नेपालको शिक्षा पद्धति: न हाँसको चाल, न त बकुल्लाको

शिक्षा : हरेक बालबालिकाको पहिलो पाठशाला आफ्नो घर हो भने शिक्षक उनीहरूका अभिभावक हुन्। अझ विशेषगरी आ-आफ्ना सन्तानको पठनपाठन र संस्कार सिकाउने कुरामा बुवाभन्दा आमाको भूमिका महत्त्वपूर्ण रहने गर्छ। शिक्षा कुनै पनि राज्यको आधारभूत आवश्यकताभित्र पर्ने हुँदा हरेक बालबालिकालाई शिक्षा आर्जन गर्न पाउनु उनीहरूको मौलिक तथा नैसर्गिक अधिकार हो।

हरेक नागरिकलाई शिक्षाबाट बञ्चित या भेदभाव गर्न नपाइने तथा शिक्षामा समान पहुँच, समान अवसर र सबैका लागि शिक्षा अत्यावश्यक रहेको कुरालाई राज्यले पनि स्वीकार्दै आएको छ। नेल्सन मन्डेलाका अनुसार शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई चलाएर हामी संसार जित्न सक्छौँ भन्ने कुराबाट शिक्षाको महत्त्व सहजै बुझ्न सकिन्छ। आज हामी सबै २१औँ शताब्दीमा बाँचिरहेका छौँ। व्यक्ति र समाजको भौतिक समृद्धि बढाउनका लागि शिक्षामार्फत मानव सामर्थ्य बढाउन अनिवार्य छ।

विकसित देशहरूमा साक्षरता स्तरबाट त्यस देशको आर्थिक समृद्धिलाई मापन गर्ने भएको हुनाले हामीले पनि युग सुहाउँदो या देशकाल परिस्थिति अनुकूल शिक्षा, सीप, प्रविधि तथा संस्कारको समुचित प्रयोगबाट व्यक्तित्व विकास र समाजलाई ठोस दिशाबोध गराउन सक्ने   वैज्ञानिक मापदण्ड तयार गर्न आवश्यक छ।

वर्तमान शिक्षा नीति : शिक्षाबिना व्यक्तित्व विकास र व्यक्तित्व विकासबिना समाजको विकास सम्भव छैन। कुनै पनि व्यक्ति, समाज र राष्ट्रको प्रगतिका लागि असल शिक्षा आवश्यक हुन्छ तर असल शिक्षा तब हुन्छ, जब शिक्षा प्रणाली चुस्त दुरुस्त र उत्तम हुनेछ।

हाम्रो वर्तमान शिक्षा पद्धतिमा न त स्तरीय ज्ञान छ, न जीवनोपयोगी साधन छ, न मौलिकता झल्काउने चिनारी नै। शिक्षा देशको माटो अनुकुल, अर्थात् आफ्नो भौगोलिक, सामाजिक र आर्थिक परिवेश सुहाउँदो किसिमको हुनुपर्छ। त्यसपछि विश्वको शैक्षिकस्तरसँग प्रतिस्पर्धात्मक बनाउदै जाने वैज्ञानिक शिक्षाले साँचो अर्थमा व्यक्ति, समाज र राष्ट्रलाई समृद्धितर्फ दिशानिर्देश गर्दै जाने हो। हाम्रो शिक्षा पद्धति वैदेशिक शिक्षाको नक्कललाई काँटछाँट गरेर तयार पारिएको आयातीत शिक्षाले समयको बर्बादी, पैसाको नास र प्रयोगविहीन ज्ञान र अन्योलपूर्ण भविष्यले गर्दा हुनेखानेका छोराछोरीहरू आफ्नो सुन्दर भविष्यको खोजीमा भारत, अस्ट्रेलिया, अमेरिका, बेलायत, नर्वे, फिलिपिन्सलगायत देशमा उच्च शिक्षा  हासिल गर्न जानेहरूको तँछाडमछाडले पुष्टि गरिरहेको छ। शिक्षा हासिल गरेर डिग्री लिएकाहरू पनि मुलुकमा अवसर नपाउँदा अन्तत: युवा झोला बोकेर विदेश पलायनको लर्को देख्दा साह्रै पीडाबोध गराएको कटु यथार्थ हो।

वस्तुत: हाम्रो शिक्षा पद्धति नै त्रुटिपूर्ण देखिन्छ। एकातिर सरकारी विद्यालयको शैक्षिक गुणस्तरा खस्कँदै जानु अर्कोतिर आधुनिक शिक्षाको नाममा निजी विद्यालयहरूको मनोमानीका कारणले पुँजी लगानीको आधारमा व्यक्तिको गुणवत्ता मापन गर्ने नीतिले शिक्षामा असमानताको खाडल बढाउँदै लगेको देखिन्छ। पहिलो- विदेश या स्वदेशका महँगा स्कुल, कलेजबाट शिक्षा हासिल गरेका नव धनाढ्यका छोराछोरीहरूले राज्यबाट पर्याप्त अवसर पाउने अनि उच्चपदहरूमा कब्जा जमाएर विशिष्ट नागरिक तयार पारेको देखिन्छ। दोस्रो- मध्यवर्गीय परिवारका छोराछोरीहरूले निजी स्कुल, कलेजमा आधुनिक शिक्षा प्राप्त गरी समाजमा राम्रै जीवनयापन गरेर एक नागरिकको रूपमा आफूलाई उभ्याएको देखिन्छ। तेस्रो- आर्थिक स्थितिमा पछि परेका गरिब, दलित या जनजातिका छोराछोरीहरू बाध्य भएर सरकारी स्कुल, कलेजमा पढेर औँठाछापबाट साक्षर त हुन्छन् तर आर्थिक हिसाबले उनीहरूको जीवनले कहिल्यै काँचुली फेर्न सकेको हुँदैन।

किनकि, उनीहरूको ठूलाबडा, पहुँचवाला सरकारी हाकिमहरूसँगको सम्पर्कको अभावमा जागिर नपाउने, अवसरबाट वञ्चित रहेको कारणले पुन: गाउँघरको दैनिक ज्यालादारीबाट माथि उक्लिन नसकेको तीतो यथार्थ हामीबीच छर्लंग छ। शिक्षाको भेदभावले आज पनि आधा जनसंख्या बेरोजगार तथा एक भोटर या रैतीको रूपमा वर्गीकरण गरेर राज्यले सौतेलो व्यवहार गरेको प्रष्टै हुन आउँछ।

सरकारी र निजी स्कुलबीच गुणस्तरको फरकले गर्दा कसैलाई काखा र कसैलाई पाखा गराइरहेको वर्तमान शिक्षा नीतिमा एकरूपता तथा  सामन्जस्यता कायम गर्न नसक्दा शिक्षा पद्धतिमा परिवर्तनको टड्कारो आवश्यकता खटिएको छ। हाम्रो राष्ट्रिय शिक्षा नीति सरसर्ति हेर्दा झिलिमिली देखिए पनि त्यसभित्रका कार्यान्वयन पक्षको फितलोपनाले निम्त्याएका समस्याहरूप्रतिको आफ्नो गुनासो या सुझावको रूपमा यस आलेखमा समेट्न खोजेको हुँ।

नेपालको शिक्षा पद्धतिको बारेमा कसैले ठूलठूला बखान या फूलबुट्टा भरे पनि धरातलीय यथार्थ भने सबैका सामु छर्लंग छ। शिक्षा नीति निर्माताहरूले वर्तमानलाई हेरेरभन्दा पनि देशको परिवेश र आवश्यकता, भविष्य, विषयबस्तुको छनोट, प्रतिस्पर्धात्मक ज्ञान, राष्ट्रिय-अन्तर्राष्ट्रिय गहन आकलन, विज्ञहरूको सुझाव आदिको ठोस आधारमा पाठ्यक्रम तयार गरी कार्यान्वयनमा जोड दिएको भए आजको जस्तो नबिक्ने शिक्षा कदापि हुने थिएन। यसमा सम्बन्धित निकायको इच्छाशक्तिको अभाव र दूरदर्शिताको कमीले गर्दा हाम्रो शिक्षा खोक्रो डिग्री प्राप्त गर्ने हिसाबले मात्र अघि बढिरहेको हुनाले नेपालको शिक्षा पद्धतिले केवल बेरोजगार उत्पादन गर्ने थलो बन्न पुग्यो, जसले विदेश पलायनको बाटोसमेत औँल्याइदिएको छ भन्दा अतिशयोक्ति नहोला। वस्तुत:  शिक्षामा पर्याप्त अवसर, जनजीविकाको ग्यारेन्टी, आत्म सम्मान र उज्ज्वल भविष्य प्रतिबिम्बित नहुँदा हाम्रो शिक्षा पद्धतिले न त हाँसको चाल समाउन सक्यो, न बकुल्लाको चाल नै।

सीप कौशलको आवश्यकता : परिवर्तनको गतिसँगै हाम्रो कार्य पद्धति, जीवनशैली तथा परिवेशले काँचुली फेर्दै गर्दा स्वाभाविक रूपमा हामी त्यसबाट अछुतो रहन मिल्दैन। आजको आधुनिक प्रविधिको युगमा दक्ष जनशक्तिले विश्व श्रमबजार ओगटेको अवस्थामा सोहीअनुसारको ज्ञान र प्रविधिको खाँचो पर्छ। विश्वमा बढ्दो औद्योगीकरण र सोअनुरूपको दक्ष जनशक्तिलाई ध्यानमा राखेर प्राप्त शिक्षा आजको आवश्यकता हो। कुनै पनि कामको अनुभव सीप हो। आफूभित्र लुकेर रहेको  सीपलाई तिखारेर कुनै पनि काममा दक्षता या महारथ हासिल गरेर काम र मामको चाँजोपाँजो सहज बनाउँछ।

विश्व श्रमबजारमा सीपको माग बढेको हुँदा आफूसँग भएको कला, सीप, कौशल या दक्षताले जाबो कामका लागि कसैसँग बिन्तीभाउ या मन्त्रीहरूको चाकडी बजाएर आजको जस्तो गल्ली-गल्ली भौँतारिनु पर्दैन। आफूभित्रको सीप र कौशलले आफ्नै सानो व्यवसाय सञ्चालन गरेर या काम गरेर पनि संसारको जुनसुकै देशमा सम्मानपूर्वक बाँच्न सक्ने पर्याप्त आधार सुरक्षित रहेका हुन्छन्। सीप र दक्षताको अभावमा आजको जस्तो चरम बेरोजगारीको अभाव या नैराश्यता कतई भोग्नुपर्ने छैन।

हरेक अभिभावकले आफ्ना सन्तानलाई दिने शिक्षामा कला, सीप, दक्षतालाई अनिवार्य गराएर उनीहरूको सर्वांगिण विकासमा टेवा पुर्‍याउन आजको प्रतिस्पर्धात्मक समयमा एक प्रकारको ज्ञान या सीप मात्रले पनि काम चल्दैन। हरेक व्यक्तिमा चौतर्फी कला, विशेषता र बहुमुखी प्रतिभा चाहिन्छ, तब मात्र आफ्ना सन्तानलाई दक्ष र सक्षम बनाएर उज्ज्वल भविष्यको सपना साकार पार्न सक्नेछौँ।

समय साक्षेप ज्ञान, सीप, कौशल आदिले व्यक्तिमा सशक्त ऊर्जा र आत्मविश्वास जगाउन महत्त्वपूर्ण भूमिका वहन गर्ने हुनाले अहिलेको आधुनिक शिक्षामा प्राविधिक शिक्षालाई  महत्त्वका साथ जोड्न आवश्यक देखिन्छ। दुनियाँमा नयाँ-नयाँ प्रविधिले फड्को मार्दै छन्।   शिक्षामा हिजोको स्लेट पाटीको ठाउँ कम्प्युटर, ल्यापटप, नोटबुकले लिए। यस्तै, कृषिमा पनि हिजोको हलो जुवाको ठाउँ ट्रयाक्टरले लियो, सञ्चार जगतमा सूचनाको परम्परागत माध्यम दमाहा, ढोल, शंखको स्थान रेडियो, टेलिभिजन र इन्टरनेटले लिए। उपचारमा जडिबुटी र झारफुकको ठाउँमा नयाँ-नयाँ उपचार पद्धति आए। पैदल यात्रालाई यातायातका विभिन्न साधन आदिले सहज बनाउँदै लगेपछि उहिलेका पारम्परिक विषयवस्तुहरू किनारा लाग्दै गए, कतिपय त लोप हुने क्रममा छन्।

तसर्थ, समयको गति र नयाँ प्रविधिले अहिले हरेक क्षेत्रमा कब्जा जमाएर थोरै पुँजी र कम समयमा बढीभन्दा बढी उत्पादन हुने वैज्ञानिक प्रविधिको विकासे शिक्षालाई सरकारले पनि  प्रत्येक विद्यालयमा कक्षा-८ देखि विद्यार्थीहरूको रुचि र क्षमताको आधारमा सीपमुलक तथा व्यावसायिक शिक्षा अनिवार्य गरेर हरेक नागरिकलाई स्वाबलम्बी र आत्मनिर्भर बनाउन नेतृत्वदायी भूमिका खेल्न जरुरी छ। जापानका विद्यालयहरूमा विद्यार्थीहरूलाई १५-१६ वर्षको उमेरदेखि नै व्यावसायिक तालिम दिने र सहकारीमार्फत साना कुटिर उद्योग सञ्चालन गरेर घरपरिवारका महिलासमेत आर्थिक रूपले सक्षम बनेका दृष्टान्त हाम्रासामु छन्।

छिमेकी मुलुक भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लाखौँ लाख बेरोजगार युवालाई ‘प्रधानमन्त्री कौशल विकास योजना’अन्तर्गत सीपमुलक, रोजगारमुलक तालिम दिएर आत्मनिर्भर गराउने दिशामा सराहनीय कदम चाल्दा नेपाल सरकार भने आफ्ना नागरिकप्रति उदासिन देखिनु चिन्ताको विषय हो।

शैक्षिक र आर्थिक रूपले पछि परेका विपन्न वर्ग र समुदायलाई माथि उठाउन शिक्षामा आधुनीकरण तथा बेरोजगार युवालाई सीपमुलक तालिम र आर्थिक प्याकेजद्वारा आयआर्जनमा जोड दिन देशव्यापी अभियान चलाएर शैक्षिक जगतमा नयाँ जागरण ल्याएर काम र मामको  ग्यारेन्टी गर्न अब धेरै ढिला गर्न हुँदैन। देशमा नवीनतम शिक्षा प्रविधि अविलम्ब लागू गरेर खेर गइरहेको युवाशक्तिलाई र खाडी मुलुकहरूलाई हराभरा बनाउने नेपाली श्रम र पसिना आफ्नै मातृभूमिमा खर्चेर नेपाली भूमि उर्बरा र हराभरा  बनाउन स-साना उद्योगधन्दा सञ्चालन गर्दै आत्मनिर्भर गराउने खालको शिक्षा नीति अविलम्ब लागू गर्नुको विकल्प देखिँदैन। सीपले मानिसलाई जीउने कला सिकाउँछ र महत्त्वलाई  बुझाएको हुन्छ। तब त भनिन्छ- जबतक न पडे हथौडे कि चोट पत्थर भी भगवान नहीँ होता।’

संस्कार संस्कृति : ‘संस्कारोझ हि नाम संस्कार्यस्य गुणाद्यानेन वा स्याधोषापयनेन वा’ अर्थात् मानव जातिलाई गुणवान बनाउन तथा उसमा भएका दोषहरू फाल्न गरिने कर्म नै संस्कार हो। संस्कार शब्दको व्युत्पति संस्कारकर ‘सम’ एव  कृर्न धातुमा धर्न प्रत्यय लगाएर भएको हो। संस्कारलाई विच्छेद गर्दा समले सम्यक रूपमा असल भन्ने अर्थ र कारले काम वा कृति भन्ने बुझिन्छ।

सामान्य रूपले बुझ्दा हामीले गर्ने काम सबै संस्कारयुक्त होस् भन्ने हो। जस्तो- भोक लागेर खानु प्रकृति हो भने अर्काको भागमेत खाइदिनु विकृति हो, त्यस्तै खाए वा खाएनन् भनेर खोजी गरी खुवाउनु त्यो संस्कृति हो। हाम्रा धार्मिक शास्त्रहरूले जन्मदेखि मृत्युपर्यन्तसम्म विविध विधान नियम पालनाले गर्दा पलपलमा जीवन परिशुद्धि, आत्मिक सुख तथा सत्मार्गतर्फ औँला समाएर ताते गर्न सिकाइरहेका हुन्छन्। देशको संविधानभन्दा हजार गुणा विशेषता बोकेका हाम्रा शास्त्रहरूले मानव मात्र नभई सारा ब्रह्माण्ड अर्थात् सृष्टि जगतको महत्त्व, सह-अस्तित्वलाई स्वीकार र सम्मान गर्दै एउटा निश्चित परिधिभित्रको कसीमा बाँधेको प्राचीन धर्मशास्त्रहरू हाम्रा बृहत संविधान हुन्, पथप्रदर्शक हुन्, जसले हाम्रो मन, वाणी र शरीरको शुद्धीकरण मात्र नभई आफू, परिवार र समाजलाई समेत सत्कर्ममा घचघच्याएर ब्युँझाइरहेका हुन्छन्।

यद्यपि, यस सम्बन्धमा हाम्रा पूर्वीय दर्शन, धर्मशास्त्र, वेद, निर्णय सिन्धु, मनु, याज्ञबल्क्य तथा स्वामी दयानन्द सरस्वतीजी जस्ता प्रकाण्ड विद्वानहरूले समाजलाई अनुशासित, मर्यादित र सुव्यवस्थित रूपले अगाडि बढाउन गरिएको मार्गदर्शन आज पनि हाम्रा लागि उत्तिकै सान्दर्भिक छन्।

शिक्षाका चुनौतिहरू : कोभिड-१९ का कारण नेपालमा गत वर्षको पहिलो चरण र यस वर्षको दोस्रो चरणको लकडाउनमा विद्यार्थीहरूको परीक्षा रोकियो। सहरमा बस्ने या स्रोतसाधनले भ्याउनेहरूले अनलाइन कक्षा लिए। तर, अधिकांश विद्यार्थी आ-आफ्नो गाउँमा रहेको हुनाले बत्ती इन्टरनेट र मोबाइल अभावमा बहुसंख्यक विद्यार्थी शिक्षाबाट वञ्चित रहनुको पीडा नसकिँदै कोरोनाको अर्को लहरको हल्ला पनि चलिरहेको छ। सोही कारण तहसनहस बनेको शैक्षिक सत्रलाई नियमित र सुव्यवस्थित रूपमा अगाडि बढाउन तत्काल पठपाठनका विविध समस्या र अन्योल देखापरेको छ।

कोभिडका कारण भौतिक संरचनाको अभाव, मापदण्डबिना सम्बन्धन, पाठ्यक्रममा समसामयिक सुधारमा ढिलासुस्ती, उच्च शिक्षामा नैतिक र प्राविधिक शिक्षाको अभाव, गुणस्तर मापदण्ड बोर्डका ढिलासुस्ती तथा शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेपजस्ता चुनौतीहरू आजको हाम्रो शिक्षा क्षेत्रलाई ग्रसित बनाएका छन्।

संस्कार र संस्कृतिका चुनौतीहरू : सरसर्ती हेर्दा बाहिरी रूपमा भौतिक र आर्थिक विकासको रंगीबिरंगी दुनियाँमा आधुनिकता र फेसनको नाममा मानिसले बहुलठ्ठीपना देखाउन थालेका छन्।  विद्यार्थीहरूको भविष्य निर्माणको थलो विद्यालयहरू आज अराजकता र उछृंखलताको अड्डा बन्दै छन्। जताततै नकारात्मक र विध्वंसात्मक गतिविधि हुने गरेका छन्। आदर्शप्रति कुनै निष्ठा देखिँदैन। स्तरीय पुस्तक पढ्नुभन्दा अश्लील साहित्य, फिल्म, युट्युब हेर्नेहरूको तँछाडमछाड छ। उनीहरूले हाम्रा धार्मिक शास्त्र वेद पुराण उपनिषद्को अध्ययन त परै जाओस्, नामसम्म लिन चाहँदैनन्।

आजका युवायुवतीको ऊर्जा समाज सुधार र राष्ट्र निर्माणको सार्थक काममा लगाउनुको साटो फेसन सो, सौन्दर्य प्रतियोगिता अथवा फिल्म हेरेर समय व्यतित गर्दा गलत बाटो अपनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। वर्तमान समाजमा भ्रष्ट, दुष्ट, स्वार्थीहरूको बर्चस्व छ, असल इमानदार व्यक्तिको दर्शन पाउन कठिन बन्दैछ। धर्म, राजनीति या समाज सेवाको क्षेत्र सबैतिर सत्ता लोलुपता, अवसरवादिता तथा आसुरी प्रवृत्तिको रजाइँ मात्र देखिन्छ। कथित बुद्धिजीवीहरूको दुषित मानसिकता, आमाले बच्चालाई स्तनपान नगराउने प्रवृत्ति, जन्म दिने आमाबुवालाई वृद्धाश्रम र सडकमा मिल्काएर दूधभात खुवाएर कुकुर पाल्ने नालायक छोराहरूको कार्यशैली आदि आजको आधुनिक शिक्षाकै उपज हो भन्ने कदापि बिर्सन मिल्दैन।

संस्कारबिनाको यस्ता शिक्षाले समाजमा यावत प्रकारका विकृति र विसंगतिहरू हुर्कँदै जानुको पछाडि सरकारले नैतिक शिक्षा र संस्कृत शिक्षालाई स्नातकोत्तरसम्म अनिवार्य गरेको भए आजको जस्तो उच्छृंखलता, अराजकता र अनुशासनहीनताको सामना गर्नुपर्ने थिएन होला। आधुनिक शिक्षाको आडमा जताततै बेथिति र अराजकतालाई निम्त्यायो। नैतिक शिक्षाले व्यक्ति र समाजलाई सत्कर्म तथा सकारात्मक ऊर्जा प्रदान गरी इहलोक र पारलौकिक जीवनलाई समेत सार्थक बनाउँछ भन्ने कुराको हेक्का राखेको भए आजको सामाजिक चुनौती पहाड बनेर कदापि उभिने थिएनन् होला।

सीप र कौशलका चुनौती : सीप, रोजगार र जीवन एकअर्कामा गाँसिएका अन्तर्निहित र आजका जल्दाबल्दा विषय हुन्। बेरोजगारीको यो विकराल समस्या नेपाल, भारत मात्र नभई  विश्वव्यापी चुनौतीको रूपमा अगाडि तेर्सिएका छन्। मानिसले गर्ने काम अब मेसिनले गर्न थालेपछि बेरोजगारी बढ्यो, सुगा रटाइको किताबी ज्ञानको अर्थ रहेन। व्यक्तित्व विकासमा निखार ल्याउन कौशल या दक्षता हासिलबिना जीवन झन्झन् कठिन बनाउँदै लगेको छ।

देशमा उद्योगधन्दाको विकास नभएको हुनाले जनमानसमा सीप, कौशल या दक्षताको महत्त्व अझै पनि बुझाउन सकिएको छैन। युवायुवतीको क्षमता अभिवृद्धितर्फ सरकारले  चासो नदिँदा बेरोजगारी ह्वात्तै बढेको छ। सरकारले रोजगारीका लागि विदेश जान खुला गरे पनि गतिलो सीप या तालिमको व्यवस्था नहुँदा विदेशमा पनि जोखिमयुक्त काम गर्नु परिरहेको छ। धेरै युवायुवती विदेशमा बिचल्लीमा पनि परेका छन्। यही कटु यथार्थ हो।

विद्यालयहरूमा व्यावसायिक शिक्षा तथा सीपमुलक तालिम अनिवार्य नगराउँदा अदक्ष श्रमिक उत्पादनले विश्व बजारमा माग नहुँदा आर्थिक समस्याले यावत किसिमका घरेलु समस्याहरू निम्त्याएका छन्। खेर गइरहेको युवाशक्तिको ऊर्जालाई आत्मनिर्भर बनाउन तथा राष्ट्र निर्माणमा लगाउन राज्यले दृढ इच्छाशक्ति नदेखाउँदा जीवनयापनमा र विकासमा समेत प्रश्नचिह्न खडा गरेको छ।

अन्त्यमा, आजको विज्ञान, प्राविधिक र आधुनिक शिक्षाको माध्यमबाट क्षमता अभिवृद्धि गरेर विकास र समृद्धिलाई अग्रसर गराएको हुन्छ भने हिजोको आध्यात्मिक शिक्षाले व्यक्तिलाई चरित्रवान, नैतिकवान तथा कर्तव्यबोध गराएर समाजलाई सत्मार्गतर्फ उन्मुख गराउन बारम्बार खबरदारी गराइरहेको हुनाले ढुंगालाई माटोको भर र माटोलाई ढुंगाको भर भनेजस्तै आध्यात्मिक शिक्षा र भौतिक शिक्षाको सम्मिश्रणयुक्त शिक्षा नै आजको युग सुहाउँदो उत्तम शिक्षा हो र यसैभित्र एक आदर्श नागरिक, सभ्य समाज र समृद्ध राष्ट्रको उज्ज्वल भविष्य अन्तर्निहित छ।

जबसम्म शिक्षाको उद्देश्य केवल जागिर गरेर परिवार पाल्नुमै रुमलिन्छौँ, तबसम्म हाम्रा यस्ता लंगडो शैक्षिक पद्धतिले समाजमा नोकर अथवा दासदासी मात्र जन्माउने छ, मालिकचाहीँ होइन। तसर्थ, हामीले संकीर्ण घेराबाट माथि उक्लेर यस्ता विभेदकारी शिक्षालाई परिमार्जन गरी ‘समान शिक्षा र समान अवसरको माध्यमबाट देशको मुल शिक्षा प्रणालीमा आध्यात्मिक शिक्षा र भौतिक शिक्षालाई गाँसेर विश्वको शैक्षिक मापदण्डको हाराहारीमा पुर्‍याउन वर्तमान शिक्षामा सुधारभन्दा पनि ठूलै परिवर्तन खट्किएको छ।

 Published Date: Friday, 2nd July 2021 9:17:00 am