Kathmandu Press

गुंला पर्व : राजा राँगो भएर पुनः जन्मेको कथा

बोधिसत्व प्रकट भई मरेको उक्त राँगो अरू कोही नभई उनकै पूर्वजन्मका पति भएको बताए। साथै यो पनि भने– सबै हाडखोर बटुलेर त्यसमाथि एउटा चैत्य बनाऊ र एउटा सिङले बाजा फुकेर अर्काे सिङले २१ दिनसम्म जल चढाऊ। यसो गर्‍यौ भने राजा आफूले गरेको पापबाट मुक्त हुनेछन्।
गुंला पर्व : राजा राँगो भएर पुनः जन्मेको कथा

नेपाल संवत्का १२ महिनामध्ये श्रावण शुक्ल परेवाबाट सुरु हुने एक महिना बौद्धमार्गीहरू गुंला बाजा बजाई नामसंगीति पाठ गर्दै चैत्य दर्शन गर्ने गर्छन्। यही पूरा एक महिनालाई ‘गुंला’ भनिन्छ। काठमाडौंका नेवार गुंला बाजा बजाउँदै एक महिनासम्म स्वयम्भू महाचैत्य दर्शन गर्न जाने धार्मिक कार्यलाई नै ‘गुंला धर्म’ भन्ने गरिन्छ।

गुंला स्वयम्भू पुराण अनुसार, नेपाल खाल्डो पहिले पानीले भरिएको एउटा पोखरी थियो। यस्तो ठाउँमा विपस्वी बुद्ध आई कमल रोपे। त्यही रोपिएको कमलमा फूल फूलेर त्यसमाथि धर्मधातु ज्योतिरूप स्वयम्भू उत्पत्ति भए। उक्त ज्योति रूपको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री र उहाँका दुई पत्नी वरदा र मोक्षदा यहाँ आए। मञ्जुश्रीले चोभारको दायाँ र बायाँको पहाडलाई छेदन गरी यहाँ जमेको पानीलाई निकास दिए। र, यहाँ मञ्जुपत्तन नामको सहर बनाए। मञ्जुश्रीले आफ्नी पत्नी वरदालाई राखेको पहाड ‘फूच्व’ र मोक्षदालाई राखेको पहाड ‘धिलाच्व’ नामले प्रसिद्ध भए। यही ज्योतिरूप स्वयम्भूमा महायान धर्मका गुरु शान्तिकराचार्यले महाचैत्य बनाए। शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गर्नुअघि नै यहाँ चैत्य सेवा गर्ने परम्परा रहेको बौद्ध विद्वान बताउँछन्। उहिलेको त्यही चैत्य सेवालाई नै अहिले गुंलाधर्म भनिएको हो।

गुंलालाई पहिलेपहिले गुर्णिला (गुनी महिना) पनि भनिन्थ्यो। गुंला धर्म कसरी आरम्भ भयो भन्नेबारे ‘श्रृंगभेरी अवदान’मा एउटा कथा उल्लेख छ।

कथा भन्छ– शशीपत्तनका राजा सिंहकेतुलाई सिकार खेल्ने सोख थियो। उनकी पत्नीलाई भने हत्याहिंसा पटक्कै मन पर्दैनथ्यो। आफ्नो जीवन बाँचेर राजा सिंहकेतु मृत्यु हुन्छ। जंगली मृग, भालु, बाघ, अर्ना (राँगो) आदि धेरै जीवजन्तुको हिंसा गरेको पापस्वरूप उनी एक ब्राह्मणको घरमा राँगो भएर जन्मन पुग्छन्। राजा सिंहकेतुकी रानी राजालाई पशुपक्षीको हत्या गर्न रोक्ने भएकीले अर्काे जन्ममा उनी तीनै ब्राह्मणकी रुपवती छोरीका रूपमा जन्म लिन पुग्छिन्। राँगोलाई ती रूपवतीले राम्रो रेखदेख गरी पालेकी हुन्छिन्। एक दिन चराउन लैजाँदा जंगलको भीरबाट लडेर राँगो म¥यो। रूपवती अत्यन्तै विलाप गरेर रोइन्। त्यसपछि बोधिसत्व प्रकट भई मरेको उक्त राँगो अरू कोही नभई उनकै पूर्वजन्मका पति भएको बताए। धेरै पशुपक्षीको हिंसा गरेकाले उनले राँगोको जुनी लिन परेको कुरा पनि बताए। साथै यो पनि भने– राँगोको उद्धार गर्ने हो भने उसको सबै हाडखोर बटुलेर त्यसमाथि एउटा चैत्य बनाऊ र एउटा सिङले बाजा फुकेर अर्काे सिङले २१ दिनसम्म जल चढाऊ। यसो ग¥यौ भने राजा आफूले गरेको पापबाट मुक्त हुनेछन्।  

रूपवतीले बोधिसत्वद्वारा आज्ञा भए बमोजिम कार्य गरी पूर्वजन्मका पतिलाई मुक्त गरिन्। यसै कारण गुंला महिनाभरि सिङ साथै अन्य बाजा बजाएर चैत्य परिक्रमा गर्ने चलन बस्यो। नेवार समाजमा त्यस वर्षभित्र निधन भएका व्यक्तिको मुक्तिका लागि गुंला महिनाभरि सिङलाई पूजा गरेर, सिङ फुकेर स्वयम्भू महाचैत्य परिक्रमा गरी मनाउने परम्परा अहिलेसम्म चलिरहेको छ।

त्यसरी नै मृत व्यक्तिको अस्तु राखेर चैत्य बनाउने चलन पनि केही हदसम्म बाँकी रहेको पाइन्छ। भाषा वंशावलीमा उल्लेख भए अनुसार नेपालका बौद्ध धर्मावलम्बीले श्रावण शुक्ल प्रतिपदादेखि एक महिना गुंला धर्म मान्ने चलन राजा विक्रमदेवले चलाएका हुन्। चैत्य प्रदक्षिणा, सिङ (श्रृंग) साथै अन्य बाजाहरू बजाएर नामसंगीति पाठ ग¥यो भने पुण्य तथा सतधर्म प्राप्त भई नरकमा परेकाको समेत उद्धार हुन्छ भन्ने कुरा ‘सर्वज्ञमित्रावदान’मा उल्लेख छ। सिङ फुकेर धर्म चैत्यको सेवा गर्ने प्रसंगमा ३१ दिनसम्म बालुवाको चैत्य बनाई पूजा ग¥यो भने त्रिरत्न शरण तथा नामसंगीति शरणको फल प्राप्त हुन्छ भनी ‘वृष जन्मावदान’मा उल्लेख भएको पाइन्छ। श्रावणभरि त्रिरत्न नाम स्मरण गरी सिङ (श्रृंग) बजाएको पुण्यले गर्दा पापी राजा मुक्त भएझैँ यस महिनाभरि चैत्य परिक्रमा ग¥यो भने मृतक मात्र मुक्त हुने होइन कि राष्ट्रलाई समेत विभिन्न महामारी, रोगव्याधि तथा दुःखकष्टबाट मुक्त पारिदिने कुरा ‘पुंगवावदान’मा उल्लेख छ।

नेपाल उपत्यकाको मुख्य कार्य कृषि भएकाले सबैजसो चाडपर्व रोपाइँपछि वा कटाइअघि मनाउने गरिएको पाइन्छ। तीमध्ये धान रोपिसकेपछि मनाइने पर्व गुंला हो। काठमाडौंमा गुंला महिनाभरि स्वयम्भू महाचैत्य लगायत विभिन्न बहाल तथा बहिलहरूमा अवस्थित चैत्यहरूको पूजा गर्ने, दीप बाल्ने परम्पराकासाथै महिनाभरि एक छाक मात्र खाई उपवास बस्ने एउटा अर्को परम्परा पनि छ, जसलाई ‘माय् अप्सं’ भनिन्छ। पहिले पहिले यस्तो उपवास बस्ने चलन धेरै नै देखिन्थ्यो भने आजभोलि घट्दै गएको पाइन्छ। स्त्री–पुरुष जो पनि बस्न सकिने यो उपवासलाई धार्मिक क्रियाकलापकै रूपमा लिइएको छ। अन्य उपवास एक एक दिन मात्रै बस्ने गरिन्छ भने यो उपवास महिनाभरि नै बस्ने गरिन्छ। यो उपवास बस्ने श्रद्धालु स्वयम्भू महाचैत्य वा अरू कुनै चैत्यको दिनहुँ पूजा गरी दिनको एकपल्ट फलाहार मात्रै गर्छन्। यो उपवास श्रावणशुक्ल प्रतिपदादेखि सुरु भई अर्काे महिनाको प्रतिपदामा भोज ख्वाएर समापन गरिन्छ। उपवास बस्नेलाई हेरचाह गर्न उनका आफन्त विभिन्न फलफूल तथा पूजा सामग्री लिई जाने गर्छन्। त्यसरी हेर्न आउने आफन्त सबैलाई समापनका बेला निम्तो गरी भोज ख्वाउने गरिन्छ। गुंलाभरि स्वयम्भू धाउनेले पनि अर्को महिनाको प्रतिपदाकै दिन गुंला धर्म समापन गर्ने भनी भोज आयोजना गर्छन्।

सिङ फुक्ने

सोही वर्ष निधन भएका व्यक्तिको नाममा गुंला महिनामा पनि केही पूजा गर्ने चलन छ। बौद्धमार्गी यही बेला आफ्ना स्वर्गीय आफन्तको नाममा स्वयम्भूका विभिन्न देवीदेवताका सामू १०८ दीप बाल्ने गर्छन्। अन्य बेला ननिकालिने सिङहरू पनि गुंला महिनाभरि अजिमा द्यःको अगाडि रहेको सत्तलमा प्रदर्शन गरिएको हुन्छ। स्वर्गे भएका आफन्तको नाममा तिनै सिङलाई पूजा चढाउँछन्। साथै ‘न्यकू पुइगु’ भनी राँगाको सिङ फुक्ने गर्छन्। यसरी सिङ फुकेर अजिमा, शान्तिपुर र स्वयम्भू डाँडोका अरू देवताहरूको पनि दर्शन गर्ने परम्परा रहिआएको छ। यसरी सिङ फुके निधन भएका आफन्तले स्वर्गमा बास पाउँछन् भन्ने विश्वास रहेको छ। त्यतिबेला सिङ मात्र फुक्ने होइन, साथमा घण्टा बजाउने, झ्याली बजाउने समेत गरिन्छ। यही बाजाहरू सँगै मृतकका आफन्त पनि देउताको दर्शन गर्न जाने चलन छ। न्यकू (सिङ) फुक्ने चलन काठमाडौंको स्वयम्भूमा मात्रै भएकाले विभिन्न ठाउँका मानिसहरू पनि यहीँ आएर सिङ फुक्न दिने गर्छन्। आजभोलि न्यकू फुक्ने भन्दा फुक्न लगाउनेहरू धेरै भएकाले अगाडि नै केही दस्तुर बुझाई नाम लेखाउने र पछि आफ्नो उचित समयमा आएर न्यकू फुक्न लगाउने गरेको पाइन्छ।

गुंला बाजा

गुंला आउन केही दिनअघि नासः पूजा गरी गुंला बाजा सिकाउने गरिन्छ। गुंला सुरु भएपछि प्रतिपदाकै दिनदेखि गुंला बाजा बजाई स्वयम्भू वा चैत्यहरू परिक्रमा गर्न जान्छन्। यसभन्दा अघि गुंला बाजा निकाल्ने वा बजाउने गर्न हुँदैन भनिन्छ। गुंला बाजालाई धाः बाजा पनि भनिन्छ। गुंला महिनाभरि हरेक बिहान गुंला बाजा बजाई मन्दिर चैत्य घुम्न जाने त छँदैछ, त्यसको साथसाथै गुंपुन्हि (जनै पूर्णिमा) देखि कृष्णाष्टमीसम्म काठमाडौंका विभिन्न बहिलहरूमा प्रदर्शन गरिने बहीद्यः दर्शन गर्न पनि दिउँसै गुंला बाजा बजाएर जाने चलन पनि छ। त्यस्तै गुंपुन्हि सकिएपछि गुंला बाजा खलकहरूले भगवानलाई ‘निसलाः’ चढाउन भनी दिउँसो जाने चलन पनि छ, त्यतिबेला पनि दिउँसै गुंला बाजा बजाएर जाने गरिन्छ। त्यस्तै गुंला सेवा समापन हुने प्रतिपदाको दिन आयोजना गरिने भोज खान पनि गुंला बाजा बजाएर नै जाने गर्दछन्। गुंला महिनामा मात्रै निकालिने भएकाले यो बाजाको नामै गुंला बाजा हुन पुगेको हो। यद्यपि आ–आफ्नो टोलको जात्रा वा विशेष उत्सवका बेला अरू महिनामा पनि गुंला बाजा निकाल्ने गरिन्छ। जस्तो चैत महिनामा हुने सेतो मछिन्द्रनाथको जात्रामा जनबहालका स्थानीय कंसाकारहरू गुंला बाजा बजाएरै जात्रामा सहभागी हुन गर्दछन्।

गुंला महिनाभरि नागपञ्चमी (गुलाथ्व पञ्चमी), यल पञ्चदान (गुंलाथ्व अष्टमी), गुंपुन्हि (गुंलाथ्व पूर्णिमा), सापारु (गाईजात्रा, गुंलागाः परेवा) दथुसाया÷मतयाः (दीप जात्रा, गुंलागाः दुतिया), कृष्णाष्टमी (गुंलागाः अष्टमी), पञ्चदान, बाबुको मुख हेर्ने दिन (गुंलागाः औंसी) लगायत पर्व पर्छन्।

(डा. बज्राचार्यसँगको कुराकानीमा आधारित।)

 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, साउन २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्