Kathmandu Press

जात थाहा पाएर कोठा नदिने घरबेटी विरुद्ध रुपा सुनारको जाहेरी 

जात थाहा पाएर कोठा नदिने घरबेटी विरुद्ध रुपा सुनारको जाहेरी 
Hardik ivfHardik ivf

काठमाडौं, असार ३ : तल्लो जात भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध पत्रकार रुपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् ।

जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध पत्रकार सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार विहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् । 

घरधनी प्रधानले आफूलाई सानो जातको भन्दै डेरा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । उनका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् । जातीय विभेदको मुद्धा भएका कारण प्रहरीले सजिलै मुद्धा गर्न नमानेको सुनारले बताइन् ।

‘हामी १२ बजे प्रहरीकहाँ पुग्यौँ । जाहेरीको ढाँचामा आवश्यक कागजात सहित गएका हौँ । तर प्रहरीले उजुरी दर्ता गर्नै मानेनँ,’ सुनार भन्छिन्, ‘म एउटा पत्रकार हुँदा हुदै त प्रहरीले उजुरी लिदैन भने आममानिसले कसरी न्यायको अपेक्षा गर्ने ? ’दिनभर प्रहरी कार्यालयमा धर्ना दिएपछि साँझमात्रै प्रहरीले उजुरी दर्ता गरेको उनले बताइन् ।

‘‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भएँ । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ जाहेरी दर्तापछि सुनारले सामाजिक सञ्जालमा लेखेकी छिन् । 

मंगलबार कोठा खोज्न घरधनी प्रधानकहाँ पुगेकी सुनारलाई कोठामा बस्ने पक्का पक्की भएपछि जातमा पुगेर अड्किएको थियो । घरधनीले जातकै कारण कोठा दिन नसक्ने पछि टेलिफोनमा बताएकी थिइन् । घटनापछि आफुमाथि विभेद भएकोबारे पत्रकार सुनारले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति: १९:४० बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्