Kathmandu Press

कर्मचारीको काँधमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन गहन जिम्मेवारी : देउवा 

लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुनुपर्ने आवश्यकता पनि उनले औंल्याए। 
कर्मचारीको काँधमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन गहन जिम्मेवारी : देउवा 

काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताएका छन्। 

नेपाल निजामती कर्मचारी युनियनको ३५औं स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले उक्त भनाई राखेका हुन्। लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुनुपर्ने आवश्यकता पनि उनले औंल्याए। 

Hardik ivf

सभापति देउवाले सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको भनाई समेत राखे। 

‘विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन तपाईहरु क्रियाशिल हुनु पर्छ,’ सभापति देउवाले भने, ‘कर्मचारी युनियन सबै राष्ट्र सेवक कर्मचारीहरूको अभिभावक भएर नेतृत्वदायी भूमिकामा बस्नुपर्ने आवश्यकता छ। मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको शुभेच्छुक संस्था भएका कारण नेपाल निजामती कर्मचारी युनियनको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहेको छ।’ 

यस्तै, शासकीय क्षमता अभिवृद्धि गर्न राज्यले बनाउने नीतिहरूमा छलफल एवम् बहस पैरवी गर्न पनि युनियनको रचनात्मक भूमिका आवश्यक पर्ने धारणा पनि सभापति देउवाले राखे । इमानदार र कत्र्यव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने पनि उनले बताए। 

देउवाले भने, ‘स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता भएका, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा वकालत गर्न युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्छ।’ 

निजामती सेवा ऐन, २०६४ जारी गराउन खेलेको नेतृत्वदायी भूमिका विशेष स्मरणीय रहेको सन्दर्भ पनि देउवाले उल्लेख गरे। उक्त ऐन बनेपछि कर्मचारीको पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा नयाँ ढोका खोलेको देउवाको भनाई थियो। 

प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, भदौ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्