन्त्र स्थापना गराउन सुवर्णशम्शेरको ठूलो हात थियो। राजा त्रिभुवनलाई सघाएको भन्दै त्यतिबेला रुक्मको परिवारको सर्वस्वहरण भएको थियो। ०१७ सालमा राजा त्रिभुवनका छोरा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको ‘हत्या’ गर्दा पनि उनकै परिवारले त्यसको मार झेल्नुपर्‍यो। आफैँले प्रस्ताव गरेको ‘प्रजातान्त्रिक समाजवाद’ उन्मुख व्यवस्थाको ‘चिरहरण’ गर्न साथ नदिएको भन्दै सुवर्णको परिवारको सर्वस्वहरण गरियो। यस्तै, दाजु कनकशम्शेर राणा नेपाल आर्मीको चिफ बन्‍ने अभियानबाट विमुख बने।

२०४६ सालमा राजा महेन्द्रका छोरा वीरेन्द्रले पुनः प्रजातान्त्रिक व्यवस्था अंगीकार गर्दा पनि उनको परिवारको भूमिका महत्त्वपूर्ण थियो। ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना पिता महेन्द्रको पदचाप पछ्याउने निर्णय गर्दै ‘महेन्द्र पथ’ लागू गर्ने छाँटकाँट देखाएपछि रुक्म निकै निराश देखिन्थे। भन्थे- ‘देशले फेरि दुःख पाउने भयो। बीपीको ‘टु पिलर सिस्टम’ भत्काउँदा घाटा दरबारलाई नै हुन्छ।’

नभन्दै भयो त्यस्तै। राजाले ‘लक्ष्‍मणरेखा’ पार गर्दा राजसंस्था नै समाप्त भयो।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दरबार र खेलकुदबीचको सम्बन्ध लगभग टुटेको अवस्थामा थियो। रुक्म तिनै व्यक्ति थिए, जसले दरबार र खेलकुदबीचको अन्योन्याश्रित सम्बन्धलाई पुनःस्थापित गराए। युवराज दीपेन्द्रलाई नेपाली युवामाझ लोकप्रिय बनाउन उनको योगदान ठूलो थियो।

पशुपतिशम्शेर राणाकी छोरी देवयानी र युवराज दीपेन्द्रको ‘डेटिङ स्पट’ नै बत्तिसपुतलीस्थित रुक्मको घर थियो। आफ्नी आमा तत्कालीन रानी ऐश्‍वर्यलाई झुक्याएर पशुपतिनाथको दर्शन गर्ने बहानामा देवयानीसँग भेटघाट गर्न अक्सर दीपेन्द्र रुक्मको घर पुग्थे। दीपेन्द्र रुक्मशम्शेरलाई मामा भनेर सम्बोधन गर्थे।

रुक्मशम्शेर २०४८ सालमा कांग्रेसको तर्फबाट माथिल्लो सदनमा मनोनित भएपछि उनको सक्रिय राजनीति सुरु भयो। तर, ०५२ सालमा उनलाई राष्‍ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव नियुक्त गरियो। त्यसपछि उनी राजनीतिभन्दा पनि नेपाली खेलकुदमा यति रमाए, नमरुन्जेल खेलकुदले उनको पिछा छोडेन।

विदेशी खेल निकायमा उनको ठूलो प्रभाव थियो। अन्तर्राष्‍ट्रिय खेल जगतमा नरशम्शेर राणा र शरदचन्द्र शाहपछि कुनै नेपालीको धाक थियो भने ती रुक्म नै थिए।

विदेशी खेल निकायमा उनको ठूलो प्रभाव थियो। अन्तर्राष्‍ट्रिय खेल जगतमा नरशम्शेर राणा र शरदचन्द्र शाहपछि कुनै नेपालीको धाक थियो भने ती रुक्म नै थिए। उनलाई सन् १९९९ मा नेपालमा भव्य रूपमा आठौँ साफ गेम्स सफलतापूर्वक सम्पन्‍न गराएकोमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले ‘म्यारिट अवार्ड’बाट सम्मानित गरेको थियो। ओसीएले कुनै पनि नेपालीलाई ‘म्यारिट अवार्ड’बाट सम्मानित गरेको त्यो पहिलो घटना थियो। उनकै पहलमा पछि मरणोपरान्त नरशम्शेरलाई पनि ‘म्यारिट अवार्ड’बाट सम्मानित गरियो। पछि ध्रुवबहादुर प्रधानलाई पनि ओसीएले सम्मानित गरेको थियो।

अन्तर्राष्‍ट्रिय खेल क्षेत्रमा रुक्मको प्रभाव कस्तो थियो? त्यसको प्रत्यक्ष अनुभव एउटा खेल पत्रकार भएको नाताले मैले सन् २००६ मा गर्न पाएँ। कतारको दोहामा भएको पन्ध्रौँ एसियन गेम्समा रुक्मको विषयमा ओसीएका एक पदाधिकारीले भनेका थिए- ‘ओसीएको बैठकमा कार्यसमितिका सबै सदस्य आफ्नो व्यक्तिगत एजेन्डा बोकेर आउँछन्। र, उनीहरू आफ्नो कुरा लागू गराउन तँछाडमछाड गर्छन्। रुक्म उनीहरूको कुरा सुनेर चुपचाप बस्छन्। सबै एजेन्डामाथि कुराकानी भएपछि अन्तिम निर्णयका लागि ओसीएका अध्यक्षले रुक्मको धारणा बुझ्न खोज्थे। र, अन्त्यमा रुक्मले जे सुझाव दिन्थे, त्यो नै सर्वसम्मत बन्थ्यो।’

रुक्म स्वभावले धेरै नबोल्ने, अरूको कुरा बढी सुन्‍ने खालका थिए। कांग्रेसको कोटाबाट खेलकुद परिषद्को सदस्य-सचिव बनेको हुनाले उनीमाथि आरोप लाग्ने गर्थ्यो- उनले खेलकुदमा कांग्रेसीहरूको ‘प्रोटेक्सन’ गरेनन्।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दरबार र खेलकुदबीचको सम्बन्ध लगभग टुटेको अवस्थामा थियो। रुक्म तिनै व्यक्ति थिए, जसले दरबार र खेलकुदबीचको अन्योन्याश्रित सम्बन्धलाई पुनःस्थापित गराए।

एकपल्ट उनलाई मैले सोधेको पनि थिएँ- ‘तपाईंमाथि किन यस्तो आरोप लाग्छ?’

उनको स्वाभाविक उत्तर थियो- ‘हुन त, म कांग्रेसी कोटाबाट सदस्य-सचिव बनेको हुँ। यसो भन्दैमा खेलकुदमा कांग्रेस र कम्युनिस्टबीचको विभाजन गर्दा यसले कस्तो परिपाटी बस्ला? अनि कांग्रेसी प्रशिक्षकले कांग्रेसी खेलाडी मात्र खोजेर सिकाउने र कम्युनिस्टले कम्युनिस्ट खेलाडी मात्र खोजेर सिकाउन थाले नेपाली खेलकुद कता जाला?सबै कुरामा राजनीति गर्नु राम्रो हुँदैन।’

उनी क्षमताको हिसाबले तेक्वान्दो खेलाडी संगीना वैद्यले अन्तर्राष्‍ट्रियस्तरमा जति सफलता हासिल गर्नुपर्ने थियो, त्यति गर्न नसकेको बताउँथे।

‘ऊ गिफ्टेड खेलाडी हो,’ अक्सर भन्थे।

विवाद खासै नरुचाउने रुक्मको जीवन भने विवादरहित बन्‍न सकेन। तर, उनको शालीनता र क्षमता बुझेका ओसीएका अध्यक्ष शेख अहमदले रुक्मलाई सल्लाहकारै नियुक्त गरेका थिए।

 Published Date: Sunday, 12th September 2021 3:21:00 pm