Kathmandu Press

‘कोभिड बिरामी बोक्ने एम्बुलेन्स चालक भनेर चिनेपछि सबै डराउँछन्’

'यसरी हर दिन संक्रमितसँग हिँडेको छु, परिवारलाई जोखिम नहोस् भनी टिचिङ अस्पतालनजिकै सगरमाथा होटलमा कोठाभाडामा लिएर बसेको छु । एम्बुलेन्स चालक भनेपछि कतिपय किराना पसलले रिचार्जकार्ड किन्न जाँदा समेत पसल बन्द गर्छन्।'
‘कोभिड बिरामी बोक्ने एम्बुलेन्स चालक भनेर चिनेपछि सबै डराउँछन्’
Hardik ivfHardik ivf

काठमाडाैं, जेठ २१ : बूढानीलकण्ठ नगरपालिकाका एक ३२ वर्षीय कोरोना संक्रमित पुरुषलाई एम्बुलेन्समा राखेर हेम्स अस्पताल लगिँदै थियो। उनलाई एम्बुलेन्समै अक्सिजन दिइएको थियो। तर, अस्पताल नपुग्दै उनले प्राण त्यागे। वैशाख १९ गतेको यो घटनाले एम्बुलेन्स चालक धनबहादुर गोर्खाली दुःखी बनाउँछ।

गत वर्ष कोरोना भित्रिएदेखि गोर्खालीले एम्बुलेन्सबाट कोरोना संक्रमितलाई ओसारपसार गर्दै आएका छन्। यसपटक १६ वैशाखयता आफूले चलाउने एम्बुलेन्समै चार–पाँचको ज्यान गएको उनी बताउँछन्। ‘पोहोर साल त यसरी कोरोना संक्रमितको मृत्यु भएका थिएनन्,’ उनी भन्छन्, ‘आफैँ एम्बुलेन्स चढ्ने बिरामी पनि अस्पताल नपुग्दै बितेका छन्। अहिलेको कोरोना एकदम डरलाग्दो छ।’

गोर्खाका धनबहादुरले काठमाडौंमा बसेर एम्बुलेन्स चलाउन थालेको ८ वर्ष भयो। यी आठ वर्षमा उनका लागि वैशाख १६ यताको समय निकै भयावह रह्यो। उनी भन्छन्, ‘एउटा अस्पतालमा बेड नपाएपछि बिरामीलाई अर्को अस्पताल लैजानुपर्छ, त्यहाँ पनि नपाएर डुलाउँदा डुलाउँदै कति संक्रमित एम्बुलेन्समै बितेका छन्।’

उनले यसपालिको निषेधाज्ञामा २४ घन्टामै ३० जनासम्म संक्रमितलाई अस्पताल लैजाने–ल्याउने गरे। चार–पाँच दिनयता भने चार–पाँचजना मात्र ओसारपसार गरिरहेका छन्। ‘कतिपय संक्रमितलाई छुने आफन्त कोही नभएर आफैँले चार तला माथिबाट बोकेर पनि अस्पतालसम्म ल्याइदिएको छु। बिरामी आत्तिएर फोन गर्छन्, एक एक मिनेटको महŒव हुन्छ, त्यसैले ढिला नगरी सेवा दिन पुग्ने गर्छु,’ उनले काठमाडौं प्रेसलाई फोनमा भने, ‘खाना खान बस्दा संक्रमित आत्तिएर फोन गर्दा खाना नै नखाइ हिँडिन्छ।’

२४सै घन्टा बिरामीको सेवा गर्दा आफ्नो पीडाको बारेमा सुन्ने कोही नभएको गुनासो पनि उनको छ। संक्रमित बोकेपिच्छे पिपिई परिवर्तन गर्नुपर्छ। युज एन्ड थ्रो पिपिईलाई एक हजार आठ सयदेखि दुई हजारसम्म पर्छ। अलि महँगो पिपिई किने मात्र पटकपटक धोएर लगाउन मिल्छ। विभिन्न संस्था तथा समितिले अन्य एम्बुलेन्स चालकलाई पिपिई दिएका छन् तर आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ।

मास्क, सेनिटाइजर, पन्जा किनिरहनुपर्छ। त्यसैले कोरोना संक्रमितलाई ओसारपसार गर्दा उनले बिरामीको आर्थिक अवस्था र दूरी हेरेर हजार वा १५ सयसम्म  भाडा गरेका छन्। संक्रमित ओसारपसार गर्ने भएकाले उनी परिवारसँग बस्दैनन्। ‘यसरी हर दिन संक्रमितसँग हिँडेको छु, परिवारलाई जोखिम नहोस् भनेर बाहिर छुट्टै बस्छु,’ उनले भने। उनले टिचिङ अस्पताल नजिकै सगरमाथा होटलमा कोठाभाडामा लिएका छन्।

कोभिड बिरामी बोक्ने एम्बुलेन्स चालक भएकाले आफूसँग होटल, किराना पसल वा कोही पनि नजिक पर्न डराउने उनी बताउँछन्। ‘कतिपय किराना पसलले रिचार्जकार्ड किन्न जाँदा समेत पसल बन्द गर्छन्,’ उनी भन्छन्, ‘कहिलेकाहीँ त पानी समेत किनेर खान पाइनँ।’

धनबहादुरजस्तै एम्बुलेन्स चालक हुन्, रामेछापका वीरबहादुर श्रेष्ठ। उनले पनि यतिखेर दैनिक चार–पाँचजना कोरोना संक्रमित ओसारपसार गरिरहेका छन्। ‘सुरुसुरुमा कोरोना संक्रमित नजिक जान डर लाग्थ्यो,’ धुम्बाराही बस्दै आएका ३० वर्षीय श्रेष्ठले भने, ‘डराइडराइ भए पनि आत्मबल बलियो बनाइयो।’

उनले अहिले पिपिई, मास्क, पन्जा लगाएर एम्बुलेन्समा संक्रमितलाई ओसारपसार गर्छन्। संक्रमित ओसारपसार गरिसकेपछि एम्बुलेन्समा सेनिटाइजर छर्कन्छन्। उनले व्यक्ति, अस्पतालको सम्पर्कमा संक्रमित ओसारिरहेका छन्।

उनले पनि बिरामीको अवस्था र दूरी हेरेर भाडा लिने गरेका छन्। ‘कुनै बिरामीको आर्थिक अवस्था न्यून छ भने तेल खर्च मात्र लिएर पनि बिरामीलाई अस्पताल पु¥याएको छु,’ उनले भने, ‘२४सै घन्टा तयारी अवस्थामा बस्छु, फोन आउनासाथ बिरामीलाई लिन तुरुन्तै जान्छु।’

अर्का एम्बुलेन्स चालक रामचन्द्र भण्डारीले अघिल्लो वर्ष नेपाल–भारत मैत्री अस्पतालबाट कोरोना संक्रमित बिरामी ओसारपसार सुरु गरेका थिए। त्यतिबेला पहिलोपटक कोरोना संक्रमित बोक्दा उनलाई डर लागेको थियो। तर, डाक्टरले मास्क, पिपिई,  सेनिटाइजर लगायत स्वास्थ्य सामग्री प्रयोग गरेर बिरामी बोक्दा सुरक्षित हुने बताएपछि संक्रमित बोक्न थालेको उनको भनाइ छ। ‘संक्रमित बोक्दा सुरुमा निकै डर लागेको थियो, अहिले पनि लाग्छ’ उनले भने, ‘तर, काम गर्दै जाँदा मन बलियो हुँदै आएको छ। बिरामी ओर्लनेबित्तिकै एम्बुलेन्समा सेनिटाइजर छर्कन्छु।’

बिरामीको आर्थिक अवस्था अनुसार भाडा लिने गरेको उनले बताए। ‘कोभिड संक्रमित मात्र नभई कोभिडका कारण मृत्यु भएका व्यक्तिलाई समेत आफैँले प्याक गरेर नेपाली सेनालाई सुम्पिने काम समेत गरेको छु,’ उनले भने।

यसरी बिरामी बोक्दा पिपिई लगाएका हुन्छन्। युज एन्ड थ्रो पिपिई लगाउँदा उनले बिरामीलाई पु¥याएपछि पिपिई परिवर्तन गर्छन्। महँगो पिपिई लगाउँदा सेनिटाइजर लगाएर वा पानीले धोएर घाममा सुकाउँछन्।  

उनलाई १५ थान पिपिई र मास्क केही महिनाअगाडि सहयोग प्राप्त भएको थियो। व्यक्ति तथा अस्पतालले पिपिई सहयोग गरिरहने उनले बताए।

३९ वर्षीय भण्डारीले १८ वर्ष अघिदेखि एम्बुलेन्स चलाउन थालेका हुन्। यसपालि उनले अस्पताल तथा व्यक्तिको सम्पर्कबाट कोरोना संक्रमित ओसारपसार गरिरहेका छन्। काठमाडौंको कपनमा बस्दै आएका उनको स्थायी बसोबास सिन्धुपाल्चोक हो। सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका कोरोना संक्रमितलाई निःशुल्क ओसारपसार गरेको उनले बताए। ‘सुनकोसी गाउँपालिकाका बासिन्दाको मात्रै नभई आर्थिक अवस्था न्यून भएका संक्रमितलाई पनि निःशुल्क ओसारपसार गरेको छु,’ उनले भने।

 

प्रकाशित मिति: १५:३१ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्