Kathmandu Press

‘बजारमा दूध पुर्‍याउँदैमा आनन्द लाग्छ, कुनै दिन पनि हातमा दाम खाली भएन’ 

रामपुर, साउन १३ : ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ,...
‘बजारमा दूध पुर्‍याउँदैमा आनन्द लाग्छ, कुनै दिन पनि हातमा दाम खाली भएन’ 
Hardik ivfHardik ivf

रामपुर, साउन १३ : ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ।’  

गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ।

दाम र कामको खोजीमा उनी चार वर्ष दुबईमा बिताए। वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले घर फर्केपछि उनले अहिले भैंसीपालनलाई आफ्नो आम्दानीको मुख्य पेशा बनाएका छन्। उनले तराईबाट उन्नत जातका भैंसी ल्याएर पालेका  छन् र सात वर्षदेखि यसैमा व्यस्त भएका छन्।

‘भैंसीपालनले हातमा दाम मात्र नभई समाजमा राम्रो पहिचान बनेको छ, चार वर्ष विदेशमा बगाएको पसिना अहिले सम्झँदा पश्चाताप लागिरहेछ, बिहान उठ्यो भैंसी दुहेर बजार लग्यो यसरी नै परिवारका साथ रमाइलो गरी जीवन बिताइरहेको छु’, उनले भने।

बजारमा भैंसीको दूधको माग बढ्दो र मूल्य राम्रै पाइने भएकाले यही व्यवसाय रोजेका उनको फार्ममा छ भैंसी र तीन गाई छन्। वार्षिक दूध विक्रीबाट खर्च कटाएर रु दुई लाखभन्दा बढी आम्दानी गर्छन्। भैंसीको प्रतिलिटर रु ८७ र गाईको रु ६२ मा दूध विक्री भइरहेको छ। 

विगत एक दशकदेखि भैंसीपालन गर्दै आएका अर्का सफल व्यवसायी कृष्णकुमार अर्यालले अहिलेसम्म पनि यसलाई निरन्तरता दिँदै आएका छन्।

पाँच वटा भैंसीबाट व्यवसाय गरेका अर्यालका हाल ११ वटा दुहुनासहित २२ भैंसी र पाँच गाई छन्।

प्रत्येक दिन बिहान र साँझ गरी एकसय लिटर दूध बजारमा पुर्‍याउने उनी भन्छन्, ‘भैंसी पाल्न थालेको एक दशक भएछ, कसरी ती दिन बिते पत्तै भएन, घरमै बसेर रेखदेख र घाँसपात गर्दा र बजारमा दूध पुर्‍याउँदैमा आनन्द लाग्दछ, कुनै दिन पनि हातमा दाम खाली भएन।’

दूध विक्रीबाट खर्च कटाएर वार्षिक कम्तीमा रु तीन लाख आम्दानी उनी गर्छन्। भैंसीपालन थालनी गरेदेखि उनलाई गाउँलेहरू भैंसी कृष्णका नामले चिन्दछन्। उनी ‘दूध पिऔं र स्वस्थ  बनौं’ भन्ने अभियानमा छन्।

नागिनी एग्रो एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले पाल्पा जिल्लामै सबैभन्दा ठूलो भैंसी व्यवसाय चलाएका छन्।

दुई वर्षअघि देखि भैंसी स्रोत केन्द्र नाम दिएर व्यवसाय सुरू गरेको उनीसँग हाल ६५ भैंसी छन् र २२ दुइटा दुहुना छन्। 

अर्याल दैनिक २३५ लिटर दूध बजारमा खपत गर्छन्। भैंसी खरिद र गोठ निर्माणमा करिब रु दुई करोड ७० लाख बराबरको लगानी परेको छ। एक सय माउ भैंसी पाल्ने लक्ष्य लिएका उनले चार युवालाई रोजगार पनि दिएका छन्। 

भारतका विभिन्न स्थानमा पुगेर उन्नत जातका भैंसी खरिद गरी व्यवसाय चलाएका अर्यालले भैंसीका लागि रु एक लाख ३० हजारदेखि दुई लाख ५० हजारसम्म तिरेका छन्। ठूला भैंसी भएकाले यहाँ अवलोकन गर्नेहरूको पनि दैनिक चहलपहल देखिन्छ।

जिल्लामा भैंसीपालनलाई प्रोत्साहन गर्न संघीय सरकारले एक वषअघि देखि नै रामपुर नगरपालिका–१० स्थित गेझामा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थानीय आधारशिला सामाजिक उद्यमी महिला सहकारीमार्फत ‘समुदायमा सञ्चालित समुदायको भैंसी स्रोत विकास केन्द्र’ का नाममा संघीय सरकारको रु २५ लाख सहयोग र सहकारीको रु २५ लाख लागतमा कार्यक्रम सञ्चालन हुँदै आएको हो। 

सो रकमबाट घाँसको बीउबिजन वितरण, औषधि उपचारमा खर्च, तालीम, स्वास्थ्य शिविर, भैंसी खरीदमा ढुवानीखर्च कृषकलाई उपलब्ध गराइएको छ।

भैंसीफार्म स्थापना गरेका कृषकलाई ढुवानीमा एक भैंसी बराबर रु तीन हजार उपलब्ध गराइएको सहकारीका अध्यक्ष सीता देवकोटा बताउँछिन्।

भैंसी स्रोत केन्द्र कार्यक्रममा सामावेश भएका कृषकले कार्यक्रम सुरू भएको तीन वर्षमा २० वटासम्म भैंसी पाल्नुपर्ने हुन्छ। यहाँ भैंसीफार्म नै सञ्चालन गर्ने चार कृषक छन्।

विसं २०६९ मा स्थापना भएको यस सहकारीमा हाल ५०० शेयर सदस्य छन्।

सहकारीले व्यवसायिक पशुपालन गर्ने कृषकलाई ऋण उपलब्ध गराउनाका साथै गाउँमा उत्पादित दूध सङ्कलन गरी बजार पठाउने कार्य गरिरहेको छ। स्थानीय स्तरमा र बेझाड बजारमा दैनिक १५० लिटर दूध विक्री भइरहेको छ। 

जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार ९०० मेट्रिक टन दूध उत्पादन भएकामा भैंसीको ४५ हजार १४७ मेट्रिक टन र गाईको १६ हजार ७५३ मेट्रिक टन दूध बजारमा खपत भएको थियो। 

यहाँ उत्पादन भएको दूध पोखरा, स्याङ्जालगायतका बजारमा विक्री भइरहेको छ।

यहाँ दैनिक उत्पादन हुने १४२ मेट्रिक टनमध्ये ९६ मेट्रिक टन भैंसीको दूध रहेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा चन्द्रबहादुर राना बताउँछन्।

‘गाईले आठ महिनासम्म दूध दिने, चाँडै थाक्ने र अर्को पटक ब्याउन समय धेरै पर्खनुपर्ने हुँदा लामो समयसम्म पाल्न झन्झट हुने भएकाले भैंसी पाल्न नै किसान आकर्षित भए पनि बजारको मागअनुसार अझै दूध उत्पादन हुन सकेको छैन’, डा रानाले भने। 

उनका अनुसार बजारमा भैंसीको दूधको बढी माग आएकाले कृषकलाई भैंसी विस्तार गर्न अनुरोध गरिएको छ।

दूधमा आत्मनिर्भर रहेको पाल्पामा बाहिरी जिल्लाबाट पनि भैंसीको दूधको माग बढी आउने गरेको व्यवसायीहरू बताउँछन्। जिल्लामा भैंसीपालनलाई महत्व दिँदै थोरैमा दुईरतीन वटा भए पनि भैंसीपालनलाई कृषकले व्यवसायिक रूप दिन थालेका छन्। भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अनुसार ठूलो सङ्ख्यामा भैंसीपालन गर्ने एक दर्जन कृषक छन्। 

गाईको दूधबाट छुर्पी, पनिर, दही, घीउलगायतका परिकार बनाएर बेच्ने गरिएको छ।

हाल बजारमा भैंसीको दूधको मूल्य रु १०० रहेको छ। दुग्ध व्यवसायीले भने भैंसीको दूध कृषकबाट रु ८० देखि माथि गुणस्तर जाँच गरेर मात्रै खरिद गरेका छन्। रासस

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्