लाजिम्पाट ‘टु’ महाराजगञ्‍ज : कूटनीतिक मार्ग

काठमाडौं, भदौ २४ : लैनचौर सुरु हुनेबित्तिकै नजरअन्दाज गर्न नसकिने एक भव्य भवन हो, होटल एम्बेस्डर। सोही भवनलाई दाहिने बनाउँदै मोडिएर अगाडि बढ्दा बायाँतर्फ आउँछ, बेलायती दूतावास। र, त्यसको केही मिटर मात्र पर भारतीय दूतावासको गेट देख्‍न सकिन्छ।

लैनचौरबाट बायाँतर्फ नमोडिई सीधा अगाडि बढ्दा आन्तरिक राजस्व विभाग प्रवेश गर्ने सडकभन्दा केही मिटर अगाडि फ्रान्सेली दूतावास सुरक्षार्थ प्रहरी तैनाथ देखिन्छन्। त्यहाँबाट अगाडि बढेर केही मिटर हिँडेपछि इजरायली दूतावास छिर्ने गल्ली देख्‍न सकिन्छ। त्यहाँबाट थोरै अगाडि बढेर दायाँतर्फको गल्लीमा अवस्थित छ, युरोपियन युनियनको दूतावास।

विदेशी दूतावासहरूको यो क्रम संख्या यतिमै रोकिँदैन। लाजिम्पाटस्थित होटल सांग्रिला पार गर्दा नगर्दै पानीपोखरी चोकभन्दा केही वर ओरालोमा बायाँतर्फ युनाइटेड अरब इमिरेट्स (यूएई)को दूतावास देख्‍न सकिन्छ। यूएई दूतावासबाट केही मिटर हिँडेपछि बायाँतर्फ जापानी दूतावासको भव्य कम्पाउन्ड देख्‍न सकिन्छ।

त्यहाँबाट अगाडि बढेर पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवासको कम्पाउन्ड पार गर्दा नगर्दै रोयल एम्बेसी अफ साउदी अरबियाको परिसर नजरमा पर्छ। त्यसको आडैमा देख्‍न सकिन्छ, कतारको दूतावास। त्यसको ‘अपोजिट’मा दायाँतर्फ मोडिने गल्ली आउँछ। त्यो हो, चुनदेवी मार्ग। र, सोही मार्गमा स्थापना भएको छ, दक्षिण अमेरिकी मुलुक ब्राजिलको दूतावास। ब्राजिलको दूतावासकै समीपमा छ, श्रीलंकाको दूतावास पनि।

चुनदेवी मार्गतर्फ नमोडिई सीधा अगाडि बढ्दा नारायणगोपाल चोक पुग्‍नुअघि नै ठूलो कम्पाउन्ड सुरक्षार्थ खटिएको नेपाली प्रहरीको टोली देख्‍न सकिन्छ, जसले काठमाडौंस्थित अमेरिकी दूतावासको सुरक्षा गरिरहेका छन्।

नारायणगोपाल चोक पार गरेर बूढानीलकण्ठतिर बढ्दै जाँदा बायाँतर्फ भित्री गल्लीमा पाकिस्तानको दूतावास छ। सीधा बाँसबारीतर्फ अगाडि बढ्दै जाँदा दायाँतिर अस्ट्रेलियाको दूतावास छिर्ने गल्ली भेटिन्छ। र, बाँसबारीमा दायाँतर्फ थाइल्यान्डको दूतावास छ।

त्यसअघि निर्मल निवासको पछाडिपट्टि संयुक्त राष्‍ट्रसंघीय शरणार्थी उच्चायोग (यूएनएचसीआर)को नेपाल कार्यालय छ। र, लाजिम्पाटमा जापानी अन्तर्राष्‍ट्रिय सहयोग नियोग (जाइका)को कार्यालय वर्षौँदेखि नेपाल-जापान आर्थिक सहयोग आदानप्रदानको केन्द्रका रूपमा कार्यरत छ। यस्तै, विदेशी दातृ निकायहरू एक्सन एड र लुथरन वर्ल्ड फेडेरेसनको कार्यालय पनि यही मार्गको दायाँ-बायाँ छन्।

लैनचौर-लाजिम्पाट-महाराजगञ्‍ज-बाँसबारी सडक दायाँ-बायाँको कूटनीतिक उपस्थितिको फेहरिस्त हो यो। यो मार्गमा १७ वटाभन्दा बढी विदेशी कूटनीतिक नियोगको उपस्थिति छ। यतिधेरै कूटनीतिक नियोग उपस्थित रहेको सम्भवतः काठमाडौंको एक मात्र सडक हो, लैनचौर-बूढानीलकण्ठ मार्ग।

त्यसो त, राष्‍ट्रपति कार्यालय, शीतलनिवास, नेपाल प्रहरी प्रशिक्षण प्रतिष्‍ठान मात्र होइन, त्रिवि शिक्षण अस्पताल, कान्ती बाल अस्पताल, प्रहरी अस्पतालजस्ता सरकारी ‘भाइटल इन्स्टलेसन’ यही मार्गमा छन्। 

लाजिम्पाटदेखि महाराजगञ्‍ज र त्यसभन्दा माथि बाँसबारीसम्मको क्षेत्रमा एउटा समानता छ, यस मार्गमा रहेका कूटनीतिक नियोग र दातृ निकायका कार्यालयहरू। सोहीकारण यस सडकलाई उपनाम दिन सकिन्छ, कूटनीतिक मार्ग। त्यसै पनि, स्तरीय सडक, सुरक्षा र सुविधाको हिसाबले लैनचौर-महाराजगन्ज सडकलाई काठमाडौंको ‘भीआईपी मार्ग’ मानिन्छ।

यही मार्गबाट नजिकमा पर्ने बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास तथा रुस र चीनका दूतावास पनि छन्।

उहिलेको लाजिम्पाट-महाराजगञ्‍ज

यही मार्गमा पर्ने सल्लाघारीस्थित अस्ट्रेलियन दूतावासको भवन कुनै समय गजानन्द वैद्य (उद्योगी सुरज र किरण वैद्यका पिता) को निजी सम्पत्ति थियो। गजानन्द वैद्यले त्यसलाई बिक्री गरेर बूढानीलकण्ठभन्दा केही माथि मुहानपोखरीमा बसाइँ सरेको यस क्षेत्रका रैथाने उमेश मानन्धर बताउँछन्।

२ चैत ०१६ मा नेपाल र अस्ट्रेलियाबीच दौत्य सम्बन्ध स्थापित भएपछि उक्त जग्गामा अस्ट्रेलियाको दूतावास भवन निर्माण भयो। आजकल यस क्षेत्रको पहिचान नै ‘अस्ट्रेलियन दूतावास’ बनेको छ। अस्ट्रेलियन दूतावास स्थापनासँगै यस क्षेत्रको परिचय बदलिएको मानन्धर बताउँछन्।

सल्लाघारीका बासिन्दा मानन्धर उमेरले आधा शताब्दी नाघिसकेका छन्। ‘मेरो जन्म ०२३ सालमा भएको हो। त्यस समयमा महाराजगञ्‍जसम्म मात्र बाटो बनेको थियो,’ उनी भन्छन्, ‘पहिले ब्रह्म कटेज (हालको चक्रपथ परिवेश), पानीपोखरी, चेत भवन हुँदै लैनचौरसम्म ट्याम्पु चल्थ्यो। ६ जनाको सिट क्षमताको उक्त ट्याम्पुको स्ट्यान्ड शीतलनिवास अघिल्तिर थियो।’ शीतल निवासदेखि सल्लाघारीसम्म हिँड्दै घर पुग्‍ने गरेको सम्झना अझै पनि उनको मानसपटलमा सचित्र छ।

विस्तारै, सडक विस्तार क्रममा बाँसबारीदेखि जमलसम्म बाटो विस्तारित भयो। नत्र जमलदेखि शीतलनिवास अगाडिम्म ट्याम्पु चल्थ्यो।

‘हामी जमलबाट ब्रह्म कटेजसम्म ट्याम्पुमा आउँथ्यौँ,’ मानन्धर भन्छन्, ‘मेरो घर सोही सेरोफेरोमा थियो। आजकल यस क्षेत्रलाई अस्ट्रेलियन दूतावास क्षेत्रको रूपमा चिनिन्छ। हामी केटाकेटी छँदा मिनीबस र साझा यातायात सीमित संख्यामा चल्थे।’

मानन्धरका अनुसार हाल महाराजगञ्‍जमा रहेको अमेरिकी दूतावास पहिले पानीपोखरीमा थियो। पछि उक्त दूतावास भवन महाराजगञ्‍जमा सर्यो। हालको अमेरिकी दूतावास भवन निर्माणअघि त्यहाँ ‘ब्रह्म कटेज’ भएको स्मरण मानन्धरलाई छ। ‘ब्रह्म कटेज’ त्यतिबेलाको चल्तीको रेस्टुराँ थियो।

आफ्ना पिताले भनेका कुरा सम्झँदै उनले भने, ‘पहिले लैनचौरको खानी विभाग परिसरमा ठूलो पोखरी थियो रे। पोखरी वरिपरि भोगटेका रुख थिए। भोगटे खाएर सोही भोगटेको खोललाई बल बनाएर खेल्दै सल्लाघारीस्थित घरमा पुग्‍नु हुन्थ्यो रे बुवाहरू।’

यस्तै, ०४० सालदेखि लाजिम्पाट बस्‍न थालेका परराष्‍ट्रविद् डा. जयराज आचार्य पुरानो लाजिम्पाट सम्झदै भन्छन्, ‘मैले घर बनाउँदा पनि लाजिम्पाट खेतैखेत थियो, सडकहरू बनेकै थिएनन्।’

घर बनाउन आवश्यक इँटा, ढुंगा, बालुवा, रोडा, सिमेन्ट सबै बालुवाटारपट्टिको सडकबाट थुन्सेमा बोकाएर ल्याएको सम्झना उनको मनमा ताजा छ। लाजिम्पाटमा खेत, पानी बग्‍ने, देखिने हरियाली सबै हराइसकेको डा. आचार्य बताउँछन्। ०४५ सालपछि र विशेषगरी बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि लाजिम्पाट क्षेत्रमा तीव्र रूपमा चहलपहल बढेको उनी बताउँछन्।

विद्यार्थीकालमा लाजिम्पाटको बाटो सम्झिँदै उनी चर्चित होटल ग्यान्जोङको पूर्वपट्टी बढा बुर्जुकको घर रहेको स्मरण गर्छन्। आफू बालखै छँदा लाजिम्पाट क्षेत्र खाली रहेको उनी बताउँछन्।

उनका अनुसार हाल युरोपियन युनियनको दूतावास रहेको भवनमा पहिले डेनमार्कको दूतावास थियो। त्यससँगै जोडिएको इजरायली दूतावास ०१६ सालमा स्वर्गीय बीपी कोइराला नेतृत्वको सरकारकै पालामा खुलेको हो।

सडक विस्तारसँगै दूतावास स्थापनाको लहर

प्रा. डा. टेकप्रसाद घिमिरेका अनुसार ०१८ सालमा बेलायती महारानी एलिजाबेथ द्वितीया नेपाल भ्रमण क्रममा शीतल निवाससम्म सडक निर्माण भयो। त्यतिबेला सरकारका ‘भीआईपी’ पाहुनालाई शीतलनिवासमै राखिन्थ्यो।

विस्तारै महाराजगञ्‍जसम्म सडक विस्तार भयो। हालको बूढानीलकण्ठ स्कुलको स्थापना ०२८ सालमा भयो। त्यससँगै महाराजगञ्‍जमा सीमित सडक बूढानीलकण्ठसम्म पुग्यो।

लाजिम्पाटस्थित जापानी दुतावास

यद्यपि, बूढानीलकण्ठसम्म यातायातका साधन कमै चल्थे। राजाका छोराछोरी पढ्ने भएपछि, राजारानी, उनीहरूका सन्तान तथा विशिष्‍ट अतिथिको सुविधालाई मध्यनजर गर्दै बूढानीलकण्ठसम्म सडक विस्तार गरिएको डा. आचार्य स्मरण गर्छन्। सुरुमा साँघुरो सडकमा पनि कालोपत्रे गरिएको थियो। एउटा चारपाँग्रे गाडी मात्र चल्न सक्ने त्यो सडकको सम्झना मानन्धरलाई छ।

डा. आचार्य भन्छन्, ‘सडक बूढानीलकण्ठसम्म पुग्‍ने भयो। ०२८ सालमा तत्कालीन युवराज दीपेन्द्रलाई पढाउन राजा वीरेन्द्रले बूढानीलकण्ठ स्कुल स्थापना गराए। त्यसले पनि यस क्षेत्रमा पहिलेदेखि नै स्तरीय सडक निर्माण भयो।’

राजारानी बूढानीलकण्ठ स्कुलसम्म जान-आउन सहज होस् भनेर ०३५-४० सालतिर पक्की सडक निर्माण भएको डा. आचार्य बताउँछन्। हालको निर्मल निवास तत्कालीन राजा महेन्द्रले माइला र कान्छा छोरा ज्ञानेन्द्र र धीरेन्द्रका लागि निर्माण गरिदिएको उनी सम्झिन्छन्।

हालको जापानी दूतावासलगायत अन्य नयाँ भवनहरू धेरैपछि मात्र निर्माण भएको डा. आचार्य बताउँछन्। तथापि, नारायणहिटी दरबारदेखि नारायणगोपाल चोकसम्मको सडक पहिलेदेखि नै निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

यद्यपि, एकपछि अर्को दूतावासहरूको स्थापनाकै कारणले लैनचौर-लाजिम्पाट-महाराजगञ्‍ज क्षेत्र विकास भएको भने उनलाई लाग्दैन। उनका अनुसार कूटनीतिक उपस्थितिले समग्र लाजिम्पाट क्षेत्रको विकास स्वतन्त्र ढंगले भने हुन सकेन।

तर, सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका नेपाल र फ्रान्सले एकअर्काको राजधानी काठमाडौं र पेरिसमा सन् १९६७ मा दूतावास स्थापना गरेका थिए। त्यतिबेलैदेखि फ्रान्सको दूतावास लाजिम्पाटमै छ। पहिलेदेखि नै दूतावासको उपस्थिति भएका कारण लैनचौर-महाराजगञ्‍ज क्षेत्रको सुरक्षा व्यवस्था राम्रो मान्‍ने गरिएको छ। सोही कारण मानिसले सुरक्षित बसोबास क्षेत्रका रूपमा यसलाई लिने गरेको डा. आचार्य बताउँछन्।

लामो समयदेखि महाराजगञ्‍ज चुनदेवी क्षेत्रमा बस्दै आएका प्राध्यापक टेकप्रसाद घिमिरेका अनुसार ०३५-३६ सालमा आएर महाराजगञ्‍जको पश्‍चिमी क्षेत्र चुनदेवीमा पनि चहलपहल बढ्यो। उक्त क्षेत्रमा विशेष अमेरिकी दूतावासका कर्मचारीहरूको बसाइ बढी छ।

७ फेब्रुअरी १९७६ मा नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। तर, ब्राजिलको राजधानी ब्रासिलियामा नेपालले १२ जनवरी २०१० मा मात्र दूतावास स्थापना गर्‍यो भने ब्राजिलले ३० सेप्टेम्बर २०११ मा काठमाडौंमा दूतावास खोल्यो।

खासगरी, कूटनीतिक क्षेत्रका मानिस अझै पनि बसोबासका लागि लाजिम्पाट महाराजगञ्‍ज इलाकालाई उपयुक्त मान्छन्। जस्तो- अमेरिकी दूतावासका कर्मचारी चुनदेवी इलाकामा बस्‍न रुचाउँछन्। भनिन्छ- विदेशका कूटनीतिक मिसनमा रहेका अमेरिकीहरू धेरै नजिक पनि बस्दैनन् र टाढा पनि बस्‍न रुचाउँदैनन्।

महाराजगञ्जस्थित अमेरिकी दूतावास

‘हाइपर सेक्युरिटी’ क्षेत्र लाजिम्पाट-महाराजगञ्‍ज

औपचारिक रूपमा सबैभन्दा पहिले नेपाल आएका विदेशी कूटनीतिक कर्मचारी हुन्, ब्रिटिस रेजिडेन्ट। सुरुदेखि नै ब्रिटिस रेजिडेन्टको कार्यालय हालको बेलायती दूतावास रहेको ठाउँमा राखियो। त्यसपछि नै हो, लैनचौर क्षेत्रले काठमाडौंको एक शक्तिकेन्द्रका रूपमा पहिचान बनाएको पनि।

राणा प्रधानमन्त्री भीमशम्शेरले आफन छोरा जितशम्शेरका लागि हालको शंकर होटल निर्माण गराएका थिए, यो सम्पदा होटल लैनचौरबाट लाजिम्पाटतर्फ मोडिने सडकको मोडमै छ। युरोपबाट निर्माण सामग्री ल्याएर यो दरबार निर्माण गराइएको थियो, जुन सन् १८९४ मा निर्माण सम्पन्‍न भएको थियो। सन् १९१३ मा जितशम्शेरको मृत्युपछि यो दरबार राणा प्रधानमन्त्री जुद्धशम्शेरका छोरा अग्‍निशम्शेरको स्वामित्त्वमा आयो। रानी ऐश्वर्या, कोमल र उनीहरूकी कान्छी बहिनी अर्थात अधिराजकुमार धीरेन्द्रकी पत्नी प्रेक्षा यही दरबारमा जन्मेका थिए।

त्यसबाट पनि लैनचौर-लाजिम्पाट-महाराजगञ्‍ज सडकको ऐतिहासिकता झल्किन्छ। र, यो क्षेत्र राजनीतिक र कूटनीतिको पायक पर्ने स्थल बन्यो।

महाराजगञ्‍ज आसपासको पहिले सुवर्णशम्शेरको दरबार हाल नेपाल राष्‍ट्र बैंक, ललिता निवास, चन्द्रशम्शेरका छोरा कृष्‍णशम्शेरको शीतल निवास, बालुवाटार आदि क्षेत्र राणाकालीन समयदेखि राणा र राजाका भाइभारको वासस्थान थिए।

यस्तै, सामाजिक सुरक्षा र भीआईपी क्षेत्रमा हाइपर सेक्युरिटीका कारण पनि यो इलाका बसोबासका लागि रोजाइमा पर्‍यो। आम मनिस नबस्‍ने, काठमाडौंका अन्य क्षेत्रको तुलनामा बाढीजस्ता प्राकृतिक प्रकोपमुक्त एवं भौगोलिक अवस्थितिका कारण पनि सुरक्षित मानिन्छ, यो इलाका।

सुविधा तथा शक्ति दुवैको केन्द्र रहँदा दूतावास मार्गको रूपमा लाजिम्पाटदेखि महाराजगञ्‍ज एक कूटनीतिक मार्गको रूपमा विकसित हुँदै गयो।

नेपालको दौत्य सम्बन्ध सबैभन्दा बढी ०३० देखि ०४० सालमा विस्तार भएको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार लाजिम्पाटदेखि महाराजगञ्‍ज क्षेत्र पहिलेदेखि नै सुरक्षा र सुविधाको हिसाबले अब्बल थियो।

सडक विस्तारसँगै जग्गा अतिक्रमण विवाद

यही क्षेत्रका रैथाने उमेश मानन्धरलाई सम्झना भएसम्म उनको घर अघिल्तिरको जग्गामा तीन पटकसम्म सडक विस्तार भएको छ। तर, बढाउने नाममा स्थानीय बासिन्दाको जग्गा-जमिन पनि मासिएको उनी बताउँछन्। उनका पिता बद्रीनारायण मानन्धरले भनेअनुसार रानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा पहिलोपटक सडक विस्तार गरियो।

त्यसपछि बूढानीलकण्ठ स्कुलसम्म राजा र विशेष अतिथिको सवारीका लागि सडक फराकिलो पारियो। यस्तै, दुई वर्षअघि मात्र ११ फिटको सडक फराकिलो पार्ने योजनाअन्तर्गत स्थानीयवासीको जग्गा अतिक्रमण हुने देखियो। र, त्यसविरुद्ध स्थानीय बासिन्दाले आवाज उठाए। ‘त्यससँगै अबको लागि नौ फिटको बाटो छोड्नुपर्ने सहमतिमा हामी पुगेका छौँ,’ मानन्धर भन्छन्।

यसप्रकारको विरोध मानन्धर र उनीजस्तै स्थानीयवासीका लागि पहिलोपटक भने होइन। ‘खेतैखेत र फाँट रहेको यो क्षेत्र यसरी सडकै सडकमा परिणत होला या त्यसो गर्न सक्लान् भने हामीलाई त विश्वास नै लागेको थिएन तर बनाइ छाडे। दोस्रोपटक बाटो फराकिलो गर्ने समयमा पनि प्रहरीले कर्फ्यू नै लगाएर स्थानीय बासिन्दाका घरजग्गा मासेर बाटो फैलायो,’ उनी भन्छन्, ‘एक बूढी हजुरआमाको त झन् पूरै घर गयो। कति नरमाइलो लागेको थियो। सायद, मुआब्जाबाट कतै घर किन्‍नुभयो होला।’

राजदूत र कूटनीतिक कर्मचारीकेन्द्रित होटलहरूको स्थापना

लाजिम्पाटको एक अभिन्‍न अंग हो, होटल एम्बेस्डर। त्यसका सञ्‍चालक योगेन्द्र शाक्यका अनुसार नेपालको पहिलो होटल नै लाजिम्पाटमा स्थापित स्‍नो भ्यु होटल थियो। त्यसपछि सन् १९६३ मा शाक्यका पिता वसन्तबहादुर शाक्यले चार कोठाको बंगला बनाएर बेलायती दूतावासका कर्मचारीलाई भाडामा दिएका थिए। त्यसैलाई विस्तार गरेर सन् १९७८ मा होटल एम्बेस्डर स्थापना भयाे।’

बेलायती दूतावास नेपालमा सबैभन्दा पहिले स्थापित कूटनीतिक नियोग हो। र, शाक्यका पिताले प्रदान गरेको बंगलाका कारण धेरैको फोकल पोइन्ट बन्‍न पुग्यो, होटल एम्बेस्डर। हाल जति पनि राजदूत र कूटनीतिक कर्मचारी आउँछन्, उनीहरूको समय बिताउने गन्तव्य हो, होटल एम्बेस्डर।

उनका अनुसार दूतावासहरूको स्थापना भएसँगै राजदूत र दूतावासका कर्मचारीको लागि बस्‍ने बंगला लाजिम्पाटमा बढी बन्‍न थाले। पहिल्यैदेखि विदेशीहरूको सुविधाका लागि लाजिम्पाट तत्पर भएको कारण पनि उक्त क्षेत्र विदेशीहरूको बसाइ र कामको लागि पहिलो रोजाइ बन्‍न गएको शाक्य बताउँछन्।

 Published Date: Sunday, 12th September 2021 11:12:00 am