Kathmandu Press

टाटु ट्रेन्ड : प्राइभेट पार्टदेखि हातगोडामा देखिने खोप्छन्

युवाहरू शरीरको जुनसुकै भागमा आफ्नो इच्छा अनुसार टाटु बनाउन लगाउँछन्। परिवारको डरले गर्दा कतिपय महिलाले सकेसम्म नदेखिने गरी छाती वा प्राइभेट पार्टमा खोप्न भन्छन्।
टाटु ट्रेन्ड : प्राइभेट पार्टदेखि हातगोडामा देखिने खोप्छन्

 काठमाडाैं, साउन १६ : हातमा टाटु खोप्दै गर्दा दुखाइका कारण १९ वर्षीय सिमोस लामाको आँखा आँसुले भरिएका थिए, तर उनले आफ्नो हातमा बन्दै गरेको ‘कोइ फिस’ टाटुलाई हेरेर आँसु रोके।

कोइ फिस टाटुको आम अर्थ हुन्छ– दृढता। चिनियाँ र जापानी संस्कृतिमा कोइ माछाको लामो इतिहास छ। यसलाई टाटु कलाकारले विभिन्न अर्थमा प्रयोग गर्छन्।  

काठमाडौं, वसन्तपुरको झोँछेस्थित ‘टाटु वर्कसप’मा सोमबार सिमोस टाटु खोपाउँदै थिए। बेसरी दुखेझैँ गरेर उनले घरी आँखा खोल्ने र घरी चिम्लने गर्दै थिए। बेला–बेला उनले मलिन स्वरमा भनिरहेका थिए– दाइ दुख्यो !

टाटु कलाकार तथा ‘टाटु वर्कसप’का सञ्चालक विपिन महर्जन भन्दै थिए– अलिअलि दुख्छ नि भाइ।

पछिल्लो समय युवायुवतीले आफ्नो शरीरमा टाटु खोप्ने ट्रेन्ड छ। अरुको देखेर सिमोस एक वर्षअगाडि नै आफ्नो शरीरमा टाटु बनाउन चाहन्थे। तर, टाटु खोप्न उमेरले १८ वर्ष पुगेको हुनुपर्छ। प्लस टु सकेर स्नातक सुरु गर्ने तयारीमा रहेका सिमोन भन्छन्, ‘हरकोही साथीको हातमा टाटु छ। साथीहरूको देखेर मलाई पनि टाटु बनाउन मन लागेको हो।’

उनलाई टाटु बनाउन मन थियो, तर के बनाउने थाहा थिएन। उनले टाटु कलाकार विपिन महर्जनसँग सल्लाह गरे। अन्ततः उनी ‘कोइ फिस’ बनाउने निष्कर्षमा पुगे। टाटु क्षेत्रमा कोइ फिस चर्चित छ।

उमेर, रुचि, स्वभाव, धर्म–संस्कृतिको प्रभाव आदिका कारण मानिसले विभिन्न प्रकारका टाटु आफ्नो शरीरमा बनाउन लगाउँछन्। विपिनका अनुसार, २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति टाटु खोपाउन आउँछन्।  ‘उमेर समूह अनुसार टाटुको डिजाइन फरक–फरक हुन्छ। धेरैजसोले भगवानको चित्र बनाउन भन्छन्,’ विपिन भन्छन्, ‘बुद्ध, गणेश, शिवका चित्र खोप्न लगाउने धेरै हुन्छन्। कलाकारले बनाएको देखेर त्यस्तै चित्र बनाइदिनु भन्दै पनि कतिपय युवायुवती आउने गरेका छन्।’

उनका अनुसार टाटु खोप्न महिलाभन्दा पुरुष नै बढी आउँछन्। युवायुवतीले इच्छाअनुसार हात, गोडा, घाँटी, छाती लगायत स्थानमा टाटु बनाउन लगाउँछन्। महिलाले शरीरको प्राइभेट पार्टमा पनि टाटु बनाउन थालेको विपिन बताउँछन्। विपिन भन्छन्, ‘परिवारको डरले गर्दा कतिपय महिलाले सकेसम्म नदेखिने गरी छाती वा प्राइभेट पार्टमा खोप्न भन्छन्।’

विपिनको वर्कसपमा अहिले मासिक २०–२५ जना टाटु खोपाउन आउने गर्छन्। जसमा प्राइभेट पार्टमा टाटु खोपाउने ६–७ जना हुन्छन्। कोभिड अघिसम्म बाह्य पर्यटक पनि उनीकहाँ टाटु खोपाउन आउँथे, अहिले आन्तरिक पर्यटक मात्र आउँछन्। यतिखेर टाटु खोपाउने ग्राहक घटेका छन्।  

‘कोभिड अघिसम्म मासिक रूपमा एक लाख ५० हजारभन्दा बढी आम्दानी हुन्थ्यो,’ विपिन भन्छन्, ‘अहिले मासिक लगभग ८० हजार रुपैयाँ बराबरको कारोबार हुन्छ।’

टाटु खोप्न मेसिनको प्रयोग गरिन्छ। टाटु खोप्न जति समय लाग्छ, त्यसकै आधारमा शुल्क लिइन्छ। ‘प्रतिघन्टा तीन हजार रुपैयाँ चार्ज लाग्छ,’ विपिन भन्छन्, ‘एक घन्टाभन्दा कम समय लागेमा दुई हजार पाँच सय रुपैयाँ न्यूनतम शुल्क लिने गर्छौं।’

टाटु खोप्न चित्र अनुसार समय लाग्छ। चार वर्षअगाडि विपिनले एक पुरुषको ढाडमा  ५० घन्टा लगाएर कालीदेवीको चित्र कोरेका थिए। ‘लगातार ५० घन्टा खोपिरहेको होइन, सातवटा सत्र छुट्ट्याएर खोपेको थिएँ,’ उनी भन्छन्, ‘अहिलेसम्मकै धेरै समय लगाएर बनाएको टाटु त्यही थियो।’   

विपिनका अनुसार, टाटु तीन प्रकारका हुन्छन्– मिनिमल, रियलस्टिक, ट्रेडिसनल।

मिनिमल भनेको स–साना चित्र बनाउनु हो। रियलस्टिक चाहिँ हेर्दा रियलजस्तो देखिन्छ। त्यस्तै, टे«डिसनल भन्नाले भगवान्को चित्रलाई बुझिन्छ।

टाटु बनाउँदा सुरक्षा मापदण्ड पालना गर्नुपर्छ। सामान्य गल्ती भएमा क्यान्सर, एचआइभी एड्सजस्ता रोग लाग्न पनि सक्छ। छालामा टाटु मेसिन प्रयोग गर्दा त्यसमा प्रयोग हुने ‘निडल’ र ‘टिप’ फरक फरक व्यक्तिलाई एउटै प्रयोग गर्नु हुँदैन। छाला छेड्न प्रयोग हुने सामानलाई ‘निडल’ भनिन्छ भने निडललाई अड्काउन प्रयोग हुने सामानलाई ‘टिप’। त्यस्तै, टाटु कलाकारले पन्जा लगाउनुपर्छ र टाटु मेसिनलाई पनि प्रयोग गरिरहेका बेला प्लास्टिकले छोप्नुपर्छ।

टाटु बनाएको ठाउँमा एक सातासम्म पानीले पुछ्न सकिन्छ तर लामो समय पानी हालिरहन हुँदैन। लामो समय घाम पर्दा वा पानीमा भिज्दा टाटु फिक्का देखिन सक्छ।

विपिनको टाटु लगाव

२८ वर्षीय टाटु कलाकार विपिनले विद्यालयदेखि नै चित्र बनाउन रुचि राख्थे। प्लस टुपछि उनले सिर्जना कलेज अफ फाइन आर्ट्समा अध्ययन गरे। अध्ययन सँगै उनले सन् २०१४ देखि वसन्तपुरको झौँछेस्थित फ्रिक स्ट्रिट टाटुमा सिक्न थाले। त्यसबेला एक महिना सिकेको न्यूनतम २५ देखि ३० हजार रुपैयाँ तिर्नुपथ्र्यो। अहिले ५० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म लाग्ने विपिन बताउँछन्। फ्रिक स्ट्रिट टाटुमा सिक्दा भने उनले चिनजानका कारण शुल्क तिर्नुपरेन।  

सुरुमा फ्रिक स्ट्रिट टाटुमा सिक्दै त्यहीँ टाटु खोप्ने काम पनि गरे। युवायुवतीमा टाटुको क्रेज बढ्दै गएको देखेपछि उनले साथी रोशन महर्जनसँग मिलेर ०७५ देखि टाटु वर्कसप सञ्चालन गरेका हुन्। सुरु गर्न मात्रै ६ लाख रुपैयाँ लागेको उनी बताउँछन्।

विपिनको अनुभवमा टाटु खोप्नुलाई पहिले समाजले राम्रो रूपमा हेर्दैनथ्यो। अहिले टाटु खोप्ने फेसन नै आएको छ।

 

प्रकाशित मिति: १३:१५ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्