राउटे जातिको सुरक्षाको चिन्ता
खस आर्य समुदायको पिछडिएको नेपालको लोपोन्मुख आदिवासी हो, राउटे । फिरन्ते जीवन बिताउने यस जातिले विशेषतः जंगली जनावरको शिकार गर्ने, कन्दमुल, फलफूल र...खस आर्य समुदायको पिछडिएको नेपालको लोपोन्मुख आदिवासी हो, राउटे । फिरन्ते जीवन बिताउने यस जातिले विशेषतः जंगली जनावरको शिकार गर्ने, कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर जीवीकोपार्जन गर्ने गर्छ । उनीहरूको आधिकारिक संख्या ज्ञात हुन सकेको छैन । तर, कर्णाली र महाकालीको जलाधार क्षेत्र तथा सल्यानलगायत कर्णाली प्रदेशका जिल्लामा बसोवास गरेको आधारमा सात सयको हाराहारीमा रहेको अनुमान छ।
नेपालमा लोपोन्मुख आदिवासी जनजातिलाई १० वटा जातिमा वर्गीकरण गरिएको छ । र, त्यसमा २४ हजार चार सय ७८ जनसंख्या छ । मुलतः सरकारले यस लोपोन्मुख वर्गमा पर्ने जनजातिको सुरक्षा र संरक्षणको सन्दर्भमा कुनै ठोस कदम चाल्न सकेको छैन । वार्षिक बजेट तथा कार्ययोजनाले समेत सामाजिक सुरक्षा भत्ताबाहेक अन्य प्रभावकारी कार्यक्रममा राउटेलगायत लोपोन्मुख समुदायलाई जोड्न नसक्नाले जातीय संरक्षण हुन सकेको छैन।
सरकारको ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ अनुसार यस्ता लोपोन्मुख समुदाय लक्षित गरेर मासिक जनही दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । तर, त्यो पर्याप्त छैन । यो भत्ताले केवल सुरक्षा शब्द मात्र बोकेको छ । व्यवहार र नीतिगत सुरक्षामा कुनै महत्त्व राखेको छैन । त्यसैले यो वितरणमुखी मात्रै हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता वितरणबाट तात्त्विक उपलब्धि हासिल गर्न भने विलकुलै नसकेको अवस्था छ।
लोपोन्मुख समुदायमा वितरण गरिँदै आएको भत्ताले सतही लाभ मात्र दिएको छ । तर, स्वास्थ्य, सुरक्षा र जातीय संरक्षणको क्षेत्रमा कुनै नतिजा दिन सकेको छैन । सरकारबाट पर्याप्त संरक्षण नपाउँदा लोपोन्मुख समुदाय र वर्गमा हिंसात्मक गतिविधि बढ्दै गएको पाइन्छ।
पछिल्लो समय राउटे समुदायका दुई महिला यौन हिंसामा परेको घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पायो । त्यस घटनाले पनि जातीय संरक्षण र सुरक्षामा प्रश्न उठाएको छ । यस घटनालाई एकथरिले जातीय बाहुल्यताको उत्पीडनका रूपमा लिएका छन् भने अर्काथरिले सरकारको लापरवाही र व्यवस्थापकीय चुनौतिका रूपमा लिएका छन्।
सरकारी संयन्त्रबाट यस्ता हिंसात्मक गतिविधि नियन्त्रण गर्न नसक्ने हो भने लोपोन्मुख जातिमा गम्भीर समस्या र जटिलता थपिनुका साथै पूर्ण लोप हुने अवस्थामा पुग्न सक्छ । सात सयको हाराहारीमा रहेको राउटे समुदायमा हिंसात्मक र यौन गतिविधिले प्रवेश पाउनुको कमजोर पक्ष अशिक्षा र जातीय विभेदलाई लिन सकिन्छ । राउटे समुदायमा शिक्षाको अभाव र अन्य जातको उत्पीडनले गर्दा शिकार हुनुपरेको अवस्था छ।
यदि राउटे समुदाय लक्षित यौन गतिविधि बढ्ने हो भने भविष्यमा यो जाति पनि बर्दिया र कैलालीको वादी समुदायमै नियति बेहोर्न बाध्य नहोला भन्न सकिन्न । तथापि, पछिल्ला वर्षमा बादी समुदायको सुरक्षा र संरक्षणको दृष्टिकोणमा उल्लेखनीय सुधार आएको छ । तर, सरकारको लापरवाही र बेवस्ताका कारण विगतमा जसरी बादी बस्तीमा यौन व्यावसाय फस्टाएको थियो, त्यसरी नै राउटे समुदायमा पनि फैलिने सम्भावना रहन्छ । त्यस्तो नियति राउटे समुदायमा पुग्न नदिन ठोस योजना र संरक्षणात्मक कार्यक्रमको प्रभाव राउटे बस्तीमा पुग्न आवश्यक छ।