नीरमाया र सरस्वती प्रधानहरू

मकवानपुर जिल्लाको एक पहाडी गाउँमा नीरमाया दिदीको १४ वर्षको उमेरमा बिहे भएको थियो । निम्न वर्गीय बाहुन परिवारमा जन्मेकी उनी अहिले त्यस्तै ५५ वर्ष पुगिन् । मैले उनलाई विवाह भएदेखि अहिलेसम्म पनि नजिकैबाट नियालेकी छु । उनी र ममा केही फरक छ त, केवल केही वर्षको उमेर र केही शिक्षा वा भनौँ चेतनाको । म महिला हुनु र महिला भएर सहन गर्नुपर्ने सामाजिक मान्यतालाई नियाल्न, यो त विभेद रहेछ भनी भन्न सक्ने भएकी छु । नीरमाया दिदीको जीवनमा उमेरसँगै शारीरिक श्रममा कमी आयो, तर सुझबुझ उस्तै छन् । 

सात दाजुभाइ र दुई दिदीबहिनीमा उनी सबैभन्दा कान्छी हुन् । त्यतिबेला अलि हुनेखाने परिवारमा छोराहरूलाई पढाउन कोसिस गरे पनि छोरीहरूलाई पढाउने सोच विकास भइसकेको थिएन । निम्न वर्गीय नीरमायाले पढ्न पाउने कुरै आएन । 

मकवानपुरको समथर भूभागमै जन्म भए पनि उनको विवाह भने अलि माथि जंगल र खोरिया भएको पहाडतिर भयो, वर्ग मिल्नेसँग । उनले बिहे गरेर गएको घरमा पाखो बारी र केही वस्तुभाउ थिए । परिवार ठूलो थियो । घरको गर्जो टार्न नन्द, अमाजू, देवर लगायतले दशनंग्रा खियाउनुपथ्र्यो । ढिँडो, रोटी, कहिलेकाहीँ चामलको भात र चाडपर्वमा मासु खान र वर्षमा एक जोर कपडा पाउनु नै ठूलो कुरा हुन्थ्यो नीरमायाका लागि । भैँसीको दूध बेचेर नून, लत्ता–कपडा, चामल, मसला किन्नुपथ्र्यो ।

नीरमायाका श्रीमान् ड्राइभरको काम गर्न थाले । सुरुमा सहयोगी हुँदै गाडी चलाउन सिक्छन् । कामका सिलसिलामा हिँड्दा उनी प्रायः घरबाहिरै बस्थे । श्रीमतीले कहाँ गएको, किन घरमा नआएको भनी सोधखोज गर्थिन् । तर श्रीमानले उनीप्रति कठोर व्यवहार गर्न थाले, गालीसँगै हातपात पनि गर्थे । उनका श्रीमानलाई श्रीमतीलाई हातपात गर्न हुँदैन, यो हिंसा हो र मानवअधिकारविरुद्ध हो भन्ने थाहै थिएन । उनलाई यति मात्र थाहा थियो– श्रीमतीले श्रीमानलाई सम्मान गर्नुपर्छ, बढी मुख चलाउनु हुँदैन, श्रीमान जे गरे, जहाँ गए पनि । 

उमेरमै उनले दुई सन्तानलाई जन्म दिइन् । यतिसम्म सुझबुझ पु¥याइन् कि दुईभन्दा बढी सन्तानलाई जन्म दिएमा लालनपालन गर्न सकिँदैन । तर ती सन्तान हुर्काउने मामलामा दैनिक जीवन त्यही त थियो, घाँसदाउरा । गोठका गाईवस्तुलाई स्याहार गर्न उनले आफ्ना बच्चालाई घरमै एउटा खुट्टामा बाँधेर पनि हिँडिन् । यो उनको बाध्यता थियो, छोराछोरीको सुरक्षा पनि थियो, कतै हिँडे भने केही दुर्घटना हुन सक्छ । घरका सबैजना काममा व्यस्त हुने हुँदा उनका छोराछोरी हेर्ने कोही थिएन । उतिबेला र अझै पनि, साना बालबालिकालाई बाँध्नु बालहिंसा हो, बाल अधिकारको हनन हो भन्ने राज्यलाई त मतलब थिएन, उनले त छोराछोरीको सुरक्षा गरेकी थिइन्, के थाहा होस् !  

नीरमाया गीत डाँडै घन्काउने गरी गाउँथिन्, घाँस काट्न जाँदा । उनी मिलेसम्म रेडियो सुन्थिन् । नयाँ समाचारबारे थाहा पाउँथिन् । यसै गरी चल्दै थियो उनको जिन्दगी । आफ्नो जीवन दुःखदायी भएकाले उनले छोराछोरीलाई पढाउन चाहन्थिन् । सजिलो हिँड्ने बाटो नभएको र सहरको नजिकै भए पनि बिजुली बत्ती नपुगेको गाउँमा थियो उनको घर । उनले छोराछोरीलाई गाउँकै विद्यालयमा पढाइन् । छोराछोरीले प्राथमिक कक्षा पार गर्दानगर्दै उनका श्रीमान् खसे, श्रीमान् रक्सीको कुलतमा थिए । माध्यमिक तह पढाउन छोराछोरीलाई केही पर पठाउनुपथ्र्यो, त्यसैले छोराछोरीको पढाइ रोकियो । । 

नीरमायाले १६ वर्ष पुग्दै गरेकी आफ्नी छोरीलाई बिहे गरिदिइन् । सामान्य लेखपढ छोराका लागि कताकता भनसुन, हारगुहार गरेर सानोतिनो जागिर पनि लगाइन् । उनलाई लाग्यो, छोरीको विवाह र छोराको सानो जागिर हुनु पनि ठूलै कुरा हो ।

बैंसमै श्रीमान खसे पनि उनले कहिल्यै दोस्रो विवाहका बारेमा सोचिनन् । उमेर र चाहना भए पनि दोस्रो विवाहबारे सोच्न उनलाई समाजले कहाँ दिन्थ्यो र ? समाजले जे ठीक भन्यो, जे बेठीक भन्यो, उनले त्यसैलाई मानिन् । यो बीचमा उनी गाउँमा आमा समूहको सदस्य पनि भइन् । अहिले त उनका छोराछोरीले गाउँ छाडेको थुप्रै भइसक्यो । अहिले उनी बजारतिर बस्छिन्, छोराछोरीले दिएको दुईचार पैसाले उनको गुजारा चलेको छ । 

छोराछोरी पढाउनुपर्छ, श्रीमानलाई रक्सीको कुलतमा पर्न दिनु हुन्न भन्ने उनीमा सुझबुझ थियो, उनको केही लागेन । अहिले नीरमाया दिदी खुसी नै देखिन्छिन्, नातिनातिनाकी हजुरआमा भएकी छन् । ती नातिनातिनासँग खेल्छिन् । जीवनप्रति कुनै गुनासो देखिँदैन । राज्यले नागरिकलाई शिक्षामा सहयोग गरेको भए उनका छोराछोरीले पढ्थे । धन्न उनी त भैँसी पालेर दूध बेच्ने ‘जात’की थिइन् र दुःख गरेर भए पनि बैंसमा लाउनखानको समस्या भएन । तर, देशमा थुप्रै यस्ता जाति छन्, जसको समाजमा पानी चल्दैन । नीरमायासँग दाँजेर हेर्दा पनि उनीहरूको जीवन कति कष्टकर रह्यो होला । 

नीरमायाले बैंसमै श्रीमान् गुमाएकी हुन्, छोराछोरीको चिन्ता हुँदैनथ्यो भने उनले दोस्रो बिहे गरेर जवानी भोग्थिन् । यौवनको पनि त भोक–तीर्खा हुन्छ ! जसरी पानी र खानाको हुन्छ । तर, नीरमाया दिदीलाई आफ्नै जीवनको परवाह रहेन । 

आज देशमा थुप्रै नीरमाया दिदीहरू छन् । राज्य यही हो, समाजको सोच–चिन्तन उही हो, त्यसैले भोलि पनि नीरमाया दिदीहरू उत्पादन नहोलान् भन्न सकिन्न । नीरमाया दिदी र उनका छोराले गाउँमै सुविधा पाएको भए, स्वरोजगार भएको भए, घर छाडेर बजारमा भाडा बस्नुपर्ने थिएन । उता गाउँ बाँझिएको छ, यता बजारमा उनीहरू बजारिया खाना किन्न विवश छन् । 

सानै उमेरमा विवाह गरेकी, बैंसमै श्रीमान गुमाएकी नीरमाया दिदी यतिखेर भन्छिन्, ‘भाग्यमा जे छ, त्यही भोग्नुपर्ने रहेछ ।’ 

उनलाई थाहा छैन– राज्य र सामाजिक व्यवस्था जस्तो छ, नागरिक जीवन पनि त्यसरी नै प्रभावित हुन्छ । उनलाई डोरबहादुर विष्टको ‘भाग्यवाद र विकास’ पुस्तक थाहा छैन । यतिखेर उनको रुचि धर्मकर्मतिर छ, त्यसमै उनलाई शान्तिको आभाष हुन्छ । 
५५ वर्षको उमेर त्यति पाको होइन, अझै पनि जीवनमा उनले धेरै सिक्न सक्छिन्, राज्यले अवसर दिने हो भने । तर, उनी उल्टै प्रश्न गर्छिन्– यो बुढेसकालमा के गर्न सकिन्छ र ? गरिबी, भोक, अभाव, समाज र संस्कृति, मूल्यमान्यताका पर्खालले महिलाहरूलाई खुलेर जिउन दिँदैन । 

यो देशमा नीरमाया थुप्रै छन्, आफ्नो गरिबी र अभावलाई भाग्य सम्झेर बस्नेहरू, समाजले सिकाएकै कुरा पछ्याएर बस्नेहरू । यतिखेर काठमाडौंमा रूपा सुनार र घरबेटी सरस्वती प्रधानको विषय बहसमा छ । रूपा सुनारले जातकै कारण कोठा पाइनन् । नीरमायाभन्दा केही जेठी सरस्वती प्रधानले पनि समाजले सिकाएकै कुरा मान्दै आएकी हुन् । उनले घरमा सासूआमाले पूजाआजा गर्ने भएकाले कोठा दिन नमिल्ने कुरा बताएकी रहिछन् । आज उनी कानुनी फन्दामा छन् । उनलाई सम्झाउने, बुझाउनेहरू देखिएका छैनन् । कसैले उनलाई ‘दिदी, जातकै कारण कोठा नदिनू विभेद हो, मानव अधिकारको उल्लंघन हो । मैले नजानेर गल्ती गर्न पुगेँ भनी माफ माग्नुस्, यो कुरा टुंगिन्छ’ भनी सम्झाएको छैन । उनी मानवअधिकार आयोग धाउँदै छन् । 

राज्यले पनि यसमा निष्पक्ष भूमिका खेल्न सकेको छैन । हामीलाई हामी सबै मानव हौँ भनेर जोड्ने कसले ? सिकाउने कसले ? बुझाउने कसले ? धर्म–संस्कार, भाग्य भनेर बाँच्ने कहिलेसम्म ? 
 

 Published Date: Thursday, 8th July 2021 11:08:00 am