Kathmandu Press

एक यायावरको साइक्लिङ अनुभव : कोरोना कालमा कालापत्थर

कोभिड-१९ महामारी सुरु भएको केही समय काठमाडौं उपत्यकामै खुम्चिनुपरेका साइक्लिस्ट सुलोचन राजभण्डारीले डिसेम्बर २०२० मा सगरमाथानजिकको कालापत्थरसम्म साइक्लिङ गरे। अनि लिगलिगकोटको दौड साइकलबाटै भ्याए।
एक यायावरको साइक्लिङ अनुभव : कोरोना कालमा कालापत्थर

काठमाडौं, भदौ १६ : गोरखाको लिगलिगमा द्रव्य शाह राजा हुनु अघिसम्म राजा चयन गर्ने अनौठो चलन थियो- दौड जित्‍नैपर्ने। काठमाडौंमा जन्मे-हुर्केका सुलोचन राजभण्डारीले पुस्तकहरूमा त्यो चलनबारे पढेका थिए। ७ फागुन ०७७ मा उनी पनि लिगलिगकोटको साइकल रेसमा सामेल भए।

यस दौडमा उनलाई प्रथम हुनु थिएन। दौड जितेर राजा हुने प्रचलन द्रव्य शाहकै पालादेखि बन्द भइसकेको हो। उनलाई दौडमा प्रथम भएर कुनै राज्य जित्‍नु पनि थिएन।

साइकलमार्फत लिगलिगे दौडको रोमाञ्‍चकता लिन पाउँदा उनी त्यसै दंग थिए। आत्म मूल्यांकनको कौतुहलले उनी र उनको साइकललाई लिगलिगसम्म पुर्‍यायो। गोरखा पालुङटार नगरपालिका र साइक्लिस्ट एसोसिएसन नेपालले संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना गरेका थिए।

साइकल राइडिङका सौखिन राजभण्डारीले कोरोना कालमा ऐतिहासिक लिगलिगकोट गन्तव्य छनोट गरे। उनको सोख एक दशक पुरानो हो। यसबीचमा देशका धेरै साहसिक गन्तव्य उनले नापिसकेका छन्। नेपालका सबैभन्दा उचाइमा रहेका मनाङका नार र फु गाउँ मात्र होइन, तिलिचो ताल नै साइकल चढेर पुगिसकेका उनका लागि लिगलिगकोट त धेरै अप्ठ्यारो गन्तव्य पनि थिएन।

‘साइक्लिङ’को १० वर्षे यात्रामा उनले कुनै प्रतियोगितामा भाग लिएका थिएनन्। लिगलिगकोट दौडले उनलाई प्रतियोगितामा भाग लिने अवसर पनि जुराइदियो। र, आत्ममूल्यांकनका लागि पनि यो दौडमा भाग लिने निश्चय गरेका थिए। ‘आफ्नो क्षमता कति रहेछ भन्‍ने मापनका लागि यसमा भाग लिएको थिएँ,’ उनी भन्छन्, ‘एक दशकको साइकल यात्राको मापन गर्न पनि हुनसक्छ, मेरो मनमा एक प्रकारको कौतुहल जागेको थियो।’

यो प्रतियोगितामा करिब ७० जना प्रतियोगी थिए। जीवनको पहिलो ‘स्पोर्ट्स प्रतियोगिता’मा उनी १५ औँ स्थानमा आए, जुन उनले आफैँलाई गरेको रेटिङभन्दा धेरै माथि थियो। ‘मेरो लागि त म नै फस्ट थिएँ,’ जीतको ऊर्जा उनको अनुहारमा झल्कियो, ‘आफूभन्दा प्रोफेसनल राइडर तथा केही खेलाडीलाई पनि उछिनेको कारण पनि होला सायद खुशीको सीमा नाघ्यो।’

उनीसँगै प्रतियोगितामा भाग लिन गएका थिए राजभण्डारीका साथीहरू सन्तु श्रेष्‍ठ, दीपक जोशी, राजकुमार श्रेष्‍ठ, नयन मानन्धर र एलिन महर्जन। तीमध्य नयन मानन्धर चौथो र एलिन महर्जन तेस्रो भए।

५४ वर्षका सुलोचन राजभण्डारी पेशाले व्यवसायी हुन्। काठमाडौंकै रैथाने उनको जन्म ओटु गुच्चाटोलमा भएको हो। कालान्तरमा उक्त क्षेत्रमा व्यवसायीहरूको घनत्व बढेसँगै उनका पिता दरबारमार्गमा सरे। नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटको ठ्याक्कै अगाडिपट्टि बस्छ, अहिले उनको परिवार। गुच्चाटोलको पुख्र्यौली घर भने भाडामा लगाएका छन्, उनीहरूले।

अविस्मरणीय कालापत्थर

कोरोना प्रसार रोक्न सरकारले ११ चैत ०७६ देखि देशव्यापी लकडाउन घोषणा गर्‍यो। पसल, व्यवसाय, बजार, सार्वजनिक यातायात सबै लामो समय ठप्प बने। तर, रोकिएनन्, सुलोचनको साइकलका पाइडल। तरकारी बोक्ने झोला साइकलमा झुण्ड्याएर उनी सुरक्षाकर्मीलाई झुक्याउँदै साइकलमा हुइँकिइरहे- कहिले नजिकका गन्तव्य त कहिले टाढा।

गोरखा लिगलिगकोट दौडमा सहभागी हुँदै सुलोचन र साथीहरू

त्यही हुइँक्याइको परिणाम थियो, सगरमाथा आधार शिविरनजिकको कालापत्थरसम्मको यात्रा। डिसेम्बर २०२० मा उनी र उनका साथी दीपक जोशीले कालापत्थरसम्मको यात्रा तय गरे। ‘एक ट्राभल एजेन्सीको ‘कपल हनिमुन प्याकेज’को लाभ उठायौँ। म र मेरो साथीबाहेक सबै जोडी थिए,’ हाँस्दै उनले त्यस यात्राको अनुभव सुनाए।

उनीहरू काठमाडौंबाट सीधै सोलुखुम्बू लुक्लास्थित तेन्जिङ-हिलारी विमानस्थलमा उत्रिए, जहाजमा। उनीहरूका साइकल पनि जहाजमै लुक्ला पुगे। त्यसपछि विकट हिमाली भेगको विश्व प्रसिद्ध बजार नाम्चेसम्म पैदल यात्रा गरे। नाम्चेबाट मात्र उनीहरू साइकलमा सवार भए। र, स्याङ्बोचे विमानस्थल पार गर्दै खुम्चुङ पुगे। खुम्जुङनजिकको जापानी नागरिकको होटेलमा उनीहरू बास बसे।

‘एक्लाइमटाइजेसन’का लागि उनीहरूले दुई दिन खुम्जङुकै सेरोफेरोमा साइक्लिङ गर्दै बिताए। त्यहाँबाट कालापत्थरसम्म साइक्लिङका लागि सगरमाथा राष्‍ट्रिय निकुञ्‍जको अनुमति अनिवार्य हुन्छ। कोरोना प्रसारको जोखिमका कारण निकुञ्‍जले खुम्बू क्षेत्रमा हिँडडुल नै बन्द गरेको थियो। तथापि, डिसेम्बरको जाडोमा खुम्बू क्षेत्रका बासिन्दा तल्लो भेगमा झरिसकेका थिए, स्वदेशी-विदेशी पर्यटकको त नामोनिशान थिए। त्यसैले उनीहरू निकुञ्‍जले सहजै अनुमति पत्र दियो। ‘त्यस्तो बेलामा निकुञ्‍जबाट अनुमति पाउनु भाग्य दाहिना भएको महसुस गर्‍यौँ,’ उनी भन्छन्।

उनीहरूको यात्रा योजना भने फरक थियो। खुम्जुङबाटै साइकलमा सवार हुनु थिएन। होटेल परिसरबाटै हेलिकोप्टरमा आफू र साइकललाई राखेर कालापत्थर झर्ने प्याकेज थियो। र, उनीहरू साइकलसँगै सीधै कालापत्थर उत्रिए। समुद्री सतहबाट ५६ सय ४३ मिटर उचाइको कालापत्थर सगरमाथा आरोहीका लागि नौलो गन्तव्य होइन। तर, जसले खुम्बू क्षेत्रको यात्रा गरेका छैनन्, उनीहरूका लागि सहज गन्तव्य पनि होइन।

जापानी होटलबाट हेलिकप्टरले उनीहरूलाई कालापत्थरमा उतारिदियो। ‘हेलिकप्टरबाट झरेर साइकल समाउँदा हामीले कालापत्थरमा मानव उपस्थिति शून्य पायौँ,’ सम्झनाका पललाई केलाउन थाले उनी, ‘अब साइकल चढेर तल्लो क्षेत्र झर्नु थियो। तर, कालापत्थरबाट तल झर्नु सहज काम होइन रहेनछ।’

किनकि, साइकलमा चढेर उनीहरूले ओरोलै ओरालो झर्न कहाँ पाउँथे ! हिमाली क्षेत्रका थुम्काथुम्की पहाडी शृंखलामा कहिले उकालो त कहिले ओरालो, ग्राभेल र खाल्डाखुल्डी बाटो। जीवन भनेकै यस्तै उकालो र ओरालाको यात्रा न हो। उनीहरूले जीवन यात्राको त्यही पथ पछ्याए। अनि सगरमाथा क्षेत्रबाट तल-तल झर्न थाले।

ओर्लिँदै ओर्लिँदै कालापत्थरबाट उनीहरू लोबुचे आइपुगे। चार हजार मिटरमाथिका स्थानमा आफ्नो शरीर एक्लाइमटाइजेसन हुन नसक्ने र जुनसुकै बेला लेक लागेर ढल्ने त्रास थियो, उनीहरूलाई। ‘लोबुचे झरेपछि भने अब बाँचियोजस्तो ठानेर राहत महसुस गर्‍यौँ,’ उनी भन्छन्।

लोबुचेमा एउटा मात्र चिया पसल खुला भेटे। अनि त्यही पसलमा चिया पिएर उनीहरूले यात्रालाई अगाडि बढाए। पाङबोचे, देङबोचे हुँदै राति साढे नौ बजे उनीहरू तेङबोचे आए। र, तेङबोचेमै  रात बिताउने निर्णय सुलोचन र उनका साथी दीपकले लिए।

‘अनकन्टार जंगलको रुटमा साढे पाँचै बजे रात पर्ने रहेछ। अँध्यारो छेद्‍न टर्च त टाउकोमा सिउरिएकै थिए। साथमा लगेको नास्ताले उनीहरूलाई भोको रहन दिएन। जीपीएस ट्रयाकरको सहारामा उनीहरू अगाडि बढिरहे। उनीहरूको साथमा मोबाइल त थियो तर नेटवर्क शून्य। झमक्क रातमा उनीहरू जोखिम मोल्दै तेङबोचे पुगिछाडे। उनी सम्झिन्छन्, ‘कालापत्थर यात्रा अहिले सम्झिँदा एउटा एकोहोरापनमा तय गरेको यात्राजस्तो लाग्छ, जुन हालसम्म तय गरेको यात्राको पहिलो लिस्टमा आउँछ।’

खुम्बु क्षेत्रमा साइकल राइडिङमा सुलोचन र उनका साथी दीपक जोशी ।

कालापत्थरबाट साइक्लिङको अन्तिम समय सम्झिँदै उनले भने, ‘तेङबोचबाट बिहानै हामी नाम्चे आइपुग्यौँ, नाम्चे त हाम्रा लागि घर आइपुगेजस्तै थियो। त्यसपछि फाक्तिम हुँदै लुक्ला फर्किएर हामी काठमाडौं फर्कियौँ। सात दिनको यो टुर अविस्मरणीय छ।’

कोरोना सार्ने चाँगुनारायणको त्यो फोटो

साइक्लिङमा निस्किँदैमा कोरोना भाइरसको संक्रमणमा नपरिने अटल विश्वास छ, सुलोचनमा। तर, साइकल यात्राको रुटमा कहीँ कतै भीडभाडयुक्त चिया पसलमा नास्ता गर्दा, तस्बिर खिचाउन सतर्कता नअपनाउँदालगायत कारणबाट भने कोरोना सर्न सक्ने कुरामा उनी सतर्क छन्। खासगरी, अन्य व्यक्तिसँग भौतिक दूरी कायम नगरी नजिक जाँदा कोरोना संक्रमण हुन सक्ने उनको भनाइ छ।

त्यस्तै संयोग राजभण्डारीसँग पनि भयो। पहिलो लकडाउन खुलेपछि उपत्यकामा जारी गरिएको निषेधाज्ञाका बेला उनी दरबारमार्गस्थित घरबाट निस्केर भक्तपुर चाँगुनारायण पुगेका थिए। 

त्यहाँको मनोरम दृश्यले पुलकित भएका उनले नजिकै भेटिएका एक स्थानीय बासिन्दालाई फोटो खिचिदिन अनुरोध गरे। तर, त्यसको चार दिन नबित्दै उनलाई कोभिड-१९ पजटिभ देखियो। अनि साइकलमा हुँइकिइरहनुपर्ने यायाबर जिन्दगी तीन साता घरको कोठामा कैद भयो। मानौँ नीलो आकाशमा पखेटा फिँजाउँदै कावा खाँदै हावामा उडिरहने चरी पिँजडामा कैद भयो। उनका लागि ती २० दिन कम्ता कष्‍टकर रहेनन्, साइकलमा सडक नाप्‍न नपाउँदा ! ‘त्यो फोटो खिच्नु नै कोरोना सर्नुको कारण हो भन्‍ने त सक्दिनँ तर स्याल कराउनु र कुखुरा हराउनु भनेजस्तै भयो मलाई,’ उनले हाँस्दै आफ्नो अनुभूति सुनाए।

सडकमै आइसोलेट

लकडाउनका क्रममा उनी हालसम्म तीनपटक प्रहरीको रोकछेकमा परेका छन्। पहिलो पटक जगडोलमा उनलाई प्रहरीले रोक्यो। र, किनारातिर अलग्गै उभ्यायो। ‘त्यो घटना पहिलो लकडाउनको बेलाको हो। मलाई करिब १५ मिनेट रोकेको थियो प्रहरीले,’ उनले भने।

यस्तै, दोस्रोपटक कपनमा पनि प्रहरीले रोकेर सोधपुछ पर्‍यो। त्यतिबेला करिब आधा घण्टा सडकमै ‘आइसोलेट’ भए उनी। तेस्रोपटक भने छोरासँग राइड गर्दा छाउनीमा समातिए। त्यसका बावजुद सतर्कता अपनाउँदै साइक्लिङलाई निरन्तरता दिइरहेका छन्। सजग भए साइक्लिङका क्रममा ‘ह्युमन कन्ट्याक्ट’ नभए कोरोनाको जोखिम नहुने उनको तर्क छ।

कोरोनाकालको सफा काठमाडौं

एक दशकदेखि लामो तथा छोटो दूरीमा साइक्लिङ गर्दै आएका राजभण्डारी पहिलो लकडाउनपछिको कडाइले केही हच्किए। पहिलेजस्तो स्वतन्त्र रूपमा साइक्लिङ गर्न पाएनन्। ‘लकडाउनका कारण हामी खासै बाहिर लामो यात्रामा निस्केनौँ,’ उनी भन्छन्, ‘काठमाडौंकै सेरोफेरोमा कपन, जगडोलतिर धेरै गयौँ।’ साइक्लिङका लागि उनका साथीहरूको समूह छ, जसमा भावेन्द्र जोशी उनीसँग प्राय: साइक्लिङ गर्ने साथी हुन्।

कोरोनाकालमा उनीसहित उनका साथीहरूको रुट धोबीखोला करिडोर थियो। एकाबिहानै करिब साढे चार बजे सबै जम्मा भई निर्धारित रुटमा गुडिसक्थे। बिहान साढे ६ बजेसम्म रुट सकाउन पर्याप्त समय हुन्थ्यो।

कोरोनाकालमा काठमाडौंका सडकलाई नजिकबाट नियाल्ने मौका पाए उनले। ‘त्यो एकदमै दुर्लभ दृश्य अनि समय थियो,’ उनी भन्छन्। काठमाडौंकै रैथाने भए पनि काठमाडौंलाई त्यति सफा र क्लियर कहिल्यै देख्‍न पाएका थिएनन, राजभण्डारीले।

‘साविकका दिनजस्तो न त जाम, न सवारीसाधनहरूको चाप नै। सुनसान सडकमा साइक्लिङको छुट्टै मजा थियो,’ उनले आफ्नो अनुभूति साटे, ‘नत्र प्रदूषणका कारण उति सहज हुँदैनथ्यो।’

लकडाउन र निषेधाज्ञामा उनीहरूको मुख्य रोजाइ धोबीखोला करिडोर रह्यो। कारण- त्यो करिडोरमा प्रहरीका चेकपोस्ट कमै हुन्थे। धेरै दु:ख नपाइने भएकाले धोबीखोला करिडोर उनी र उनका साथीहरूका लागि पहिलो रोजाइ बन्दै आएको छ।

गत १५ वैशाखदेखि सुरु भएको निषेधाज्ञाका बेला पनि उनीहरूका साइकलका पाइडल रोकिएनन्। कहिले साथीभाइ त कहिले एक्लै, राइडमै उनले कोरोनाकाल कटाउँदै आएका छन्।

काठमाडौंनजिकको ‘थ्री माउन्टेन राइड रेन्ज’

यसबीचमा उनले ‘थ्री माउन्टेन राइड रेन्ज’मा एक्लै राइडिङ गरिभ्याए, जुन उनका लागि अर्को अविस्मरणीय राइडिङ हो। करिब ८० किलोमिटरको यो रुट चाँगुनारायणबाट नगरकोट र त्यहाँबाट लाँकुरी भञ्‍ज्याङमा टुंगिन्छ।

‘चाँगुनारायणको डाँडोबाट तेलकोट झरेर सुडाल, बोजिनी ड्याम साइट हुँदै नगरकोटको डाँडामा पुगेँ। त्यहाँबाट झरेर बनेपा, पनौती हुँदै लाकुरी भञ्‍ज्याङको रुटमा एकल राइडिङ गरेँ,’ उनी भन्छन्, ‘लाँकुरी भञ्‍ज्याङबाट लामाटार हुँदै पाटन हुँदै घर फर्केँ।’ यो रुटमा उनले करिब आठ महिनाअघि यात्रा गरेका थिए।

सामान्यता उनी साथीभाइसँगै यात्रा गर्छन्। साथीभाइसँग साइक्लिङ गरेको अविस्मरणीय सम्झनामा मोहनी झरनाको यात्रा उनको मानसपटलमा आइरहन्छ। यो गन्तव्य पनि उनले कोरोनाकालमै नापेका हुन्। उक्त ट्रिपबारे उनको व्याख्या छ, ‘मार्खु र कुलेखानी ड्यामको बीचमा रहेको स्थान हो, मोहिनी झरना। कुलेखानीको ड्याम साइटबाट केही जोखिमपूर्ण रुट थियो। हामीले सोही रुटबाट लाग्यौँ। अहिले निकै भाइरल स्थान हो उक्त झरना। तीन महिनाअघि जाँदा भने विस्तारै चर्चामा आउँदै थियो।’

उनका साथीहरू भावेन्द्र जोशी, नयन मानन्धर, शैशव प्रधान र रामभक्त महर्जन पनि मोहिनी झरनासम्मको साइक्लिङमा उनको साथमा थिए। यस्तै, हेटौंडा जाने एउटा रुट हो, देउराली भज्याङ। करिब ५० किलोमिटरको यो रुटमा पनि साथीभाइका साथ उनी राइडमा निस्केका थिए। ‘गत वर्षको वर्षायाममा हामी त्यहाँ गएका थियौँ। बाटो बिग्रिएकाले कतिपय ठाउँमा साइकल बोक्दै यात्रा पूरा गर्‍यौँ,’ उनी भन्छन्।

८५ किलोमिटरको नमोबुद्ध रुट लकडाउनकै समयमा साथीभाइसँग गए। रुट लामो भए पनि बाटो सजिलो भएका कारण उनीहरूले सकस बेहोर्नुपरेन। ‘हामी करिब चारपटक नमोबुद्ध पुग्यौँ,’ उनी भन्छन्। यस्तै, कीर्तिपुरबाट सतुंलग, सतुंगलदेखि मच्छेगाउँ, बोसान डाँडा, काठमाडौं रिङरोड, टीकाभैरव, बालकोट, गुण्डु आदि स्थान राजभण्डारीले कोरोना समयमा नियमित तय गरेका रुट हुन्। जहाँ प्रहरीको डिस्टर्ब हुँदैन भन्‍ने थाहा पाउँथे, उनीहरू त्यतै मोडिइहाल्थे।

कोभिडअघि साइकलमा मनाङ यात्रा 

कोभिड-१९ महामारीअघि उनी मनाङ ट्रिपमा थिए। नेपालकै सबैभन्दा उच्च स्थानमा रहेका नार र फू गाउँ उनी साइकलमै पुगे। पाँच हजार तीन सय २० मिटर उचाइमा रहेको काङ्ला पासमा उनी साइक्लिस्ट दीपक श्रेष्‍ठ र सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्‍ठसँगै पुगे।

उपल्लो मुस्ताङमा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सिंहबहादुर श्रेष्ठ, सुलोचन र दीपक श्रेष्ठ ।

तीनजनाको टोलीले त्यतिबेला १२ दिन उच्च हिमाली भूभागमा बिताए। दशैं बिदाको सदुपयोग गर्दै उनीहरू त्यहाँ पुगेका थिए।  तिलिचो हुँदै मेसोकान्तो पास र जोमसोमको रुट पनि कभर गरे। हिउँ जमेको तिलिचो तालमाथि गरेको साइक्लिङ उनका लागि निकै ठूलो ‘एड्भेन्चर’ हो।

रहरै रहरमा साइक्लिङ

साइक्लिङ सुरु गर्दा उनी ४४ वर्षका थिए। साइकलमा लामो तथा छोटो दूरीमा यात्रा गर्न थालेयता उनको जीवनशैली नै परिवर्तन भयो। १० वर्षअघि उनलाई उनका एक साथी अरुणप्रकाश श्रेष्‍ठले साइक्लिङमा जान आग्रह गरे। रहरै रहरमा उनी पनि साइक्लिङ समूहसँग मिसिए। एक-दुईपटक साइक्लिङ गरेपछि उनी त्यसैमा रत्तिए। अहिले ५४ वर्ष पु्गिसक्दा उनी प्रोफेसनल राइडरका रूपमा परिचित भइसकेका छन्।

पहिलो राइड गुन्डुस्थित पाइलट बाबा क्षेत्रमा गरेका थिए। साह्रै थकान महसुस भएको थियो रे उनलाई पहिलो राइडमा। तर, अब त बानी परिसके।

‘स्पेसलाइज’ कम्पनीको माउन्टेन बाइक सदैव उनको रोजाइमा पर्छ। पहिलो माउन्टेन बाइक उनले तीन लाख रुपैयाँमा किने, जसलाई ६ वर्ष चलाए। त्यसपछि सन् २०१६ मा सोही कम्पनीको ‘एपिक’ नामक माउन्टेन बाइक खरिद गरे। उक्त साइकलको विषेशता भने छिटो दौडिने हो, जसको मूल्य करिब पाँच लाख रुपैयाँ छ। त्यो साइकल अहिले उनका छोराले चलाउँछन्। उनले भने त्यति नै मूल्यमा अर्को माउन्ट बाइक खरिद गरेका छन्।

‘अबका लागि छिटो दौडिनेभन्दा पनि डाँडाकाँडामा चलाउन कम्फर्टेबल र सहज बाइकमा चाख लाग्न थालेको छ। त्यसको महसुस मलाई कालापत्थरमा साइक्लिङ गर्ने क्रममा भयो। छिटो चलाउनु मात्र नभई भर्‍याङ, खाल्डाखुल्डीमा कसरी चलाउने भन्‍ने सीप पनि आवश्यक रहेछ,’ उनी भन्छन्।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्